सरकारले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढायो
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादरमा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने यात्रुवाहक र ढुवानीका दुवै सवारीसाधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको निर्देशन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ । यसअघि भाडा समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेकोमा हाल ५५ रुपैयाँले वृद्धि भई २३५ रुपैयाँ ८३ पैसा कायम भएको छ । इन्धनमा भएको यो ३०.४१ प्रतिशतको वृद्धिलाई नै भाडा बढाउनुपर्ने मुख्य आधार मानिएको छ । यसअघि गत चैत २५ गते मात्रै सरकारले १३ वटा सूचकलाई आधार मानी यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत र मालवाहक सवारीमा क्षेत्रअनुसार २१.६८ प्रतिशतसम्म भाडा बढाएको थियो । तर, त्यसयता डिजेलको मूल्यमा भारी वृद्धि भएपछि यातायात व्यवसायीहरूले भाडा पुनः समायोजन गर्न निरन्तर दबाब दिँदै आएका थिए । व्यवसायीको माग र बजार मूल्यको विश्लेषण गर्दै विभागले वैशाख ९ गते यात्रुवाहकका लागि ९.८ प्रतिशत र ढुवानीका लागि १२ देखि १४ प्रतिशतसम्म भाडा बढाउन सिफारिस गरे पनि मन्त्री लम्सालले ५ प्रतिशत मात्र वृद्धिको निर्णय स्वीकृत गरेका हुन् । यो नयाँ निर्णयसँगै लामो दूरीका यात्रु तथा व्यवसायीहरू प्रत्यक्ष प्रभावित हुने देखिएका छन् ।
महावीर पुनसँग चार ठाउँमा जग्गा, ३ तोला सुन र २९ लाख रुपैयाँ नगद
काठमाडौं । स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुनले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सम्पत्ति विवरणमा उनले चारवटा ठाउँमा जग्गा रहेको खुलाएका छन् । उनले आफ्नो घर नभएकोले आफू डेरामा बसिरहेको बताएका छन् । उनका अनुसार कास्कीको माझठाना गाउँपालिकाको वडा नम्बर ७ मा उनको चार टुक्रा जग्गा छ । ती सबै जग्गा जम्मा ४ लाख जतिमा २०५२ सालमा पदम पुनसँग मिलेर किनेको उनले बताएका छन् । कुल मिलाएर जग्गाको क्षेत्रफल ४ रोपनी ६ अना जति हुन आउँछ । उनले आफूसँग ३ तोला सुन रहेको बताएका छन् जुन २०६० सालमा किनिएको उल्लेख गरेका छन् भने त्यो सुन श्रीमतीको भएको बताएका छन् । यस्तै उनको दुई बैंकमा गरी २९ लाख रुपैयाँ नगद मौज्दात रहेको खुलाएका छन् । त्यसमध्ये २५ लाख रूपैयाँ हालै चुनाव लड्दा प्राप्त सहयोगबाट उब्रेको हो । आफ्नो आत्मकथा २ लाख ५० हजार प्रति बेचेर आएको पैसा आविस्कार केन्द्रको खातामा जम्मा गरिरहेको उनले बताएका छन् ।
बीमा कम्पनीहरूले दाबीबापत तिरे ५१ अर्ब ५९ करोड, ५२ अर्ब भुक्तानी बाँकी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत)सम्म बीमा कम्पनीहरूले ५१ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । सञ्चालनमा रहेका जीवन र निर्जीवन बीमा कम्पनीहरूले सो रकम बराबरको दाबी भुक्तानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बीमा कम्पनीहरूले ६२ अर्ब २२ लाख रुपैयाँ दाबी भुक्तान गरेका थिए । अघिल्लो वर्षको तुलनामा बीमा दाबी भुक्तानी १६.७९ प्रतिशतले घटेको छ । प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूले चैत्र मसान्तसम्ममा १ लाख ४४ हजार ३०६ वटा दाबीको ३१ अर्ब १० करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । यो गत आवको तुलनामा ३१.