काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । उनले आइतबार प्रतिनिधि सभामा दुई तिहाइ सांसदबाट विश्वासको मत पाएका हुन् ।
प्रतिनिधि सभामा उपस्थित २६३ जनामध्ये ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ जनाले मतदान गरे भने एक जना तटस्थ बसे ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

विपक्षमा मत दिनेमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
दुई तिहाइ बहुमत पुग्नका लागि १८४ सांसदको समर्थन चाहिन्छ । तर, उनले त्यसको चार मत बढी पाए ।