विकासन्युज

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लेमन ट्री र टेस्ला डाइग्नोस्टिक्समा २० प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटल र बालुवाटारस्थित टेस्ला डाइग्नोस्टिक्ससँग व्यावसायिक सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउनेछन् । सम्झौतापछि बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बूढानीलकण्ठ होटलमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै, होटलको स्पामा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । यसैगरी, टेस्ला डाइग्नोस्टिक्समा प्याथोलोजी परीक्षण, एमआरआई, एक्स–रे, दन्त ओपीजी, औषधिलगायत विभिन्न सेवामा ५ देखि १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । छुट सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ । मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि छुट सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकले हाल विशेष अटो लोन योजनासमेत आधार दरमा शून्य दशमलव ५० प्रतिशत प्रिमियममा उपलब्ध गराएको छ । बैंकका अनुसार विभिन्न क्षेत्रका व्यवसाय तथा संस्थासँग सहकार्य गरी ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले यस्ता सम्झौता गर्दै आएको छ ।

नाइमा एक्स्पोमा राखिएका सबैभन्दा सस्ता ७ कार

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा साढे १८ लाखदेखि करिब ३ करोड रुपैयाँसम्मका विलासी तथा सर्वसाधारणका लागि उपयुक्त गाडीहरू प्रदर्शनमा राखिएका छन् । आज हामीले एक्स्पोमा राखिएका सबैभन्दा सस्ता कारको बारेमा चर्चा गर्दैछौं । सीमित बजेटमा आकर्षक, आधुनिक र किफायती गाडी खोज्ने अवलोकनकर्ताका लागि एक्स्पोमा रहेका यी हुन् प्रमुख ७ सस्ता कारहरू । १. भोल्ट्स नाइमा एक्स्पोमा सबैभन्दा सस्तो गाडीका रूपमा भोल्ट्स रहेको छ । नेपालमा हेनरी भोल्ट्स ब्रान्डका विद्युतीय गाडी तथा सवारीसाधनहरूको आधिकारिक बिक्रेता एस क्युव इन्टरप्राइजेजले यसको मूल्य १८ लाख ५० हजार रुपैयाँ तोकेको छ ।  ३५ किलोवाट इलेक्ट्रिक मोटरका साथमा यो गाडी १७ किलोवाट ब्याट्री प्याकमा उपलब्ध छ । एक्स्पोमा राखिएका गाडीहरूमध्ये पनि सबैभन्दा सस्तो गाडी हो । खासगरी सिटी ड्राइभका लागि उपयुक्त मानिएको भोल्ट्सको अधिकतम रेन्ज २०० किलोमिटर रहेको छ । २.विलिङ मिनी ईभी चिनियाँ अटोमोबाइल ब्रान्ड विलिङको मिनी ईभी पनि सस्तो मूल्यमा एक्स्पोमा राखिएको छ । विलिङका लागि नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले मिनी ईभी १९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यद्यपि, विलिङ मिनी ईभीको लङ रेन्ज भेरियन्टको मूल्य भने २१ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार ‘होङगुआङ’ को पाँचौं जेनेरेसन मोडल नेपालमा भने विलिङ मिनी ईभीको रूपमा आएको हो । कम्पनीले यसमा ३० किलोवाट क्षमताको ‘थ्री इन वान’ मोटर दिएको छ, जसमा ३ वटा ड्राइभिङ मोड पाउन सकिन्छ । मिनी ईभीमा १६.२ किलोवाट आवर र २५.१ किलोवाट आवरको ब्याट्री अप्सन पाउन सकिन्छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः २०५ र ३०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।  ३. होनरी बोमा चिनियाँ ब्रान्ड होनरी अटोमोबाइल अन्तर्गतको सबब्राण्ड भीअटो नेपाल भित्रिएको छ । नाइमा एक्स्पोमा नेपालमा होनरी बोमा ईभी गाडीको आधिकारिक बिक्रेता जेननेक्स्ट मोटर्सले एप्पल, एचपी, डाइसन, डेललगायत ब्राण्डका गाडीहरू बिक्री गर्दै आएको छ । कम्पनीले यसको सुरुआती मूल्य २० लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार भीअटो होनरी बोमा ईभी आधुनिक, स्मार्ट तथा सहरी जीवनशैलीलाई मध्यनजर गर्दै डिजाइन गरिएको विशेष इलेक्ट्रिक मिनी कार हो । आधुनिक प्रविधि, उत्कृष्ट सुविधा र आकर्षक मूल्यको संयोजनले यो ईभी ग्राहकलाई उत्कृष्ट विकल्प बन्ने कम्पनीको विश्वास छ ।  ३५ किलोवाटको इलेक्ट्रिक मोटर रहेको होनरी बोमा ईभीमा २९.९ किलोवाट आवरको ब्याट्री छ, जसले एकपटकको फुलचार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।  ४. टाटा टियागो टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपालमा फेसलिफ्ट नयाँ टाटा टियागो ईभी लन्च गरेको छ । नाइमा एक्स्पोमा कम्पनीले पुरानो टियागोको फेसलिफ्ट भर्जन लन्च गरेको हो । यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो दुई भेरियन्टमा उपलब्ध रहेको छ । जसमा टियागो ईभीको टप भेरिन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।  यसमा ५५ किलोवाट मोटर क्षमतामा उपलब्ध छ । फेसिलेफ्ट टियागोमा २४ किलोवाटको ब्याट्री प्याक रहेको कम्पनीले जनाएको छ । सुरक्षाका लागि गाडीमा डुअल एयरब्याग, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलजस्ता फिचर छन् । ५. एट्टो १ नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाइमा एक्स्पोमा नयाँ जेनेरेसन एट्टो सिरिज राखेको छ । जसमा कम्पनीले एट्टो १, नयाँ एट्टो २ र २०२६ एट्टो ३ प्रदर्शनमा राखेको हो । नयाँ पुस्ताका यी विद्युतीय गाडीमा प्रविधि, डिजाइन, आराम, सुरक्षा तथा सुविधामा सुधार गरिएको कम्पनीले जनाएको छ ।  नयाँ एट्टो सिरिजमार्फत विभिन्न मूल्य र सेग्मेन्टका ग्राहकलाई लक्षित गरिएको छ । नयाँ एट्टो १ को डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा ३६० डिग्री क्यामेरा थप गरिएको छ । यसले पार्किङ तथा साँघुरो स्थानमा गाडी चलाउँदा चालकलाई वरपरको अवस्थाबारे जानकारी लिन सहज बनाउनेछ । एट्टो १ प्रिमियममा अटो-फोल्ड ओआरभीएमसमेत थप गरिएको छ । एट्टो १ डाइनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । यो अरु मोडलभन्दा सस्तो छ ।  ६. लीपमोटर टी ०३ नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले इन्ट्री लेभल ह्याचब्याक टी ०३ नाइमा एक्स्पोमा राखेको छ । यसमा ५० किलोवाटको मोटर रहेको छ । कम्पनीले यसअघि ७० किलोवाटको मोटर भएको टी ०३ बिक्री गर्दै आएको थियो । कम्पनीले नयाँ टी ०३ को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो रेगुलर टी ०३ कोभन्दा २ लाख रुपैयाँ सस्तो हो । ७० किलोवाट आवर मोटर भएको टी ०३ को मूल्य ३४ लाख रुपैयाँ रहेको छ । सानो मोटरमा आए पनि टी ०३ को ब्याट्री साइज भने पहिलाको जति नै छ । यसमा ३७.३ किलोवाट आवरको ब्याट्री छ ।  जसले एकपटकको फुलचार्जमा ४०३ किलोमिटर सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । यसको लम्बाइ ३६२० एमएम, चौडाइ १६५२ एमएम र उचाइ १५७७ एमएम छ । यसमा २४०० एमएमको ह्वीलबेस पाउन सकिन्छ । यसमा १६५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसको क्याबिनमा ८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, १० इन्चको सेन्टर कन्सोल छ । सुरक्षाका लागि यसमा एडप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेक, लेन डिपार्चर वार्निङ, ब्लाइण्ड स्पट डिटेक्स्न, लेन किपिङ एसिस्ट लगायत सुविधा भएको लेभल टु एडास उपलब्ध छ । लिप मोटर टी ०३ लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ । जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्द । कम्पनीले नाइमा अफर अन्तर्गतद लीपमोटर टी ०३ किन्ने गहकलाई १ वर्षको बीमा र सडक कर निःशुल्क दिएको छ । ७. टाटा पन्च सिप्रदी ट्रेडिङ प्रालिले अर्को मोडल अर्थात् नयाँ ‘पञ्च ईभी’ नाइमा एक्स्पोमा राखेको छ । नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् । एक्स्पोमा गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ । नाइमा एक्स्पोमा राखिएका ७ महँगा कार

