सरकारले सबै दलका घोषणापत्रलाई गर्यो आत्मसात्, यी १७ क्षेत्र प्राथमिकतामा {पूर्णपाठ}
काठमाडौं । सरकारले ६ वटा राजनीतिक दलका घोषणापत्रलाई आत्मसात् गरेको छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका ६ वटै दलको चुनावी घोषणापत्रका आधारमा सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा तयार गरेको हो । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणा गरेका घोषणापत्रलाई आत्मसात् गर्दै राष्ट्रिय प्रतिबद्धता तयार गरेको हो । सरकारले यसमा सुझाव सल्लाह दिन आग्रह गरिएको छ । राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा सुझाव दिनका लागि वैशाख १० गतेसम्मको समय दिइएको छ । यस्तो छ मस्यौदाको पूर्णपाठ
कम्युनिष्ट पार्टी एकताको पहलमा लागे नारायणकाजी, उठाए पुर्नगठनको माग
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ कम्युनिष्ट एकताको पहलमा लागेका छन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पुराना दलहरुले नराम्रो हार व्यहोरेपछि श्रेष्ठ नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत कम्युनिष्ट पार्टीहरु एकताका लागि पहलमा लागेका हुन् । उनले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर अब एकता गरेर अगाडि बढ्नुपर्ने धारणा राखेको बुझिएको छ । ओली पनि त्यसमा सकारात्मक भएको र थप छलफल गरेर अगाडि बढ्नुपर्ने धारणा ओलीले राखेको बुझिएको छ । श्रेष्ठले ओलीलाई अस्पतालमै गएर भेटवार्ता गरेको पार्टीको नेताहरुले बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा २०८३ सालको शुभकामना दिँदै उनले निर्वाचनपछिको विकसित राष्ट्रिय परिस्थितिमा नेपाली कम्युनिस्ट शक्तिहरूले निराशा र पलायन हुन नहुने उल्लेख गर्दै पुर्नगठनको प्रक्रियामा अगाडि बढ्नुपर्ने बताएका छन् । ‘समग्र परिस्थितिको गम्भीर समीक्षा, निर्मम आत्मसमीक्षा, वस्तुनिष्ठ निष्कर्षसहित समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठनको प्रक्रिया अघि बढाउने दृढ सङ्कल्प गर्नु जरुरी छ । नयाँ वर्षलाई सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूले निजी स्वार्थबाट माथि उठेर गतकालका गल्ती कमजोरीहरू सच्याउँदै त्यस दिशामा अभिमुख हुने अवसर बनाउन सकौैं,’ उनले भनेका छन् । उनले अगाडि भनेका छन्, ‘हालै सम्पन्न निर्वाचनमा जनताको तर्फबाट सुशासन र रोजगारी मूल रहेको उक्त उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर परिवर्तनको आकाङ्क्षालाई मतादेशमा अभिव्यक्त गरिएको छ । तसर्थ जनताको अपेक्षा अनुसार नयाँ वर्षमा वर्तमान सरकारलाई त्यस दिशामा परिणाममुखी कार्य गर्ने सफलता प्राप्त हुन सकोस् ।’
अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना प्रकाशन नगर्न प्रहरीको अनुरोध
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक, अप्रमाणित सूचना सृजना गरी प्रसारण/प्रकाशन नगर्न अनुरोध गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दर्ता भएको ज्यानसम्बन्धी कसूरका आरोपी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकउपर सम्मानित सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनमा माथवर व्यक्तिको जमानीमा राखेर अनुसन्धान भइरहेको जनाउँदै त्यस विषयमा भ्रामक सूचना सिर्जना र प्रसारणरप्रकाशन नगर्न सबैलाई अनुरोध गरिएको बताए । उनले आजै एक विज्ञप्ति जारी गरी ‘ओली–लेखकको अनुसन्धानमा झेल ?’ भन्ने शीर्षकमा एक युट्युव च्यानलमा श्रव्यदृश्य सामग्री प्रकाशन भएकाले त्यसमा अभिव्यक्त धारणा र सूचनामा ध्यानाकर्षण भएको जनाएका छन् । परिसरले आज जारी गरेको सूचनामा भनिएको छ, 'स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालय, काठमाडौंको कानुनी रायपरामर्शमा अनुसन्धान भइरहेकामा जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत जानकारी प्रवाह भएकाले भ्रामक, अप्रमाणित सूचना सृजना एवं प्रसारणरप्रकाशन नगर्न हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।'
