विकासन्युज

बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलि (आषाढ १० गते,) देखि पुनः सञ्चालनमा आउने भएको छ । भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानू पौडेलका अनुसार भोलिदेखि उक्त स्टोरले दैनिक रूपमा ग्राहकहरूलाई नियमित सेवा प्रदान गर्ने जानकारी दिए । ग्राहकहरूको सुविधालाई उच्च प्राथमिकतामा राख्दै भाटभटेनीले आगामी दिनमा अझ आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।  भाटभटेनी सुपरमार्केटले कठिन समयमा साथ, सहयोग र धैर्यताका लागि सम्पूर्ण ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवालालाई धन्यवादसमेत व्यक्त गरेको  छ । गत वर्षको जेनजी आन्दोलनको क्रममा बौद्धस्थित भाटभटेनीमा पनि क्षति पुगेको थियो । पुनः निर्माणपछि भाटभटेनी सञ्चालनमा आउन लागेको हो । भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरूले काठमाडौंसहित देशभर भएका २८ स्टोरमध्ये २१ स्टोरमा क्षति पुर्याएका थिए । आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २१ वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको देखिएको थियो । २१ मध्ये बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरूपमा आगजनी भएको थियो भने बाँकी ९ वटा स्टोरमा आंशिक क्षति पुगेको थियो । भाटभटेनीका १२ वटा पूर्ण क्षति भएका र आंशिक क्षति भएका ९ वटा गरी १९ वटा स्टोरमा ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति भएको छ भने ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्णरूपमा जलाइएको थियो । त्यसैगरी ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट गरिएको भाटभटेनीले जनाएकाे छ ।

यी हुन् कान्तिपुर सहकारीको ऋण नतिर्ने २०० ऋणी, तत्काल चुक्ता गर्न ताकेता

काठमाडौं । सरकारद्वारा समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाका २०० जना ऋणीहरूको नामावली सार्वजनिक गरिएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै ऋणीहरूको विवरण सार्वजनिक गरेको हो । नेपाल सरकार (मन्त्रीस्तरको निर्णय) बाट मिति २०८० साल फागुन ३ गते कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो । समितिको मिति २०८३ बैशाख २३ को निर्णयानुसार ऋणीहरूको नाम सार्वजनिक गरिएको समितिले जनाएको छ । समितिले जारी गरेको सूचनामा साविकमा ऋण चुक्ता गरिसकेका तर प्राविधिक वा अन्य कारणवश नामावलीमा नाम समावेश भएका ऋणीहरूलाई स–प्रमाण कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । त्यस्तै, हालसम्म ऋण नतिरी बसेका ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा कानून बमोजिम कडा असुली प्रक्रिया तथा कानूनी कारबाही अगाडि बढाइने ब्यहोरा सूचनामा स्पष्ट पारिएको छ ।  

रास्वपा महाधिवेशन : मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ ।   केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । आज दिउँसो २ः०० बजे बन्दसत्र सुरु हुने र  ६ः४५ मा समापन हुनेछ । मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ ।  महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’बाट मतदान गर्ने व्यवस्था गरिँदैछ । असीवटा विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ । एक सभापति  र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिए । कुनै उम्मेदवारका प्रस्तावक र समर्थक  उम्मेदवार हुन पाउने छैनन् ।    

इतिहासकै कमजोर येन, डलरसामु घुँडा टेक्दै जापानी मुद्रा

काठमाडौं । अमेरिकी डलरको तुलनामा जापानी येन झण्डै ४० वर्षयताकै न्यून स्तरमा झरेपछि जापान सरकारले विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने संकेत दिएको छ ।  अर्थमन्त्री सात्सुकी कातायामाले मंगलबार टोकियो आवश्यक परे ‘दृढ कदम’ चाल्न तयार रहेको बताए । मध्यपूर्वमा जारी तनाव, अमेरिका र जापानबीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिका कारण येनमाथि लगातार दबाब बढ्दै गएको छ ।  अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँगको वार्तापछि कातायामाले जापान र अमेरिकाबीच आवश्यक परे निर्णायक कदम चाल्ने विषयमा समान समझदारी रहेको बताए । जापानी सरकारले पुष्टि गरेको उक्त वार्तापछि बजारमा जापान पुनः हस्तक्षेपको तयारीमा रहेको सङ्केत देखिएको छ । टोकियोले गत महिना मात्रै येनलाई समर्थन गर्न ७० अर्ब डलरभन्दा बढी खर्च गरिसकेको छ । सोमबार प्रकाशित समाचारपछि डलरको तुलनामा १६१.९३ येनसम्म झरेको जापानी मुद्रा केही सुधार भई मंगलबार टोकियो बजारमा प्रतिडलर करिब १६१.६० येनमा कारोबार भएको थियो ।  यो सन् १९९६ डिसेम्बरपछि देखिएको सबैभन्दा कमजोर विनिमय दरमध्ये एक हो । सन् २०११ मा भने एक डलर बराबर करिब ७५ येनसम्म पुगेको थियो । कमजोर येनले ऊर्जा र कच्चा पदार्थ आयातमा निर्भर जापानका लागि आयात खर्च बढाएको छ । विशेषगरी डलरमा कारोबार हुने पेट्रोलियम पदार्थ महँगो हुँदा घरेलु अर्थतन्त्रमा थप दबाब परेको छ।  अर्कोतर्फ कमजोर येनका कारण विदेशी पर्यटकका लागि जापानमा किनमेल, होटल तथा भोजन खर्च सस्तो बनेकाले पर्यटन क्षेत्रमा उल्लेखनीय वृद्धि भएको छ । एमयुएफजीका विश्लेषक माइकल वानले दीर्घकालीन सुधारका लागि अमेरिकाको तुलनामा जापानको वास्तविक ब्याजदर अन्तर घट्नुपर्ने बताए । उनका अनुसार बैंक अफ जापानले थप आक्रामक मौद्रिक नीति अपनाउने स्पष्ट सङ्केत दिन सके मात्रै येनलाई स्थायी रूपमा बलियो बनाउन सकिन्छ । बैंक अफ जापानले गत साता ब्याजदरलाई ३१ वर्षयताकै उच्च स्तरमा पु‍र्याएको थियो । त्यही समयमा अमेरिकी फेडरल रिजर्भले पनि थप कडा मौद्रिक नीति अपनाउने सङ्केत दिँदै यसै वर्ष पुनः ब्याजदर बढ्न सक्ने जनाएको छ । यद्यपि बैंक अफ जापानले थप ब्याजदर वृद्धि गरेमा प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारबाट प्रतिरोध हुन सक्ने विश्लेषकहरूको भनाइ छ । उच्च उधारो लागतले आर्थिक वृद्धि प्रभावित हुन सक्ने चिन्ताले सरकार थप कडाइतर्फ जान सावधानी अपनाइरहेको छ ।

