सेफ साहविरुद्ध वैशाख २३ गते पक्राउ पुर्जी जारी, एक महिनापछि पक्राउ
काठमाडौं । बैंकिङ कसुर र ठगी मुद्दामा मुछिएका सेफ सन्तोषकुमार साह र उनका दाजु नारायण साह सुडीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको एक महिनापछि मात्र प्रहरीले नियन्त्रणमा लिएको पाइएको छ । गत वैशाख २३ गते नै अदालतबाट पक्राउ पुर्जी अनुमति लिएको प्रहरीले उनीहरूलाई एक महिनापछि मात्रै पक्राउ गरेको हो । गत महिनाको जेठ २९ गते (शुक्रबार) धनुषाबाट पक्राउ परेका उनीहरूलाई शनिबार काठमाडौं ल्याइएपछि हाल काठमाडौं जिल्ला परिसरको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले साहलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । पक्राउ पुर्जी जारी भएको एक महिनापछि मात्र किन पक्राउ गरियो भन्ने प्रश्नमा काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलिप घिमिरेले प्रहरीले लगातार खोजतलास गरे पनि फेला पार्न नसकेका कारण समय लागेको जानकारी दिए । ‘विभिन्न ठाउँमा खोजी गर्दा फेला पार्न नसकेर साहलाई पक्राउ गर्न समय लागेको थियो । पक्राउ पुर्जी जारी हुनसाथ प्रहरीले साह दाजुभाईको खोजी सुरु गरेको थियो, अन्य कुनै कारण नभई फेला नपर्दा नियन्त्रणमा लिन ढिलाइ भएको हो,’ परिसर प्रमुख घिमिरेले स्पष्ट पारे । सकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह दाजुभाइलाई धनुषाबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली बुझाएको थियो। गैरीधाराको रेष्टुरेण्ट र त्यसको लेनदेनको विषयलाई लिएर उनीहरूविरुद्ध बैंकिङ कसुर र ठगीको मुद्दा परेको हो । माछापुच्छ्रे बैंक लिमिटेड र कम्पनी रजिष्ट्रारको कार्यालयको पत्रमार्फत प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । उनीहरूलाई पक्राउ नगरे मुद्दा सम्बद्ध प्रमाणहरू लोप वा नाश गर्न सक्ने आशंकामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा २ बमोजिम प्रहरी निरीक्षक राजेश शाहीले अदालतबाट पक्राउको अनुमति लिएका थिए । प्रहरीले यस प्रकरणमा चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो, जसमा ४८ वर्षीय दिलिप कुमार साह, ४१ वर्षीय सन्तोष कुमार साह, ४६ वर्षीय रामहित साह र नारायण साह सुढी रहेका छन् । सेफ साह नेपाली खाना र मिथिला संस्कृतिलाई विश्वमाझ चिनाउने अभियानमा सक्रिय थिए । उनले सन् २०२१ मा बीबीसी मास्टर सेफको उपाधि जितेर चर्चामा आएका थिए । सकुन्तलालाई सन्तोषले धोका दिएपछि...
आगामी पाँच वर्षभित्र पर्यटक आगमन दोब्बर बनाउनेदेखि यी योजना प्राथमिकतामा
काठमाडौं । गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास, विस्तार, सुधार र प्रवर्द्धनको लागि बजेटमार्फत विभिन्न कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले सोमबार (आज) प्रदेश सभामा आर्थिक मामिला तथा याेजनामन्त्री जीत बहादुर शेरचनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पर्यटनका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका हुन् । बजेटमार्फत प्रदेश सरकारले आगामी पाँच वर्षसम्ममा अन्तर्राष्ट्रिय पर्यटक आगमन दोब्बर बनाउने लक्ष्य लिएको छ । त्यस्तै, पूर्वाधार निर्माण, प्रचार–प्रसार, हवाई पहुँच विस्तार तथा सीमापार पर्यटन प्रवर्द्धनमा जोड दिइने भएको छ । बजेटमार्फत प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास, पदमार्ग निर्माण तथा स्तरोन्नति र पर्यटनमैत्री सेवाको विकास तथा विस्तारमा जोड दिएको छ । पर्यटन प्रवर्द्धनका लागि ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टु लेक’ कार्यक्रमलाई निरन्तरता दिएको छ । यसबाट आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि भई स्थानीय कला, संस्कृति, परम्परा र उत्पादन पर्यटनसँग आवद्ध भई आयआर्जनमा वृद्धि हुने जनाएको छ । प्रदेश सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने भएको छ । ‘गण्डकी जाऔं प्रकृति र संस्कृतिसँग रमाऔं’ अभियानलाई थप सुदृढ बनाई पोखरालाई ‘स्वास्थ्य, खेलकुद तथा साहसिक पर्यटन केन्द्र’ का रूपमा विकास गरिनेछ । दामोदर कुण्ड – मुक्तिनाथ गलेश्वर पञ्चकोट रिडी रामदी– केलादिघाट देवघाट–त्रिवेणीधाम जोड्ने ‘धार्मिक पर्यटन परिपथ’ विकासमा जोड दिएको छ । त्यस्तै, यस परिपथसँग जोडिएका पदमार्गमा आधारभूत पूर्वाधार विस्तार गरिने भनिएको छ । बजेटले मोदीबेनीधाम देखि पर्वतको पुर्कोट र भैरवस्थान धार्मिक पदमार्ग निर्माण अगाडि बढाइने भएको छ । प्रदेश सरकारले बजेटमार्फत