विकासन्युज

प्रधानमन्त्री र गृहमन्त्रीलाई ‘गोली हान्छु’ भन्ने ‘सानु भाइ’ पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।  शनिबार काठमाडौं सिनामंगलबाट सानु भाइ भन्ने २० वर्षीय साजन विष्ट पक्राउ परेका हुन् ।  विष्टले फेसबुकमा सानू भाइ नामक एकाउन्टबाट पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री दिपक खड्कालाई तुरुन्त रिहा गर अन्यथा प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्न टिम बाध्य हुनेछ जस्ता स्टाटस लेखेका थिए । त्यसैगरी, उनले एके ४७  जस्ता अत्याधुनिक ठुला हतियारहरू काठमाडौंमा भित्रिसकेको भनेर भ्रम फैलाएका थिए । सर्वसाधारणमा त्रास फैलाउने र आफूले भनेका कुराहरू नमानेमा हालको प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्यान मार्ने धम्कीपूर्ण थप भिडियोसमेत उनले सार्वजनिक गरेका थिए । विष्ट ५ वर्षदेखि भारतको बैंगलोरमा बसोबास गर्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी बैंगलोरको एमजी रोडस्थित फेन्सी स्टोरमा काम गर्थे । उनी भारतमा बस्दा विभिन्न अपराधमा संलग्न रहेको अनुसन्धानबाट खुलेको कार्यालयले जनाएको छ ।

त्रिपुरेश्वरमा गुडिरहेको मोटरसाइकलमा आगलागी

काठमाडौं । त्रिपुरेश्वरको सडकमा गुडिरहेको अवस्थामा मोटरसाइकलमा आगलागी भएको छ । सुनधाराबाट त्रिपुरेश्वरतर्फ गइरहेको बा ९० प ८१८१ नम्बरको मोटरसाइकलमा आगलागी भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालक ३८ वर्षीय अमृत रेग्मीले चलाएको मोटरसाइकलमा गुडिरहेको अवस्थामा आगलागी भएको हो ।  मानवीय क्षति नभएको तर मोटरसाइकल भने पूर्ण रूपमा क्षति भएको जनाइएकाे छ ।

राजनीति गर्ने भए जागिर छोड्न उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शैक्षिक संस्थाहरूलाई राजनीतिमुक्त बनाउन उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । सोमबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले विश्वविद्यालय र स्वास्थ्य  मा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन निर्देशन दिँदै यो निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न आग्रह गरे । शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न हुँदैन र यसका लागि दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले भने, ‘अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न पाइँदैन, यदि राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सकिन्छ ।’ प्रधानमन्त्रीले उपकुलपतिहरूसँग साढे ३ घण्टा लामो गरेको छलफलमा सहभागी उपकुलपतिहरूले शैक्षिक संस्थामा भइरहेको राजनीतिले नकारात्मक प्रभाव परेको बताएका छन् ।   नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले विद्यार्थी संगठनका संरचना हटाउन खोज्दा उल्टै धम्की र आक्रमण खेप्नुपरेको बताए । जवाफमा प्रधानमन्त्री शाहले राजनीतिक संगठनका संरचना  हटाउँदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न आग्रह गरेका छन् । उनले सुरक्षा संयन्त्रलगायत आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रहरी प्रशासनले आफ्नो कर्तव्य पालना गर्ने बताउँदै ढुक्क भएर जिम्मेवारी पूरा गर्न उपकुलपतिहरूलाई आग्रह गरे ।  क्यालेन्डरको पूर्ण पालना  गर्नुपर्ने प्रधानमन्त्री शाहले शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न पनि उपकुलपतिलाई आग्रह गरेका छन् । उनले विश्वविद्यालयले परीक्षा लिने र सार्वजनिक गर्ने समय निकै ढिलो हुने गरेको गुनासो आएकाले परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नसमेत कडा निर्देशन दिए । यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि राजनीतिक दलसँग आबद्ध संगठनका संरचना खारेज गर्न मन्त्रालयले निर्देशन दिइसकेकाले त्यसलाई कार्यान्वयन गर्न ऐनले नरोक्ने बताए । छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले जेन्जी आन्दोलन र निर्वाचनपछि विद्यार्थी तथा कर्मचारी संगठनहरू क्रमशः निष्क्रिय बन्दै गएको बताए । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले केही आंगिक क्याम्पसहरूमा अझै पनि विद्यार्थी राजनीतिको तनाव कायमै रहेको बताएका छन् । अन्य विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूले भने आफ्नो संस्थामा राजनीतिक गतिविधि न्यून रहेको र प्रशासन कडा भएमा शैक्षिक क्षेत्रमा राजनीति अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

