बानेश्वरमा एक जनालाई लाग्यो गोली
काठमाडौं । नयाँ बानेश्वरमा फेरि एक जनालाई गोली लागेको छ । प्रहरीले प्रदर्शकारीलाई गोली प्रहार गरेको हो । सोमबार मात्रै प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, हवाइ आवागमन ठप्प
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाे छ । काठमाडौंबाट सञ्चालन हुने सबै आन्तरिक तथा बाह्य उडानहरू अस्थायी रूपमा बन्द गरिएको हाे । विमान कम्पनीहरूबीच सम्पन्न आपतकालीन बैठकपछि यस्तो निर्णय गरिएको बताइएको छ । उडान स्थगनको कारणबारे विस्तृत जानकारी भने आउन बाँकी छ । सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको र चाँडै थप विवरण सार्वजनिक गरिने बताइएको छ ।
एमालेसँगको ७ बुँदे औचित्य सकियो, काँग्रेसबाट मन्त्री बनेकालाई फिर्ता हुन निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य सकिएको जनाएका छन् । साथै, थापा र शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीले पनि राजीनामा गरेर नयाँ सहमति गर्नुपर्ने बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहित वरपरका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य सुरक्षा परिस्थिति प्रतिकूल बन्दै गएपछि विमानस्थल बन्द गर्न लागिएको हो । अधिकारीका अनुसार हाल आकासमा रहेका जहाजलाई मात्रै अवतरण गर्न दिइनेछ भने नयाँ उडानहरू स्थगित हुनेछन् । यसबीच विमानस्थललाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ । अब मुख्य गेट समेत बन्द गरेर विमानस्थलभित्रका अन्य गतिविधि रोक्ने तयारी गरिएको बताइएको छ ।
प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले मंगलबार अपरान्ह ओली निवासमा आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी र तोडफोड गरिरहेका छन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।
प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले मंगलबार अपरान्ह ओली निवासमा आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी र तोडफोड गरिरहेका छन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।
सेनाले हेलिकप्टरबाट भीआईपीलाई सुरक्षित ठाउँमा सार्दै, कहाँ लगिँदैछ ?
काठमाडौं । नेपाली सेनाले भीआईपी नेतालाई सुरक्षित ठाउँमा सार्न थालेका छन् । हेलिकप्टरको प्रयोग गरेर नेपाली सेनाले उनीहरुलाई सुरक्षित ठाउँमा सार्ने तयारी थालेका हुन् । । जेनजी प्रदर्शनका क्रममा शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा राख्ने तयारी थालेको बताइएको छ । बालुवाटारसहित विभिन्न स्थानमा पटक–पटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् । ललितपुरको भैंसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् । नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरीले जनाएको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ । नेताहरु असुरक्षित रहेको भन्दै हेलिकप्टरको साहयताले उनीहरुलाई सार्न थालिएको हो । साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । सेनाले सुरक्षित ठाउँ भने खुलाएको छैन ।
भैंसेपाटीको मन्त्री क्वार्टरमा आगजनी
काठमाडौं । ललितपुरस्थित मन्त्री क्वार्टरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूको समूहले मन्त्री क्वार्टरमा पुगेर आगजनी गरेको प्रहरीले जनाएको छ । आज बिहानैदेखि देशभर आन्दोलन थप चर्किँदै गएको छ । राजधानीमा पनि प्रदर्शनकारीहरूले शीर्ष नेताहरूको निवास र पार्टी कार्यालयहरूमा तोडफोड गर्दै विरोध जारी राखेका छन् । सुरक्षा व्यवस्था कडा पारिए पनि प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन ।