डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न, उपाधि सीजी कम्युनिकेसनलाई
काठमाडौं । डिशहोमले आयोजना गरेको पहिलो ‘डिशहोम सोलिडारिटी फुटसल कप २०२५’ सम्पन्न भएको छ। भैँसेपाटीस्थित वन ट्री हिल फुटसलमा व्यावसायिक साझेदार कम्पनीहरूबीच असार १४ र २१ गते आयोजित फुटसल प्रतियोगितामा १४ कम्पनीलाई प्रतिनिधित्व गर्दै १७ टिम सहभागी भएका थिए । सहभागी टिमलाई ४ वटा समूहबीच विभाजन गरी समूह चरणको खेल खेलाइएको थियो । प्रतियोगिताको फाइनल खेलमा सीजी कम्युनिकेसन लिमिटेडले नेपाल डिजिटल सर्भिसलाई पराजित गर्दै उपाधि हात पारेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा अप्टिनेट सोलुसनले आईएमई कर्पोरेटिभलाई हराउँदै तेस्रो स्थान हासिल गरेको थियो । विजेता सीजी कम्युनिकेसन, दोस्रो भएको नेपाल डिजिटल सर्भिस, र तेस्रो स्थान प्राप्त गरेको अप्टिनेट सोलुसनले क्रमशः नगद राशी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । उत्कृष्ट खेलाडीमा धिरज बास्कोटा (अप्टिनेट सोलुसन) बाट र उत्कृष्ट गोलकिपर लोकेन्द्र तामाङ (सीजी कम्युनिकसेन) बाट चयन भए । समापन समारोहमा डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले पुरस्कार वितरण गरेका थिए ।
‘टेक अफ’को बेला स्पिड कायम नगर्दा सौर्य एयर दुर्घटना, प्रमाण मेटाउने काम भएको निश्कर्ष
काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाइन जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । सो आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समक्ष प्रतिवेदन पेस गरेको हो । आयोगले यो दुर्घटनाको सबैभन्दा सम्भावित कारण टेकअफमा स्पिड कायम नगर्दा भएको उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘उडानको सुरुवातमै टेक अफ विमानलाई आवश्यकता भन्दा ढिलो गति (कम स्पिड) मा अत्यधिक तीव्र गतिमा अगाडि तान्दा( पिच गर्दा) भएको गहिरो स्टल हो । यसले गर्दा विमानको प्वाँखमा पर्याप्त उथान (लिफ्ट बन्न सकेन र विमान खस्ने अवस्थामा पुग्यो ।’ प्रतिवेदनले घटनाको दिन दुर्घटनास्थलबाट झोलाहरू हटाएर प्रमाण मेटाएको दाबी गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘ घटनाको दिन दुर्घटनास्थलबाट झोलाहरू हटाई एयरलाइन्सको कार्यालय पु¥याइनु प्रमाण मिटाउने कार्य मानिन्छ, यसले विमानस्थल प्रशासनको लापरवाही देखाउँछ ।’आयोगले प्रतिवेदनमा विभिन्न २९ बुँदामा दुर्घटनाको ‘फाइन्डिङ’ उल्लेख गरेको छ । आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र र वरपरका संवेदनशील क्षेत्रहरूलाई न त वर्गीकृत गरिएको थियो न त आपतकालीन अभ्यासमा समावेश गरिएको भन्दै दुर्घटनास्थल नजिकको आपतकालीन गेट पनि अबरुद्ध रहेको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सेवा म्यानुअल अनुसार आवश्यक उपकरण र जनशक्तिको टाक्स रिसोर्स एनालाइशिस नगरिएको पनि प्रतिवेदनमा उल्लेख छ । जसले उद्धार कार्य प्रभावित बनेको प्रतिवदेनमा उल्लेख छ । गैर–निर्धारित उडानहरूको अनुमति र सञ्चालनका लागि पर्याप्त एसओपी र प्रावधानहरू नभएको, रेगुलेटेड टेक अफ वेटको अनुमोदन वा स्वीकृतिको लागि कुनै विशिष्ट चेकलिस्ट विकास नगरिउको विषय पनि प्रतिवेदनमा छ । नागरिक उडड्यन प्राधिकरणद्वारा नियमित