सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको हो । संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरेको छ । संशोधित कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा प्रवाह, ब्याज अनुदान उपलब्ध गराउने प्रक्रिया, कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई स्पष्ट र थप व्यवस्थित बनाइएको छ । अनुदान प्राप्त गर्ने ऋणीले तोकिएको उद्देश्यअनुसार कर्जा उपयोग गर्नुपर्ने तथा बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायमा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्ने, अनुदान वितरणमा पारदर्शिता कायम गर्ने तथा अनुदान प्राप्त कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न व्यवस्थामा संशोधन गरिएको मन्त्रालयले जनाएको छ । यसैगरी, बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरकारी निकाय र लाभग्राहीको भूमिका तथा जिम्मेवारीलाई थप स्पष्ट पारिएको छ । कर्जा उपयोगमा अनियमितता वा कार्यविधिविपरीत कार्य भएको पाइएमा ब्याज अनुदान रोक्का गर्ने वा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्ने व्यवस्था पनि संशोधित कार्यविधिमा समावेश गरिएको छ । संशोधित कार्यविधिले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई थप प्रभावकारी, लक्षित वर्गमुखी तथा नतिजामुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । मन्त्रालयले सम्बन्धित सबै निकायलाई कार्यविधि कार्यान्वयन गर्न आग्रह पनि गरेको छ ।
सूर्य नेपालको आम्दानी एक वर्षमै साढे ३२ अर्ब, उच्च करले अवैध कारोबारको चिन्ता
काठमाडौं । सूर्य नेपाल प्राइभेट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १२.२७ प्रतिशत अर्थात् ३ अर्ब ५३ करोड ८० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा २८ अर्ब ९९ करोड रुपैयाँ, आव २०७८/७९ मा २७ अर्ब १ करोड ४० लाख रुपैयाँ, आव २०७७/७८ मा २४ अर्ब ४९ करोड २० लाख रुपैयाँ, आव २०७६/७७ मा २४ अर्ब ४७ करोड १० लाख रुपैयाँ, आव २०७५/७६ मा ३४ अर्ब ४७ करोड १० लाख रुपैयाँ, आव २०७४/७५ मा २५ अर्ब १३ करोड ७० लाख रुपैयाँ, आव २०७३/७४ मा २४ अर्ब २२ करोड ८० लाख रुपैयाँ र आव २०७२/७३ मा २१ अर्ब ७३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो। सन् १९८६ मा स्थापना भएको सूर्य नेपालमा भारतको आईटीसी लिमिटेडको ६१ प्रतिशत र नेपाली संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको ३९ प्रतिशत सेयर स्वामित्व रहेको छ । नेपालका निजी क्षेत्रका प्रमुख उत्पादनमूलक उद्योगमध्ये एक मानिने कम्पनी हाल चुरोट, अगरबत्ती तथा ब्रान्डेड प्याकेज्ड खाद्य सामग्रीको उत्पादन र बिक्रीमा संलग्न छ । अगरबत्ती व्यवसाय विस्तारका लागि कम्पनीले पूर्ण स्वामित्वको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्राइभेट लिमिटेड स्थापना गरेको छ । यसै वर्ष कम्पनीले ‘मरानी’ ब्रान्डअन्तर्गत प्रिमियम महको निर्यातसमेत सुरु गरेको जनाएको छ । कम्पनीले सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, सूर्य फ्युजन, सूर्य स्लिक बोल्ट, शिखर फिल्टर किङ्स, शिखर आइस रश, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, नौलो म्याक्स, पल्स मिन्ट पञ्च, खुकुरी स्टार, बिजुली र चौतारीलगायतका ब्रान्ड बजारमा उपलब्ध गराउँदै आएको छ । देशभर फैलिएको वितरण सञ्जालमार्फत कम्पनीले १५० भन्दा बढी ग्राहकसँग प्रत्यक्ष कारोबार गर्दै आएको जनाएको छ । कम्पनीका अध्यक्ष सञ्जीव पुरी भारतको आईटीसी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन् । भारतीय प्राविधिक संस्थान कानपुर र व्हार्टन स्कूल अफ बिजनेसका पूर्वविद्यार्थी पुरीले उत्पादन, सञ्चालन, सूचना तथा डिजिटल प्रविधिलगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । सन् २०२५ को मध्य जुलाईसम्म कम्पनीसँग करिब ४ अर्ब ९७ करोड ४० लाख रुपैयाँ बैंक