अर्घाखाँचीबाट दिल्लीसम्म बस सेवा सञ्चालन

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुहरु खुसी भएका छन् । दिल्ली जाँदा कृष्ण नगर गएर अन्य गाडी खोज्नुपर्ने झन्झट अन्त्य हुनाका साथै नगद तथा सामग्री जोगाउन नसकिने समस्याबाट मुक्त भएको र सुविधासम्पन्न एसी बसमा यात्रा गर्न पाउँदा आफूहरु खुसी भएको यात्रुहरुको भनाइ छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालनमा ल्याएको उक्त बससेवा शुभारम्भ गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले यसबाट जिल्लादेखि दिल्लीसम्म पुग्ने यात्रुहरूका लागि सहज भएको बताए । सन्धिखर्कदेखि गोरुसिङ्गे, नेपालगञ्ज, लख्खिनपुर हुँदै दिल्लीसम्म बस पुग्नेछ । सन्धिखर्कबाट झन्डै नौ सय किलोमिटरको दूरीमा दिल्ली रहेको छ । बसमा ३६ सिट, दुई चालक, दुई परिचालक रहने र बसको भाडादर तीन हजार दुई सय रुपैयाँ पर्छ । तत्कालका लागि हप्ताको तीन दिन सञ्चालन हुने बस यात्रुको मागअनुसार थप्न सकिने उक्त प्रालिका अर्घाखाँची शाखाप्रमुख कमलप्रसाद भट्टराईले बताए । सोमबार, बुधबार र शुक्रबार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधबार, शुक्रबार र आइतबार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि बस छुट्नेछ । काठमाडौँमा एसी बस सञ्चालन गर्दै आएका यातायात व्यवसायीले मोटरबाटोको सहजतासँगै यातायात सेवा विस्तार गरेको प्रालिका रुट सल्लाहकार भानुभक्त भुसालले बताए । उक्त कार्यक्रममा उपभोक्ता हिस संरक्षण मञ्चका अध्यक्ष सहयोगी विसी, पत्रकार महासङ्घका प्रदेश सदस्य प्रेमनारायण आचार्य, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष काजी श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष अशोककुमार श्रेष्ठ, उक्त प्रालिका सञ्चालक सुरेन्द्र श्रेष्ठलगायतले बस सेवा सञ्चालनले यात्रुहरुलाई सुविधा पुगेको जानकारी दिए । रासस

सीजीले ल्यायो साढे ४२ लाख पर्ने ईभी भ्यान, बुकिङ खुला

काठमाडौं । चौधरी ग्रुपको सीजी मोटर्सले नेपालमा नयाँ इलेक्ट्रिकल भेइकल (भ्यान) सार्वजनिक गरेको छ । कम्पनीले भी फाइभ ईभीको मिनि भ्यान नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले उक्त भ्यानको बुकिङ पनि खुला गरेको जनाएको छ । कम्पनीले उक्त मिनि भ्यानको मूल्य ४२ लाख ५० हजार रुपैयाँ तोकेको छ । कम्पनीले सार्वजनिक गरेको भ्यानमा ११ सिट रहेका छन् भने भ्यानको १७९ एमएम ग्राउण्ड क्लियरेन्स छ । सो भ्यानले ३ सय किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । उक्त भ्यान खरिद गर्न सीजी मोटर्स सोरुम बिशालनगर नक्सालमा सम्पर्क गर्नुपर्ने बताएको छ ।

मिसेलिन टायरको नयाँ सोरुम विरगंजमा

काठमाडाैं । मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्टसले उक्त ब्राण्डको नयाँ सोरुम विरगंजको बाईपास रोडमा स्थापना गरेको छ । जयमा दुर्गा टायर हाउस नामक उक्त सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले एक कार्यक्रमबीच गरेका छन् । ग्राहकवर्ग एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा सोरूमका संचालक मदन प्रसाद यादवलाई विक्रेता नियुक्ति सम्बन्धि प्रमाणपत्र वितरण गरिएको थियो । साथै सोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निः शुल्क प्रदान गरिएको छ । जयमा दुर्गा टायर हाउसमा कमर्सिअल (ट्रक, टिपर, बस आदि ) र पेसेन्जर (इभी, एसयुभी आदि ) गाडीहरुको लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध छ । मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्राण्डको रुपमा परिचित छ ।