२० वटा व्यापारिक फर्ममाथि मुद्दा दायर
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले २० वटा व्यापारिक फर्मविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालयले कैफियत देखिएका खाद्यपदार्थका नमूनाको अनुसन्धान प्रक्रिया पूरा गरी खाद्य ऐन तथा दाना ऐन बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कैलालीमा ९, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ७, जिल्ला अदालत कैलालीमा ३ र जिल्ला अदालत कञ्चनपुरमा एक गरी २० वटा व्यापारिक फर्ममाथि मुद्दा दायर गरेको जनाएको छ । यसबाहेक थप १९ उद्योगी व्यवसायीसँग बयान लिने काम भइरहेको कार्यालयले जनाएको छ । खाद्यपदार्थको स्वच्छता र गुणस्तर नियमन गर्नका लागि कार्यालयले गत वर्ष खाद्यबजार तथा रेस्टुरेण्ट अनुगमन गर्ने क्रममा कैफियत देखिएका १५ लाख ८७ हजार ८०९ रुपैयाँ मूल्य बराबरका सामान जफत गरी नष्ट गरिएको कार्यालय प्रमुख हरेराम प्रधानले जानकारी दिए । कार्यालयले आज यहाँ आयोजना गरेको प्रगति समीक्षा गोष्ठीमा उहाँले गत वर्ष कार्यालयले गरेको गतिविधिले खाद्यवस्तुको स्वच्छता एवं गुणस्तर कायम गर्न टेवा पुगेको बताए । कार्यालय प्रमुख प्रधानले गत वर्ष तीन सय ४९ वटा खाद्य तथा दाना उद्योगको दर्ता सिफारिस, अनुज्ञापत्र जारी तथा नवीकरण गरिएकोे जानकारीसमेत दिए । कार्यालयले खाद्य स्वच्छता एवं गुणस्तर कायम गर्न खाद्य ऐन तथा दाना ऐनअनुरूप उद्योग, बजार तथा होटेल रेस्टुरेण्ट अनुगमन गर्ने क्रममा शङ्कास्पद नमूना सङ्कलन गरी कारबाही प्रक्रियाअघि बढाउँदै आएको छ । खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले अनुगमन निरीक्षणका लागि साधनस्रोत अभाव तथा प्रयोगशाला व्यवस्थापनका लागि स्थान अभावले उपलब्ध उपकरण प्रयोगमा ल्याउन नसकिएल थप कार्य गर्न कठिनाइ भएको बताए । सुदूरपश्चिम प्रदेश कार्यक्षेत्र रहेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलाली मातहतमा डडेल्धुरा, डोटी र बैतडीमा डिभिजन कार्यालय सञ्चालनमा छन् ।
एआई सम्बन्धि कार्यपत्र ल्याउन सञ्चारमन्त्री गुरुङको आग्रह
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने काममा सरकारले सवैको सहयोगको अपेक्षा गरेको बताएका छन् । क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोदारको नेतृत्वमा मन्त्रालयमा छलफल गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले यस्तो धारणा राखेका हु्न् । मन्त्री गुरुङले सूचनाको क्षेत्रमा आएको क्रान्ति र आर्टिफिसियल इन्टेलीजेन्स (एआई)को सुरुवातसँगै देखिएको चुनौतीलाई समेत मध्यनजर गरी सरकारले आफ्नो नीतिगत सुधार र व्यवस्थापनको काम अघि बढाउने जानकारी दिए । आफूले पदबहालीकै क्रममा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्न कार्यदल गठनको निर्णय लिएकोउनले स्मरण गराए । मन्त्री गुरुङले क्यान महासंघलाई आर्टिफिसियल ईन्टेलिजेन्सको बिषयमा कार्यपत्र लिएर आउन आग्रह पनि गरे । ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बिषयमा कार्यपत्र लिएर आउनोस, आवश्यक नीतिगत कुरा गर्न सरकार तयार छ,’ मन्त्री गुरुङले भने । उनले सरकार नीजि क्षेत्रमैत्री रहेको र मुलुकमा सकारात्मक परिणाम निकाल्नका लागि सहकार्य गर्न चाहिरहेको जानकारी समेत दिए । क्यान महासंघका अध्यक्ष पोदारले सूचना प्रविधी क्षेत्रका बजेटको कार्यान्वयन यसका प्रभाकारिकताको विषयमा ध्यानाकर्षण गराए । महासचिव तथा साईबर सुरक्षा विज्ञ चिरञ्जिबी अधिकारीले आर्टिफिसियल इन्टेलिजेन्स, साईबर सेक्युरिटी र ब्लकचेन प्रविधीलाई अनुसरण गर्नुपर्ने सुझाव दिए । उनले साइबर सुरक्षा कमजोर हुनुमा आवश्यक नीति तथा कार्ययोजनाको अभाव, सुरक्षामा कम लगानी र नयिमति सुरक्षा परीक्षण नहुनु प्रमुख तीन कारण रहेको बताए ।