सामसंग नेपालले गर्यो माइक्रोवेभ मास्टरक्लास आयोजना
काठमाडौं । सामसंग नेपालले स्मार्ट तथा रमाइलो होम कुकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ । कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको सहभागिता रहेको थियो । सहभागीहरूले सामसंगको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष अनुभव गर्ने अवसर पाए । उक्त मास्टरक्लास शनिबार द्वारका प्यालेसमा आयोजना गरिएको थियो । कार्यक्रममा आधुनिक माइक्रोवेभ प्रविधिबाट घरमै खाना पकाउँदा स्वाद र पोषण कसरी कायम राख्न सकिन्छ तथा पकाउने प्रक्रियालाई कसरी सहज बनाउन सकिन्छ भन्नेबारे प्रदर्शन गरिएको थियो । सहभागीहरूले सामसंगका विभिन्न माइक्रोवेभ मोडल प्रयोग गर्दै व्यवहारिक कुकिङ सीप तथा सिर्जनात्मक परिकार बनाउन सिकेका थिए । शेफ उलकले माइक्रोवेभमार्फत खाना तताउने, ग्रिल गर्ने, बेकिङ गर्ने तथा मल्टि–स्टेज कुकिङसम्मका विभिन्न विधि प्रस्तुत गरेका थिए । कार्यक्रमले सामसंगको माइक्रोवेभ लाइनअपले व्यस्त जीवनशैली भएका परिवारका लागि छिटो, स्मार्ट र सहज कुकिङ अनुभव प्रदान गर्ने सन्देश दिएको कम्पनीले जनाएको छ । खाना पकाउन रुचि राख्ने, गृहिणी तथा प्रविधिप्रेमी उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सामसंग स्मार्टथिंग्स एपको प्रत्यक्ष प्रदर्शनसमेत गरिएको थियो । सहभागीहरूलाई स्मार्ट कनेक्टिभिटीमार्फत वाशिङ मेसिन, रेफ्रिजरेटरलगायत घरेलु उपकरणसँग एप लिंक गरी दैनिक कामलाई थप सहज बनाउने तरिकाबारे जानकारी गराइएको थियो । सामसंग नेपालले यो पहललाई घरमै खाना पकाउन रुचि राख्ने ग्राहकलाई नवीन किचन समाधानमार्फत सशक्त बनाउने अभियानको हिस्सा भएको जनाएको छ । कम्पनीले आधुनिक जीवनशैली अनुरूपका बहुउपयोगी माइक्रोवेभ मोडलहरू देशभरका आधिकारिक सामसंग स्टोरमा उपलब्ध रहेको जानकारी दिएको छ ।
पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको शुभारम्भ भएको अवसरमा प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उक्त शुभकामना व्यक्त गरेका हुन् । 'नयाँ वर्षले हामी सबैको जीवनमा सकारात्मक ऊर्जा र राष्ट्रप्रतिको नवीन प्रतिबद्धता लिएर आएको छ,' सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले लेखेका छन्, 'आउनुहोस्, हामी सबै मिलेर आपसी सद्भाव कायम राखौँ र पूर्ण निष्ठाका साथ राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ ।'
कर धम्कीमा चीनको कडा चेतावनी
काठमाडौं । अमेरिका र चीनबीच व्यापारिक तनाव फेरि चर्किने सङ्केत देखिएको छ । जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएपछि बेइजिङले त्यसको ‘कडा प्रतिआक्रमण’ गर्ने स्पष्ट सन्देश दिएको छ । अमेरिकाले चीनले इरानलाई सैन्य सहयोग गर्न लागेको भन्ने रिपोर्ट सार्वजनिक गरेसँगै यो विवाद सतहमा आएको हो । ट्रम्पले अर्को महिना चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने भनिएको भेटअघि नै तेहरानलाई हतियार सहयोग गरेमा चिनियाँ सामानमा ५० प्रतिशतसम्म कर लगाउने चेतावनी दिएका छन् । यही दिन अमेरिकी सञ्चारमाध्यम सिएनएनले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै चीनले आगामी केही हप्ताभित्र इरानलाई नयाँ हवाई रक्षा प्रणाली उपलब्ध गराउन सक्ने सङ्केत गरेको खबर सार्वजनिक गरेको थियो । यसअघि सप्ताहन्तमा द न्युयोर्क टाइम्सले पनि बेइजिङले काँधबाट प्रहार गर्न सकिने मिसाइलहरू पठाएको हुन सक्ने