निक्षेप, करिब १ अर्ब २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल तथा करिब २१ करोड ६० लाख रुपैयाँ नगद मौज्दात रहेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ७५ करोड रुपैयाँको बैंकिङ सुविधा (क्रेडिट लाइन) लिएको जनाएको छ । कम्पनीका अनुसार यसको मुख्य नाफाको स्रोत रहेको चुरोट व्यवसाय उच्च कर प्रणाली र कडा नियामकीय व्यवस्थाको दबाबमा छ । चुरोटमा करको भार निरन्तर बढ्दै जाँदा कानुनी रूपमा सञ्चालन हुने उद्योगमाथि सञ्चालनसम्बन्धी दबाब बढेको कम्पनीको भनाइ छ । नेपालमा चुरोटको खरिद क्षमता तुलनात्मक रूपमा कम रहेको र यसको माग मूल्यप्रति संवेदनशील भएकाले कर वृद्धिसँगै उपभोक्ता खैनी, गुट्खालगायत सस्ता तथा कर छली हुने धुवाँरहित सुर्तीजन्य उत्पादनतर्फ आकर्षित हुन सक्ने कम्पनीले जनाएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन अन्तर्गत जारी निर्देशिकाअनुसार चुरोटको प्याकेटको कम्तीमा ९० प्रतिशत भागमा ग्राफिक स्वास्थ्य चेतावनी अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था छ । यो विश्वमै सबैभन्दा ठूलो स्वास्थ्य चेतावनी क्षेत्रमध्ये एक हो । यस्तो व्यवस्थाका कारण कम्पनीले आफ्नो ट्रेडमार्क तथा ब्रान्ड प्रदर्शन गर्न पर्याप्त स्थान नपाउने अवस्था सिर्जना भएको सूर्य नेपालले जनाएको छ । यसले अनिवार्य स्वास्थ्य चेतावनी नबोकेका तस्करीमार्फत भित्रिने अन्तर्राष्ट्रिय चुरोट ब्रान्डहरूको कारोबार बढ्न सक्ने जोखिम पनि रहेको कम्पनीले दाबी गरेका छ । यस्ता अवैध चुरोटलाई केही उपभोक्ताले तुलनात्मक रूपमा आकर्षक विकल्पका रूपमा लिन सक्ने भएकाले वैधानिक रूपमा उत्पादन हुने स्वदेशी चुरोटको मागमा नकारात्मक असर पर्न सक्ने जनाएको छ । कम्पनीले आफ्नो होल्डिङ कम्पनी आईटीसी लिमिटेडबाट व्यवस्थापकीय अनुभव, प्राविधिक दक्षता तथा व्यावसायिक सहयोग प्राप्त गर्दै आएको जनाएको छ । सन् १९१० मा स्थापना भएको आईटीसी भारतको अग्रणी बहुआयामिक कम्पनीमध्ये एक हो । कम्पनीले चुरोट, ब्रान्डेड प्याकेज्ड खाद्य सामग्री, शैक्षिक तथा स्टेशनरी सामग्री, व्यक्तिगत सरसफाइका सामग्री, सेफ्टी म्याच, अगरबत्ती, कृषि व्यवसाय, पेपरबोर्ड, कागज तथा प्याकेजिङ र सूचना प्रविधिलगायतका क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ । आईटीसीको एग्री बिजनेस डिभिजनले सूर्य नेपालको आवश्यक तम्बाकु पातको आपूर्तिमा पनि सहयोग गर्दै आएको कम्पनीले जनाएको छ । व्यवसाय विविधीकरण, गुणस्तरीय उत्पादन तथा नयाँ बजार विस्तारमार्फत सूर्य नेपालले नेपालको औद्योगिक क्षेत्र र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको कम्पनीको दाबी छ ।
स्थानीय तहमा भूमि बैंक सञ्चालनको बाटो खुल्यो, बाँझो जग्गा उपयोगमा ल्याइने
काठमाडौं । सरकारले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै उपयोगमा नरहेका वा बाँझो निजी जग्गालाई सम्बन्धित स्थानीय तहमार्फत उपयोगमा ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएको जनाएको छ । मन्त्रालयका अनुसार भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) बमोजिम प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना तथा सञ्चालन गर्ने कानुनी व्यवस्था गरिएको छ । यसका लागि सरकारले ‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३’ स्वीकृत गरी सबै स्थानीय तहमा परिपत्रसमेत गरिसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्बन्धित स्थानीय तहमार्फत भूमि बैंकको व्यवस्था कार्यान्वयन गरी उपयोगमा नरहेका निजी जग्गालाई उत्पादनमूलक प्रयोजनमा ल्याउन सकिने उल्लेख गर्दै यसबाट लाभ लिन इच्छुक सबैलाई सम्बन्धित स्थानीय तहसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
जेल र फाँसीको जोखिमबीच पनि पूर्वप्रधानमन्त्री हसिना स्वदेश फर्किने
