सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?
काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा १० हजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार मूल्यमा व्यापक गिरावट आउँदा सुनको भाउ २ लाख ८६ हजार सातसय रुपैयाँमा झरेको थियो । यसअघि बिहीबार सुनको भाउ तोलाको २ लाख ९७ हजार २ सय रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । तोलाको ५० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ६ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो। गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो । जुन नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो ।
प्रधानमन्त्री बालेन भरतपुर पुगे, स्वागतमा पुगे आईजीपी कार्की
काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन प्रस्थान गरेका छन् उनी आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत भरतपुरका लागि प्रस्थान गरेका हुन् । बालेन शाहको स्वागतका लागि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की भरतपुर विमानस्थल पुगेका छन् । रास्वपाको प्रथम महाधिवेशन चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा पार्टीका नेता–कार्यकर्ता तथा प्रतिनिधिहरूको सहभागिता रहने कार्यक्रम रहेको छ । बालेन शाहले पनि महाधिवेशनका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । उनी भरतपुर विमानस्थलमा सहभागी हुनुअघि विमानस्थलमा सरसफाइ पनि गरिएको छ ।
रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवन लागे कांग्रेस सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाको महाधिवेशनमा सहभागी हुने भएका छन् । कांग्रेसले उनी रास्वपाको महाधिवेशनमा सहभागी हुने जानकारी दिएको छ । नेपाली कांग्रेसले सुरुमा पार्टीकी उपसभापति पुष्पा भुसाललाई पठाउने तयारी गरे पनि अन्ततः सभापति थापा नै सहभागी हुने भएका हुन् । उनी अहिले चितवन गइरहेको बुझिएको छ । आइतबार बिहान सभापति थापाले सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेलाई पत्र लेख्दै महाधिवेशनको शुभकामना पनि दिएका दिएका थिए । ‘पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका थिए । यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको उनको भनाइ छ । उनले लेखेका छन्, ‘यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु ।’
रास्वपा महाधिवेशन : ७ प्रदेश र प्रवासबाट छानिए ४ हजार २११ प्रतिनिधि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति ४ हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् । पार्टी सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन्भने समुहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ । कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि भएका छन् । यसैगरी, सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको प्रतिनिधित्व भएको छ । प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि भएका छन् । प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि हुने व्यवस्था छ । गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित तथा समानुपातिक सूचीका व्यक्ति पनि प्रतिनिधि भएका छन् । साथै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक सूचीका र पार्टीमा सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि महाधिवेशन प्रतिनिधि भएका छन्।
क्युरासाओ र इक्वेडर बराबरीमा रोकिए
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को निकै प्रतिस्पर्धात्मक खेलमा इक्वेडर र क्युरासाओले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । कान्सास सिटी स्टेडियममा भएको उक्त खेलमा क्युरासाओका गोलकिपर एलोय रुम नायक बन्दा बलियो टोली इक्वेडर स्तब्ध बनेको हो । पहिलो खेलमा आइभोरी कोस्टसँग १–० ले पराजित भएको इक्वेडर र जर्मनीसँग ७–१ को भारी अन्तरले पराजित भएको क्युरासाओ दुवैका लागि नकआउट चरणको यात्रा जीवित राख्न यो खेल जित्नैपर्ने दबाब थियो । इक्वेडरले खेलको सुरुवातदेखि नै बलमाथि नियन्त्रण जमाउँदै लगातार आक्रमण बुनेको थियो । कप्तान एनेर भ्यालेन्सिया, गोन्जालो प्लाटा र जोन येबोआको प्रहारलाई क्युरासाओको रक्षापंक्ति र गोलकिपरले असफल तुल्याइदिए । क्युरासाओका गोलकिपर