दाबी गरेको थियो । तर चीनले यी सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा ती रिपोर्टहरू ‘पूर्णतया बनावटी’ भएको प्रतिक्रिया दिए । उनले अमेरिकाले यस्ता दाबीलाई बहाना बनाएर थप कर लगाउने प्रयास गरे चीनले कडा प्रतिक्रिया दिने स्पष्ट पारे । चीन र इरानबीच घनिष्ठ आर्थिक सम्बन्ध रहेको छ । विशेषगरी चीन इरानको प्रमुख तेल खरिदकर्ता हो । यद्यपि दुई देशबीच औपचारिक सैन्य गठबन्धन भने छैन । विश्लेषकहरूका अनुसार बेइजिङले इरानसँगको सम्बन्धलाई मुख्यतः आर्थिक र व्यावहारिक दृष्टिकोणबाट हेर्ने गरेको छ । यससँगै चीनले खाडी क्षेत्रका अन्य देशहरूसँग पनि बलियो आर्थिक सम्बन्ध कायम राखेको छ । पछिल्लो द्वन्द्वका क्रममा इरानले ती देशहरूलाई लक्षित गरी गरेको आक्रमणप्रति चीनले आलोचना समेत गरेको छ । रासस
पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ
गण्डकी । नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताको ९० प्रतिशत बढी भरिभराउ भएका छन् । नेपाली नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली नयाँ वर्षकै अवसरमा सङ्घले सञ्चालन गर्दै आएको फेवा नव वर्ष महोत्सवको २१औँ संस्करणका कारण पनि पोखरामा पर्यटकको आगमन बढाएको उनले बताए । प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण चासो र चर्चा कमाएको पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुका साथै यसको प्रवर्द्धनमा निरन्तर गरिएका प्रयाससँगै पर्यटकको आगमन पनि बढ्दो क्रममा रहेको पर्यटन व्यवसायी बताउँछन् । पोखरा क्षेत्रमा कुल एक हजार २०० होटेल रहेकामा प्रत्येक दिन ४० हजारसम्म पर्यटक राख्न सकिने अध्यक्ष सुवेदीले बताए ।
९ महिनामा ५४ प्रतिशत बजेट खर्च, विकास खर्च २३.५८ प्रतिशत मात्रै
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनमा सरकारले करिब ५४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो । जसमध्ये चैतसम्ममा सरकारले १० खर्ब ५९ अर्ब बजेट खर्च गरेको अर्थमन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । कार्यालयकाअनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी चालुतर्फको शिर्षकमा बजेट खर्च भएको छ । चालु खर्च भनेको सरकारको दैनिक सञ्चालन र नियमित कार्यहरू का लागि गरिने खर्च हो । यो खर्चले नयाँ सम्पती सिर्जना गर्दैन वा दीर्घकालीन प्रतिफल दिँदैन । सामान्यतया यो कुल बजेटको ५८–६२% सम्म पुग्ने गर्छ । चालु शिर्षकमा सरकारले यस वर्षका लागि ११ खर्ब ८० अर्ब बजेट छुट्टाएकोमा समीक्षा अवधी सम्ममा सरकारले ७ खर्ब ४७ अर्ब बजेट खर्च गरिसकेको छ । पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन । पुँजीगत खर्च सडक, पुल, विद्यालय भवन, अस्पताल, सिंचाई, जलविद्युत् जस्ता दीर्घकालीन पूर्वाधार निर्माणमा खर्च हुन्छ । यस्तो शीर्षकमा बजेट खर्च हुन सकेको छैन । खासगरी मध्यपूर्वमा देखिएको तनावले निर्माण व्यवसायीले बिटुमीन इन्धनको अभाव झेलिररहेका छन् । जसको असर पुँजीगत खर्चमा देखिएको छ । पुँजीगततर्फ चालु आ.व.मा खर्च गर्न सरकारले ४ खर्ब ७ अर्ब छुट्टाएकोमा ९६ अर्ब १९ करोड खर्च भएको छ । यो खर्च विनियोजित बजेटको २३.५८ प्रतिशत हो । महालेखा नियन्त्रक कार्यालयकाअनुसार सार्वजनिक ऋण व्यवस्थापनका लागि सरकारले यस वर्षका लागि छुट्टाएको बजेट पनि ठूलो मात्रमा भएको छ । यो शिर्षकमा छुट्टाइएको बजेट सरकारले पहिले लिएका ऋणको साँवा र ब्याज तिर्ने गरेको छ । यो शिर्षकमा खासगरी सरकारले ३ खर्ब ७५ अर्ब छुट्टाएको थियो । जसमध्ये २ खर्ब १६ अर्ब बजेट खर्च भइसकेको छ । सरकारले चालु आवको चैतमशान्तसम्म ९ खर्ब ७ अर्ब आम्दानी गरेको छ । राजस्वबाट मात्रै सरकारले ८ अर्ब ८६ करोड संकलन गरेको छ ।