विकासन्युज

आरआर क्याम्पसले ५० हजार राशीकाे ‘उपकुलपति’ राष्ट्रिय भलिबल प्रतियोगिता अायाेजना गर्ने

काठमाडौं । राजधानीको प्रदर्शनी मार्गमा अवस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)ले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गर्ने भएको छ । आरआर क्याम्पसले  १० वर्षपछि उपकुलपति राष्ट्रिय भलिबल प्रतियोगिता गर्न लागेको हो । चैत २६ गतेबाट हुने सुरु हुने प्रतियोगितामा देशभरबाट २२ टिमको सहभागीता रहने स्ववियु सभापती तपेन्द्रजंग शाहीले जानकारी दिए । प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको शाहीले बताए । प्रतियोगिता नकआउट प्रणालीबाट हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्धितिय हुनेले ३० हजार र तृतिया हुनेले २० हजार रुपैंया प्राप्त गर्नेछन् । त्युसैगरी उत्कृष्ट हुने खेलाडीले ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता चैत ३० गतेसम्म चल्नेछ ।  

१४ मेगावाटको घारखोला जलविद्युत्को निर्माण शुरु, ३ वर्षमा बिजुली बल्ने

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ ।म्याग्दी हाइड्रोपावर प्रालिले निर्माण सुरु गरेको आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो । घारको विरौटादेखि करीव ३ किलोमिटर पहुँचमार्ग खनेको आयोजनाले सडकको स्तरोन्नतिको कामसँगै निर्माण पूर्वका तयारीलाई तीव्रता दिएको जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए । आयोजनाको मुख्य कामका रुपमा हेरिने सुरुङ मार्गमा विष्फोटन कार्यका लागि नेपाली सेनाको क्याम्प राख्न आवास निर्माण भइसकेको छ । “सडकबाट प्रभावित अधिकांशलाई मुआब्जा वितरण गरिसकेका छौँ, बाँकी केहीको पनि कागजी प्रक्रिया पुगेपछि उपलब्ध गराउँछौँ, निर्धारित समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी काम थाल्छौँ”, उनले भने। घारको कुरिला बगरमा बाँध रहने यस आयोजनामा विद्युत्गृहसम्म पानी खसाल्नका लागि ३ किमी ४८ मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ । सुरुङ मार्ग हुँदै ल्याइएको पानीलाई करीव १ हजार २०० मिटर पेनस्टक पाइपमार्फत पोखरेबगरमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको आयोजनामा २ अर्ब ४१ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको आयोजनाका इञ्जिनियर जोसेफलाल बज्राचार्यले बताए । यसैबीच, जलविद्युत् आयोजनाको सुरुङ खन्दा खानेपानीका मुहान सुक्नसक्ने भन्दै स्थानीयस्तरबाट आवाज उठेपछि खानेपानीको मुहानको अवस्थाबारे अध्ययन गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद बरुवालको संयोजकत्वमा रहेको जलविद्युत् सरोकार समिति र जलविद्युत् आयोजनाका इञ्जिनियरको टोलीले आयोजनाबाट प्रभावित समुदायभित्र रहेका खानेपानीका मुहानमा पानीको अवस्थाबारे अध्ययन गरेका हुन् । रासस

ओरेन्टल को–अपरेटिभका वचतकर्ता र अपार्टमेन्ट किन्नेलाई पैसा फिर्ता लिन बोलाइयो, वैशाख ६ गतेसम्म दावी पेश गर्नुपर्ने

