पल्सर एनएस २०० र १६० अपसाइड डाउन मोटरसाइकल नेपाली बजारमा
काठमाडौँ । पल्सर एनएस २०० र एनएस १६० नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालमा बजाज मोटरसाइकलको आधिकारीक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले अत्याधुनिक मोडलका बाइक नेपाली बजारमा ल्याएको हो । गोल्छा ग्रपका निर्देशक अभिमन्यु गोल्छाले नयाँँ बिशेषतासहितको अत्याधुनिक बाइकहरु नेपाली बजारमा ल्याइएको बताए । पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक बीएसभीआइ इन्जिन रहेको छ । यस मोटरबाइकले ९७५० आरपिएममा २४.५ पिएसको पावर आउटपुट र ८००० आरपिएममा १८.७४ एनएमको टर्क प्रदान गर्ने बताइएको छ । त्यसैगरी, पल्सर एनएस २०० अपसाइड डाउन आकर्षक डिजाइनका साथमा नयाँ फिचरको मोटरसाइकल हो । पल्सर एनएस १६० अपसाइड डाउनमा १६०.३ सीसीको आयल कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको बीएसभीआई इन्जिन रहेको छ । ९००० आरएमपीमा १७ पिएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्ने कम्पनीले बताएको छ । पल्सर एनएस २०० को मूल्य ४ लाख २४ हजार नौ सय तोकिएको छ भने एनएस १६० अहिले नेपाली बजारमा तीन लाख ८४ हजार नौ सय रुपैयाँ तोकिएको छ ।
एनआईसी एशिया बैंकले एकैपटक २०१ वटा मोटरसाइकल किन्दै
काठमाडौं । एनआईसी एशिया बैंकले देशभरका शाखा कार्यालयका लागि मोटरसाइकल खरिद गर्ने भएको छ । बैंकले २०१ वटा मोटरसाइकल खरिद गर्ने गरी बाेलपत्र आह्वान गरेकाे छ । कार्यालय प्रयोजनका लागि २०१ वटा मोटरसाइकल खरिद गर्न लागेको बैंकले जनाएको छ । बैंकले मोटरसाइकल आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा फर्मबाट बोलपत्र पेश गर्न आग्रह गरेको छ । इच्छुक कम्पनीले बैंकको केन्द्रिय कार्यालय थापाथली काठमाडौंमा साउन ३ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । बैंककाअनुसार, बोलपत्रको ढाँचा खरिदका लागि कम्पनीले ५ हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । कम्पनी दर्ता भई कम्तिमा ३ वर्ष काम गरी ३ वटा संस्थासँग कारोबार गरेका माेटरसाइकल विक्रेता कम्पनीले मात्रै बाेलपत्र पेश गर्न पाउने छन् । त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा ५ करोड रुपैयाँ बराबरको वार्षिक कारोबार गरेको कम्पनीले मात्रै बाेलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ । यस्तै, सवारी साधनको आपूर्ति र डेलिभरी गर्न इच्छुक कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्म कर तिरेको हुनु पर्नेछ ।
चार्जिङ स्टेशन नहुँदा साझाका ३४ विद्युतीय बस ८ महिनादेखि पार्किङमै, बिग्रिने डर
काठमाडौं । साझा यातायातले खरिद गरेर ल्याएको विद्युतीय बसहरु ८ महिनादेखि पार्किङमै थन्किएका छन् । चिनियाँ कम्पनी सिएचटिसिइभीले नानजिङ उत्पादन प्लान्टबाट निर्माण गरेका ४० थान बसहरुमध्ये ३४ थान बस हाल पार्किङमै थन्किएका छन् । साढे ५५ करोड रुपैयाँ बराबरको ३७ थान विद्युतीय बसमध्ये गत जेठ १ गतेदेखि थप ३ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो । हाल ६ वटा विद्युतीय बसले काठमाडौं उपत्यका भित्र सञ्चालन गरेतापनि ३६ वटा बस ८ महिनादेखि पुुल्चोकस्थित साझा र नेपाल टेलिकमको कार्यालयको पार्किङमै थन्किएका छन् । पर्याप्त चार्जिङ स्टेशन नहुँदा विद्युतीय बस सञ्चालनमा नआएको साझा यातायातका सञ्चालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए । उनले चार्जिङ स्टेशन अभावकै कारण लामो समयदेखि बसहरु पार्किङमै राख्नुपरेको बताए । ‘निजी कम्पनीले सञ्चालन गरेका चार्जिङ स्टेशनबाट हाम्रा गाडीहरु चार्ज भएनन, हामीसँग पर्याप्त संख्यामा चार्जिङ स्टेशन छैनन्, काठमाडौं उपत्यकाका लागि भनेर खरिद गरिएको बसहरु पार्किङमै थन्कियो’, उनले भने । उनले चार्जिङ स्टेशनका लागि आवश्यक पर्ने जग्गा दिलाउन सरकारसँग आग्रह गरिएको बताए । ‘सरकारसँग हामीले पटक/पटक जग्गा उपलब्ध गराइदिन आग्रह गर्दै आएका छौँ, सरकारले उपलब्ध नगराएपछि हामीले हाम्रो तर्फबाट पनि जग्गा खोज्ने काम सुरु गरिसकेका छौँ’, उनले भने, ‘हाल उपत्यका भित्रकै ४/५ स्थानमा जग्गा हेरिरहेका छौँ, कुन लिने अन्तिम निर्णय भैसकेको छैन ।’ उनले बस ल्याउने प्रक्रिया सुरु भएदेखि नै सरकारसँग जग्गा माग गरिएको बताउँदै बस आएको ८ महिना भैसक्दा पनि जग्गा उपलब्ध नहुँदा बसहरु बिग्रने जोखिम बढी भएको बताए । चिनियाँ कम्पनीले ४० वटा बस ल्याउने सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार पहिलो लटमा ३ वटा विद्युतीय बस ल्याएको साझाले त्यसको परीक्षण सञ्चालन पश्चात् बाँकी बस नेपाल भित्र्याएको थियो । २०७९ को असार २३ गते पहिलो पटक विद्युतीय बस सञ्चालनमा ल्याएको साँझले त्यसको झण्डै ११ महिना पछि थप ३ वटा विद्युतीय बस मात्रै सञ्चालन गरेको हो । साझाले खरिद गरेको ४० थान विद्युतीय बसमध्ये बाँकी रहेका ३७ वटा बस गत कात्तिकमा चीनको कोदारी–झाङ्मु ल्यान्डपोर्ट हुँदै करिब २० दिन लगाएर काठमाडौं ल्याइएको थियो । नेपाल ल्याईएका उक्त बसको रुट परमिट, इन्स्योरेन्सलगायत प्रक्रिया सबै रोकिएको छ । संस्थाले २०७७ को असोज २२ गते चीनको सिएचटीसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो । साझाले ४० वटा बसमा करिब ६१ करोड रुपैयाँ खर्च गरेको छ । पेट्रोलियम पदार्थका सवारीसाधनजस्तो वातावरण प्रदूषण नगर्ने बसमा ध्वनिको प्रदूषण पनि अरूभन्दा कम रहेको छ । बसमा थकाइ भाइब्रेसन पनि कम रहन्छ । हाल खरिद भएका बस पाँच वर्षसम्म मर्मत गर्ने निर्माता कम्पनीसँगको सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार साझाले ४० विद्युतीय बस र २० चार्जरका लागि ३७ लाख ३८ हजार पाँच सय ५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार तथा स्पेयर पार्टका लागि ६ करोड ७३ लाख ६५ हजार पाँच सय ५३ रुपैयाँ थपत प्रदान गरेको छ । उक्त बसहरु २६ सिट रहेको र क्षमता प्रतिघण्टा एक सय ६१ किलोवाट रहेको छ भने एकपटक फूल चार्ज गर्दा दुई सय किलोमिटर चल्ने जनाईएको छ । अरू सामान्य बसभन्दा विद्युतीय बस होचो र सानो हुँदा अपाङ्तामैत्रीसमेत रहेका छन् । होचो लो–फ्लोर रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि स्थान राखिएकोे छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी दिने र अरू सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ । सञ्चालक तुुलाधरले साझाका गाडीलाई चिनियाँ चार्जर चाहिने भन्दै अन्य कम्पनीले निर्माण गरेको चार्जिङ स्टेशनमा चार्ज नभएकोे बताए । २० चार्जिङ स्टेशन साझा यातायातले नै बनाउने उनले बताए । ‘हामीले सुरुवाती चरणमा २० वटा चार्जर ल्याएका छौँ, सरकारले जग्गा उपलब्ध गराए हामी जार्जिङ स्टेशन बनाइहाल्छौँ’, उनले भने । काठमाडौं उपत्यकामा सरकारले आवश्यक जग्गा उपलब्ध नगराए पोखरामा विद्युतीय बस सञ्चालन गर्ने उनको भनाई छ । ‘हाम्रो योजना काठमाडौं उपत्यकामा सञ्चालन गर्ने हो, सरकारले जग्गा दिन सक्दौनाँै भन्यो भने हामी उपत्यका बाहिर जान्छौँ, पोखरा महानगरले हामीकहाँ आउनु भनेको छ,त यता भएन भने उता पनि जान सक्छौँ’, उनले भने । संसदमा उठ्यो प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रयोगविहीन अवस्थामा रहेका बिजुली बसहरुको प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । जेठ २४ गते बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले सरकारले ५७ करोड रुपैयाँ खर्च गरेर ल्याएका ३७ मध्ये ३४ वटा बिजुली बस अझै सञ्चालनमा आउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । उनले बसका लागि आवश्यक पार्किङ र चार्जिङ स्टेशनसमेत नभएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराएका थिए । ‘नेपाल सरकारले साझा यातायातसँगको सहयोगमा करिव ५७ करोडमा ३७ वटा बिजुली बस खरिद गरेको थियो। जसमध्ये ३ वटा सञ्चालनमा आए, ३४ वटा अझै सञ्चालनमा आउन नसकेर पार्किङमा छन्’, उनले भने, ‘छोरो पाउने कहिले, भोटो सिउने अहिले, यो उखानले हाम्रा पूर्वजहरुको कुनै विषयको पूर्वतयारीको हतारोलाई दर्शाउँछ ।’ उनले चार्जिङ स्टेशन नबनाउँदै बसहरु ल्याईएको भन्दै व्यंग समेत गरेका थिए । ‘छोरो जन्मिइसक्यो लगाउने भोटो छैन, बिजुली बस आइसक्यो पार्किङ र चार्जिङ स्टेशन छैन, बिजुली बस गुड्न तयार छ गुडाउने रुट पर्मिट छैन’, उनले भने, ‘सर्वसाधारण दिनहुँ थोत्रो बसमा कोचिएर यात्रा गर्न बाध्य छन्, तर सफा, सुविधासम्पन्न विद्युतीय बसलाई थन्क्याएर राखिराखेका छौँ, कतै हामीले माल पाएर चाल नपाएको हो कि ? जनताको रगत पसिनाले जम्मा भएको करले किनेको गाडीमा खिया नलाग्न दिन सरकारको ध्यानाकर्षण गराउँदछु ।’