सीएफमोटो र जिहो किन्दा २० हजार रुपैयाँ नगद छुट

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा नेपालमा सीएफमोटो मोटरसाइकल तथा जिहो विद्युतीय स्कुटरको आधिकारिक वितरक रिषी ट्रेड सेन्टर प्रालिले ‘नाइमा विशेष अफर’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत सीएफमोटो तथा जिहोका सबै मोडल खरिदमा २० हजार रुपैयाँको हस्तान्तरणयोग्य नगद छुट कुपन उपलब्ध हुनेछ । ग्राहकले उक्त कुपन आफैं प्रयोग गर्न वा परिवारका सदस्य, साथीभाइ तथा आफूले चाहेको अन्य व्यक्तिलाई हस्तान्तरण गर्न सक्नेछन् । त्यस्तै, सीएफमोटो २५० ड्युअल ईएफआई खरिद गर्ने ग्राहकका लागि थप आकर्षक सामग्रीको प्याकेज उपलब्ध गराइएको छ । यस मोडलमा ५ वर्ष वा ६० हजार किलोमिटरमध्ये जुन पहिले हुन्छ, त्यही अवधिसम्मको इन्जिन वारेन्टी उपलब्ध हुनेछ । अफरअन्तर्गत ग्राहकले चारवटा अतिरिक्त सर्भिस कुपन पनि पाउनेछन् । यसबाट नियमित सर्भिसिङमा थप सुविधा प्राप्त हुने कम्पनीले जनाएको छ । सीएफमोटो तथा जिहोका हरेक मोडल खरिदमा निःशुल्क फुल–फेस हेल्मेट उपलब्ध गराइनेछ । ग्राहकका लागि सहज किस्ता सुविधा तथा पुरानो मोटरसाइकल साटफेरको सुविधा पनि राखिएको छ । रिषी ट्रेड सेन्टरका अनुसार ‘नाइमा विशेष अफर’ नगद छुटमा मात्र सीमित नभई खरिद, सुरक्षा, सर्भिस तथा दीर्घकालीन स्वामित्व अनुभवलाई समेटेर ल्याइएको हो । अफरअन्तर्गत २० हजार रुपैयाँको हस्तान्तरणयोग्य नगद छुट, चारवटा अतिरिक्त सर्भिस कुपन, २५० ड्युअल ईएफआईमा सामग्रीको प्याकेज, सबै मोडलमा निःशुल्क फुल–फेस हेल्मेट, ५ वर्ष वा ६० हजार किलोमिटरको इन्जिन वारेन्टी, सहज किस्ता तथा साटफेर सुविधा रहेका छन् । ग्राहकले नाइमा मोबिलिटी एक्स्पोमा सीएफमोटो तथा जिहोको स्टलमा पुगेर विभिन्न मोडल अवलोकन गर्दै अफरबारे विस्तृत जानकारी लिन सक्नेछन् । कम्पनीका अनुसार यो सुविधा नेपालभर रहेका आधिकारिक सोरुम तथा बिक्री केन्द्रमा समेत उपलब्ध हुनेछ ।

सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्टको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.८१ अंकले बढेर २६५१ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १७१ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३४७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारेबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै एनआरएन इन्फ्राइस्ट्रक्चरको १६ करोड, सोलु हाइड्रोको १५ करोड, सेन्ट्रल फाइनान्सको १२ करोड र युनाइटेड मोदीको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्टको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   

आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त

काठमाडौं । आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त भएका छन् । उनलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा पदमा नियुक्त गरेकी हुन् । ठाकुरले मेहतासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । शपथ ग्रहणसँगै ठाकुरले अब परिषद्को नेतृत्व सम्हाल्नेछन् ।

धनुषा डिष्टिलरीले आईपीओ ल्याउने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले सेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो । मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रममा धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार कम्पनीले भविष्यमा जारी हुने पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई विक्री गर्नेछ । सन् १९९८ मा स्थापना भएको धनुषा डिष्टिलरीले उद्योग विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र लिई गुणस्तरीय मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको छ । हाल कम्पनीले प्रिमियम ब्रान्ड मुस्ताङ गोल्ड ह्विस्की र मुस्ताङ भोड्का उत्पादन गरी बजारमा वितरण गर्दै आएको छ । कम्पनीले आगामी दिनमा थप नयाँ उत्पादन बजारमा ल्याउने र गुणस्तर कायम राख्दै उत्पादन विविधीकरण तथा विस्तार गर्ने योजना बनाएको छ । साथै, नेपाली बजारका साथै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्षम बन्ने लक्ष्य कम्पनीले राखेको छ । 