काठमाडौं । ओरेन्टेल को–अपरेटिभ लिमिटेडका वचतकर्ता र अपार्टमेन्ट खदिकर्ताले रकम फिर्ता पाउने भएका छन् । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले सहकारीका वचतकर्ता र अपार्टमेन्ट खरिदकर्तालाई पैसा लिन बोलाएको हो । समितिको कार्यालयले बैशाख २ देखि ६ गतेसम्म सहकारीका वचतकर्ता र ओरेन्टल अपार्टमेन्ट खरिदका लागि रकम भुक्तानी गरेकालाई प्रमाणसहित माग दावी पेश गर्न भनेको छ । प्रमाणका आधारमा रकम पाउने समितिको कार्यलयले जनाएको छ । समितिले जिल्ला समन्वय समितिको कार्यालय बिराटनगर, वीरगञ्ज, ललितपुर, भक्तपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा प्रमाणसहित आफुले पाउनुपर्ने रकम दावी गर्न भनेको छ । मागदावी पेश गर्दा आफुले वचत रकमको निस्सा, सेयर सदस्यताको प्रमाणपत्र, अपार्टमेन्ट बुकिङ गर्दा बुझाएको रकमको निस्सा, धितो राखेको चलअचल सम्पत्तिको विवरण र नागरिकता संलग्न गर्नुपर्ने समितिले जानकारी दिएको छ । माग दावी पुष्टि नभए रकम नपाउने समितिले स्पष्टपारेको छ । गत कात्तिक २० गते ओरेन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुत्तानी गर्न सरकारले पुस २८ गते समस्या ग्रस्ता सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरी सम्पत्तिको मूल्याँकन गरेको थियो । समितिले ओरेन्टलको काठमाडौस्थित र देशभरी रहेका कार्यालयमा विभिन्न मितिमा जम्मा गरेको वचत रकम, संस्थाका तत्कालिन सञ्चालक सुधीर वस्नेत र सञ्चालकहरुबाट समेत सञ्चालित अपार्टमेन्ट बुकिङ गर्ने बुकिङकर्ता, सेयर सदस्य र साहु, संस्थाको विभिन्न परियोजनामा लगानी गर्ने बैंक तथा वित्तीय संस्था र संस्थाले लिनुपर्ने रकम उठाउने भएको छ । अपार्टमेन्ट समस्यामा परेपछि डुबेको ओरेन्टलका तत्कालिन अध्यक्ष वस्नेत अहिले जेलमा छन् । सम्पत्ति र जायजेथा बिक्री गरेर वचतकर्ता र हाउजिङ बुकिङ गर्नेको रकम फिर्ता दिन लागेको हो । वस्नेतले ५ अर्ब रुपैयाँ भन्दा बढी रकम डुवाएका छन् ।  

१५ महिनामा पाइपलाइनबाट अमलेखगञ्जसम्म पेट्रोलियम आउने, वार्षिक १ अर्ब जोगिने

काठमाडौं । प्रस्तावित अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको काम १५ महिनाभित्रै सकिने भएको छ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिवार संयुक्त रूपमा शिलान्यास गरेको पाइपलाइनको काम १५ महिनामा सक्ने लक्ष्य लिइएको अधिकारीले बताएका छन्। भारतीय पक्षले धमाधम काम थालेकाले शुरू भएको १५ महिनाभित्र सम्पन्न हुने नेपाल आयल निगम लिमिटेडका प्रवत्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार कामको गति हेर्दा त्यो भन्दा अगाडि पनि सकिने संभावना रहेको छ । नेपालतर्फ पाइपलाइनको काम सुरु भएको उनले बताए । दुवै देशले उच्च प्राथमिकता दिएकाले रुख कटानी, घर तथा जग्गा मुआब्जा वितरण जस्ता विवादित विषय छिट्टै हल हुने अपेक्षा पनि गरिएको छ। पाइपलाइन बने इन्धन चुहावट तथा सडक अवरोध जस्ता समस्या हट्ने आशा गरिएको छ। दुई देशका सरकार प्रमुखहरूले संयुक्त शिलान्यास गरेसँगै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म ल्याइने ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइनको निर्माण तीव्र गतिमा हुने नेपाली अधिकारीहरूले बताएका छन्। नेपाली भागमा पाइपलाइन जोड्ने काम सुरु पनि भइसकेको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव भन्छन्,नेपाली भागमा पाइपलाइन जोड्ने काम शुरू पनि भइसकेको छ। कतिपय स्थानमा घरटहराले गर्दा समस्या छ। तर केही दिनमा सबै कुरा मिल्नेछ। २ वर्षअघि सम्झौता गरिएको उक्त पाइपलाइनको लम्बाइ त्यतिबेला ४१ किलोमिटर हुने भनिएको थियो र त्यसले रक्सौलदेखि अमलेखगञ्जसम्म जोड्ने कुरा थियो। तर झण्डै २५ हजार रूख काट्नुपर्ने र तेल भण्डारण स्थलको समस्या देखिएपछि स्थान परिवर्तन गरिएको थियो। अहिले समस्या कम रहेको निगम गोइतले जानकारी दिए । ५ हजार जति रूख काट्नुपर्ने उनले बताए । हटाउनुपर्ने घरटहराका लागि सम्बन्धित जिल्लाका अधिकारीहरूसँग कुरा भइरहेको निगमले जनाएको छ । शनिवार मात्रै शिलान्यास गरिए पनि पाइपलाइनसँग सम्बन्धित केही काम एक महिनाअघि नै शुरू भएको हो। हालसम्म तीन किलोमिटर जति खन्ने काम सकिइएको अधिकारीहरू बताउँछन्। पाइपलाइनबाट इन्धन ल्याउन थाले अहिले ट्याङकर ढुवानी र जनशक्तिमा खर्चिएको रकमबाट वार्षिक १ अर्ब रूपैयाँ जोगिने सरकारी अनुमान छ। स्रोतः बीबीसी

