१० वर्षमा दैनिक कारोबार ३० अर्ब पुर्याइने, ५ सय कम्पनी सूचीकृत
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारलाई देशको आर्थिक विकासको दोस्रो प्रमुख स्तम्भका रूपमा विकास गर्ने लक्ष्यसहित ‘पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरिएको १० वर्षे रणनीतिक मार्गचित्रले आगामी दशकभित्र नेपाली पुँजी बजारलाई संरचनात्मक रूपमा सुदृढ, विविधीकृत र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ । बोर्डले परम्परागत बैंक केन्द्रित वित्तीय प्रणालीको विकल्पका रूपमा पुँजी बजारको भूमिका विस्तार गर्ने रणनीति अघि सारेको हो । मार्गचित्रले सन् २०३६ सम्म पुँजी बजारका प्रमुख सूचकहरूमा उल्लेखनीय सुधार गर्ने लक्ष्य राखेको छ । हाल दैनिक औसत करिब ८ अर्ब रुपैयाँ रहेको कारोबार रकमलाई बढाएर ३० अर्ब रुपैयाँ पु¥याउने लक्ष्य तय गरिएको छ । त्यस्तै, कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र बजार पुँजीकरणको अनुपात हालको ७०–८० प्रतिशतबाट बढाएर १५० प्रतिशतभन्दा माथि पु¥याउने लक्ष्य राखिएको छ । साथै, सूचीकृत कम्पनीको संख्या ५०० भन्दा बढी पु¥याइने, डिम्याट खाताको संख्या १.२ करोड बढी पुर्याइनेछ । यस्तै, संस्थागत लगानी कुल कारोबारको ४० प्रतिशत बढी, कर्पाेरेट बण्ड मार्केट कुल पुँजीको २० प्रतिशत, म्युचुअल फण्ड्स १५० भन्दा बढी, एसएमई सूचीकृत २ सयभन्दा बढी, ग्रीन बण्डको सुरुवात गरेर नियमित गर्ने र विदेशी पोर्टफोलियो लगानीको सहभागीता गराइने उल्लेख छ । बजार अझै पनि ९५ प्रतिशतभन्दा बढी साधारण सेयरमा निर्भर रहेको उल्लेख गर्दै संस्थागत ऋणपत्र, डेरिभेटिभ्स, कमोडिटी बजार, रियल इस्टेट इन्भेष्टमेन्ट ट्रस्ट लगायतका वैकल्पिक वित्तीय उपकरणको विकासमा जोड दिइएको छ । मार्गचित्र अनुसार पहिलो चरण (सन् २०२६–२०२७) मा कानुनी तथा नीतिगत सुधार गरिनेछ । दोस्रो चरण (सन् २०२८–२०३०) मा बजार विस्तार र डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइनेछ । अन्तिम चरण (सन् २०३१–२०३६) मा विदेशी पोर्टफोलियो लगानीकर्तालाई बजारमा प्रवेश गराउँदै नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ ।
देशभर ५० प्रतिशत मात्रै धान रोपाइँ, गत वर्षभन्दा सुस्त प्रगति
काठमाडौं । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म ६० प्रतिशत रोपाइँ भएको भए पनि यस वर्ष ५० प्रतिशत मात्र रोपाइ सम्पन्न भएको जानकारी दिए । प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिममा ८७ प्रतिशत रोपाइँ भएको छ । त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७.१ प्रतिशत रोपाइँ भएको छ । कोशीमा ३२ प्रतिशत र मधेसमा ३२.७ प्रतिशत मात्रै रोपाइँ भएको विभागले जनाएको छ । देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाइँ अझ बढ्ने विभागको अपेक्षा छ । बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा रोपाइँ अझै तीव्र हुने विभागले जनाएको छ ।
बाढीले क्षति पुर्याएपछि ६ मेगावाटको रेलेखोला आयोजना बन्द
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक) मा बाढी पसेर क्षति पुगेपछि असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । बाढीले बाँधमा क्षति पुर्याएको छ भने विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानी पनि व्यहोर्नुपरेको छ । गत वर्ष निर्माण सम्पन्न भएको यस आयोजनाको विद्युत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
१ हजार १०० मध्ये पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त
काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् । नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल रहेका छन् । पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उहाँहरुलाई नियुक्त गरिएको हो । बोर्ड सदस्यका लागि देशभरबाट १ हजार १०० वटा आवेदन परेको थियो । आवेदकको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा गरेको योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा छनोट गरिएको बोर्डले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवद्र्धन, लगानी आकर्षण र सार्वजनिक–निजी साझेदारीलाई मजबुत बनाउन खुला र पारदर्शी प्रक्रियाबाट सदस्य चयन गरिएको हो । बोर्डले नवनियुक्त सदस्यको अनुभव र नेतृत्वले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तरराष्ट्रिय प्रवद्र्धन र निजी क्षेत्रसँगको सहकार्य विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
