आज देशभर मौसम सफा, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने भए पनि केही स्थानमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने मधेश प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना पनि औंल्याएको छ। त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सर्वोच्चको फैसला स्वीकार गर्दै कांग्रेसले गर्यो एकताको अपिल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दामा सम्मानित सर्वोच्च अदालतले दिएको फैसला स्वीकार गर्ने बताएका छन् । उनले उक्त फैसला कसैका लागि पनि हार वा जीतको विषय नभएको स्पष्ट पार्दै यसलाई प्रतिस्पर्धाको रूपमा व्याख्या नगर्न आग्रह गरेका छन् । पौडेलले यस्तो व्याख्याले पार्टी एकता खल्बलिन सक्ने भएकाले सबै नेता तथा कार्यकर्तालाई सचेत र सजग रहन अपिल गरेका छन् । महामन्त्री पौडेलले अब सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू चारतारे झण्डामुनि पुनः एकताबद्ध भएर आगामी १५औं महाधिवेशनतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले सबैलाई सुरक्षित आभास हुने वातावरण निर्माण गर्दै पार्टीलाई सुदृढ बनाउन सक्रिय हुन आग्रह गरेका छन् ।
गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गगनकुमार थापा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको भन्दै आदेश जारी गरेको हो । गत पुसको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेसको नयाँ कार्यसमितिको वैधानिकता सम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको हो । उक्त विशेष महाधिवेशनले १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनबाट बनेको उक्त कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेपछि देउवा पक्ष अदालत गएको थियाे। निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको पक्ष सर्वोच्च अदालत पुगेको थियो ।
शुक्रबार पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने
काठमाडौं । शुक्रबार ( आज) पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । कतैकतै तातो बढिरहेका बेला शुक्रबार पनि केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले अझै केही दिन कोशीलगायत केही क्षेत्रमा मौसम बदली भइरहने र तराईका क्षेत्रमा तातो बढ्ने जानकारी दिए । उनले मौसम छिनछिनमै परिवर्तन भइरहने भएकाले आधिकारिक सूचनाबारे जानकारी राख्न अनुरोध पनि गरे । उनले भने, ‘मधेस प्रदेशलगायत तराई क्षेत्रमा तापक्रम बढ्ने छ, तर कोशीलगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने बदली रहने छ ।’ उनका अनुसार शुक्रबार पछिल्लो तीन घण्टामा चितवनमा २२.६, तनहुँमा २५.८, कास्कीमा १४, लमजुङमा ८.८, नवलपरासीपूर्वमा २० मिलीमिटर वर्षा भएको छ । शुक्रबारखोटाङमा पनि दिउँसो २५ मिलीमिटर वर्षा भएको थियो । शनिबार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यता मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाइएको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
एमालेद्वारा आन्दोलनका कार्यक्रम स्थगित, वैशाख ९ मा पार्टी स्थापना दिवस मनाउने
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको शुक्रबार (आज) को बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ । सो पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा भएकोे बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधनको निर्णय गरेको हो । बैठकले सबै जिल्ला कमिटीहरूले यही वैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार उपत्यकाको हकमा वैशाख ९ गते दिउँसो २ः०० बजे केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरिनेछ । बैठकले पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीको सन्दर्भमा यही वैशाख ७ र १२ गते गर्नेगरी तय भएका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको आदेशमा गत चैत २६ गते हाजिरी जमानीमा रिहा भएपछि एमालेले आन्दोलनका कार्यक्रम स्थगन गरेको हो ।
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसमक्ष ‘प्रिन्सिपल एसोसियएसन अफ नेपाल’ (पान) ले विद्यालय शिक्षा ऐन छिटो जारी गरिनुपर्नेलगायत विद्यालय क्षेत्रका सुधारसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराएको छ । सो एसोसिएसनका अध्यक्ष सुदामप्रसाद गौतमको नेतृत्वमा गएको टोलीले मन्त्री पोखरेललाई १० बुँदे सुझावपत्र हस्तान्तरण गरेको हो । पानले पर्याप्त लगानी गरेर विद्यालय शिक्षामा रुपान्तरण ल्याउन, सामुदायिक विद्यालयमा पुनःजागरण अभियान सञ्चालन गर्न, परीक्षा प्रणालीलाई डिजिटल प्रविधिमा आधारित सरलीकृत बनाउन, समयानुकूल र व्यवहारिक पाठ्यक्रम बनाउन, विद्यालयलाई डिजिटल लर्निङ हब बनाउन, शिक्षकको क्षमता विकास र उत्प्रेरणा दिन, शिक्षक दरबन्दीको असन्तुलन मिलाउन सुझाव दिएको छ । सुझाव ग्रहण गरेपछि मन्त्री पोखरेलले शिक्षा सुधारका लागि उपयोगी सुझावहरूलाई मनन् गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ठमेलबाट ५ सयको नक्कली नोटसहित २ जना पक्राउ
काठमाडौं । ठमेलबाट पाँच सय रुपैयाँको नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार सुर्यट हेरिटेज होटल नजकैबाट ३२ वर्षीय राम कुमार पाख्रिन र २४ वर्षीय शिव घिसिङलाई प्रकाउ गरेको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले ५०० रुपैयाँ दरका २८ ओटा नक्कली नोट सहित नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार पाख्रिनको साथाबाट ५ सयको २७ थान र घिसिङको साथमा ५ सयको १ थान रहेको थियो । उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
सीमापार तस्करी नियन्त्रणका लागि गृहमन्त्री र सांसदहरूबीच छलफल
काठमाडौं । सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रण र सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले शुक्रबार ( आज ) गृह मन्त्रालयमा छलफल सम्पन्न भएको छ । गृहमन्त्री सुधन गुरुङ र मधेश तथा लुम्बिनी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूबीच सो विषयमा केन्द्रित रहेर संवाद भएको हो । छलफलका क्रममा सांसदहरूले सीमा क्षेत्रका वस्तुस्थिति प्रस्तुत गर्दै तस्करी नियन्त्रणका विद्यमान भन्सार प्रणालीमा सुधार गर्ने र आवश्यकता अनुसार भन्सार दरको पुनरावलोकन गर्नुपर्ने, सीमा नाकाहरूमा प्रभावकारी निगरानी तथा अनुगमनका लागि थप बलियो संयन्त्र विकास गर्नुपर्ने, किसानहरूलाई आवश्यक पर्ने कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रियालाई सरलीकृत गरिनुपर्ने तथा सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई दैनिक उपभोग्य सामग्री आयातमा निश्चित मापदण्ड तोकी भन्सार छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । छलफलमा उठेका विषयवस्तुहरूलाई सम्बोधन गर्दै गृह मन्त्रालयले आफ्ना क्षेत्राधिकार भित्रका सवालहरू तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ । गृह मन्त्रालयसँग सम्बन्धित विषयहरू मन्त्रालयले कार्यान्वयन गर्नेछ भने अर्थ मन्त्रालयसँग जोडिएका विषयहरूमा आपसी समन्वय र थप छलफलमार्फत् समाधान खोजिने बताइएको छ ।