झापामा गोली चल्यो, दुई जना गम्भीर घाइते
काठमाडौं । झापाको बिर्तामोडमा भएको ‘जेनजी’ युवाहरूको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर रूपमा घाइते भएका छन् । दुवैजनाको पेटमा गोली लागेको र उनीहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन देशभर चर्किँदै गएको छ । प्रदर्शन नियन्त्रणमा लिन काठमाडौंसहित विभिन्न स्थानमा प्रहरीले बल प्रयोग गर्दै आएको छ ।
मन्त्रीलाई लिन हेलिकोप्टर भैंसीपाटीमा
काठमाडौं । ललितपुरको भैंसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् । नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरीले जनाएको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।
पछिल्लो स्थिति नियालिरहेका छौं, के गर्ने भनेर छलफल हुँदैछ : नेपाली सेना
काठमाडौं । देशभर भइरहेको जेनजी प्रदर्शनलाई नेपाली सेनाले गम्भीरताका साथ हेरिरहेको बताएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पछिल्लो देशमा उच्पन्न आन्दोलनले नेपाली सेनालाई गम्भीर बनाएको प्रतिक्रिया दिएका छन् । उनले यस विषयमा नेपाली सेनाले व्यापक रुपमा छलफल गरिरहेको बताएका छन् । उनले अबको रणनीति के गर्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् । अहिले देशभर जेनजीले प्रदर्शन गरिरहेका छन् । सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।
कलंकीमा पनि चल्यो गोली, ४ जना घाइते
काठमाडौं । कलंकीमा पनि गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि प्रहरीले गोली चलाएको हो । गोली चल्दा ४ जना घाइते भएका छन् । प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी र तोडफोड गरिरहेका छन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।
तारकेश्वरमा प्रहरी चौकी र वडा कार्यालयमा आगजनी
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । प्रदर्शनकारीहरूले तारकेश्वर–११ को वडा कार्यालय र स्थानीय प्रहरी चौकीमा आगजनी गरेको प्रहरीले जनाएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा सोमबार प्रहरीले दमन गरेपछि आज देशभरै आन्दोलन चर्किएको छ । सोमबार भएको आन्दोलनमा १९ जनाले ज्यान गुमाएका थिए भने ४०० भन्दा बढी घाइते भएका छन् । त्यही घटनापछि आज बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन उग्र बन्दै गएको छ ।
देउवा निवासमा प्रहरीले चलायो गोली
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा प्रहरीले गोली चलाएको छ । उनको निवासमा प्रवेश गरेका सयौं प्रदर्शनकारीले आगजनी गरेपछि प्रहरीले गोली चलाएको हो । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।
देउवा निवास बुढानिलकण्ठमा पनि आगजनी
काठमाडौं । प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पनि आगजनी गरेको छ । प्रदर्शनकारीलाई रोक्न खोजेपनि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन सकस भएको छ । अहिले प्रदर्शनकारीले भीआईपी नेताहरूको घरलाई टार्गेट गरेर तोडफोड तथा आगजनी गरिरहेका छन् ।
नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।