विकासन्युज

जेनजी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना बनाउन सरकारले बनायो पूर्वाधार पुनर्निर्माण कोष

काठमाडौं । सरकारले जेनजी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष बनाएको छ । गत २०८२ भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई खर्बौंको क्षति भएपछि सरकारले स्रोतको अभावमा सहायता लिन लागेको हो ।  त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको छ । त्यस्तो कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गर्न सक्नेछन् । अर्थमन्त्री रामेश्वर खनालले पुनर्निर्माणका लागि सरकारलाई स्रोतको अभाव नरहेको बताए । उनले स्रोत अभाव नभएपनि विदेशमा भएका नेपालीले पुनर्निर्माणमा सहभागिता जनाउन चाहेकाले कोष बनाइएको बताए । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री खनालले भने– ‘पुनर्निर्माण गर्नका लागि स्रोत पर्खेर बसेका छैनौं । तपाईहरुले पनि देख्न सक्नुहुन्छ, अर्थमन्त्रालय,भौतिक मन्त्रालय नै रंगरोगन गर्ने काम चलिरहेको छ । त्यस्तै, तुरुन्त बनाउनुपर्ने प्रहरी भवनको निर्माण अघि बढाउन हामीले भनेका छौं । सम्बन्धित मन्त्रालयले आफ्नै स्रोतबाट पनि भवन बनाउन सक्छन् भने नयाँ सरकारले भ्रष्टाचार अन्त्य गरोस् र पुनर्निर्माणमा हामी पनि सहभागी बन्छौं भनेर विदेशमा बसेका नेपालीले भनेकाले पुनर्निर्माण कोष बनाएका हौं ।’ निजी क्षेत्रसहित दातृ निकायहरुले कोषमा आर्थिक सहायता गर्न सक्नेछन् । उनीहरुले गरेको सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन/खर्च कट्टी गर्नसक्ने भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जानकारी दिए । उनकाअनुसार भौतिक पूर्वाधार पुनर्निर्माण समिति बनाइएको छ । त्यसका लागि आदेश जारी भइसकेको छ र अर्थमन्त्री अध्यक्ष रहने गरी पाँच सदस्यीय समिति बनेको छ । समितिमा गृहमन्त्री र शहरी विकासमन्त्री पनि सदस्य रहनेछन् । समिति सदस्यमा मुख्यसचिव पनि रहने व्यवस्था आदेशमा छ । साथै समिति सदस्यसचिवका रूपमा सहरी विकास मन्त्रालयका सचिवले काम गर्नेछन् । घिसिङले भने–‘समितिले जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण कार्यान्वयन कार्ययोजना निर्माण र स्वीकृत गर्नेछ । कोषबाट खर्च हुने रकमसहित कार्यक्रम स्वीकृत गर्ने तथा आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माणका लागि सम्बन्धित निकायको जिम्मेवारी तोक्ने काम समेत समितिले गर्नेछ । कोषको रकमबाट सञ्चालित कार्यक्रमको नियमित अनुगमन र सुपरीवेक्षण गर्ने, गराउने तथा कोष सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा आवश्यक नीतिगत निर्णय गर्ने काम समितिको तोकिएको छ ।’ उनकाअनुसार आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापना सम्बन्धी कार्य गर्नेछ । कोषमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले प्रदान गरेको रकम जम्मा हुनेछ । साथै, स्वदेशी वा विदेशी व्यक्तिले प्रदान गरेको रकम, गैरआवासीय नेपालीले प्रदान गरेको रकम जम्मा हुनेछ । त्यसैगरी विदेशी सरकार वा संस्था, अन्तर्राष्ट्रिय संघसंस्था वा दातृ निकायबाट प्राप्त नगद वा वस्तुगत सहायता वा कार्यक्रम बापत प्राप्त रकम पनि सोही कोषमा जानेछ । विभिन्न व्यावसायिक प्रतिष्ठानले प्रदान गरेको सामाजिक उत्तरदायित्व बापत रकम समेत सोही कोषमा जम्मा हुनेछ ।   