एक मृतकबाट ८ जनालाई जीवनदान, नेपालमा अंगदानको अवस्था यस्तो

काठमाडौं । एक व्यक्तिको जीवन समाप्त भएपछि पनि उसका अंगले अरू धेरैको जीवन बचाउन सक्छन् । यद्यपि नेपालमा अंगदानप्रतिको चेतना र सामाजिक सोचको अभावका कारण यस्तो सम्भावना अझै सीमित छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पछिल्लो नौ वर्षमा मस्तिष्क मृत्यु भएका नौ जनाबाट २३ वटा अंग झिकेर  प्रत्यारोपण गरिएको छ ।  केन्द्रका अनुसार ती मृतकबाट प्राप्त १७ वटा मिर्गौला, पाँच वटा कलेजो र एक वटा संयुक्त कलेजो–मिर्गौला प्रत्यारोपण गरिएको हो । केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग झिकेर प्रत्यारोपण गर्ने कार्यक्रमको सुरुवात २०७४ वैशाख २८ गते भएको थियो ।  त्यस दिन मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको मिर्गौला दुई जनामा प्रत्यारोपण गरिएको थियो  । त्यसयता नौ वर्षमा नौ जना मस्तिष्क मृतकबाट २३ वटा अंग प्रत्यारोपण सम्भव भएको केन्द्रले जनाएको छ । एउटै व्यक्तिबाट लिन सकिन्छ आठवटा अंग मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट आठ प्रकारसम्मका अंग झिकेर अन्य बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ ।  अर्थात्, एक व्यक्तिको मृत्युपछि गरिने अंगदानले एक होइन, आठ जनासम्मको जीवन बचाउन सक्ने सम्भावना हुन्छ । तर नेपालमा अंगदानको सम्भावना र वास्तविकता भने निकै फरक छ ।  स्वास्थ्यकर्मीका अनुसार परम्परागत सोच, अन्धविश्वास र अंगदानसम्बन्धी पर्याप्त जनचेतना नहुँदा मृतकका आफन्त अंगदान गर्न सहजै तयार हुँदैनन्। कतिपय अवस्थामा लामो परामर्शपछि आफन्त अंगदान गर्न तयार भए पनि सबै अंग दिन भने इच्छुक हुँदैनन् । एउटा अंग दान गर्न तयार भए पनि अन्य अंग दिन अस्वीकार गर्ने अवस्थासमेत रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।  यसका कारण प्रत्यारोपण गर्न सकिने धेरै अंग प्रयोगविहीन हुने गरेका छन् । सडक दुर्घटनामा हजारौंको मृत्यु, अंगदान भने न्यून नेपालमा सम्भावित मृत अंगदाताको संख्या निकै ठूलो भए पनि त्यसअनुसार अंगदान हुन सकेको छैन । नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढी मानिसको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ ।  त्यसमध्ये ठूलो संख्यामा मस्तिष्क मृत्यु हुने गरेको स्वास्थ्य क्षेत्रका अधिकारीहरू बताउँछन् । उपलब्ध तथ्यांकलाई आधार मान्दा नौ वर्षको अवधिमा मात्रै सडक दुर्घटनासहित विभिन्न कारणले हजारौं व्यक्तिको मस्तिष्क मृत्यु भएको हुनसक्छ। तर त्यसमध्ये अत्यन्तै थोरै व्यक्तिबाट मात्रै अंगदान भएको छ । यसले नेपालमा समस्या अंगदाताको सम्भावित अभावभन्दा पनि अंगदान गर्ने सामाजिक वातावरण र प्रणालीको कमजोरीमा छ कि छैन भन्ने प्रश्न उठाएको छ । नेपालमा मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी कानुनमा २०७२ सालमा संशोधन गरिएको थियो । संशोधनमार्फत नातेदार दाताको दायरा विस्तार गर्नुका साथै गैरनातेदारबीच अंग साटासाट र मस्तिष्क मृत्यु भएपछि हुने अंगदानलाई थप व्यवस्थित गर्ने व्यवस्था गरिएको छ । कानुनी व्यवस्था विस्तार भए पनि व्यवहारमा भने अंगदान अझै सहज बन्न सकेको छैन ।  मृतकका आफन्तलाई अंगदानका लागि तयार पार्ने, मस्तिष्क मृत्यु पहिचान गर्ने, समयमै अंग सुरक्षित गर्ने र आवश्यक बिरामीसम्म पुर्‍याउने प्रक्रियामा चुनौती रहेको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा विश्वभर करिब १ लाख २७ हजार ७२७ वटा अंग प्रत्यारोपण भएका थिए ।  विश्वभर अंग प्रत्यारोपणको दायरा विस्तार भइरहेका बेला नेपालमा भने सम्भावित अंगदाताको तुलनामा प्रत्यारोपणका लागि उपलब्ध हुने अंगको संख्या निकै न्यून छ ।

नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

काठमाडौं । भूमि समस्या समाधान समितिले नाप जाँच भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक निलवाराही गाउँ विकास समिति  वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको थियो । उक्त क्षेत्र चलनचल्तीमा ‘बोदे गाउँ’का नामले चिनिँदै आएको पुरानो नेवारी बस्ती हो । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ४२१ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो । पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ४२१ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गर्ने भएका छन् ।