४५ प्रतिशतले घटेका छ । गत आवको चैत्र मसान्तसम्ममा बीमा कम्पनीहरुले २ लाख ८२ ८१० वटा दाबीको ४५ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा दाबी भुक्तानी रकम ३१.४५ प्रतिशतले घटेको छ । त्यसैगरी, चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बीमकहरूले १ लाख ११ हजार ७०७ वटा दाबीको २० अर्ब ४८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आवको सोही अवधिमा बीमा कम्पनीहरूले १ लाख १ हजार ७१३ वटा दाबीको १६ अर्ब ६२ करोड २८ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरूको दाबी संख्या र रकम क्रमशः ९.८३ प्रतिशत र २३.२४ प्रतिशतले बढेको छ । ५२ अर्ब भुक्तानी बाँकी चैत्र मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरूले ५२ अर्ब ५२ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरूले मात्रै ६१ हजार ५१६ दाबीको ५ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै निर्जीवन बीमा कम्पनीहरूले १ लाख १३ हजार ९४७ वटा दाबीको ४७ अर्ब १६ करोड १ लाख रुपैयाँ रहेको छ ।
नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षबाट सुरेन्द्र कुमार पौडेलले दिए राजीनामा
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सुरेन्द्र कुमार पौडेलले पदबाट राजीनामा दिएका छन् । पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा वैशाख १ गते अर्थमन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको स्रोतले जनाएको छ । नेपाल पुनर्बिमा कम्पनीमा नेतृत्व परिवर्तनसँगै नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।
सीडीएससीको कामु सीईओमा कञ्चन सापकोटा
काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी कञ्चन सापकोटाले पाएकी छिन् । सीडीएससी सञ्चालक समितिको बैठकले कम्पनीको प्रशासन तथा मानव संसाधन प्रमुख सापकोटालाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । सीडीएससी सञ्चालक समितिको बैठकले कम्पनीको सेवा शर्त विनियमावली २०७५ को दफा ४५ को उपदफा ३ बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा सापकोटालाई कायम मुकायमको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिले प्रविन पन्दाकलाई सीडीएससीको सञ्चालकबाट फिर्ता बोलाएपछि सीडीएससीको सीईओ खाली भएको थियो । पन्दाक सीडीएससीको सञ्चालकसहित सीईओको जिम्मेवारीमा पनि थिइन् ।
कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई प्राथमिकतामा राख्दै आएको छ । विशेष गरी कृषि क्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकतामा राख्दै बैंकले २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कृषि कर्जा प्रवाह गरेको छ । बैंकको आधार दरमा न्यूनतम प्रिमियम कायम गरी सस्तो ब्याजदरमा कृषि कर्जा प्रवाह गरिरहेको बैंकले कृषक तथा कृषि उद्धमीलाई आकर्षित गर्न कृषिसँग सम्बन्धित कर्जामा प्रशोधन शुल्कमा समेत सुविधा प्रदान गर्दै आइरहेको छ । कुखुरापालन, बाख्रापालन, गाईपालन, भैंसीपालन, माछापालन लगायतका कृषि परियोजनामा लगानी गर्दै आइरहेको बैंकले पछिल्लो समयमा विभिन्न प्रदेशमा विभिन्न कृषि उत्पादनलाई जोड दिंदै ४.७५ प्रतिशत ब्याजदरमा पाँच करोडसम्मको 'प्रदेश विशेष कृषि कर्जा' प्रदान गर्ने गरेको छ । त्यसैगरी स्थानीय साना कृषकलाई लक्षित गरी कुनैपनि प्रशोधन शुल्क नलिई बैंकले ४.