तुईन खोला पहिरो : यात्रुलाई निःशुल्क बससेवा

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ ।  नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मङ्गलबारदेखि पहिरोले रोकिएका यात्रुहरुलाई  बस सेवा सुरु गरिएको हो । प्रहरी स्कुल शान्तिपुरका दुईवटा बसले निःशुल्क सेवा दिइरहेको उनले जानकारी दिए । तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरुलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । उनले भने,'पहिरोका कारण हिँड्दै आएका यात्रुलाई भरतपुरसम्मका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएका हौँ।' पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको उनले जानकारी दिए । पाँच किलोमा यात्रु जम्मा भएपछि प्रहरीले खबर गरेर बस पठाउने गरेको छ । सुरुको दिन पहिरो खसेको स्थानबाटै यात्रुहरु ल्याइएको भए पनि आजदेखि पाँचकिलोबाट यात्रुलाई ल्याउन थालिएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरूले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनुपरेको छ ।  पहिरो समय समयमा खसेकाले पन्छाउन कठिन भएको हो । शुक्रबारसम्ममा पहिरो पन्छ्याइ सक्ने अनुमान गरिएको छ । गत शुक्रबार खसेको पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको भए पनि पुन मङ्गलबार पहिरो खसेर सडक अवरुद्ध भएको छ । आज पनि बिहानैदेखि पहिरो पन्छ्याउने काम भइरहेको छ ।  

राष्ट्रिय सभाको माघ २० र मनाङ प्रदेशसभाको उपनिर्वाचन कात्तिक १७ मै हुने

काठमाडौं । प्रतिनिधि सभा भङ्ग भएर देश मध्यावधि निर्वाचनमा गए पनि राष्ट्रिय सभाको भने नियमित निर्वाचन हुने भएको छ ।  यस्तै, मनाङ्ग प्रदेश सभाको उपनिर्वाचन पनि तोकिएकै समयमा हुने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा विघटन भएर नयाँ निर्वाचनको मिति तोकिएसँगै रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन भने रद्द भएको आयोगले यसअघि नै सूचना जारी गरेर जानकारी गराएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन अधिकारीका अनुसार फागुन २१ को निर्वाचनको तयारीसँगै राष्ट्रिय सभाका एक तिहाई सदस्यको माघ २० मा हुने निर्वाचनको तयारी पनि आयोगले गरिरहेको छ ।  यसका साथै मनाङको प्रदेश सभा उपनिर्वाचन कार्तिक १७ मै गर्नेगरी आयोगले तयारी गरेको अधिकारीले जनाए।

स्काईवेल जी मोटर्सको नयाँ ईभी डेलिभरी र १० लाखसम्मको सहयोग योजना सार्वजनिक

काठमाडौं । स्काईवेल जी मोटर्स परिवारले दशैंलाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस योजनामा सहभागी हुनका लागि ग्राहकले आफ्नो क्षतिग्रस्त सवारीसाधनको प्रमाणित बीमा क्लेम डकुमेन्ट नजिकको स्काईवेल शोरुममा बुझाउनुपर्नेछ ।  त्यसपछि तुरुन्तै नयाँ स्काईवेल ईभीको डेलिभरी उपलब्ध गराइनेछ । यस विशेष योजनामा सहभागी हुने ग्राहकले १० लाखसम्मको सहयोग पाउनेछन् । साथै हरेक स्काईवेल ईभी खरिदमा नयाँ आईफोन १७ उपहारस्वरूप प्रदान गरिने जी मोटर्सले जनाएको छ । स्काईवेल जी मोटर्स प्रालिले नेपालीहरुको महान चाड दशैंको अवसरमा सबैमा शुभकामनासमेत व्यक्त गरेको छ।

ऊर्जा मन्त्री घिसिङ र स्विस राजदूतबीच द्विपक्षीय सहयोगबारे छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत मेउलीले मन्त्री घिसिङलाई पदभार ग्रहण गरेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटका क्रममा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको प्रगति, दीर्घकालीन तथा अल्पकालीन सहयोगका सम्भावना, स्विस लगानी तथा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो । मन्त्री घिसिङले स्विस सरकारलाई नेपालको विकासमा पुर्याइरहेको योगदानप्रति धन्यवाद व्यक्त गर्दै नयाँ सरकारको प्राथमिकता चुनाव सम्पन्न गर्नु, जेनजी आन्दोलनका कारण क्षति पुगेका संरचनाको पुनर्निर्माण, सुशासन प्रवर्द्धन तथा युवामा आशा जगाउनेतर्फ केन्द्रित हुने बताए । उनले विद्युतीय सवारी साधन प्रवर्द्धन, घरायसी प्रयोजनमा विद्युत्लाई इन्धनको रुपमा प्रयोग गर्ने प्रोत्साहन, स्विस अनुभवअनुसार सडक यातायातमा सुरुङ प्रविधि प्रयोग, हरित हाइड्रोजन ऊर्जाको प्रवर्द्धन तथा साना उद्योगमार्फत रोजगारी सिर्जना गर्न तालिम सहयोगको आवश्यकता औंल्याए । हाल स्विस सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल निर्माण, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग तथा सीपमूलक तालिम सञ्चालन भइरहेका छन् । राजदूत मेउलीले नेपालका ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सँधै तयार रहने प्रतिबद्धता व्यक्त गरे ।