एलाय रुमले खेलभरि कुल १२ वटा उत्कृष्ट बचाउ गर्दै इक्वेडरलाई गोल गर्नबाट पूर्ण रूपमा बञ्चित गरे। इक्वेडरको अभागी प्रहारस् दोस्रो हाफको अन्तिम समयतिर मोइसेस काइसेडोलाई लक्षित गरी गरिएको एउटा क्रस गोलपोस्टको बारमा लागेर बाहिरिँदा इक्वेडर अग्रता लिनबाट चुकेको थियो । क्युरासाओको काउन्टर अट्याकस् रक्षात्मक रणनीति अपनाएको क्युरासाओले पनि केही राम्रा अवसर सिर्जना गरेको थियो । जुनिन्हो बाकुना र जुर्गेन लोकाडियाको प्रहारलाई इक्वेडरका गोलकिपर हर्नान गालिन्डेजले उत्कृष्ट बचाउ गरेका थिए । खेलभरि रेफ्रीले क्युरासाओका ५ जना खेलाडी (लेआन्द्रो बाकुना, जुनिन्हो बाकुना, लिभानो कोमेनेन्सिया, जुरिएन गारी र गेर्भाने कास्तानेर) लाई पहेँलो कार्ड देखाएका थिए भने इक्वेडरका जोर्डील्सिभारले पनि पहेँलो कार्ड पाएका थिए । यो बराबरीसँगै दुवै टोलीले विश्वकप २०२६ मा आफ्नो पहिलो अंक जोडेका छन् । यद्यपि, अर्को चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाउन अब दुवै टोलीले समूह चरणको अन्तिम खेलमा गर या मरको अवस्थामा मैदान उत्रनुपर्नेछ ।
आइभरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा
काठमाडौं । चारपटकको विश्व च्याम्पियन जर्मनीले एक खेल अगावै प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा आइभरी कोस्टलाई २-१ गोल अन्तरले पराजित गर्दै जर्मनीले अन्तिम १६ को टिकट काटेको हो । खेलको सुरुआतमा जर्मनीले कडा चुनौतीको सामना गर्नुपर्यो । खेलको ३०औं मिनेटमा आइभरी कोस्टका कप्तान फ्राङ्क केस्सीले उत्कृष्ट गोल गर्दै अफ्रिकी टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको जर्मनीले खेलमा फर्कन लामो समयसम्म निकै संघर्ष गर्नुपर्यो । आइभरी कोस्टको बलियो रक्षापंक्ति तोड्न जर्मनीलाई हम्मेहम्मे परेको थियो । दोस्रो हाफमा जर्मनीले आफ्नो खेल रणनीतिमा सुधार गर्यो । खेलको ६८औं मिनेटमा डेनिज उन्डाभले एक आकर्षक फिनिसिङ गर्दै जर्मनीलाई १-१ को बराबरीमा फर्काए । त्यसपछि खेल बराबरीमै सकिने र दुवै टोलीले अंक बाँड्ने संकेत देखिइरहेको थियो । तर, निर्धारित ९० मिनेटपछिको थप गरिएको ६ मिनेटको इन्जुरी समय जर्मनीका लागि भाग्यशाली सावित भयो । इन्जुरी समयको चौथो मिनेटमा उन्डाभले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै जर्मनीलाई २-१ को रोमाञ्चक जित दिलाए । समूह चरणको अन्तिम खेल खेल्नु अगावै जर्मनीले नकआउट चरणमा स्थान पक्का गरेर आफ्नो दावेदारी बलियो बनाएको छ । जर्मनीसँग पराजित भए पनि आइभरी कोस्टको अर्को चरण पुग्ने सम्भावना अझै समाप्त भएको छैन । उसले आफ्नो अन्तिम खेलमा कुरासाओको सामना गर्नेछ । उक्त खेलमा अनुकूल नतिजा निकाल्न सकेमा आइभरी कोस्टको पनि शीर्ष ३२ मा पुग्ने सम्भावना कायमै रहनेछ।
स्विडेनविरुद्ध नेदरल्यान्डको शानदार जित
काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एफ’को आफ्नो दोस्रो खेलमा नेदरल्यान्डले स्विडेनविरुद्ध शानदार जित हासिल गरेको छ । नेदरल्यान्डले स्विडेनाई ५-१ ले पराजित गरेको हो । यससँगै उसले अन्तिम ३२ मा स्थान लगभग सुनिश्चित गरेको छ । नेदरल्यान्डका ब्रायन ब्रोबे र कोडी गाक्पोले समान दुई-दुई गोल गरे भने क्रिसेन्सियो समरभिलको नाममा अर्को एक गोल रह्यो । स्विडेनका लागि गोल एन्थोनी एलाङ्गाले गरेका थिए । पहिलो खेलमा जापानसँग २-२ को बराबरीमा रोकिएको नेदरल्यान्डले दाेस्रो खेलमा फराकिलो जित निकालेको हो । खेल सुरु भएसँगै डच टोलीले आफ्नो दबाब बढाएको थियो । यस जितसँगै नेदरल्यान्ड्स चार अंकसहित समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ ।
लागूऔषधसहित सासु बुहारी पक्राउ
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-१७ पकलीबाट प्रहरीले ठूलो परिणाममा लागूऔषध ब्राउन सुगरसहित सासु र बुहारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई लागूऔषधसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सरातुनको घरमा लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो । जाँच तथा खानतलासीका क्रममा सरातुनले बोकेको कपडाको झोलाभित्र लुकाएर राखेको लागूऔषध फेला परेको हो । झोलाभित्र २१.५० ग्राम ब्राउन सुगर बरामद गरिएको हो । लागूऔषधसहित सासु बुहारीलाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको सूचना अधिकारी खड्काले जानकारी दिए ।