भाटभटेनी सुपरमार्केटको आगलागी चार घण्टापछि नियन्त्रणमा, करोडौको क्षति

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए । सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो । आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, रामग्राम, कपिलवस्तु र तानसेन नगरपालिकाका दमकल र स्थानीय व्यावसायिक पानी बोक्ने ट्यांकर आगो निभाउन प्रयोग गरिएको थियो । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । आगलागी भएको केहीबेरमा नै बुटवल उपमहानगरको दमकल घटनास्थल आए पनि भाटभटेनीका व्यवस्थापनका कर्मचारी नभेटिएपछि निकैबेर दमकलका कर्मचारी अलमलमा परेका थिए । बिहान मर्निङवाकमा निस्केका स्थानीयले भाटभटेनीमा आगोको मुस्लोदेखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागी बढ्दै गएपछि वरिपरिका स्थानीय बासिन्दासमेत त्रसित बनेका थिए । आगलागीबाट के–कति क्षति भयो भन्ने अहिलेसम्म कुनै तथ्यांक आएको छैन तर आगलागीबाट पाँचौ तला र चौथो तलामा रहेको इलोट्रोनिक्स सामान जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट भएको क्षतिकाबारेमा आफू बुटवल बाहिर भएकाले अहिले नै कुनै अनुमान गर्न नसकिने र आगलागीको घटना कसरी भयो भन्नेमा समेत अहिले नै भन्न नसकिने सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बताए। सुपरमार्केट गत वर्षमात्र ९५ करोडको लागतमा सञ्चालनमा आएको हो । सञ्चालनको छोटो समयमै दैनिकरुपमै राम्रो व्यावसायिक कारोबार गर्न सफल भएको थियो । आगलागी भएपछि घटनास्थलको अवलोकन र जानकारी लिन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्यलगायत त्यहाँ पुगेका थिए । मुख्यमन्त्री पोखरेललाई आगलागीको घटना र यसको नियन्त्रणका लागि भएका प्रयासका बारेमा सुरक्षा अधिकारीले जानकारी गराएका थिए । रासस

बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा भीषण आगलागी, करोडौंको क्षति

  काठमाडौं ।बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार बिहान भीषण आगलागी हुदा करोडौं रुपैयाँको क्षति भएको छ । बुटवल उपमहानगरपालिका ८ नम्बर वडामा पर्ने सुपरमार्केटको ५ औ तल्लाबाट सुरु भएको आगलागी अन्य तलामा पनि लागेको थियो ।   आगलागीबाट करोडौ रुपैयाँको क्षति भएको सुपर मार्केटका प्रमुख कार्यकारी अधिकृत पानुप्रसाद पौडेलले बताए । उनकाअनुसार आज बिहान ४ बजेदेखि आगो लागेको उनले जानकारी दिए । आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित दमकल परिचालन गरिएको छ । धुवाँको मुस्लोले बुटवलको आकास ढाकेको छ । बुटवल र भैरहवाको दमकलले आगो निभाउने प्रयास जारी राखेका हुन् । कपिलबस्तु, परासी, रामग्रामबाट थप दमकल मगाइएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको भनाइ छ । सुपरमार्केट गत बैशाख महिनाबाट सन्चालनमा आएको हो । सुपरमार्केट ९५ करोडको लागतमा सम्पन्न गरिएको थियो ।