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले पुनः स्वदेश फर्किने घोषणा गरेकी छन् । आफू बंगलादेश फर्किएपछि जेलमा हालिन सक्ने र मृत्युदण्डसमेत हुन सक्ने थाहा हुँदाहुँदै पनि उनले स्वदेश फर्कने निर्णय गरेकी हुन् । साथै सन् २०२४ मा विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी पनि हसिनाले गरेकी छन् । आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिसँग आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै आफूलाई दोषी ठहर गर्दै सुनाइएको मृत्युदण्डलाई उनले ‘राजनीतिक प्रेरित’ फैसला भनेकी छन् । जापानी समाचार संस्था क्योडो न्युजलाई दिएको लिखित अन्तर्वार्तामा हसिनाले भनिन्, ‘म बंगलादेश फर्किनेछु। म अदालतमा उपस्थित हुनेछु ।’ यद्यपि उनले कुन अदालतमा उपस्थित हुने भन्ने स्पष्ट पारेकी छैनन् । उनले बंगलादेशी अधिकारीहरूलाई संकेत गर्दै भनिन्, ‘उनीहरूले मलाई जेल पठाउन सक्छन् । मलाई मृत्युदण्ड दिने प्रयास पनि गर्न सक्छन् । यी सबै जोखिमबारे म जानकार छु ।’ सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनपछि देश छाड्न बाध्य भएकी हसिना त्यसयता भारतमा बस्दै आएकी छन् । हसिनाले स्वदेश फर्किने घोषणा त्यतिबेला गरेकी हुन्, जब बंगलादेशको युद्ध अपराध न्यायाधिकरणले नोभेम्बर २०२५ मा आन्दोलनसँग सम्बन्धित मानवताविरुद्धको अपराध अभियोगमा उनको अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाएको थियो । त्यसबेला बंगलादेशमा मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार थियो । हसिनाले उक्त फैसलालाई झुटो र राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताएकी थिइन् । बंगलादेश सरकारले हसिनालाई भारतबाट हस्तान्तरण गर्न औपचारिक अनुरोध गरिसकेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ताले नयाँ दिल्लीले उक्त अनुरोध प्राप्त गरिसकेको र कानुनी तथा न्यायिक प्रक्रियाअनुसार त्यसबारे अध्ययन भइरहेको बताएका छन् । यसै महिनाको सुरुतिर हसिना स्वदेश फर्किन सक्ने भन्ने सञ्चारमाध्यमको समाचारबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री तारिक रहमानका सूचना सल्लाहकार जाहिद उर रहमानले जुलाई १४ मा सरकार उनलाई मुद्दाको सामना गराउन स्वदेश फर्काउने प्रयासमा रहेको र आत्मरक्षाको अवसरसमेत दिइने बताएका थिए । बंगलादेशमा सन् २०२४ को जुनमा सुरु भएको विद्यार्थी आन्दोलन, सन् १९७१ को स्वतन्त्रता संग्रामका पूर्वलडाकूका सन्ततिका लागि ३० प्रतिशत आरक्षण पुनःस्थापना गर्ने अदालतको निर्णयविरुद्ध सुरु भएको थियो । आरोपअनुसार हसिना नेतृत्वको सरकारले आन्दोलन दबाउन प्रयास गरेको थियो र प्रहरीले प्रदर्शनकारीमाथि व्यापक गोली चलाएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार उक्त अशान्तिका क्रममा १ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सुरक्षाकर्मीको गोलीबाट मारिएका थिए । हसिनाले भने ती हत्याको आदेश आफूले नदिएको दाबी गर्दै आन्दोलनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूले स्वार्थका लागि प्रयोग गरेको आरोप लगाएकी छन् ।
बढ्यो सुनचाँदीको भाउ, सुन तोलाको २ लाख ९१ हजार ३०० रुपैयाँ पुग्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ५०५ रुपैयाँ निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० रुपैयाँ निर्धारण भएको थियो । गत मंगलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ३७० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बढ्यो सुनचाँदीको भाउ, सुन तोलाको २ लाख ९१ हजार ३०० रुपैयाँ पुग्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ५०५ रुपैयाँ निर्धारण भएको छ । हिजो एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० रुपैयाँ निर्धारण भएको थियो । गत मंगलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ३७० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ र चाँदी ५९अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एक महिनामै नेपाली बजारमा लोकप्रिय बन्दै जीडब्लुएम ओरा–५