मनास्लु, अन्नपूर्ण, धौलागिरी र ढोरपाटन चक्रीय पदमार्ग स्तरोन्नति, वैकल्पिक मार्ग पहिचान तथा प्रवर्द्धन गरिने भएको छ । ढोरपाटनको बुकी संरक्षण तथा जलाशय निर्माण गरी आन्तरिक पर्यटन प्रवर्द्धन गरिने भएको छ । ‘राउण्ड फेवाः भ्यू फेवा’ कार्यक्रमलाई निरन्तरता दिई क्लोज सर्किटलाई पूर्णता दिइने भएको छ । फेवा होराइजन पेडेस्ट्रियन ब्रिज (सेल्फी ब्रिज) तथा रूपातालमा सिसाको पुल निर्माणसम्बन्धी कार्यलाई अगाडि बढाउने योजना प्रदेश सरकारले अघि सारेको छ । प्रदेश सरकारले पोखरा महानगरपालिकासँगको साझेदारीमा फेवातालको मध्यवर्ती क्षेत्र सौन्दर्यीकरणका लागि रु. ५ करोड विनियोजन गरेको गरेको छ । त्यसैगरी ‘एक जिल्लाः एक पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै स्थानीय संस्कृति, होमस्टे, फार्म स्टे र रैथाने उत्पादनको ब्रान्डिङ तथा स्तरीकरण गरिने जनाएको छ । त्यस्तै पर्यटकीय सूचना केन्द्र, पर्यटक प्रहरी तथा आपतकालीन उद्धार कार्यलाई सुदृढ गर्दै पर्यटक सुरक्षा प्रणाली प्रभावकारी बनाइने भएको छ । युवा जनशक्तिलाई लक्षित गरी ‘प्रविधिमा जोडौः समुन्नतिमा मोडौं’ अवधारणा लिई पर्यटकीय राजधानी क्षेत्रमा सूचना प्रविधि पार्क निर्माणका लागि बजेट विनियोजन गरेको जनाएको छ । त्यस्तै युवा जनशक्तिलाई लक्षित गरी ‘प्रविधिमा जोडौंः समुन्नतिमा मोडौं’ अवधारणा लिई पर्यटकीय राजधानी क्षेत्रमा सूचना प्रविधि पार्क निर्माणका लागि पनि बजेट विनियोजन गरेको छ । लोकाहाखोला र पुँडिटार औद्योगिक क्षेत्रको जग्गा प्राप्ति, पूर्वाधार निर्माण तथा सञ्चालन कार्यलाई तीव्रता दिने र पर्यटन, उद्योग तथा वाणिज्य प्रशासन सेवालाई क्रमशः अनलाइन प्रणालीमा आवद्ध गर्दै लगिने योजना गण्डकी प्रदेश सरकारले अघि सारेको छ ।
अतिक्रमित सरकारी जग्गा किनबेच र नामसारीमा पूर्ण रोक
काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया सुरु गरिएको हो । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन दिएको छ । मन्त्रालयका अनुसार सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन नेपाल सरकारसमक्ष पेश भइसकेको छ । उक्त प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ भने कार्यान्वयनलाई प्रभावकारी बनाउन आठ सदस्यीय समिति समेत गठन गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिवेदनमा उल्लेख भएका जग्गाको स्वामित्व परिवर्तन रोक्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा १० अर्ब ९३ करोडको पूर्वाधार बजेट: नयाँभन्दा अधुरा आयोजना पूरा गर्ने रणनीति
काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट घटाएको छ । चालु आर्थिक वर्षको तुलनामा मन्त्रालयको बजेट केही कम गर्दै आगामी वर्षका लागि १० अर्ब ९३ करोड ८१ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा उक्त मन्त्रालयका लागि ११ अर्ब १ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । यसअनुसार आगामी वर्ष मन्त्रालयको बजेट करिब ७ करोड १९ लाख रुपैयाँले घटेको छ । आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले पूर्वाधार क्षेत्रका अधिकांश बजेट विगतदेखि सञ्चालनमा रहेका आयोजनालाई निरन्तरता दिन केन्द्रित गरिएको बताए । अधुरा तथा निर्माणाधीन आयोजनालाई सम्पन्न गर्ने उद्देश्यले बजेट विनियोजन गरिएको उनको भनाइ छ । बजेटअनुसार प्रदेशका १४ वटा रणनीतिक सडक आयोजना का लागि ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, प्रदेशभर १२२ वटा नयाँ झोलुङ्गे पुल निर्माण गर्न ३६ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ । प्रदेशको बहुप्रतीक्षित एकीकृत प्रशासनिक भवन निर्माण लाई उच्च प्राथमिकतामा राख्दै सरकारले ७५ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी, वीरेन्द्रनगर, नारायण र दुनै सहरलाई स्मार्ट सिटीका रूपमा विकास गर्न ३७ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ । भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणलाई समेत सरकारले प्राथमिकतामा राखेको छ । जाजरकोट र रुकुम पश्चिम जिल्लामा भूकम्पपछिको पुनर्निर्माण तथा विपन्न नागरिकका लागि आवास निर्माण कार्यक्रम सञ्चालन गर्न ३४ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरिएको बजेटमा उल्लेख छ । यस्तै, उद्योग, पर्यटन मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन गरेको जनाएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा नयाँ आयोजना थप्नेभन्दा पनि निर्माणाधीन तथा अधुरा आयोजनालाई सम्पन्न गर्ने रणनीति लिएको देखिएको छ । बजेट घटे पनि सडक, पुल, प्रशासनिक भवन, स्मार्ट सिटी र पुनर्निर्माण कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
