बजार जानुअघि हेर्नुहोस्, आज कुन तरकारीको भाउ कति ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४७, आलु रातो (मुढे) प्रतिकिलो रु ४८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु सेतो प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ९०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १३०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ७०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ७०, भिन्डी प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु १०० र इस्कुस प्रतिकिलो रु ७० कायम भएको छ । रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु १२०, तोरीको साग प्रतिकिलो रु १००, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु ४००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ३००, गान्टेमूला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १८०, आँप (दशहरी) प्रतिकिलो रु १८०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु १२०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु ६०, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु २५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।
आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५४ रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १९ पैसा र बिक्रीदर २०७ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २५ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४२ रुपैयाँ ४७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ४१ पैसा र बिक्रीदर १० रुपैयाँ ४५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २३ रुपैयाँ ६२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ९९ पैसा बिक्रीदर ४१० रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ४०० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ १० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
निफ्राको नाफा ९८ करोड ७३ लाख रुपैयाँ, २५.९६ प्रतिशत बढ्यो कर्जा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा १९.९८ प्रतिशत घटेर ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २३.८९ प्रतिशत घटेर १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा बैंकले १ अर्ब ९० करोड ८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्म बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ५ करोड ८० लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ५० करोड ४ लाख रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ करोड १० लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ९२ करोड १९ लाख रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ थियो । २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.७१ रुपैयाँबाट घटेर ४.५७ रुपैयाँमा झरेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात ५३.७३ गुणा छ भने प्रतिसेयर नेटवर्थ ११७.२२ रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप १.९४ प्रतिशत बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ र कर्जा २५.९६ प्रतिशत बढेर ३१ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षसम्म बैंकको निक्षेप ७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ र कर्जा २४ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ थियो ।
पोखरा विमानस्थलमा छुट दिएसँगै विदेशी पर्यटकको संख्या बढ्ने
काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी वि.सं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो । यस्तै, ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा–दुबईलगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ वायुसेवा कम्पनीलाई भित्र्याउन सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे । ‘पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधिका लागि यसबाट महत्वपूर्ण टेवा पुग्नेछ,’ उनले भने । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा-दुबई सीधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ‘ट्रान्जिट हब’ दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्देशीय उडान हुन सकेको थिएन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुबई-पोखरा-दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुला गरिसकेको बताए । यो उडानले पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने उनको भनाइ छ । पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन् । वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा–दुबई उडान सेवा लाभदायी हुने देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ महिनामा फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । यसबीचमा फ्लाई दुबईले उडान तालिका सार्वजनिक गरिसकेको छ । सरकारले चालु आव २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो । हालसम्म छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ ।
११ जनाले तिरेनन् नगरपालिकाको ऋण, ३५ दिने अल्टिमेटम
काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाले ऋण चुक्ता गर्न ताकेता गरेको छ । महिला स्वरोजगार कार्यक्रम अन्तर्गत सहुलियतपूर्ण ऋणमा अटो प्राप्त गरे पनि ११ जनाले रकम चुक्ता नगरेपछि ऋण तिर्न नगरपालिकाले ताकेता गरेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा वितरण गरिएको सहुलियतपूर्ण ऋण सम्झौताअनुसार पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि लाभग्राहीहरूले रकम नतिरेपछि सार्वजनिक सूचना जारी गरेको जनाएको छ । लाभग्राहीहरूले ३५ दिनभित्र नगरपालिकामा सम्पर्क गरी बाँकी ऋण रकम बुझाउनुपर्नेछ । अन्यथा ऋण सम्झौता तथा प्रचलित कानुनबमोजिम असुलउपर, कानुनी कारबाही र अन्य आवश्यक प्रक्रिया अघि बढाइने नगरपालिकाले चेतावनी दिएको छ । सार्वजनिक गरिएको सूचीमा वीरेन्द्रनगरका विभिन्न वडाका ११ जना लाभग्राही रहेका छन् । उनीहरूले फिर्ता गर्न बाँकी रकम १८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म रहेको उल्लेख गरिएको छ । नगरपालिकाका अनुसार मञ्जु सुनार, निर्मला सेढाई, सिता बिक, यामकुमारी सार्कीले समान १ लाख रुपैयाँ १ लाख रुपैयाँ फिर्ता गर्नुपर्नेछ । यस्तै, कौशिला नेपालीले ६९ हजार ८१६ रुपैयाँ, शुष्मिता बिकले ६५ हजार ८७९ रुपैयाँ, सिर्जना गुरुङले ३८ हजार ५३२ रुपैयाँ, सबिना पुनले ५५ हजार १७८ रुपैयाँ, कल्पना सिंहले ६७ हजार ६४३ रुपैयाँ, यसुदा सापकोटाले ८१ हजार ७४८ रुपैयाँ र धनकुमारी सिजापतीले १८ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
२६ आयोजनाको इआईए स्वीकृत, कुन-कुनले पाए ?
