महावीर पुनसँग चार ठाउँमा जग्गा, ३ तोला सुन र २९ लाख रुपैयाँ नगद
काठमाडौं । स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुनले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सम्पत्ति विवरणमा उनले चारवटा ठाउँमा जग्गा रहेको खुलाएका छन् । उनले आफ्नो घर नभएकोले आफू डेरामा बसिरहेको बताएका छन् । उनका अनुसार कास्कीको माझठाना गाउँपालिकाको वडा नम्बर ७ मा उनको चार टुक्रा जग्गा छ । ती सबै जग्गा जम्मा ४ लाख जतिमा २०५२ सालमा पदम पुनसँग मिलेर किनेको उनले बताएका छन् । कुल मिलाएर जग्गाको क्षेत्रफल ४ रोपनी ६ अना जति हुन आउँछ । उनले आफूसँग ३ तोला सुन रहेको बताएका छन् जुन २०६० सालमा किनिएको उल्लेख गरेका छन् भने त्यो सुन श्रीमतीको भएको बताएका छन् । यस्तै उनको दुई बैंकमा गरी २९ लाख रुपैयाँ नगद मौज्दात रहेको खुलाएका छन् । त्यसमध्ये २५ लाख रूपैयाँ हालै चुनाव लड्दा प्राप्त सहयोगबाट उब्रेको हो । आफ्नो आत्मकथा २ लाख ५० हजार प्रति बेचेर आएको पैसा आविस्कार केन्द्रको खातामा जम्मा गरिरहेको उनले बताएका छन् ।
बीमा कम्पनीहरूले दाबीबापत तिरे ५१ अर्ब ५९ करोड, ५२ अर्ब भुक्तानी बाँकी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत)सम्म बीमा कम्पनीहरूले ५१ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । सञ्चालनमा रहेका जीवन र निर्जीवन बीमा कम्पनीहरूले सो रकम बराबरको दाबी भुक्तानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बीमा कम्पनीहरूले ६२ अर्ब २२ लाख रुपैयाँ दाबी भुक्तान गरेका थिए । अघिल्लो वर्षको तुलनामा बीमा दाबी भुक्तानी १६.७९ प्रतिशतले घटेको छ । प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूले चैत्र मसान्तसम्ममा १ लाख ४४ हजार ३०६ वटा दाबीको ३१ अर्ब १० करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । यो गत आवको तुलनामा ३१.४५ प्रतिशतले घटेका छ । गत आवको चैत्र मसान्तसम्ममा बीमा कम्पनीहरुले २ लाख ८२ ८१० वटा दाबीको ४५ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा दाबी भुक्तानी रकम ३१.४५ प्रतिशतले घटेको छ । त्यसैगरी, चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बीमकहरूले १ लाख ११ हजार ७०७ वटा दाबीको २० अर्ब ४८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आवको सोही अवधिमा बीमा कम्पनीहरूले १ लाख १ हजार ७१३ वटा दाबीको १६ अर्ब ६२ करोड २८ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरूको दाबी संख्या र रकम क्रमशः ९.८३ प्रतिशत र २३.२४ प्रतिशतले बढेको छ । ५२ अर्ब भुक्तानी बाँकी चैत्र मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरूले ५२ अर्ब ५२ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरूले मात्रै ६१ हजार ५१६ दाबीको ५ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै निर्जीवन बीमा कम्पनीहरूले १ लाख १३ हजार ९४७ वटा दाबीको ४७ अर्ब १६ करोड १ लाख रुपैयाँ रहेको छ ।
नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षबाट सुरेन्द्र कुमार पौडेलले दिए राजीनामा
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सुरेन्द्र कुमार पौडेलले पदबाट राजीनामा दिएका छन् । पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा वैशाख १ गते अर्थमन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको स्रोतले जनाएको छ । नेपाल पुनर्बिमा कम्पनीमा नेतृत्व परिवर्तनसँगै नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।
सीडीएससीको कामु सीईओमा कञ्चन सापकोटा
काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी कञ्चन सापकोटाले पाएकी छिन् । सीडीएससी सञ्चालक समितिको बैठकले कम्पनीको प्रशासन तथा मानव संसाधन प्रमुख सापकोटालाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । सीडीएससी सञ्चालक समितिको बैठकले कम्पनीको सेवा शर्त विनियमावली २०७५ को दफा ४५ को उपदफा ३ बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा सापकोटालाई कायम मुकायमको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिले प्रविन पन्दाकलाई सीडीएससीको सञ्चालकबाट फिर्ता बोलाएपछि सीडीएससीको सीईओ खाली भएको थियो । पन्दाक सीडीएससीको सञ्चालकसहित सीईओको जिम्मेवारीमा पनि थिइन् ।
कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई प्राथमिकतामा राख्दै आएको छ । विशेष गरी कृषि क्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकतामा राख्दै बैंकले २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कृषि कर्जा प्रवाह गरेको छ । बैंकको आधार दरमा न्यूनतम प्रिमियम कायम गरी सस्तो ब्याजदरमा कृषि कर्जा प्रवाह गरिरहेको बैंकले कृषक तथा कृषि उद्धमीलाई आकर्षित गर्न कृषिसँग सम्बन्धित कर्जामा प्रशोधन शुल्कमा समेत सुविधा प्रदान गर्दै आइरहेको छ । कुखुरापालन, बाख्रापालन, गाईपालन, भैंसीपालन, माछापालन लगायतका कृषि परियोजनामा लगानी गर्दै आइरहेको बैंकले पछिल्लो समयमा विभिन्न प्रदेशमा विभिन्न कृषि उत्पादनलाई जोड दिंदै ४.७५ प्रतिशत ब्याजदरमा पाँच करोडसम्मको 'प्रदेश विशेष कृषि कर्जा' प्रदान गर्ने गरेको छ । त्यसैगरी स्थानीय साना कृषकलाई लक्षित गरी कुनैपनि प्रशोधन शुल्क नलिई बैंकले ४.७५ प्रतिशत ब्याजदरमा १० लाखसम्म 'साना किसान सरल कर्जा' उपलब्ध गराइरहेको छ । साथै बैंकले किसानहरुका लागि 'किसान क्रेडिट कार्ड'को सुविधा पनि उपलब्ध गराइरहेको छ । कृषि कर्जाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन बैंकले छुट्टै कृषि कर्जा नीति जारी गरी कृषि कर्जा कार्यविधि समेत लागू गरेको छ । त्यसैगरी कृषिमा गरिने लगानीलाई प्रभावकारी बनाउन बैंकको केन्द्रिय कार्यालयमा छुट्टै कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरिएको छ । यस क्षेत्रमा दक्ष कृषि विज्ञलाई कर्मचारीको रुपमा भित्र्याई बैंकले विभाग, प्रादेशिक कार्यालयहरु र शाखा कार्यालयहरुमा खटाउँदै आएको छ । बैंकले ७७ वटै जिल्लाहरुमा रहेका आफ्ना सबै ३१४ वटै शाखाहरु मार्फत कृषि कर्जा उपलब्ध गराउँदै कृषि कर्जामा ग्रामिण कृषकहरुको पहुँच सुनिश्चित गरेको छ । साथै बैंकले समय समयमा ग्राहकहरुलाई वित्तीय सचेतनाका कार्यक्रम मार्फत कृषि कर्जाको बारेमा जानकारी समेत गराउने गरेको छ । परम्परागत रूपमा निर्वाहमुखी कृषि पेशामा आबद्ध ग्रामिण किसानहरुलाई लक्षित गर्दै यस बैंकले सरकारी नीति तथा प्राथमिकतालाई आत्मसाथ गरी कृषि कर्जा मार्फत पूँजी परिचालन गर्ने र कृषिको यान्त्रिकीकरण तथा व्यवसायीकरणमा सहयोग पुर्याउँदै आइरहेको छ । यसले कृषिको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, प्रत्येक्ष तथा अप्रत्येक्ष रोजगारी सिर्जना, स्वरोजगार तथा आय आर्जनमा वृद्धि, ग्रामीण अर्थतन्त्रको विकास, मूल्य शृंखलामा वृद्धि जस्ता अर्थतन्त्रका विविध पाटामा सकारात्मक प्रभाव पारेको छ ।
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुनको मूल्य घटेर तोलामा २ लाख ९४ लाख ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख ९७ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । साथै चाँदीको मूल्य आज तोला ३० रुपैयाँले घटेको छ । चाँदीको मूल्य घटेर तोलामा ४ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको छ ।
ट्रम्पको लोकप्रियता वर्तमान कार्यकालमा सबैभन्दा तल्लो स्तरमा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता उनको वर्तमान कार्यकालमा सबैभन्दा तल्लो स्तरमा पुगेको छ । यो कुरा बेलायती अखबार ‘द गार्जियन’मा प्रकाशित रोयटर्स–इप्सोसको नयाँ सर्वेक्षणमा खुलासा भएको हो । अमेरिकी नागरिकहरूको असन्तुष्टिको मुख्य कारण बढ्दो महँगीलाई ट्रम्पले नियन्त्रण गर्न नसक्नु हो । यसबाहेक इरानविरुद्धको उनको युद्ध पनि जनतालाई मन परेको छैन । यस युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्य बढेको छ । चार दिनसम्म चलेको यस सर्वेक्षणमा केवल ३४ प्रतिशत अमेरिकीहरूले ट्रम्पको कामकाजलाई सही बताएका छन्, जबकि १५ देखि २० अप्रिलबीच गरिएको अघिल्लो सर्वेक्षणमा यो आँकडा ३६ प्रतिशत थियो । महँगीसँग सम्बन्धित कामकाजमा ट्रम्पलाई केवल २२ प्रतिशत मानिसहरूको समर्थन प्राप्त भएको छ, जबकि अघिल्लो सर्वेक्षणमा यो २५ प्रतिशत थियो । रिपब्लिकन पार्टीका समर्थकहरूमा पनि चिन्ता बढ्दै गएको छ कि नोभेम्बरमा हुने मध्यावधि चुनावमा उनीहरू अमेरिकी संसद (कंग्रेस) मा कमजोर पर्न सक्छन् । यद्यपि, रिपब्लिकन पार्टीका ७८ प्रतिशत सदस्यहरू अझै पनि ट्रम्पको समर्थनमा छन्, तर ४१ प्रतिशत पार्टी सदस्यहरू महँगी नियन्त्रणमा उनको कामकाजप्रति असन्तुष्ट छन् ।
ईश्वरपुर नगरपालिकामा विद्यार्थी भर्ना अभियान सुरु, सामुदायिक विद्यालयलाई ई-रिक्सा हस्तान्तरण
काठमाडौं । विपन्न तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउने उद्देश्यले सर्लाहीको ईश्वरपुर नगरपालिकामा नगरस्तरीय विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । नगरपालिकाको आयोजनामा आयोजित एक कार्यक्रमका बीच नगर उपप्रमुख रंजिता चौधरीले अभियानको औपचारिक उद्घाटन गरिन् । ‘पढौं लेखौं फरर, ई-रिक्सामा विद्यालय सरर’ भन्ने मूल नाराका साथ सञ्चालित यस अभियानले नगरभित्रका दुर्गम र विपन्न बस्तीका बालबालिकालाई विद्यालयसम्म पु¥याउन सहज हुने विश्वास गरिएको छ । अभियानलाई थप प्रभावकारी र व्यवहारिक बनाउन नगरपालिकाले पहिलो चरणमा ८ वटा सामुदायिक विद्यालयलाई ई-रिक्सा हस्तान्तरण गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मनोज कुमार आचार्यले मधेश प्रदेश सरकारको ‘बेटी पढाउ बेटी बचाउ’ अभियानबाट प्रभावित भई यो कदम चालिएको बताए । उनले भने, ‘संस्थागत विद्यालयको बस सेवा जस्तै हामीले सामुदायिक विद्यालयमा ई-रिक्सा सञ्चालन गरेका छौं । यसले विशेषगरी दलित, विपन्न र टाढाका विद्यार्थीलाई ओसारपसार गर्न सहयोग गर्नेछ ।’ हाल ८ वटा विद्यालयमा सुरु गरिएको यो सेवा आगामी दिनमा नगरका सबै विद्यालयमा विस्तार गरिने योजना रहेको पनि उनले स्पष्ट पारे । नगर प्रमुख आचार्यले ईश्वरपुर नगरपालिकाको वडा नं. ४ सागरनाथलाई मधेश प्रदेशकै नमूनाको रूपमा प्रस्तुत गर्दै उक्त वडामा कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्न पाउनु गर्वको विषय भएको बताए । मधेश सरकारले समेत ईश्वरपुरको यो पहलबाट सिक्न सक्ने दाबी गर्दै उनले तिनै तहका सरकारका कानुनमा देखिएका कतिपय अस्पष्टता र बाझिएका विषयहरूलाई समाधान गरी शिक्षा क्षेत्रमा एकरूपता ल्याउनुपर्नेमा जोड दिए । ई-रिक्सा प्राप्त गर्ने विद्यालयहरूमा जनता प्रावि सागरनाथ (वडा नं. ४), चन्द्रकुमारी प्रावि धनपट्टीडाँडा (वडा नं. ७), जनता प्रावि खोरियाटोल (वडा नं. ९), जनशक्ति प्रावि बेला (वडा नं. १०), जनता मावि करमोहान (वडा नं. ११), जनता प्रावि नयाँटोल (वडा नं. १२), जनता आधारभूत विद्यालय घाटटाल (वडा नं. १३) र जनता प्रावि हरकठवा (वडा नं. १४) रहेका छन् । नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश लुइँटेलका अनुसार ई-रिक्साको प्रयोगले गाउँ–गाउँमा पुगेर विद्यालय बाहिर रहेका बालबालिकालाई खोज्न र ल्याउन सहज हुनेछ । सोही कार्यक्रमको अवसरमा शैक्षिक सत्र २०८२ मा अनिवार्य अवकाश प्राप्त गरेका विभिन्न विद्यालयका शिक्षकहरूलाई उहाँहरूको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो ।