१५ दिन भित्र विद्युतीय बस नचलाए एडीबीले लगानी फिर्ता लैजाने, मन्त्रालयलाई पत्र

काठमाडौँ । लुम्बिनीमा सञ्चालनका लागि ल्याइएका पाँचवटा इलेक्ट्रिकल बस १५ दिनभित्र सञ्चालनमा नल्याए एसियाली विकास बैङ्क (एडीबी)ले आफ्नो लगानी फिर्ता लैजाने भएको छ । बैङ्कले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाइ सो व्यहोरा जानकारी गराएको हो । मन्त्रालयका अनुसार वैशाख १६ गतेसम्म ति बस सञ्चालन हुने वा नहुने भन्ने विषयमा टुङ्गो लागाउनुपर्ने छ । एडीबीको आर्थिक सहयोगमा ल्याइएका बस खरिद सम्झौताभन्दा फरक पाइएपछि मन्त्रालयले छानबिन गरिरहेको छ । बस दक्षिण एसिया पर्यटन पूर्वाधार आयोजनाले चाइनाको बी वाईडी सप्लायर्स कम्पनीसँग खरिद गरेको थियो । मन्त्रालयले महिनौँदेखि सुरु गरेको छानबिन अहिलेसम्म सकिएको छैन । पत्र पठाइ सकेपछि बैङ्क र मन्त्रालयबीच छलफल भइरहेको छ । गतसाता बैङ्कका प्रतिनिधि मन्त्रालयलमा छलफलका लागि आएका थिए तर मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा प्रधानमन्त्रीसँग कम्बोडिया भ्रमणमा गएकाले निर्णय हुन भने सकेन । मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने, छलफलका लागि एडीबीका प्रतिनिधि आउनुभएको थियो तर हामीले १५ दिनपछि जे निर्णय गर्नुपर्छ गरौँला भनेका छौँ । प्रवक्ता धनश्याम उपाध्यायले ‘पाँचवटा विद्युतीय बस खरिद सम्झौताभन्दा फरक भएको हाम्रा टेक्निसियनले बताएपछि हामी छानबिन गरिरहेको बताए । सम्झौता भएअनुसारकै बस ल्याउने वा के गर्ने भन्ने कुरा अध्ययनपछि थाहा हुने उनले बताए । २०७५ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रै ति पाँचवटा बसको उद्घाटन गरेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