विष्णु पौडेललाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं । शंकास्पद सम्पत्तिको स्रोत र सेयर कारोबारसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ । पूर्वउपप्रधान एवं पूर्वअर्थमन्त्री रहेका पौडेललाई थप अनुसन्धानका लागि अदालतबाट म्याद लिन आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ । पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको थियो । त्यसपछि राति नै स्थलमार्गबाट काठमाडौं ल्याइएको हो । स्रोतका अनुसार पौडेलको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे अनुसन्धान भइरहेका कारण पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा लिनुअघि अनुसन्धान टोलीले काठमाडौंस्थित उनको निवासमा समेत खानतलासी गरेको जनाएको छ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी उत्तमकुमार घिमिरेका अनुसार विशेष अदालतमा आजै उपस्थिति गराइनेछ । ‘म्याद थपको प्रक्रिया लागि विशेष सरकारी वकिल कार्यालय माइतीघर लगे पश्चात विशेष अदालतमा उपस्थित गराइने छ’, उनले विकासन्युजसँग भने ।

पूर्वअर्थमन्त्री पौडेललाई आजै म्याद थप गर्न अदालत लगिने

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइने भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी उत्तमकुमार घिमिरेका अनुसार विशेष अदालतमा आजै उपस्थिति गराइनेछ । ‘म्याद थपको प्रक्रिया लागि विशेष सरकारी वकिल कार्यालय माइतीघर लगे पश्चात विशेष अदालतमा उपस्थित गराइने छ’, उनले विकासन्युजसँग भने । मंगलबार उनलाई सुर्खेतबाट स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो । पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अगाडि बढाइएको हो । सोमबार सुर्खेतको शुभ होटलबाट उनलाई पक्राउ गरिएको थियो । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागबाट पक्राउ पुर्जी जारी भएकाले पक्राउ गरिएको थियो । उनी पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलन गर्न सुर्खेत पुगेका थिए ।  पौडेल आठौं पटक मन्त्री र पाँचौंपटक अर्थमन्त्री बनिसकेका छन् । २०७२ कात्तिक, २०७७ असोज, २०७८ जेठ उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, २०७९ पुस उपप्रधानमन्त्रीसहित अर्थमन्त्री र २०८१ असार उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनिसकेका छन् ।

हिमालयन रिको कामु सीईओ कपुरले दिए राजीनामा

काठमाडौं । नियुक्त भएको एक साता नबित्दै हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि)को कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मुकेश कुमार कपुरले राजीनामा दिएका छन् । कपुरले सोमबार (असार ८ गते) कामु सीईओबाट राजीनामा दिएका हुन् । उनलाई गत असार ३ गते मात्रै कम्पनी सञ्चालक समितिले कामु सीईओमा नियुक्त गरेको थियो ।  सरकारी वकिलको कार्यालयले धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम अदालतमा अभियोगपत्र दायर गरेसँगै हिमालयन रिकी सीईओ उपासना पौडेल निलम्बनमा परेपछि उनलाई कम्पनीले कामु सीईओमा नियुक्त गरेको थियो ।    

रास्वपामा प्रवेश गरेपछि पालिका प्रमुखसहित तीन जनप्रतिनिधिको पद गुम्यो

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित भए पनि पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि पालिका प्रमुखसहित तीन जना जनप्रतिनिधि पदमुक्त भएका छन् । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । नेपाली कांग्रेसबाट निर्वाचित बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि कानुनी व्यवस्था अनुसार उनको पद स्वतः रिक्त भएको हो । आयोगले मंगलबार सूचना जारी गर्दै कांग्रेसबाट निर्वाचित गुठीचौर गाउँपालिका अध्यक्ष बुढासहित तीन जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ । आयोगका अनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएका छन् । अन्सारी र ढकाल दुवै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गुठीचौर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । हालै उनी कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए । आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २९ तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम पद रिक्त भएको जनाएको छ । उक्त कानुनी व्यवस्थाअनुसार निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्यागेमा सम्बन्धित पद स्वतः रिक्त हुने व्यवस्था छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले कांग्रेसबाट निर्वाचित ती जनप्रतिनिधिहरू अन्य दलमा आबद्ध भएको निर्णयसहित आयोगलाई जानकारी गराएको थियो । त्यसपछि आयोगको असार ८ गते बसेको बैठकले उनीहरूको पद रिक्त गर्ने निर्णय गरेको जनाएको छ ।