मन्त्रालयहरूमा मुख्यमन्त्रीको छड्के
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारी कार्यालयका कर्मचारीले लापरबाही गर्ने गरेको जनगुनासो बढेपछि आज ११ वटा मन्त्रालयमै छड्के अनुगमन गरेका छन् । आइतबार निरीक्षण तथा अनुगमन गर्दै उनले त्यसक्रममा अधिकांश कार्यालयका कर्मचारीले समयमा हाजिर नगर्ने, स्वीकृति नलिएर बिदा बस्ने जस्ता समस्या रहेको पाइएको जानकारी दिए । प्रदेश सरकारकै मन्त्रालयका कर्मचारीले त्रुटि गरेको भेटिएपछि पत्र लेखेर जवाफ मारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालय समय सुरू भएलगतै मुख्यमन्त्री सिंहले ११ वटै मन्त्रालयको निरीक्षण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पाए दुई तिहाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । उनले आइतबार प्रतिनिधि सभामा दुई तिहाइ सांसदबाट विश्वासको मत पाएका हुन् । प्रतिनिधि सभामा उपस्थित २६३ जनामध्ये ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ जनाले मतदान गरे भने एक जना तटस्थ बसे । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् । विपक्षमा मत दिनेमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी छन् । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए । दुई तिहाइ बहुमत पुग्नका लागि १८४ सांसदको समर्थन चाहिन्छ । तर, उनले त्यसको चार मत बढी पाए ।
डेढ लाख घुस लिँदै गर्दा बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत पक्राउ
चितवन । घुस लिँदै गर्दा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कोइरालाको साथबाट १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको जनाइएको छ । भरतपुरस्थित एक होटलबाट कोइरालालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनले औषधी आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस मागेको जनाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई २ करोड बढी राहत प्रदान
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई २ करोड २ लाख १७ हजार ७ सय २ रुपैयाँ राहत प्रदान गरिएको छ । निकुञ्जले ८ सय १३ वटा घटनाका प्रभावितलाई उक्त रकम वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षको विभिन्न समयमा वन्यजन्तुले पु¥याएको क्षतिको मूल्यांकन गरी राहत रकम वितरण गरिएको हो । उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई १ करोड राहत रकम हस्तान्तरण गरिएको छ । यस्तै गम्भीर घाइते भएका २४ जनाको परिवारलाई ३२ लाख ४४ हजार १ सय ७४ र सामान्य घाइते भएका २३ जनाको परिवारलाई २ लाख ४५ हजार ४ सय ६८ रुपैयाँ हस्तान्तरण गरिएको छ । उनका अनुसार वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन् । उनीहरुमध्ये हात्तीको आक्रमणबाट १३ जना, गैँडाको आक्रमणबाट २० जना, बाघको आक्रमणबाट सात जना, भालुको आक्रमणबाट पाँच जना, बँदेलको आक्रमणबाट एक जना र गौरीगाईंको आक्रमणबाट एक जना घाइते भएका थिए । यसैगरी गैँडाको आक्रमणबाट पाँच जना, बाघको आक्रमणबाट तीन जना र मगर गोहीको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले बताए । गत आवमा १ सय ८७ वटा पशु धनमा जनावरका कारण क्षति पुगेको छ । त्यसका लागि २४ लाख ९१ हजार ७ सय १० रुपैयाँ राहत रकम प्रदान गरिएको छ । भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र सोवापत ९१ हजार रुपैयाँ राहत बुझाइएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । वन्यजन्तुले ३३ वटा घरगोठमा क्षति पुर्याएको उनले बताए । घरगोठ क्षतिवापत ५ लाख ३५ हजार ९ सय ७५ रुपैयाँ राहत वितरण गरिएको छ । अन्नबालीमा ५ सय २४ पटक क्षति भएको र ३६ लाख ९ हजार ३ सय ७५ रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको तिवारीले बताए ।