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँट, कतिले पाए सेयर ?

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टमा बिहीबार भएको बाँडफाँडमा हजारौं आवेदकमध्ये सीमितले मात्र सेयर पाएका छन् । कम्पनीले यसअघि श्रम स्वीकृति लिएका वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९ हजार ९ सय ३८ कित्ता सेयर निष्काशन गरेको थियो । सो आईपीओमा ६४ हजार ८ सय १२ जनाले आवेदन दिएका थिए । तर, विभिन्न कारणले ६४ हजार ७ सय ९९ जनाको आवेदन मात्र योग्य ठहरिएको छ । मागभन्दा बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथाबाट गरिएको हो । यस क्रममा ३० हजार ९ सय ९३ जनाले मात्र सेयर प्राप्त गरेका छन् । तीमध्ये ८ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ता सेयरमा सीमित भएका छन् । यसअघि कम्पनीले स्थानीय बासिन्दाका लागि छुट्याइएको आईपीओको बाँडफाँड सम्पन्न गरिसकेको थियो । वैदेशिक रोजगारी र स्थानीय समूहको बाँडफाँडपछि अब कम्पनीले सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साउन १३ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । सेबोनको स्वीकृति अनुसार कम्पनीले कुल ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बजारमा ल्याउनेछ । 

सानिमा रिलायन्स लाईफको कर्मचारी क्षमता विकासका लागि दुई दिने तालिम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । 'संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण' शीर्षकमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलसहित प्रमुख कार्यालयमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिम नेपाल बीमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारी र सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले प्रदान गरेका थिए । सोडारीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी रोकथामबारे प्रशिक्षण दिएका थिए भने सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले कार्यस्थलको मूल मान्यता, नैतिक मानक र अनुपालन आवश्यकतासम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए । साथै सहकर्मी र अन्य आन्तरिक तथा बाह्य व्यक्तिसँग सुमधुर सम्बन्ध कायम राख्न कर्मचारीहरूले अपनाउनुपर्ने व्यवहारिक परिवर्तनबारे पनि छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारणको महत्वमा जोड दिँदै कम्पनीका सबै कर्मचारीले यसलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई कार्यस्थलमा कार्यान्वयन गर्ने, सहकर्मीबीच सुमधुर सम्बन्ध कायम गर्ने, व्यक्तिगत मूल्य र मान्यताको कदर गर्ने र यसले कर्मचारीको कार्यदक्षता अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले हाल १६९ शाखा तथा उपशाखामार्फत १८ वटा जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ । कम्पनीमा २१ हजारभन्दा बढी अभिकर्ताहरू आबद्ध छन् ।

ह्युन्डाईको ‘दशैं तिहार, १० गुणा उपहार’ : धनगढीका अभिषेक चौधरीले जिते १० लाख रुपैयाँ

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल, नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरकले दशैं-तिहार अफर 'दशैं तिहार, १० गुणा उपहार' अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ । धनगढीका अभिषेक चौधरीले ह्युन्डाई क्रेटा खरिद गरी स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँ जित्ने पहिलो भाग्यशाली ग्राहक बन्न सफल भएका छन् । कम्पनीले चौधरीलाई विजेता घोषित गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ । गत भदौ २ गतेदेखि सुरु भएको यो अफरअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर सुविधा पाउने व्यवस्था गरिएको छ । त्यसैगरी, हरेक ह्युन्डाई गाडीमा तीन वर्षको वारेन्टी र छ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । ह्युन्डाई नेपालले सम्पूर्ण ग्राहकलाई नजिकको शोरुममा गइ 'दशैं तिहार, १० गुणा उपहार' अफरको लाभ लिन आमन्त्रण गरेको छ ।