७५ प्रतिशत ब्याजदरमा १० लाखसम्म 'साना किसान सरल कर्जा' उपलब्ध गराइरहेको छ । साथै बैंकले किसानहरुका लागि 'किसान क्रेडिट कार्ड'को सुविधा पनि उपलब्ध गराइरहेको छ । कृषि कर्जाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन बैंकले छुट्टै कृषि कर्जा नीति जारी गरी कृषि कर्जा कार्यविधि समेत लागू गरेको छ । त्यसैगरी कृषिमा गरिने लगानीलाई प्रभावकारी बनाउन बैंकको केन्द्रिय कार्यालयमा छुट्टै कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरिएको छ । यस क्षेत्रमा दक्ष कृषि विज्ञलाई कर्मचारीको रुपमा भित्र्याई बैंकले विभाग, प्रादेशिक कार्यालयहरु र शाखा कार्यालयहरुमा खटाउँदै आएको छ । बैंकले ७७ वटै जिल्लाहरुमा रहेका आफ्ना सबै ३१४ वटै शाखाहरु मार्फत कृषि कर्जा उपलब्ध गराउँदै कृषि कर्जामा ग्रामिण कृषकहरुको पहुँच सुनिश्चित गरेको छ । साथै बैंकले समय समयमा ग्राहकहरुलाई वित्तीय सचेतनाका कार्यक्रम मार्फत कृषि कर्जाको बारेमा जानकारी समेत गराउने गरेको छ । परम्परागत रूपमा निर्वाहमुखी कृषि पेशामा आबद्ध ग्रामिण किसानहरुलाई लक्षित गर्दै यस बैंकले सरकारी नीति तथा प्राथमिकतालाई आत्मसाथ गरी कृषि कर्जा मार्फत पूँजी परिचालन गर्ने र कृषिको यान्त्रिकीकरण तथा व्यवसायीकरणमा सहयोग पुर्याउँदै आइरहेको छ । यसले कृषिको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, प्रत्येक्ष तथा अप्रत्येक्ष रोजगारी सिर्जना, स्वरोजगार तथा आय आर्जनमा वृद्धि, ग्रामीण अर्थतन्त्रको विकास, मूल्य शृंखलामा वृद्धि जस्ता अर्थतन्त्रका विविध पाटामा सकारात्मक प्रभाव पारेको छ ।
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुनको मूल्य घटेर तोलामा २ लाख ९४ लाख ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख ९७ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । साथै चाँदीको मूल्य आज तोला ३० रुपैयाँले घटेको छ । चाँदीको मूल्य घटेर तोलामा ४ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको छ ।
ट्रम्पको लोकप्रियता वर्तमान कार्यकालमा सबैभन्दा तल्लो स्तरमा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता उनको वर्तमान कार्यकालमा सबैभन्दा तल्लो स्तरमा पुगेको छ । यो कुरा बेलायती अखबार ‘द गार्जियन’मा प्रकाशित रोयटर्स–इप्सोसको नयाँ सर्वेक्षणमा खुलासा भएको हो । अमेरिकी नागरिकहरूको असन्तुष्टिको मुख्य कारण बढ्दो महँगीलाई ट्रम्पले नियन्त्रण गर्न नसक्नु हो । यसबाहेक इरानविरुद्धको उनको युद्ध पनि जनतालाई मन परेको छैन । यस युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्य बढेको छ । चार दिनसम्म चलेको यस सर्वेक्षणमा केवल ३४ प्रतिशत अमेरिकीहरूले ट्रम्पको कामकाजलाई सही बताएका छन्, जबकि १५ देखि २० अप्रिलबीच गरिएको अघिल्लो सर्वेक्षणमा यो आँकडा ३६ प्रतिशत थियो । महँगीसँग सम्बन्धित कामकाजमा ट्रम्पलाई केवल २२ प्रतिशत मानिसहरूको समर्थन प्राप्त भएको छ, जबकि अघिल्लो सर्वेक्षणमा यो २५ प्रतिशत थियो । रिपब्लिकन पार्टीका समर्थकहरूमा पनि चिन्ता बढ्दै गएको छ कि नोभेम्बरमा हुने मध्यावधि चुनावमा उनीहरू अमेरिकी संसद (कंग्रेस) मा कमजोर पर्न सक्छन् । यद्यपि, रिपब्लिकन पार्टीका ७८ प्रतिशत सदस्यहरू अझै पनि ट्रम्पको समर्थनमा छन्, तर ४१ प्रतिशत पार्टी सदस्यहरू महँगी नियन्त्रणमा उनको कामकाजप्रति असन्तुष्ट छन् ।