भुपदेव साह बने रास्वपाको महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतीमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै, सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्य बनाइएको छ । त्यसैगरी, बैठकले आफ्नो साङ्गठनिक संरचनालाई थप विस्तार गर्दै केन्द्रीय र संघीय तहमा नयाँ नेतृत्व चयन गरेको छ ।  विशेष गरी समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै संघीय नेतृत्व मञ्चमा सप्तरीका तुलसीप्रसाद चौधरी, बर्दियाका राम सिंह थारू, मोरङका जीवन धामी, कैलालीकी प्रेमा चौधरी, कञ्चनपुरका नवराज राना र दाङका एकराज चौधरीलाई जिम्मेवारी सुम्पिएको छ । यसैगरी, पार्टीको नीतिगत पक्षलाई सुदृढ बनाउन केन्द्रीय सल्लाहकार परिषदमा पनि नयाँ सदस्यहरू थपिएका छन् । जसमा काभ्रेकी जीवन प्रभा लामा, नवलपरासी (पूर्व) का मोती प्रसाद पंगाली, भक्तपुरका हरिप्रसाद पाण्डे र कपिलवस्तुका विष्णुहरि शर्मा मनोनित भएका छन् ।  पार्टीले संगठनलाई थप चलायमान र सुव्यवस्थित बनाउने उद्देश्यका साथ यी परिषदहरूलाई पूर्णता दिएको हो । त्यसैगरी, लेवी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन भएको छ । परिमार्जित लेवीअनुसार अब सांसदले १५ हजार, मन्त्रीले १८ हजार र स्वकीय सचिवले २ हजार रुपैयाँ लेवी तिर्नुपर्नेछ । यस्तो छ रास्वपाको सचिवालय सदस्य  : रवि लामिछाने- सभापति  स्वर्णिम वाग्ले- उपसभापति कविन्द्र बुर्लाकोटी- महामन्त्री  भुपदेव साह- महामन्त्री विपिन आचार्य- सहमहामन्त्री  लिमा अधिकारी- कोषाध्यक्ष  बसुमाया तामाङ- सहकोषाध्यक्ष्य   मनिष झा- प्रवक्ता  गणेश पराजुली- सचिवालय सदस्य  दिपक बोहरा- सचिवालय सदस्य  विराजभक्त श्रेष्ठ- सचिवालय सदस्य  शिशिर खनाल- सचिवालय सदस्य   सोबिता गौतम- सचिवालय सदस्य   हरि ढकाल- सचिवालय सदस्य  सागर ढकाल- सचिवालय सदस्य  सरिता श्री ज्ञवाली- सचिवालय सदस्य

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका लागि आवासीय राजदूत टोमाज मेन्सिनसँग महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका लागि उल्लेख्य सम्भावना रहेको चर्चा गर्दै दुई देशबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउन पहल आवश्यक रहेकोमा जोड दिइएको छ ।    सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले स्लोभेनियालाई आर्थिक सहकार्यका लागि सम्भावनायुक्त साझेदारको रूपमा लिँदै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु‍र्याउने विश्वास व्यक्त गरे ।  ‘पछिल्लो समय नेपालमा बाह्य लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएका छन् । अहिले बहुमतको स्थायी सरकार निर्माण भएको छ । यसबाट नीतिगत स्थायित्व कायम हुनेमा निजी क्षेत्र आशावादी छ । यो अवस्थामा दुई देशबीच व्यवसाय–व्यवसाय बीटुबी सहकार्य, व्यापार भ्रमण तथा संयुक्त प्लेटफर्ममार्फत सम्बन्ध विस्तार गर्दै जान सकिन्छ र त्यसको लागि महासंघ तयार छ,’ उनले भने । यस्तै स्लोभेनियाका लागि आवासीय राजदूत टोमाज मेन्सिनले नेपाल र स्लोभेनियाबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप सुदृढ गर्दै जान सकिने बताए । स्लोभेनियाली जनताले नेपाललाई हिमालयको काखमा अवस्थित सुन्दर देश भनेर चिन्ने र  नेपाल भ्रमण गर्न रुचाउने उल्लेख गर्दै राजदूत टोमाज मेन्सिनले प्रविधि हस्तान्तरण, नवप्रवर्तन र संयुक्त लगानीका क्षेत्रमा पनि सहकार्य बढाउन सकिने धारणा राखे । सो अवसरमा नेपालका लागि स्लोभेनियाका अवैतनिक महावाणिज्यदूत हरिभक्त शर्मा पनि सहभागी थिए । नेपाल र स्लोभेनियाबीच सन् १९९७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्यो, पछिल्लो समय नेपालकै चर्चित गन्तव्य

तनहुँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।      बिदाको समयमा घुम्ने संस्कृतिको विकासले गर्दा अहिले मानहुँकोटमा विगतको तुलनामा बढी पर्यटक बढ्न थालेका हुन् । पर्यटकको चाप बढेपछि स्थानीय होटल व्यवसायी उत्साहित भएका होटल भ्यू टावरका सञ्चालक प्रेमबहादुर राउतले जानकारी दिए । बिदाका दिनमा पाहुनाले होटल भरिभराउ हुने गरेका छन् ।      उनले भने, 'यतिबेला पर्यटकको मुख्य याम त होइन, तर दुई दिने बिदाले पहिलेभन्दा तेब्बर बढी पर्यटक मानहुँकोट आउन थालेका छन्, पाहुनाको आगमनले हामीलाई उत्साहित बनाएको छ ।'      सदरमुकाम दमौलीबाट मात्र ६–७ किलोमिटरको दुरीमा रहेकाले पनि मानहुँकोटमा पर्यटकको सङ्ख्या बढाउन सहज भएको व्यवसायीको भनाइ छ । व्यवसायी राउतले मानहुँकोटमा खानेपानीको अभाव रहेको बताउँदै प्रतिलिटर डेढ रुपियाँमा पानी किनेर व्यवसाय चलाउनुपर्ने बाध्यता रहेको दुखेसो सुनाए ।       यस स्थानमा जाने सडकको अवस्था सुधार गर्न र पानीको दीर्घकालीन रूपमा समस्या समाधान गर्न आवश्यक भएको व्यवसायी चूडामणि दाहालले बताए । व्यास नगरपालिकाले मानहुँकोटको पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँकोटको प्रचारप्रसारका लागि मानहुँकोटदेखि पुलिमर्याङसम्म ‘अल्ट्राम्याराथन’ दौड जस्ता प्रतियोगिता आयोजना गरिँदै आएको जानकारी दिए ।       'मानहुँकोटको पर्यटन विकास हाम्रो पहिलो प्राथमिकतामा छ', नगर प्रमुखले भने, 'अहिले देखिएको खानेपानीको समस्या समाधानका लागि नगरपालिकाको सक्रियतामा योजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ ।' शिरशिर चल्ने चिसो हावा, सूर्योदय, कुहिरोले ढपक्क ढाकेको दमौली बजारको दृश्य र हिमाली शृङख्खलाको अवलोकनका लागि मानहुँकोट पछिल्लो समय नेपालकै चर्चित गन्तव्यमध्ये एक बनेको छ । यातायातको सहजता र प्रचारप्रसारसँगै यहाँको पूर्वाधार विकास भएमा आगामी दिनमा पर्यटकको सङ्ख्या बढ्दै जाने त्यस क्षेत्रका व्यवसायी बताउँछन् । रासस   

ठमेलमा पर्यटकमाथि लुटपाट गर्ने ३ जना पक्राउ

काठमाडौं । ठमेलमा विदेशी पर्यटकमाथि लुटपाट गर्नेलाई प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । शनिबार तीन जना मिलेर विदेशी पर्यटकको आइफोन लुटेको सीसीटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।   आरोपीहरूले मध्यराति ११ बजेतिर ठमेलको भगवान् बहालमा जर्मन नागरिकको साथबाट आइफोन लुटेका हुन् । लुटमा संलग्न आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरका अनुसार सोह्रखुट्टे प्रहरी वृत्तले तीन जनालाई नियन्त्रणमा लिएको हो ।    

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार सोमबारको बैठकका लागि नौ वटा एजेन्डा तय गरिएको छ । बैठकमा पार्टीका हालसम्मका गतिविधिबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरिनेछ भने केन्द्रीय सदस्यहरूको रिपोर्टिङ पनि मुख्य कार्यसूचीमा राखिएको छ । रिपोर्टिङका लागि २० जना सदस्यलाई प्रति व्यक्ति दुई मिनेटका दरले समय निर्धारण गरिएको प्रवक्ता झाले जानकारी दिए । बैठकमा संगठनात्मक अवस्थाको समीक्षा, आन्तरिक समन्वय र आगामी रणनीतिबारे समेत छलफल हुने अपेक्षा गरिएको छ ।