आज पाँच प्रदेशमा भारी वर्षाको चेतावनी, जनजीवन प्रभावित हुन सक्ने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भाग र मधेस तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी भू-भाग तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन फाइनलमा
काठमाडौं । स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ । अमेरिकाको डलास स्टेडियममा बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई दबाबमा राख्यो । स्पेनका लागि मिकेल ओयारजाबालले खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे । त्यसपछि पेड्रो पोरोले ५८ औं मिनेटमा अर्को गोल थप्दै स्पेनको जित सुनिश्चित गरे । प्रतियोगिताभर बलियो आक्रमणका लागि चर्चामा रहेको फ्रान्स स्पेनको संगठित रक्षापंक्तिलाई टुटाउन सकेन । निर्धारित ९० मिनेटमा फ्रान्सले गोल फर्काउन नसक्दा स्पेन सहज रूपमा फाइनलमा पुग्न सफल भयो । यो जितसँगै स्पेनले विश्वकप इतिहासमा दोस्रो पटक उपाधि जित्ने अवसर पाएको छ । स्पेनले यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले हराउँदै विश्वकप उपाधि जितेको थियो । अब स्पेनले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेता अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । २०१८ को विश्वविजेता तथा २०२२ को उपविजेता फ्रान्स भने यसपटक सेमिफाइनलबाटै बाहिरिएको छ ।
वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछुः कार्यकारी अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्रमा ऋणमुक्त गराउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेपछि श्रेष्ठले भने, निगमको सेवा युरोपमा विस्तार गर्दै निगमलाई चुस्त, मितव्ययी, पारदर्शी र व्यवसायीक बनाएर अहिले भएको ऋण तिरेर आफ्नै आम्दानीले चल्न सक्ने बनाउने मेरो योजना छ, त्यसका लागि म पुर्ण रुपमा समर्पित हुनेछु । कार्यकारी अध्यक्ष श्रेष्ठले जिम्मेवारी निकै चुनौतीपुर्ण भए पनि आफ्नो अनुभव, विज्ञता र सम्बन्धका आधारमा निगमलाई आत्मनिर्भर बनाउने अठोट व्यक्त गरे । हवाई सेवाको क्षेत्रमा लामो अनुभव हासिल गरेका विषयविज्ञ श्रेष्ठलाई निगमको महाप्रबन्धको समेत जिम्मेवारी सम्हालनेगरी कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको हो । विसं २०४९ मा निगमको निर्देशकबाट सेवानिवृत्त हुनुभएका श्रेष्ठलाई नेपालको हवाई सेवाको क्षेत्रमा विषयविज्ञ, अनुभवी र सफल व्यक्तित्वका रूपमा लिइन्छ । यसअघि उनले निगमको बजार विभाग, संस्थागत विभाग र व्यवसाय प्रवर्द्धन विभागको निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए । बेलायतको लण्डनस्थीत वेस्टमिनिष्टर विश्वविद्यालयबाट हवाई यातायात सम्बन्धमा अध्ययन गरेर फर्किने श्रेष्ठ पहिलो नेपाली हुन् । उनले क्यानडामा पनि हवाई सेवा सम्बन्धमा अध्ययन गरेका छन् भने अमेरिका र भारतका प्रतिष्ठीत शैक्षिक संस्थाबाट हवाई सेवाको व्यवस्थापन, योजना निर्माण, बजार प्रवर्द्धनलगायतका विषयमा अध्ययन पुरा गरेका छन् । अनुभवी, विषयविज्ञ र उडान सेवाको क्षेत्रमा राम्रो छवि भएका व्यक्ति भएकाले सरकारले श्रेष्ठलाई निगमको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले श्रेष्ठसहित पाँच जनालाई यसअघि नै खुल्ला प्रतिस्पर्धाका आधारमा निगमको बोर्ड सदस्यको रूपमा छनौट गरेकामा उनलाई अहिले कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको हो ।
जोखिमयुक्त उद्धारमा खटिने सशस्त्र प्रहरीलाई जोखिम भत्ता दिने सरकारको निर्णय
काठमाडौं । रकारले विपद् खोज तथा उच्च जोखिमयुक्त उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूलाई विशेष जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । असार ३० गते (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । नयाँ व्यवस्था अनुसार उच्च जोखिमयुक्त उद्धार कार्यमा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरूले मासिक रूपमा आफ्नो तलबको १५ प्रतिशत र उद्धारमा खटिएको दिन प्रतिव्यक्ति दैनिक ५ सय रुपैयाँका दरले जोखिम भत्ता पाउनेछन् । यो व्यवस्था विशेष गरी गोताखोर, उच्च भूभाग, खोंच तथा हिमाली क्षेत्र जस्ता चुनौतीपूर्ण स्थानमा खटिने सुरक्षाकर्मीहरूका लागि लागू हुनेछ । सशस्त्र प्रहरी बलका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नेत्रबहादुर कार्कीका अनुसार सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले नेतृत्व सम्हालेदेखि नै यस विषयलाई उच्च प्राथमिकतामा राखेर पहल गर्दै आएका थिए । सरकारको यस रणनीतिक निर्णयले कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न र विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप चुस्त, प्रभावकारी र हौसलापूर्ण बनाउन ठूलो मद्दत पुग्ने विश्वास सशस्त्र प्रहरी बलले लिएको छ ।