र्याम्प निरीक्षणहरू प्रभावकारी रूपमा नगरिएको यदि नियमित गरिएको भए झोला वा कार्गो लोडिङमा भएका त्रुटिहरू पहिले नै पहिचान गर्न सकिने विषय पनि प्रतिवेदनमा उल्लेख छ । यस्तै, उडानको समयमा मौसम राम्रो रहेको, ८ किलोमिटर दृश्यता रहेको र हावा पनि शान्त रहेको उल्लेख छ । अपरेटरले सञ्चालन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्यानुअलको प्रावधानहरू पालना गर्न नसकेको पनि दाबी गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘सामग्रीहरू न त गोदामबाट बाहिर निकाल्दा न त विमानमा राख्दा तौलिएको थियो, मर्मतसम्बन्धी उपकरणहरू पनि यात्रु क्याबिनमै राखिएको थियो, सामानहरूलाई कुनै पट्टी, बाँध्ने डोरी वा जालद्वारा सुरक्षित गरिएको थिएन, लोडिङको निगरानी पर्याप्त र जिम्मेवारपूर्वक गरिएको थिएन, भारको वितरणको आधारमा केन्द्रगुरुत्वको स्थानगणना गरिएको थिएन, विमानमा एयरलाइन्ससँग सम्बन्ध नभएका व्यक्ति र आवश्यक नभएका क्रू सदस्यहरू पनि सवार थिए ।’
क्वालिटी आयलको कारोबार ५४.३१ प्रतिशत घट्यो, साढे ६ अर्बको व्यापार २ अर्बमा झर्याे
काठमाडौं । क्वालिटी आयल रिफाइनरी प्रालिको आम्दानीमा भारि गिरावट आएको छ । कम्पनीले गत वर्ष (सन् २०२४) मा २ अर्ब ३३ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष ५४.३१ प्रतिशत अर्थात् २ अर्ब ७७ करोड ५० लाख रुपैयाँ घटेको हो । अघिल्लो वर्ष (सन् २०२३)मा कम्पनीले ५ अर्ब १० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कच्चा पदार्थको मूल्य अस्थिरता र विदेशी मुद्रामा उतारचढाव हुँदा आम्दानीमा असर परेको कम्पनीले जनाएको छ । कम्पनीको आम्दानी निरन्तर घटिरहेको तथ्याङ्कले देखाएको छ । सन् २०२२ मा कम्पनीले ६ अर्ब ५० करोड ८० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले सन् २०२१ मा २ अर्ब ८० करोड ९० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ८४ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । सन् २००४ मार्चमा स्थापना भएको कम्पनीमा कब्राजी समूहको लगानी रहेको छ । कटहरी इटहरीमा प्लान्ट रहेको यस कम्पनीले अर्जेन्टिना, ब्राजिल, मलेसिया, इन्डोनेसिया लगायत विभिन्न देशहरूबाट लेटर अफ क्रेडिट मार्फत कच्चा पदार्थ आयात गर्दै आएको छ । साथै, विदेशबाट कच्चा पदार्थ आयात गरी वनस्पती घ्यू, भटमासको तेल, सन्फ्लावर तेल, पामोलिन, पाल्म, तोरीको दाना लगायत विभिन्न प्रकारका तेलको प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ । दैनिक ३२० मेट्रिक टन उत्पादन क्षमता रहेतापनि कम्पनीको आम्दानीमा भने प्रत्येक वर्ष घटिरहेको देखिन्छ । तेल तथा वनस्पति घिउ उत्पादक कम्पनीहरुको संख्या बढ्दा प्रतिस्पर्धा बढेकाले व्यवसायमा गिरावट आएको कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक घनश्याम काब्रा रहेका छन् भने बिपिन काब्राले कम्पनीमा निर्देशकको भुमिका निर्वाह गर्दै आएका छन् । काब्रासँग खाद्य प्रशोधन र व्यापार क्षेत्रमा लगभग दुई दशकको अनुभव छ । कम्पनीले रेटिङ्ग एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेडबाट २ अर्ब ७५ करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई ए–४ प्लस रेटिङ गरेको छ ।
टोकन प्रणालीमार्फत मुख्यमन्त्रीले लिए सेवा