‘सिक्दै कमाउँदै’ले निरन्तरता पाउने, शिक्षा र खेलकुदमा २ अर्ब १६ करोड
काठमाडौं । गण्डकी प्रदेश सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, उच्च शिक्षाको स्तरोन्नति र सीपमूलक शिक्षालाई जोड दिएको छ । सोमबार आज आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री जीतबहादुर शेरचनले शिक्षा, सामाजिक विकास, युवा तथा खेलकुद क्षेत्रतर्फ २ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरे । बजेट कार्यक्रममा शिक्षकको क्षमता विकास, सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार सुदृढीकरण, एसटीईएम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) ल्याब स्थापना, परीक्षा प्रणाली सुधार तथा प्रविधिमैत्री शिक्षण–सिकाइको वातावरण निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । यसबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । उच्च शिक्षा प्रदान गर्दै आएका सामुदायिक क्याम्पसहरूको स्तरोन्नति गरी शैक्षिक गुणस्तर सुधार गर्न पनि आवश्यक व्यवस्था गरिएको सरकारले जनाएको छ । शिक्षालाई सीप र स्वरोजगारसँग जोड्दै विद्यार्थीलाई आयआर्जनमा सहभागी गराउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘सिक्दै कमाउँदैः कमाउँदै सिक्दै’ कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने भएको छ । स्थानीय तहसँगको सहकार्यमा अनिवार्य तथा निःशुल्क शिक्षाको सुनिश्चितता, डिजिटल साक्षरता, वृत्ति परामर्श, सीप परीक्षण तथा अभिभावक शिक्षासम्बन्धी कार्यक्रमलाई समेत निरन्तरता दिइने बजेटमा उल्लेख गरिएको छ । त्यसैगरी, गण्डकी प्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण तथा सञ्चालनका लागि र गण्डकी विश्वविद्यालयलाई विशिष्टीकृत अध्ययन–अध्यापन संस्थाका रूपमा विकास गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । गण्डकी सरकारले शिक्षा, युवा तथा खेलकुद क्षेत्रको समग्र विकासमार्फत दक्ष जनशक्ति उत्पादन, स्वरोजगार प्रवर्द्धन र गुणस्तरीय शिक्षामा पहुँच विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ ।
३० हजार साउदी रियाल दुबई लैजाँदै गर्दा विमानस्थलबाट मगर पक्राउ
काठमाडौं । ३० हजार रियालसहित एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । काठमाडौंबाट दुबई जान लागेको अवस्थामा साउदी रियालसहित १९ वर्षीय समीरबहादुर मगरलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालका प्रमुख वसन्त रजौरेले जानकारी दिए । शनिबार ७ बजेर ५५ मिनेटमा हिमालय एयरलाइन्सको उडान नम्बर एचनाइन ०७६५ द्वारा उनी दुबई जान लागेका थिए । विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी गर्दा विदेशी मुद्रासहित पक्राउ मगर परेका हुन् । नेपाली १२ लाख १४ हजार रुपैयाँ बराबरको साउदी रियाल उनले दुबई लैजान लागेका थिए । उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
लुम्बिनीको बजेट ३८ अर्ब
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ३८ अर्ब रुपैयाँको वजेट सार्वजनिक गरेको छ । बजेटमार्फत प्रदेश सरकारले विकास आयोजना, पूर्वाधार विस्तार, सामाजिक क्षेत्र सुदृढीकरण तथा औद्योगिक लगानी प्रवद्र्धनलाई प्राथमिकतामा राखेको जनाइएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२.५३ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास निर्माण लक्षित पुँजीगत खर्च एक खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ भएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार चालु आवको ११ महिनामा कूल लक्ष्यको ३२ दशमलव ५३ प्रतिशत पुँजीगत खर्च भएको हो । सरकारले चालु आवमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ रकम पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ । चालु आव सकिन एक महिना मात्रै बाँकी रहेको अवस्थामा पुँजीगत खर्च भने पर्याप्त हुन सकिरहेको छैन । चालु आवमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकामा ११ महिनामा ७६ दशमलव ९१ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ वर्षभरिमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म तीन खर्ब पाँच अर्ब ७१ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ ।