विकासन्युज

नासा सेक्यूरिटीजले २१ प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नासा सेक्यूरिटीज कम्पनी लिमिटेड ले २१ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको वैशाख १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २१ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले वैशाख २२ गते विशेष साधारण सभा आह्वान गरेको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय, लालकोलोनी मार्ग, काठमाडौंमा बिहान ९ बजे बस्नेछ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ ।

सार्वजनिक सवारीसाधनमा सिसिटिभी अनिवार्य गर्न निर्देशन

काठमाडौं । सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रु वाहक सवारीसाधनमा सिसिटिभी जडान गरिसक्न निर्देशन दिएको हो । जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार सिरहा सदरमुकाम, लहान र मिर्चैयालगायत क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधनमा यो नियम लागू हुनेछ । सार्वजनिक यातायातमा हुनसक्ने चोरी, दुर्व्यवहार र अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गरी यात्रुलाई सुरक्षित महसुस गराउन यो कदम चालिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार तोकिएको २० दिनको समय सीमाभित्र सिसीटिभी जडान भए/नभएकोबारे यातायात व्यवस्था कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट नियमित अनुगमन गरिनेछ । निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी गरिएको उक्त सूचनामा नियमको पालना नगर्ने सवारीसाधनलाई कारबाही गरिने उल्लेख गरिएको छ ।

पशुपति र कालीमाटीबाट ८ जनाको उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक आश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु गरेको छ । उद्धारमा महानगर प्रहरी बल, नेपाल प्रहरी, मानव सेवा आश्रम र वडाका जनप्रतिनिधिसहित सरोकारवाला सहभागितामा हरेक दिन तीन सिफ्टमा उद्धार कार्य हुने कामपाले जनाएको छ । काठमाडौंलाई सडक आश्रित सहयोगापेक्षीमुक्त सहर बनाउन कामपाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरूको सहभागिताका सडकमा रहेका बिरामी, मानसिक तथा शारीरिक रूपमा अशक्त, बेवारिसे व्यक्तिहरूलाई उद्धार थालेको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । ‘हामीले सबैलाई सडकबाट उद्धार गरेका होइनौ, बेसहारा र अशक्तको उद्धार गर्छौं, शारीरिक अवस्था ठिक भएकालाई माग्ने पेसामा निषेध गर्छौं,’ प्रमुख डङ्गोलले भनिन् ।  पशुपति क्षेत्रबाट नुवाकोट घर भएका ६५ वर्षीय पुरुष, रामेछाप घर भएका ५० वर्षीय, ४८ वर्षीय र ४१ वर्षीय गरी तीन जना पुरुष र काभ्रे घर भएका ४८ वर्षीय एक जना र ५० वर्षीय एक जना व्यक्ति गरी ६ जनालाई उद्धार गरिएको हो । पशुपति क्षेत्रपछि सेवामा खटिएको टोली कालीमाटी पुगेको थियो । कालीमाटीबाट काभ्रे घर भएका ८६ वर्षीय एक जना पुरुष र काभ्रे घर भएका ५० वर्षीय एक जना पुरुषको उद्धार भयो । उनीहरू दुवैको अवस्था सामान्य छ । टेकु क्षेत्रबाट धादिङ घर बताउने करिब ६० वर्षीय एक जना ज्येष्ठ नागरिकको उद्धार भएको छ । उद्धार तथा पहिचान, उपचार तथा पुनःस्थापना कार्यलाई व्यवस्थित बनाउन कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी र मानव सेवा आश्रमका प्रतिनिधि सदस्य छन् । समितिको सदस्यसचिवमा सामाजिक विकास विभागका प्रमुख छन् ।  यसरी सहयोगापेक्षीहरूको उद्धार कार्यमा रहेको बेला मानवतामा आधारित काठमाडौं निर्माण कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, ‘सडकमा माग्न बस्नुभएका सबैलाई सहयोग गर्नुपर्ने अवस्थाको हुनुहुन्न । कोहिले माग्ने कामलाई पेसा बनाउनुभएको छ । कोही दुर्व्यसनका कारण पारिवारिक बेमेलका कारण सडकमा आउनुभएको छ । उहाँहरूको अवस्थाका आधारमा व्यवस्थापन गर्ने योजनाअनुरूप उद्धार कार्य थालेका हौँ ।’  कामपाले काठमाडौंलाई सहयोगापेक्षी सडक मानवमुक्त सहर बनाउने अभियानलाई तीव्रता दिएको छ । 

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने रथ

काठमाडौं । बिस्केट जात्राको सातौँ दिन बिहीबार भक्तपुरमा इतिहासमै पहिलोपटक महिलाहरूले नकिजु अजिमा (भद्रकाली)को दुई तले रथ तानेका छन् । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रूपमा मनाइने बिस्केट जात्रामा सातौं दिन पाँचतले मन्दिरबाट नकिजु अजिमा (भद्रकाली) को रथ तानेर इतिहास कायम गरेका हुन् । यसअघि हरेक वर्ष पुरुषहरूले तान्दै आएको नकिजु अजिमाको रथ यस वर्ष भने जात्रा व्यवस्थापन समितिले नै महिलाहरूलाई आह्वान गरी पहिलोपटक महिलाहरूले मात्रै रथ तानेका हुन् । वैशाख १ गते ल्यासिंखेलमा लिङ्गो ढालेपछि त्यहीबाट भैरव र भद्रकालीको रथलाई तानेर ल्याई गःहिटीम जुधाउने प्रचलन रहेको छ । नकिजु अजिमाको रथ तान्नलाई हजारौं महिलाको भीड थियो । बिहीबार नै ब्रम्हायणी र महेश्वरीको तिप्वा जात्राको खट जुधाइएको छ । भक्तपुरमा आयोजना गरेको या जात्रा हरेक बिस्का जात्राको सातौँ दिन ब्रम्हायणी र महेश्वरीको रथ जुधाएर जात्रा मनाउने गरिन्छ । जात्राका आठौँ दिन आज (शुक्रबार) भने सुगन जात्रा मनाउने प्रचलन छ । सगुन जात्रामा भक्तपुरका स्थानीयले यहाँका विभिन्न देवी देवताका मन्दिरमा गएर सगुन चढाएर पुजन गर्ने गरिन्छ । जात्राको नवौँ दिन अर्थात् जात्राको अन्तिम दिन वैशाख ५ गते भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने प्रचलन छ ।

फेसबुकले ल्यायो १८ वर्षपछि हराएको छोराको खबर

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका-१२ का डम्बर बहादुर नेगीको परिवारमा खुसीयाली छाएको छ । लामो समयदेखि सम्पर्क विहीन रहेका छोरा दीपक जीवित रहेको खबर पाएपछि परिवार पुनर्मिलनको प्रतीक्षामा छ । घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका दीपक गाउँकै एक आफन्तसँग हिमाञ्चल पुगेका थिए । त्यहाँ काम गर्ने क्रममा बिरामी परेपछि ‘अस्पताल जान्छु’ भनेर हिँडेका उनी त्यसपछि सम्पर्क विहीन भएका थिए । त्यसयता उनी कहाँ छन् भन्ने कुनै जानकारी परिवारले पाउन सकेको थिएन । समय बित्दै जाँदा परिवारले आफन्त र चिनेजानेकाहरूसँग खोजी गरे पनि कुनै पत्तो लागेन । अन्ततः दीपक जीवित छन् कि छैनन् भन्ने नै अन्योलमा परेको अवस्थामा परिवारले आशा मारेको थियो । तर नियतिले नयाँ मोड लियो । भारतको लेह–लद्दाख क्षेत्रमा चौँरी गोठमा काम गरिरहेका एक नेपालीले दीपक नेगीसँग भेट गरेका थिए । कुराकानीका क्रममा उनले आफू कञ्चनपुरको देखतभूलीको दीपक (दीपु) नेगी भएको बताएका थिए । त्यसपछि ती नेपालीले दीपकको नाम, ठेगाना र अवस्थासहितको भिडियो फेसबुकमा अपलोड गरे । उक्त भिडियो सामाजिक सञ्जालमार्फत फैलिँदै नेगी परिवारसम्म पुगेको हो । प्रहरीमार्फत सूचना वडा कार्यालयसम्म पुगेपछि परिवार र भिडियो अपलोड गर्ने व्यक्तिबीच सम्पर्क स्थापित भएको थियो । त्यसपछि फेसबुक र फोनमार्फत दीपकको अवस्थाबारे थप जानकारी लिइएको छ । मोबाइलको स्क्रिनमा १८ वर्षपछि छोराको अनुहार देख्दा परिवारका सदस्यहरू स्तब्ध बनेका थिए । एकछिन त विश्वास नै गर्न नसकेको परिवार त्यसपछि भावुक बनेको थियो । ‘भगवानले नै आएर खबर सुनाएजस्तो भयो,’ दीपकका बुबा डम्बर बहादुर नेगीले भने, ‘यति वर्षपछि छोराको खबर पाउनु नयाँ जीवन पाएजस्तै हो ।’ आमा मानमती नेगीका लागि पनि त्यो क्षण अत्यन्त भावुक रह्यो । ‘पहिले त विश्वास नै लागेन, पछि राम्रोसँग हेर्दा आफ्नै छोरा हो भन्ने थाहा पाएँ । खुसीले बोल्न सकिनँ, आँसु मात्रै आयो, अब छिट्टै भेट्ने व्यग्र प्रतीक्षा छ, छोरा भेट्ने अझै बेचैनी बढ्दै जान थालेको छ,’ उनले भनिन् ।  परिवारका अनुसार दीपक केही वर्षदेखि मानसिक रूपमा अस्वस्थ छन् । काम गर्ने ठाउँका मालिकले उपचार गराइरहेका छन् भन्ने जानकारी प्राप्त भएको छ । सीमित स्रोतसाधनका बाबजुद गरिएको सहयोगप्रति परिवारले आभार व्यक्त गरेको छ । हाल नेगी परिवार र दीपकबीच फेसबुक भिडियो कलमार्फत नियमित सम्पर्क भइरहेको छ । लामो समयपछि छोरासँग कुरा गर्दा परिवार अझै पनि विश्वास गर्न गाह्रो भइरहेको बताउँछ । ‘फोनमा आवाज सुन्दा र भिडियोमा देख्दा मन भरिन्छ,’ बुबा डम्बर बहादुरले भने, ‘अब छिट्टै घर ल्याउन पाए सबै दुःख बिर्सिन्छौं ।’  ३६ वर्षीय दीपकलाई घर फर्काउने तयारी पनि सुरु गरिएको छ । दुर्गम लेह–लद्दाख पुग्न समय र खर्च दुवै लाग्ने भएकाले परिवार आवश्यक स्रोत जुटाउने कार्यमा लागेको छ । आफन्तसँग सरसापट र कर्जा मागेर भए पनि दीपकलाई ल्याउनका लागि तयारी गरिएको छ । हाल दिल्लीमा कार्यरत दीपकका दाजु र भाउजूले यसै महिनाको २० तारिखतिर लद्दाख पुगेर उनलाई घर ल्याउने योजना बनाइरहेका छन् । परिवारले ल्याउनका लागि अब ढिलाइ नगर्ने जनाएको छ । वडाध्यक्ष नवलसिंह रानाका अनुसार प्रहरीमार्फत सूचना प्राप्त भएपछि परिवारलाई जानकारी गराइएको र भारत स्थित सम्पर्क व्यक्तिसँग समन्वय गरिएको हो । ‘फेसबुककै कारण वर्षौदेखि हराएको व्यक्ति परिवारसँग जोडिनु प्रविधिको सकारात्मक प्रयोग हो,’ उनले भने ।  नेगी परिवारका छिमेकी वडा सदस्य जयसिंह भण्डारीले पनि फेसबुक भिडियोमार्फत दीपक जीवित रहेको थाहा पाउँदा गाउँ भरि खुसी छाएको बताए । नेगी परिवारका तीन छोरामध्ये दीपक माइला हुन् । जेठो र कान्छो छोरा भारतमै रोजगारीमा छन् भने बुबा गाउँकै सामुदायिक वनमा चौकीदारका रूपमा कार्यरत छन् ।

केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

काठमाडौं । हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ ।  कोशी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना  छ । त्यसैगरी, आज राति देशका हिमाली भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने कोशी प्रदेशका तराईसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली हुनेछ । देशका अधिकांश स्थानमा तापक्रम बढ्दो क्रममा रहेको, अन्य प्रदेशका तराई भेगको तुलनामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईसहित केही स्थानमा गर्मी हुने सम्भावना छ ।

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्ति साथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नै पर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्साइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।   सन्तानलाई ९ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्ति साथ तर्पण, पिण्डदान र सिदा दान गरिन्छ । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदा दानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए ।  यस अवसरमा चन्द्रागिरि नगरपालिका स्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए । 

कार्की आयोगको प्रतिवेदन अपूर्ण रहेको कांग्रेसको निष्कर्ष, उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा चैत २ र ३ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले गत भदौ २४ गतेका घटनाको पर्याप्त छानविन नभएकाले उक्त घटनाको पुनःनिष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।  बैठकमा समसामयिक राजनीतिक अवस्था, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, सम्पत्ति छानविन, पेट्रोलियम पदार्थको मूल्यलगायतका विषयमा छलफल भएको प्रवक्ता चालिसेले जानकारी बताए । ‘बैठकले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, नागरिक सर्वोच्चता, मानव अधिकार तथा प्रेस स्वतन्त्रताजस्ता संविधानमा नीहित मूल्यमान्यताप्रति प्रतिबद्ध रहँदै संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्ने निर्णय गरेको छ, उनले भने, ‘सरकारका सकारात्मक र कानुनसम्मत काममा सहयोग गर्ने तर लोकतान्त्रिक मूल्यविपरीत कदममा कडा प्रतिवाद गर्ने कांग्रेसको धारणा छ । ’ उनले कांग्रेसले विधिको शासनलाई लोकतन्त्रको आधार मानेको उल्लेख गर्दै कानुनभन्दा माथि कोही नहुने स्पष्ट पारे । मध्यपूर्व सङ्कटका कारण बढेको पेट्रोलियम पदार्थको मूल्यले आमनागरिकको जीवन प्रभावित भएकाले मूल्य घटाउन विभिन्न करमा सहुलियत, भन्सार र अन्य शुल्क घटाउने तथा विद्यार्थीलाई विशेष सुविधा दिन कांग्रेसले सरकारसँग माग गरेको छ । बैठकले भ्रातृ संस्थाहरूको अवस्था अध्ययनसम्बन्धी प्रतिवेदन पारित गर्नुका साथै प्रवासस्थित जनसम्पर्क समितिको प्रतिवेदन अनुमोदन गरेको छ । साथै, क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता चालिसेले जानकारी दिए ।