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज जिल्ला प्रशासन कार्यालय सप्तरीमा टोकन प्रणालीमार्फत सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय राजविराजबाट उनले नागरिकताको प्रतिलिपि लिएका हुन् । नागरिकताको प्रतिलिपि लिएपछि आजै आमजनता जस्तै लाइनमा बसेर राष्ट्रिय परिचयपत्रसमेत लिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले जानकारी दिए । उनले भने, ‘आमजनताले दैनिक रुपमा यहाँका जिप्रकामा टोकन प्रणाली प्रयोग गरेर लिँदै आएको सेवा जस्तै मुख्यमन्त्रीले पनि आफ्नो सेवा लिनुभएको छ ।’ जिल्ला प्रशासन कार्यालयको सेवाबारे जानकारी लिँदै मुख्यमन्त्रीले आम जनतालाई सहुलियत हुनेगरी सेवा दिन प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग छलफलसमेत गरे । जिल्ला प्रशासन कार्यालयबाट दैनिक रुपमा दिने सेवा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत अन्य कामकाजहरु चुस्त तरिकाले दिन निर्देशनसमेत दिए ।
एनआरएनए क्यानडाको युवा संयोजक पदमा इन्जिनियर विवेक धिमालको उम्मेदवारी
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल (२०२५-२७) का लागि हुने निर्वाचनमा क्यानडाबाट इन्जिनियर विवेक धिमालले युवा संयोजक पदमा उम्मेदवारी दिएका छन् । क्यानडामा सम्पूर्ण युवाहरूलाई प्रतिनिधित्व गरेर आफ्नो उम्मेदवारी दिएको उनले बताए । उनले पारदर्शी, समावेशी र नतिजा मूलक नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘क्यानडामा रहेका सम्पूर्ण युवाको प्रतिनिधित्व गर्ने दृढ इच्छा शक्ति राख्छु, उनले भने, ‘यहाँ रहनुभएका सम्पूर्ण युवाहरूलाई एक आपसमा जोड्ने, सिक्ने, नेतृत्व गर्न प्रेरित गर्ने मेरो प्रतिबद्धता रहने छ ।’ नेपालमा हुँदा देखि नै समाजसेवीमा सक्रिय भएर लागेका धिमालले इन्जिनियरिङ पेशामा छाएको नकारात्मक राजनीतिकरणलाई हटाउनको लागि विशेष भूमिका खेलेका थिए । क्यानडामा पनि इन्जिनियर धिमालले सडक दुर्घटनामा परेका नेपालीहरुलाई उद्धार तथा सहयोग गर्दै आएका छन् । त्यस्तै उनकै नेतृत्वमा त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थीले कर फाइल छुट पाएका छन् । क्यानडामा सबै दाजुभाइ दिदीबहिनी मिलेर नेटवर्किङ कार्यक्रम सेमिनारलगायत सामाजिक गतिविधि विकास गर्नको लागि आफ्नो महत्वपूर्ण भूमिका रहने बताएका छन् । साथै उनले यो भोट भोट मात्रै नभएर नयाँ पुस्ताको लागि नयाँ बाटो खोल्ने अवसर पनि रहेको बताए । एनआरएनए क्यानडाको युवा संयोजक पदमा जितेर सम्पूर्ण नेपालीहरुको मुहार फेर्न रुचाउने धिमालले आफुलाई भोट दिएर जिताउन अनुरोध गरेका छन् ।
नेपाल एसबिआई बैंकको ऋणपत्रमा लगानीकर्ताको ओइरो, ४ गुणा बढी आवेदन
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले निष्काशन गरेको ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ मा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको छ । बैंकले माग गरेको भन्दा चार गुणा बढी आवेदन परेपछि ऋणपत्रको निष्काशन सफलतापूर्वक सम्पन्न भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता अर्थात् कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो । तर, निष्काशन अवधिभित्र १ करोड २० लाख कित्ताभन्दा बढी अर्थात् १२ अर्ब रुपैयाँभन्दा बढीको लागि आवेदन परेको हो । कुल निष्काशनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट र बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । सर्वसाधारणका लागि जारी गरिएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फण्ड) हरूका लागि आरक्षित थियो । १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशतको आकर्षक ब्याजदर पाउनेछन् । उक्त ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २०८२ जेठ ७ गते स्वीकृति पाएको थियो । निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले सफलतापूर्वक निर्वाह गरेको छ । असार ३० गतेदेखि श्रावण १ गतेसम्म खुला रहेको यस निष्काशनमा परेको अत्यधिक आवेदनले नेपाल एसबिआई बैंकको वित्तीय स्वास्थ्य र बजारमा रहेको प्रतिष्ठाप्रति लगानीकर्ताको गहिरो विश्वासलाई पुनः पुष्टि गरेको छ ।
सानिमा बैंकको इ-कम डलर कार्डमा अनलाइनबाटै तत्काल टप-अप सुविधा
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि इ-कम भिसा कार्डमा अनलाइनबाटै तत्काल ब्यालेन्स टप-अप गर्ने सुविधा सञ्चालनमा ल्याएको छ । यस नयाँ सुविधासँगै अब ग्राहकहरूले घर वा कार्यालयबाटै जुनसुकै बेला आफ्नो अमेरिकी डलर (USD) इ-कम कार्डमा सजिलै ब्यालेन्स थप गर्न सक्नेछन् । बैंकका अनुसार, यो सुविधा बैंकको ‘सानिमा सजिलो ई-बैंकिङ’ एप वा बैंकको वेबसाइटमा रहेको अनलाइन सेवा अन्तर्गतको ‘eCom (Online Payment) Request’ आइकनमार्फत उपलब्ध छ । टप-अप गर्नका लागि ग्राहकले बैंकमा दर्ता भएको आफ्नो मोबाइल नम्बर वा इमेल ठेगाना, बचत खाता नम्बर र क्याप्चा (captcha) भरेर प्रक्रिया अगाडि बढाउन सक्नेछन् । त्यसपछि, ग्राहकको मोबाइल नम्बर वा इमेलमा प्राप्त हुने एक पटकको पासवर्ड (OTP) प्रविष्ट गरेपछि तुरुन्तै कार्डमा ब्यालेन्स टप-अप हुने बैंकले जनाएको छ । यो सुविधाले अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीका लागि डलर कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई ठूलो राहत मिल्ने विश्वास बैंकले लिएको छ । सानिमा बैंकले हाल देशका सातै प्रदेशबाट १३४ शाखा कार्यालय र १२७ एटीएम नेटवर्कमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सहकार्य: डिजिटल भुक्तानीमा १० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरूले ओम हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट पाउने भएका छन् । सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका हुन् । बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक मोबाइल एप प्रयोग गरी भुक्तानी गरेमा यो छुट सुविधा प्राप्त गर्न सक्नेछन् । एनआईसी एशिया बैंकका अनुसार, यस सहकार्यमार्फत ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सरल र सुलभ तरिकाले प्राप्त गर्नुका साथै, डिजिटल भुक्तानी प्रणालीप्रति जनचासो र प्रयोग बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । बैंकले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै डिजिटल भुक्तानी प्रणालीलाई अझ सशक्त बनाउने अभियान सञ्चालन गरिरहेको छ । ओम हस्पिटलसँगको यो सहकार्य पनि त्यसै अभियानको एक महत्वपूर्ण हिस्सा भएको बैंकले जनाएको छ ।