निस्सानको नाफामा ५७ प्रतिशतले गिरावट, दशक कै सबैभन्दा न्यून

टोकियो, जापान । आर्थिकरूपले सङ्कटग्रस्त जापानी कार कम्पनी, निस्सानले मङ्गलबार आफ्नो यस आर्थिक बर्षको नाफा यो दशकमा नै सबैभन्दा न्यून रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । कम्पनीले सन् २०१९ को मार्चसम्ममा आफ्नो नाफा जम्मा दुई अर्ब ९० करोड अमेरिकी डलर (तीन खर्ब १९ अर्ब जापानी यन) रहेको र यो नाफा रकम विश्वले आर्थिक मन्दीको सामना गरिरहेको सन् २००९/०१० पछिकै सबैभन्दा न्यून रहेको बताएको छ । निस्सानका पूर्व प्रमुख कार्लोस गोउनलाई आर्थिक अनियमितताको आरोपमा पक्राउ गरेपछि कम्पनीको कारोबारमा समस्या देखिएको हो । नेतृत्वको अभावको सामना गरिरहेको कार कम्पनीको नाफा अघिल्लो बर्षको तुलनामा गत बर्ष ५७ प्रतिशतले घटेको बताइएको छ । चालु आर्थिक बर्षमा निस्सानको घाटा एक खर्ब ७० अर्ब जापानी यन रहने प्रक्षेपण कम्पनीको रहेको छ । निस्सानका प्रमुख कार्यकारी अधिकारी शिरोतो साइकावाले भने, “कार्यसम्पादन एकदमै चुनौतिको अवस्थामा रहेको छ तर हामीले यसलाई सुधार गर्ने प्रयासमा लागिरहेका छौँ ।” “मङ्गलबारको तथ्याङ्कले कम्पनीलाई अपेक्षाभन्दा निकै न्यून नाफा भएको देखाउँछ,” उहाँले भन्नुभयो । “कृपया हामीलाई पूरानो अवस्थामा फर्कने समय दिनुहोस् ।” कम्पनीका प्रमुख रहेका समय गोउनको पक्राउले कम्पनीलाई एकातिर नेतृत्वको समस्या भएको देखिन्छ भने अर्कोतिर कम्पनीमा भएको अनियमितताको खबरले कम्पनीको ख्यातिसमेतमा प्रभाव परेको छ । गोउनमाथि आर्थिक अनियमितताका विभिन्न चार आरोप लागेका छन् भने उनले ती आरोपको खण्डन गर्दै आएका छन् । साइकावा भन्छन्, “कम्पनीले अहिलेको अवस्थामा पूर्व व्यवस्थापनबाट विरासतका रूपमा केही नकारात्मक कुराहरूको सामना गर्न बाध्य छ ।” “तपाइँहरूलाई वास्तविकता भन्नुपर्दा कम्पनीले आफ्ना प्रमुखलाई आर्थिक अनियमितताको आरोपमा पक्राउ गरेपछि केही समय आफ्नो व्यवसायिक गतिविधिमा ध्यान दिन केही अलमल भएकै हो र यसको परिणाम कम्पनीको आम्दानी तथा कुल नाफामा देखिनु नौलोजस्तो मलाई लाग्दैन । तर हामीले कम्पनीलाई पूर्ववत अवस्थामा छिट्टै फर्काउने छौँ ।” तर विश्लेशकहरूले निस्सानजस्तो जापानी कार कम्पनीलाई गोउनको अनुपस्थितिमा अघि बढाउँदा कैयौँ समस्याहरू भएका बताउँछन् । निस्सानको फ्रान्सेली सवारी कम्पनी रेनल्टसँगको सहकार्यमा देखिएको निरन्तरको विग्रँदो सम्बन्धका कारण पनि यसका नयाँ उत्पादनमा समस्या भएको हो । साइकावाले भने, “ यस बर्ष जापान र चीनमा निस्सानको विक्री बढ्न थालेको छ तर अमेरिका र यूरोपमा ‘कठिन’ परिस्थिति रहेको छ ।” रासस/एएफपी

रोडिज् सँगै यामाहा एफजी राइडरहरु पुगे लोमान्थाङ, १३१४ किमिको दूरी ८ दिनमा पूरा

काठमाडौँ । ‘यामाहा एफजी राइड वीथ रोडिज् टु लोमान्थाङ’को टोलीले १२६०० फिटको उचाई १३१४ किमिको दूरी ८ दिनमा पूरा गरेको छ । अप्ठ्यारा सडकहरु र ठाडो भिरालो बाटोहरु पार गर्दै एफजी राइडरले आफ्ना यामाहा एफजीमा अति सावधानीपूर्वक गन्तव्यमा पुगेरै छाडे । एफ १ प्रविधि र एबिएस जडित एफ जेड पहिलो त्यस्तो १५० सिसि समुहको बाइक हो, जसले कुनै पनिप्राविधिक समस्याहरु बिना यो कठिन यात्रा तय गरेको छ । यो रेकर्ड एफ जेडको पहिलो सिरिज प्रस्तुत गर्दा सगरमाथाको आधार शिविरमा राखेको रेकर्डपछिको अर्को रेकर्ड भएको कम्पनीले जनाएको छ । उक्त टिममा हिमालयन रोडिजका निर्णायकहरु रेमनदास श्रेष्ठ, दियामास्के, र यस सिजनकाविजेता सागरसहित ११ जना आकाँक्षी रोडिजहरु जसलाई विभिन्न शहरमा गरिएको रोडिज क्रियाकलापमार्फत् चयन गरिएको थियो । कम्पनीका सिइओ चिरञ्जीवी शाह भने–‘लोमाथाङ्ग यात्राले हाम्रा बाइहरुले कठिन अवस्थाका सडकलाई पनि झेग्ने क्षमता राख्ने पुष्टी भयो ।’ त्यसैगरी एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल भने–‘यामाहाले विगतमा पनि नियमित रुपमा यसप्रकारको बाइक चलाउने कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । तर, यो आजको मितिसम्मका कार्यक्रमहरुमध्ये सर्वाधिक ठूलो हो । हामी सबै यामाहा चालकहरुसँग मजबुत ढँगले बाँधिन चाहन्छौं ।’