‘कुलमानले गलत हिसाब निकाले, धनी छन् भनेर पैसा लिन खोजियो’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनको बिद्युत बक्यौतामा गलत हिसाब निकालेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै कुलमानले गलत गरेको धारणा राखेका हुन् । ‘उद्योगीहरुले हामीले बिजुली प्रयोग गरेको पैसा मात्रै तिर्छौं भनेका छन्, पैसा दिँदैनौं नै भनेका छैनन्, तिमी धनी छौ, मलाई यति चाहिन्छ तिमिले दिनै पर्छ भनेर हुँदैन, बिजुली नदिएर पैसा उठाएर हुँदैन, प्राधिकरणका एमडीले गलत हिसाब देखाए,’ ओलीले भने । उनले उद्योगसँग २४ घण्टाको सम्झौता गरेर लोडसेडिङ गर्न नहुने पनि बताएका छन् । उद्योग बन्द गरेर समस्याको समाधान नहुने उनको भनाइ छ । ‘प्राधिकरणका एमडीलाई बोलाएर उद्योगी, मुख्य सचिव र सचिव लगायत सबैलाई राखेर छलफल गरेँ, कुरा बुझ्दा गलत हिसाब निकालेको देखियो, अब छानबिन गर्नु पर्ने देखियो, उद्योग बन्द गरेर पैसा आउँदैन, यो विवाद ९ वर्ष अगाडिदेखिको हो, पहिलो पटक बिजुली काटिएको पनि होइन, बिचमा कुनमा के मिलाएर फेरि जोडियो के काटियो,’ उनले प्रश्न गर्दै भने, ‘६ वटा उद्योगको लाइन काटेर अरुको किन नकाटेको ?’
नेपाल पर्वतारोहण संघ र सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच सम्झौता
काठमाडौं । नेपाल पर्वतारोहण संघ र पर्वतारोहण क्षेत्रमा चिन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच दुई पक्षीय सम्झौता भएको छ । पर्वतारोहण क्षेत्रमा दुई देशबीचको ज्ञान, सीप आदान–प्रदान तथा पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवर्द्धनको प्रचार लगायतका विषयमा अहिलेसम्मको ठूलो सम्झौता भएको हो । पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने सम्झौता भएको संघका अध्यक्ष निमा निरु शेर्पाले जानकारी दिए । हाल पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयसँगै पदयात्रा तथा आरोहणका लागि जाने कतिपय पर्यटकले ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनले बताए । उनका अनुसार यसका लागि ‘हाई अल्टिच्युड म्याउन्टेन रेस्क्यू सेन्टर’ स्थापना गर्ने र हिमाली क्षेत्रमा हुने दुर्घटना वा अन्य आपतकालीन अवस्थामा गर्नुपर्ने उद्धारको कार्यका लागि सहयोग र सहकार्य गर्ने सम्झौता भएको छ । यसका लागि हाई अल्टिच्युड माउन्टेन रेस्क्यु मेकानिजम स्थापना गर्ने सहमति भएको छ । त्यस्तै, दुवै निकाय मिलेर संयुक्त रूपमा ‘हिमालयन माउन्टेरिङ कल्चर सेन्टर’ को निर्माण गर्ने सहमति भएको पनि उनले बताए । जसअनुसार दुवै निकायले दुवै पक्षको आरोहण संस्कृतिको प्रवर्द्धन गर्ने र प्रवर्द्धनका लागि मद्दत गर्नेछन् । त्यसैगरी पर्वतीय वातावरणको संरक्षणका लागि सहकार्य गर्ने सहमति भएको छ । उनका अनुसार विशेषगरी दुवै देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई प्राथमिकता दिएर काम गर्ने सहमति भएको हो । यस्तै अन्य हिमाल चढ्न जानेहरूलाई थप जिम्मेवार बनाउँदै हिमाली वातावरणको संरक्षणको काम गरिनेछ । सहमतिअनुसार आरोहणसम्बन्धी जनशक्ति उत्पादनमा जोड दिइनेछ । यसका लागि सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीचले उच्च स्तरको पर्वतारोहण तालिम लिनका लागि आरोहीलाई नेपाल पठाउनेछ । यी सम्झौताहरू कार्यान्वयनका लागि संघले सबै निकायका प्रतिनिधि रहने गरी प्रस्ताव अघि सारिएकाे छ । प्रस्तावमा चीनको तर्फबाट सिचाङ स्वशासित क्षेत्र जनसरकार, सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघ र नेपालको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वातारोहण संघको प्रतिनिधि रहने अध्यक्ष शेर्पाले बताए ।