विष्णु पौडेललाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

सेयर कारोबार र शंकास्पद सम्पत्तिमाथि अनुसन्धान हुने

काठमाडौं । शंकास्पद सम्पत्तिको स्रोत र सेयर कारोबारसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ ।

पूर्वउपप्रधान एवं पूर्वअर्थमन्त्री रहेका पौडेललाई थप अनुसन्धानका लागि अदालतबाट म्याद लिन आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।

पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको थियो । त्यसपछि राति नै स्थलमार्गबाट काठमाडौं ल्याइएको हो ।

स्रोतका अनुसार पौडेलको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे अनुसन्धान भइरहेका कारण पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा लिनुअघि अनुसन्धान टोलीले काठमाडौंस्थित उनको निवासमा समेत खानतलासी गरेको जनाएको छ। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी उत्तमकुमार घिमिरेका अनुसार विशेष अदालतमा आजै उपस्थिति गराइनेछ ।

‘म्याद थपको प्रक्रिया लागि विशेष सरकारी वकिल कार्यालय माइतीघर लगे पश्चात विशेष अदालतमा उपस्थित गराइने छ’, उनले विकासन्युजसँग भने ।

Share News