बागमती प्रदेशमा दर्ता भएका २० लाख सवारी नवीकरण र राजश्व भुक्तानी अब अनलाइनबाटै
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा शुक्रबार हेटौँडामा आयोजित प्रदेशमा सवारी साधनको राजस्व अनलाइन भुक्तानी गर्ने सूचना प्रणालीको उद्घाटन गरेका छन् । उनले हेटौँडा निवासी सवारी धनी चिन्तामणि फुयाँलले राजस्वबापत पाँच हजार अनलाइनमार्फत भुक्तानी गर्ने प्रविधिलाई क्लिक गरी शुभारम्भ गरेका हुन । मुख्यमन्त्री पौडेलले आफ्नो कार्य सम्पादनमा पारदर्शी ल्याई जनतालाई आर्थिक समृद्धितर्फ जोड्ने प्रमुख लक्ष्य रहेको बताए । उनले प्रदेशका करिब २० लाख सवारी धनीलाई कम समयभित्र झण्झट व्यहोर्न नपर्ने गरी अनलाइनमार्फत राजस्व भुक्तानी गर्ने प्रविधि सञ्चालनमा ल्याईएको बताएका थिए । मुख्यमन्त्री पौडेलले सङ्घीय राजधानी काठमाडौँलाई अब आर्थिक क्रान्तिका रुपमा जोड्ने कार्यमा भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने र केही हप्ताभित्रै निर्माणका लागि अन्तरराष्ट्रिय बोलपत्रको स्वीकृति प्रदान गरिने उल्लेख गरे । उनले प्रदेश सरकारले इन्धनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रथम चरणमा काठमाडौँ उपत्यकालगायत सात स्थानमा विद्युत् बस खरिद गरी सञ्चालन गर्ने निधो गरिसकिएको र आगामी जेठ मसान्तसम्ममा विद्युतीय बस सञ्चालन गर्ने मन्त्रिपरिषद्को अठोट रहेको जानकारी दिए । आर्थिक मामिला तथा योजनामन्त्री कैलासप्रसाद ढुङ्गेलले सरकारले प्रदेशका सबै यातायात व्यवसायी र सवारी धनीलाई राजस्व तिर्ने प्रक्रियालाई अब आफ्नो घरबाट अनलाइनबाट तिर्न सकिने भएका कारणबाट राजस्व थप असुलीको प्रतिशतमा वृद्धि हुने उल्लेख गर्दै व्यवसायीले पनि समयभित्र यातायात व्यवस्थापन कार्यालयमा सहजीकरण गरेर जरिवानाबाट मुक्त हुने प्रयास गर्नुपने बताएका थिए । भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक अन्य जिल्लामा आफ्नो घरमै बसेर सवारी साधनको राजस्व अनलाइनमार्फत तिर्ने र सवारी दर्ता प्रक्रियालाई सहजीकरण गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गरे ।
सवारी साधनको ब्लुबुक र लाइसेन्स नवीकरण अब अनलाइनबाटै, कसरी लिने सेवा ?
काठमाडौं । बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको कर/राजश्व भुक्तानी तथा नवीकरण अब विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । बागमती प्रदेश सरकारले लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था शुरु गर्न लागेको हो । प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले शुत्रबार बिहान ११ बजे यो सेवाको उद्घाटन गर्दैछन् । कार्यक्रममा अनलाइन प्रणालीमा आबद्ध सेवाहरुको परीक्षण एवं डेमो प्रस्तुत गरी औपचारिक रूपमा यसको सुरूवात गरिने जनाइएको छ । उद्घाटन पश्चात उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुनेछ । विद्युतीय माध्यमबाट भुक्तानी गर्नका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) समेत तयार पारिसकेको छ । सेवाग्राही आफैंले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघनन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाका सूचना अधिकारी राजु अर्यालले मोबाइल बैंकिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी कार्ड (डेबिट तथा क्रेडिट कार्ड), ई–मनी (वालेट) र अन्तर बैंकिङबाट विद्युतीय भुक्तानी गर्न सकिने जानकारी दिए । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध सबै कर आनलाईमार्फत भुक्तानी गर्दा लाइनमा बस्नुपर्ने बाध्यता हटेको बताउँछन् । पहिलो चरणमा बाग्मती प्रदेशमा उक्त सिष्टम लागु भएतापनि विस्तारै अन्य प्रदेशका यातायात कार्यालयमा लागू गरीने जनाइएको छ । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको बैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको थियो । नेपाल सरकारद्वारा प्रदान गरिने सवै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याईएको थियो । पछिल्लो समय एपमा पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बिमा कार्यक्रम समेत थपिएका छन् । एपबाटै क्युआर स्क्यान गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । सुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवाहरु समेटिने छन् ।
म्यासेज भाइरल भएपछि होन्डाले भन्यो- हामीले कुनै अफर ल्याएका छैनौं
काठमाडौं । केही दिन यता सामाजिक सञ्जालमा होन्डाको ७० औं वार्षिकोत्सवको शुभकामना म्यासेज भाइरल बनेको छ । वार्षिकोत्सव भएको र कम्पनीले अफर स्वरुप होन्डाको बाइक जित्ने मौका भन्दै विभिन्न सूचनाहरु छ्यापछ्याप्ती बनेको छ । उक्त अफरको सूचना भाइरल बनेपछि होन्डाले सो म्यासेजमा कुनै सत्यता नभएको जनाएको छ । कम्पनीले आज एक सूचना जारी कुनै अभियायन सञ्चालन नभएको भन्दै फेक म्यासेज भएको भन्दै उक्त लिंक नखोल्न समेत आग्रह गरेको छ ।