पढ्दापढ्दै अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्दै इस्लिङ्टनका २९ विद्यार्थी
काठमाडौं । इस्लिङ्टन कलेजले विद्यार्थीलाई पढाइसँगै विभिन्न परियोजनामा काम गर्ने अवसर प्रदान गर्दै आएको छ । हाल कलेजमा अध्ययनरत २९ जना विद्यार्थीले पढाइसँगै अमेरिका, अस्ट्रेलिया र बेलायतका विभिन्न कम्पनीका परियोजनामा काम गरिरहेको कलेजले जनाएको छ । कलेजले उनीहरूलाई आफ्नो पहिलो एआई–नेटिभ ट्यालेन्ट समूहका रूपमा प्रस्तुत गरेको जनाएको छ । कलेजका अनुसार २९ जना विद्यार्थीलाई विशेष तालिम प्रदान गरी साझेदार संस्था ग्लोबल टिम्स एआईमार्फत अमेरिका, अस्ट्रेलिया र बेलायतका विभिन्न परियोजनामा आबद्ध गरिएको हो । विद्यार्थीहरूको क्षमता साझेदार संस्था पेक्सस टेकले पनि सकारात्मक रूपमा मूल्यांकन गरेको कलेजले जनाएको छ । कलेजले विद्यार्थीलाई अध्ययनकै क्रममा उद्योगसँगको सहकार्य, अन्तर्राष्ट्रियस्तरको तालिम तथा व्यावहारिक सिकाइमार्फत विश्वव्यापी कार्य वातावरणमा काम गर्ने अवसर दिँदै आएको छ । सोही अवसरअन्तर्गत हाल २९ जना विद्यार्थी नेपालमै बसेर अन्तर्राष्ट्रिय कम्पनीका परियोजनामा काम गरिरहेका छन् । इस्लिङ्टनले विद्यार्थीलाई वास्तविक परियोजना, उद्योगमैत्री प्रयोगशाला, व्यावहारिक अभ्यास तथा कार्यअनुभवमार्फत रोजगारी बजारका लागि तयार पार्दै आएको छ भने अध्ययन पूरा नहुँदै विद्यार्थीले अन्तर्राष्ट्रिय कम्पनीसँग काम गर्ने अवसर प्रदान गरिरहेको छ । कलेजका अध्यक्ष सुलभ बुढाथोकी विद्यार्थीले अध्ययन र करिअरलाई सँगसँगै अघि बढाइरहेको बताउँछन् । ‘हाम्रा विद्यार्थीले डिग्री पूरा गर्ने कि काम सुरु गर्ने भन्ने दुविधामा बस्नुपरेको छैन,’ उनी भन्छन्, ‘हाम्रा विद्यार्थी अध्ययनसँगै अन्तर्राष्ट्रिय कम्पनीका परियोजनामा काम गरिरहेका छन् ।’ पेक्सस टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रशान्त केसीले इस्लिङ्टन कलेजका विद्यार्थी प्राविधिक रूपमा सक्षम रहेको र एआई–आधारित कार्य वातावरणमा सुरुदेखि नै काम गर्न सक्ने क्षमता रहेको बताए ।
पहिरोले रोकियो मुग्लिन–नारायणगढ सडक, गाईघाटमा डोजर परिचालन
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत चितवनको गाईघाट नजिकै सोमबार पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार पहिरो खसेलगत्तै सडक खुलाउने कार्यका लागि आवश्यक उपकरण घटनास्थलमा परिचालन गरिएको छ । डिभिजनले पहिरो हटाउन करिब १ देखि २ घण्टा लाग्ने अनुमान गरिएको जनाएको छ । त्यस अवधिसम्म उक्त सडक खण्डमा सवारीसाधन एकतर्फी सञ्चालन हुने भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन र आवश्यक संयमता अपनाउन आग्रह गरिएको छ । सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
केयुको उपकुलपतिका लागि १० जनाको नाम छनोट
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदका लागि दरखास्त दिएका १० जना उम्मेदवार छनोटमा परेका छन् । नाम सिफारिस गर्न गठित सिफारिस तथा छनोट समितिले अन्तिम चरणका लागि १० जनाको नामा सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको सूचनाअनुसार त्यागराज पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास न्यौपाने, भीमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शोभानन्द सञ्जेल, सुयोध शर्मा र हरि प्रसाद न्यौपानेको नाम छनोट गरिएको हो । छनोटमा परेका १० जनाको भदौ २१ र २२ गते अन्तवार्ता हुने जनाइएको छ । जसमा २१ गते त्यागराज पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास न्यौपाने र भीमप्रसाद श्रेष्ठको अन्तर्वार्ता हुनेछ भने २२ गते दिउँसो १ बजेदेखि राजेन्द्र जोशी, विवेक बराल, शोभानन्द सञ्जेल, सुयोध शर्मा र हरि प्रसाद न्यौपानेको प्रस्तुतीकरण तथा अन्तर्वार्ता तय गरिएको छ ।
कोशीमा मुख्यमन्त्री विवाद : समाधान खोज्न एमालेको संयुक्त बैठक सुरु
काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न पार्टी र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । एमाले कोशी प्रदेश कमिटीको आयोजनामा भइरहेको बैठकमा पार्टीका सचिव तथा प्रदेश इन्चार्ज शेरधन राई, संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश कमिटीका पदाधिकारी तथा प्रदेशसभा सदस्यहरू सहभागी छन् । पार्टी र संसदीय दलबीच नयाँ सरकार गठनको विषयमा देखिएको मतभेद समाधान गर्न संयुक्त बैठक बोलाइएको एमाले कोशी प्रदेशले जनाएको छ । यसअघि आइतबार दिनभर मुख्यमन्त्री परिवर्तनको विषयमा आन्तरिक छलफल भएको थियो । त्यसको निरन्तरतास्वरूप सोमबार प्रदेशसभा सदस्यसहितको संयुक्त बैठक आयोजना गरिएको हो । बैठकमा नेपाली कम्युनिस्ट पार्टी र एमालेबीच भएको तीनबुँदे सहमतिपछि नयाँ सरकार गठनको प्रक्रियालाई लिएर पार्टीभित्र उत्पन्न विवादबारे छलफल भइरहेको छ । बैठकबाट विवाद समाधान गर्दै पार्टीको साझा धारणा तय गर्ने प्रयास भइरहेको एमाले स्रोतले जनाएको छ ।
१२ हजार घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सव–डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाडौंमा १२ हजार रुपैयाँ घुस लिएको आरोपमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार काष्ठ उद्योगका लागि ल्याइएको काठको शिल खोलेको मुचुल्का तयार गरी कागजात फिर्ता गर्ने क्रममा रायले सेवाग्राहीलाई विभिन्न बहानामा दुःख हैरानी दिएका थिए । त्यसक्रममा उनले काम गरिदिने भन्दै सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस मागेको र लिएको आरोप छ । उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानबाट रायले आफ्नो पदको दुरुपयोग गर्दै घुस लिएको पुष्टि भएको आयोगको दाबी छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो १२ हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
सेयर बजारमा साढे ४ अर्बको कारोबार
काठमाडौं । सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.९३ अंकले घटेर २६८१ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार १०० कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिडि पावरको २० करोड, ग्लोबल आइएमईको १९ करोड, सप्तकोशी डेभलपमेन्टको १७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट कलरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
जुलाईमा ७१ हजारभन्दा बढी विदेशी पर्यटक आए, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे
काठमाडौं । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए । जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३२.७३ प्रतिशत हो । चीनबाट आउने पर्यटकको संख्या भने उल्लेखनीय रूपमा बढेको छ । जुलाईमा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको तुलनामा ६१.०९ प्रतिशत बढी हो । पर्यटन बोर्डका अनुसार सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ जना पर्यटक आएका थिए । यस वर्षको आगमन कोभिडअघिको अवस्थाभन्दा ८.६५ प्रतिशतले बढी रहेको बोर्डले जनाएको छ । अमेरिकाबाट जुलाईमा ७ हजार ७५४ जना पर्यटक नेपाल आएका छन् । त्यसपछि बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक आएका छन् । क्षेत्रगत रूपमा दक्षिण एसियाली मुलुकबाट सबैभन्दा धेरै २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ४१.४६ प्रतिशत हो । तर, यो संख्या अघिल्लो वर्षको तुलनामा ११.९३ प्रतिशतले घटेको छ । दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट १७ हजार ४२४ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको तुलनामा ३३.०५ प्रतिशतले बढी हो । यस समूहमा चीनपछि दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ जना पर्यटक नेपाल आएका छन् । युरोपबाट जुलाईमा ९ हजार २७९ जना पर्यटक नेपाल आएका छन् । अमेरिकी महादेशबाट ८ हजार ८२४, ओसियानियाबाट २ हजार ६०७, मध्यपूर्वबाट ७३६ र अफ्रिकी मुलुकबाट ३२४ जना पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । सोमबार (आज) प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई मनोहराबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता अनुपशमशेर जबराले राहदानी ऐन अन्तर्गत भट्टराईलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार भट्टराईविरुद्ध गत सोमबार नै जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालत काठमाडौंमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो । नेपालमा रहेका तिब्बती शरणार्थीलाई फर्जी कागजातका आधारमा अनुमतिपत्र जारी गरेको पाइएपछि भट्टराईविरुद्ध मुद्दा चलेको हो । विदेश भ्रमणमा जान गृह मन्त्रालयको सिफारिससहित निवेदन दिए यात्रा अनुमतिपत्र जारी गर्नसक्ने प्रावधान रहेको छ ।