टाटाको विद्युतीय कार नेक्सन ईभी नेपालमा, कति पर्छ मूल्य ?

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको इलेक्ट्रिक कार नेक्सन इभी नेपाली बजाारमा सार्वजनिक गरेको छ। भारतीय बजारमा सर्वाधिक बिक्री भएको उक्त गाडी नेपाली बजारमा टाटा मोटर्सको आधिकारी बिक्रेताको रुपमा रहेको सिप्रदि ट्रेडिङले भित्र्याएको हो । मंगलबार सार्वजनिक भएको नेक्सन इभीको मूल्य ३५ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रूपैयाँसम्म तोकिएको छ। नेक्सन–इभी जिपट्रोन प्रविधिमा आधारित छ। कम्पनीले दाबी गरेअनुसार यसमा निकै टिकाउ ब्याट्री छ। एक पटक चार्ज गरेपछि गाडी बिना कुनै समस्या दुई सय ५० देखि तीन सय किलोमिटरको दुरी गुड्छ। डिसीचार्जर प्रयोग गर्दा नेक्सन–इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीको भनाइ छ। विद्युतीय नेक्सनको बनावट निकै बोल्ड र आकर्षक छ। बाहिरी आर्कषणसँगै यसका विशेषताहरूका कारण यो नेपाली बजारमा प्रतिक्षित गाडी हो। टाटाले जिपट्रोन प्रविधिमा आधारित यो विद्युतीय एसयूभी वायु प्रदुषणरहित रहेको जनाएको छ । ३ कलर र ३ भेरियन्टमा उपलब्ध टाटा नेक्सन ईभीको सुरुवाती मूल्य ३५ लाख ९९ हजार तोकिएको छ । एक्सएमको ३५ लाख ९९ हजार, एक्सजेट प्लस ३७ लाख ९९ हजार र एक्सजेट प्लस लक्जरीको ३९ लाख ९९ हजार तोकिएको छ । गतवर्ष नै नेक्सनको ईभी नेपाल ल्याउने तयारी गरेको सिप्रदीले विद्युतीय गाडीमा कर बढेपछि ल्याएको थिएन । तर, यसपाली विद्युतीय गाडीमा बढेको कर खारेज भएपछि टाटाले विद्युतीय गाडी भित्र्याएको हो ।

महिन्द्रा मनसुन सर्भिस क्याम्प बिहीबार र शुक्रबार

काठमाडौं । आगामी बिहीबार र शुक्रबार गरी दुई दिन महिन्द्रा मनसुन सर्भिस क्याप आयोजना हुने भएको छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स ले दुई दिन देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्न लागेको हो । महिन्द्राका सम्पूर्ण फोरव्हीलर गाडीहरुको ३०–पोईन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको उक्त सर्भिस क्याम्पमा ग्राहकलाई आकर्षक उपहारहरु दिईने कम्पनीले जनाएको छ । ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राख्दै कम्पनीले ३०–पोईन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ । महिन्द्रा मनसुन सर्भिस क्याम्प साउन १४ र १५ गते देशभर रहेका आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन हुँदैछ ।

साउन १७ गतेदेखि हुन्डाइका गाडीको मूल्य बढ्ने ( नयाँ मूल्य सूचिसहित)

काठमाडौं । नेपाली बजारमा हुन्डाइका गाडीहरूको मूल्य बढ्ने भएको छ । नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि (लक्ष्मी हुन्डाइ) ले साउन १७ गतेदेखि गाडीको मूल्य समायोजन गर्ने तयारी भएको जनाएको छ । कम्पनीले १७ गतेदेखि मूल्य बढ्ने भन्दै साउन १६ गतेभित्र सस्तो मूल्यमा गाडी खरिद गर्न समेत आग्रह गरेको छ ।