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन स्वीकृत गरेको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ । यस अवधिमा २६ वटा इआइए प्रतिवेदन र ६ वटा पूरक इआइए प्रतिवेदन स्वीकृत भएका छन् । त्यसैगरी, ९ वटा परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका छन् भने ७ वटा आयोजनालाई वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएको छ । १५ वटा आयोजनाले पूरक अध्ययनको सहमति प्राप्त गरेका छन् । ५ आयोजनाको म्याद थप गरिएको छ भने ६ आयोजनालाई जरिवाना गरिएको छ । इआइए स्वीकृत भएका आयोजनामध्ये अधिकांश जलविद्युत् आयोजना छन् । मन्त्रालयले एक वर्षको अवधिमा ९० मेगावाट क्षमताको मस्र्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजना र २७० मेगावाट क्षमताको भेरी-१ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको इआइए स्वीकृत गरेको छ । यसैगरी, ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना, ९१.१५ मेगावाट क्षमताको बूढीगण्डकी नदी जलविद्युत् आयोजना तथा ३५ मेगावाट क्षमताको माथिल्लो अप्सुखोला जलविद्युत् आयोजनाको पनि इआइए स्वीकृत भएको छ । मन्त्रालयका अनुसार ८८ मेगावाट क्षमताको रोल्वालिङ, ३० मेगावाट क्षमताको माथिल्लो दूधखोला जलविद्युत् आयोजना तथा ३४.३९ मेगावाट क्षमताको सुपर बूढीगण्डकी जलविद्युत् आयोजनाको पनि इआइए स्वीकृत भएको छ । पूरक इआइए स्वीकृत भएका आयोजनामध्ये पनि अधिकांश जलविद्युत् आयोजना छन् । तीमध्ये सङ्खुवा खोला जलविद्युत् आयोजना, सिम्बुवा खोला जलविद्युत् आयोजना र मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना छन् । परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका आयोजनामध्ये पनि जलविद्युत् आयोजनाको सङ्ख्या बढी छ । तीमध्ये सुपर तमोर, माथिल्लो बलेफी, तिनाउ खोला, रोल्वालिङ खोला, बलेफी खोला तथा कालीगण्डकी गर्ज जलविद्युत् आयोजना रहेका छन् । विद्युत् प्रसारण लाइनतर्फ लप्सीफेदी-रातामाटे, रातामाटे-न्यू हेटौंडा, रातामाटे-न्यू दमौली, न्यू दमौली-न्यू बुटवल तथा न्यू बुटवल-नेपाल-भारत सीमा ४०० केभी डबल सर्किट प्रसारण लाइनका साथै रातामाटे, न्यू दमौली र न्यू बुटवल ४०० केभी सबस्टेशनको परिमार्जित वातावरणीय व्यवस्थापन योजना पनि स्वीकृत भएको छ । यी प्रसारण लाइन र सबस्टेसन अमेरिकी सहयोग परियोजना एमसिए-नेपालमार्फत निर्माण भइरहेका छन् । त्यस्तै, २०१ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको परिमार्जित वातावरणीय व्यवस्थापन योजना पनि मन्त्रालयले स्वीकृत गरेको छ । वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएका आयोजनामध्ये पनि अधिकांश जलविद्युत् आयोजना छन् । त्यसमा रोल्वालिङ खोला, कालिका कालीगण्डकी, तमोर खोला-५, कालीगण्डकी गर्ज र मध्य तादी खोला जलविद्युत् आयोजना छन् ।
साउनदेखि छैन नयाँ बर्डफ्लु सङ्क्रमण, किसानको खातामा ५०.७१ करोड निकासा
काठमाडौं । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौँलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छी पालन गर्ने किसान समस्यामा परेका थिए । पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौंको गोकणेश्वर-१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो । विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो समय सङ्क्रमण देखिएको छैन । सङ्क्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ । उनले भने, ‘अहिले नियन्त्रित अवस्थामा छ । बर्डफ्लु देखिएका क्षेत्रको वरिपरिका नमूना ल्याएर परीक्षण गर्दैछौँ ।’ विभागको तथ्याङ्क अनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो । यससँगै चैत ६ गते कृषि तथा पशु पन्छी बिकास मन्त्रालयबाट बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो । मोरङको उर्लाबारी-८ र सुन्दर हरैचा-४ मा पहिलोपटक बर्डफ्लु देखिएको हो । दाहालका अनुसार कमर्सियल लेयर्स बढी प्रभावित भएको थियो । यस्तै प्यारेन्ट, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा रोगको सङ्क्रमण भएको थियो । हालसम्म ११ जिल्लामा सङ्क्रमण देखिएको छ । काठमाडौं उपत्यका बाहेकका ७ जिल्लामा रोग पूर्ण रुपमा नियन्त्रणमा आइसकेको उनले बताए । काठमाडौं उपत्यका र काभ्रे जिल्लामा मात्र ११९ स्थानमा रोग पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र ९२ स्थानमा सङ्क्रमण देखिएको थियो । जसमध्ये काठमाडौंमा ३२, ललितपुरको सदर चिडियाखाना गरी १५ र भक्तपुरमा ४५ ठाउँमा सङ्क्रमण देखिएको थियो । काभ्रेपलाञ्चोकमा मात्र २७ स्थानमा सङ्क्रमण देखिएको विभागले जनाएको छ । विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार नेपालभर ८ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ । ११ लाख ६५ हजार ६६३ वटा अण्डा, २ लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ । काठमाडौं उपत्यकाभित्र र काभ्रेमा मात्र ३ लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको छ । महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ । ५० करोड रुपैयाँ बजेट रकमान्तर भई ५२ करोड रुपैयाँ व्यवस्थापन भएकोमा हालसम्म १०४ जना कृषक र फर्मको खातामा ५० करोड ७१ लाख १५ हजार ७०४ रुपैयाँ राहत रकम निकासा गरिसकेको छ । देशभर रहेका पन्छी रोग अन्वेषण प्रयोगशालाले तीव्र रुपमा परीक्षण अघि बढाएका छन् । सरकारको तदारुकता र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आउन सकेको हो । अब थप सङ्क्रमण हुने सम्भावना कम रहेको वरिष्ठ पशु चिकित्सक उपाध्याय बताउँछन् । सङ्क्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको छ । यससँगै किसानले मूल्य पाउन थालेका छन् । सङ्क्रमणका कारण मूल्य घटेपछि किसान प्रभावित बनेका थिए । चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने बाध्यता आएको थियो ।
२१८ आयोजनाको आरसिओडी थपिँदै, सुस्त आयोजनालाई ‘डिफल्ट नोटिस’
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका २१८ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसिओडी) थप्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि प्राधिकरणले पहिलो पटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ । गत असार ३२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, पीपीएअन्तर्गतका दायित्वको कार्यान्वयन र आरसिओडीको अवस्थाका आधारमा चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पहिलो चरणमा समूह ‘क’ र ‘ख’ मा परेका आयोजनाको आरसिओडी थप्ने प्रक्रिया अघि बढाइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बुधबार जलविद्युत् प्रवर्द्धकसँगको छलफलमा सरकारले निजी क्षेत्रलाई समस्यामा पार्ने नभई निर्माणाधीन आयोजनालाई सहजीकरण गर्ने उद्देश्यले आरसिओडी थप गर्न लागेको स्पष्ट पारे । उनले यस्तो निर्णय कुनै व्यक्ति विशेषको इच्छाअनुसार नभई संस्थागत प्रणालीबाट हुने व्यवस्था विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । मन्त्री श्रेष्ठले निजी क्षेत्रको आत्मसम्मान र लगानी सुरक्षाप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै प्रवर्द्धकहरूले पनि आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्नेमा जोड दिनुभयो । सरकार र निजी क्षेत्रबीच पारस्परिक उत्तरदायित्व कायम हुँदा मात्रै ऊर्जा क्षेत्रको विकासले अपेक्षित गति लिने उनको भनाइ छ । प्राधिकरणका अनुसार हाल ८ हजार २९२ मेगावाट क्षमताका ३२० जलविद्युत् आयोजना निर्माणाधीन छन् । तीमध्ये समूह ‘क’ मा ४ हजार ४९१ मेगावाट क्षमताका १५० आयोजना छन् । समूह ‘ख’ मा एक हजार ४२० मेगावाट क्षमताका ६८ आयोजना समावेश छन् । बाँकी आयोजना समूह ‘ग’ र ‘घ’ मा वर्गीकृत गरिएका छन् । छलफलमा ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोनले प्राकृतिक न्यायको सिद्धान्तका आधारमा सबै आयोजनाको आरसिओडी अन्तिम पटक निश्चित सर्तसहित थप गरिनुपर्ने धारणा राखे । उनले एक वर्षभित्र पीपीए सम्पन्न गर्ने र त्यसपछि छ महिनाभित्र निर्माण सुरु गर्ने प्रतिबद्धताका आधारमा सबै आयोजनालाई समान अवसर दिन आग्रह गरे । प्राधिकरणले तयार गरेको मापदण्डअनुसार समूह ‘क’ मा आरसिओडी अवधि समाप्त नभएका तथा उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन, जग्गा व्यवस्थापनलगायत पीपीएमा उल्लिखित दायित्व पूरा गरेका वा सम्झौताअनुसार पूरा गर्न बाँकी समय रहेका आयोजना पर्नेछन् । समूह ‘ख’ मा आरसिओडी सकिए पनि प्राधिकरणतर्फबाट प्रसारण लाइन वा सबस्टेसन निर्माणमा ढिलाइ भएका कारण सञ्चालनमा आउन नसकेका आयोजना समावेश छन् । साथै, काबुबाहिरको परिस्थितिका कारण निर्माण प्रभावित भई आवश्यक प्रमाणसहित आरसिओडी थपको स्वीकृति पाएका तथा आरसिओडी अवधि सकिँदासम्म कम्तीमा २५ प्रतिशत भौतिक प्रगति हासिल गरेका आयोजना पनि यही समूहमा राखिएका छन् । समूह ‘ग’ मा आरसिओडी नसकिए पनि उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन वा जग्गा व्यवस्थापनजस्ता आधारभूत दायित्व पूरा नगरेका वा आरसिओडी समाप्त हुँदासम्म २५ प्रतिशतभन्दा कम भौतिक प्रगति भएका आयोजना राखिनेछन् । समूह ‘घ’ मा आरसिओडी सकिएपछि पनि उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन, जग्गा व्यवस्थापनजस्ता अनिवार्य दायित्व पूरा नगरेका वा सर्वेक्षण तथा उत्पादन अनुमतिपत्र नै खारेज भएका आयोजना पर्नेछन् । प्राधिकरणले भौतिक प्रगति मापनका लागि २०७१ को कार्यविधिलाई आधार बनाएको छ । त्यसअनुसार हेडवक्र्स, सुरुङ, पाइपलाइन, पावरहाउसलगायत मुख्य संरचनाको निर्माण सुरु भई उल्लेखनीय प्रगति भएको अवस्थालाई भौतिक प्रगति मानिनेछ । सौर्य आयोजनाका हकमा प्यानल खरिद सम्झौता, एलसी खोलिएको, जग्गा व्यवस्थापन सम्पन्न भएको तथा माउन्टिङ स्ट्रक्चर र फाउन्डेसन निर्माण सुरु भएको अवस्थालाई पनि प्रगतिको सूचकका रूपमा स्वीकार गरिनेछ । समूह ‘ख’ मा परेका आयोजनाको नियमित अनुगमन गरिनेछ । प्राधिकरणको विद्युत् व्यापार विभागले समयमै निर्माणसम्पन्न गर्न आवश्यक निर्देशन दिनेछ । उक्त निर्देशन कार्यान्वयन भए/नभएको पनि अनुगमन गरिनेछ । आवश्यकताअनुसार बढीमा ६ महिनाभित्र आयोजनाको पुनः वर्गीकरण गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, समूह ‘ग’ मा रहेका आयोजनालाई पीपीएअनुसार ‘नोटिस अफ डिफल्ट’ जारी गरिनेछ । त्यसपछि पनि चित्तबुझ्दो सुधार वा जवाफ नआएमा सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।