काठमाडौं । नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएमको प्रिमियम विद्युतीय एसयूभी ओरा–५ ले उत्साहजनक बजार प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड, आकर्षक डिजाइन र प्रिमियम सुविधाका कारण ओरा–५ छोटो समयमै नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार सार्वजनिक भएयता ओरा–५ प्रति देशभर चासो बढेको छ । शोरुममा ग्राहकको आगमन, टेस्ट ड्राइभ, सोधपुछ तथा बुकिङमा उल्लेखनीय वृद्धि देखिएको कम्पनीले जनाएको छ । ओरा–५ को मुख्य विशेषता ‘ड्रागन आर्मर ब्याट्री’ रहेको कम्पनीको भनाइ छ । जीडब्लुएमकै ब्याट्री कम्पनी एसभोल्ट इनर्जीले विकास तथा उत्पादन गरेको उक्त ब्याट्रीमा सुरक्षा र कार्यसम्पादनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । थर्मल रनअवे जस्ता दुर्लभ अवस्थामा पनि तापलाई सुरक्षित रूपमा बाहिर प्रवाह गर्ने संरचना तथा पाँच तहको सुरक्षा प्रणाली रहेको दाबी गरिएको छ । ‘डिजाइन्ड विथ इन्टेलिजेन्स, सेप्ड बाइ एलिगेन्स’ अवधारणामा विकास गरिएको ओरा–५ ले २०२५ लन्डन डिजाइन अवार्ड्स अन्तर्गत ‘डिजाइन अफ द इयर’ (अटोमोबाइल/भेहिकल्स) सम्मान प्राप्त गरेको कम्पनीले जनाएको छ । गाडीमा ५२० किलोमिटर ड्राइभिङ रेन्ज, २०० एमएम ग्राउन्ड क्लियरेन्स, कफी ओएस–३ स्मार्ट ककपिट, कफी पाइलट इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम, २० भन्दा बढी एडास फिचर, ३६० डिग्री क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ, सातवटा एयरब्याग तथा फाइभ–स्टार युरो एनक्याप र एएनक्याप सुरक्षा रेटिङ जस्ता सुविधा रहेको कम्पनीको दाबी छ । नेपालमा ओरा–५ को मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले ओरा–५ प्रति देखिएको उत्साहजनक प्रतिक्रियाले नेपाली ग्राहक विश्वस्तरमा प्रमाणित विद्युतीय सवारीप्रति आकर्षित भइरहेको पुष्टि गरेको जनाएको छ । कम्पनीले निकट भविष्यमै हाभल जोलियन म्याक्स ईभी र अल–न्यु हाभल एच–७ पनि नेपाली बजारमा ल्याउने तयारी गरेको जनाएको छ ।
आइक्यानको अध्यक्ष आनन्दराज शर्मा वाग्लेले लिए शपथ, उपाध्यक्षमा काफ्ले
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को दशौं परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष सीए आनन्दराज शर्मा वाग्ले र उपाध्यक्ष सीए हेमकुमार काफ्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार आयोजित समारोहमा महालेखापरीक्षक तोयम रायासमक्ष अध्यक्ष वाग्लेले शपथ लिएपछि उनले उपाध्यक्ष काफ्लेलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सो अवसरमा निवर्तमान अध्यक्ष सीए नीलबहादुर सारु मगरले आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी दिँदै नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरेका थिए । समारोहका क्रममा बंगलादेशमा आयोजित साफा क्विज–२०२५ र साफा पब्लिक स्पिकिङ प्रतियोगिता–२०२५ का विजेता आइक्यानका विद्यार्थीलाई सम्मान गरिएको थियो । साथै, संस्थाको ब्रान्डिङ र संस्थागत पहिचानलाई थप सुदृढ बनाउने उद्देश्यसहित आइक्यानको नयाँ आधिकारिक लोगो पनि सार्वजनिक गरिएको छ । शपथ ग्रहण समारोहअघि आइक्यानले ‘डाइनामिक्स अफ बिजनेस भ्यालुएसन’ विषयमा सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा व्यवसाय मूल्याङ्कनका नयाँ प्रवृत्ति, विभिन्न मूल्याङ्कन विधि, व्यावहारिक प्रयोग तथा बदलिँदो व्यावसायिक वातावरणमा यसको बढ्दो महत्त्वबारे प्रस्तुति दिइएको थियो । त्यस अवसरमा आइक्यानले हालै प्रकाशन गरेको ‘आइक्यान भ्यालुएसन म्यानुअल–२०८३’ पनि सार्वजनिक गरिएको छ । मूल्याङ्कनसम्बन्धी सिद्धान्त, अभ्यास र व्यावसायिक मापदण्डलाई एकरूप, विश्वसनीय र गुणस्तरीय बनाउन सहयोग पुग्ने प्राविधिक सन्दर्भ सामग्रीका रूपमा उक्त म्यानुअल तयार गरिएको संस्थाले जनाएको छ ।