एकीकृत जाँच चौकीको उद्घाटन, व्यापारीलाई प्रत्यक्ष फाइदा

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा वीरगञ्जको एकीकृत जाँच चौकी (आइसिपी) को आज उद्घाटन गरेका छन् । हैदरावाद हाउसमा आयोजित विशेष समारोहमा उक्त एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात समितिको संयोजनमा निर्माण भएको उक्त एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो । प्रधानमन्त्री ओलीको भारतको राजकीय भ्रमणको अवसर पारेर एकीकृत जाँच चौकीको उद्घाटन गरिएको हो । नेपाल र भारत बीचको सम्झौताअनुसार सन् २०११ को जुलाईमा शिलान्यास भई उक्त एकीकृत जाँच चौकीको निर्माण कार्य थालिएको थियो । मुआब्जा विवाद, ठेकेदारको लापरबाही, ढुङ्गा, बालुवा जस्ता निर्माण सामग्रीको अभावका कारणले एकीकृत चौकी निर्माणमा ढिलाइ भएको थियो । भारतीय सहयोगमा विराटनगर भैरहवा र नेपालगगञ्जमा पनि त्यस्ता चौकी निर्माण भइरहेका छन् । मुलुकको व्यापार सहजीकरणका लागि सरकारले भन्सार विन्दुलाई आधुनिकीकरण गर्दै र सुख्खा बन्दरगाहमा पूर्वाधार मजबुत बनाउँदै लैजाने योजनाअन्तर्गत उक्त चौकी निर्माण गरिएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार आइसिपी आजैदेखि सञ्चालनमा आउनेछ । आइसिपी सञ्चालनमा आएपछि सामान आयात र निर्यात गर्दा सीमा नाकामा उद्योगी तथा व्यवसायीले भोग्नुपरेको समस्या समाधान हुने विश्वास लिइएको छ । नेपाल र भारत बीचको व्यापारलाई सहजीकरण गर्न उक्त चौकीले सहयोग पुग्ने अपेक्षा गरिएको छ । दुई देशबीचको व्यापारलाई औपचारिक दायराभित्र ल्याउन महत्वपूर्ण एकीकृत जाँच चौकीको महत्वपूर्ण योगदान रहनेछ । सरकारले वीरगञ्ज महानगरपालिकाको सिर्सिया र अलौमा गरी ३१५ जना जग्गाधनीको ११५ बिगाहा क्षेत्रफल जग्गा अधिग्रहण गरी उपलब्ध गराएको थियो । भारत सरकारको १ अर्ब ३९ करोड रुपैयाँ लागतमा एकीकृत जाँच चौकी निर्माण भएको हो । अलौंमा निर्माण भएको उक्त चौकीमा ७३० वर्ग मिटर क्षेत्रफलका पाँच वटा ठूला गोदाम, दुईटा ठूला सेड, कार्यालय सञ्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारीको आवास भवन, उपचार केन्द्र भवन, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाललगायत रहेका छन् । चौकी सञ्चालनमा आएपछि वीरगञ्जको मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालय त्यही स्थानान्तरण हुनेछ । एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यातकर्ताले कम समयमै सहज रुपमा वस्तु आयात–निर्यात गर्न सक्नेछन् । सवारीको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजश्व चुहावट पनि रोकिने सरकारको अपेक्षा रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले व्यापार प्रवद्र्धनका लागि एकीकृत जाँच चौकी महत्वपूर्ण कोशेढुंगा भएको संक्षिप्त प्रतिक्रिया दिनुभयो । शुक्रबार भारतीय व्यापारीसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीले वीरगञ्जमा एकीकृत जाँच चौकी सञ्चालन आउन लागेको र त्यसले उद्योगी–व्यवसायीलाई फाइदा पुग्ने बताए । रासस

दिल्लीबाटै रक्सौल–वीरगञ्ज पेट्रोलियम पाइपलाइन शिलान्यास, ३ वर्षमा सकिने

नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । हैदराबाद हाउसमा आयोजित विशेष समारोहमा उक्त पाइपलाइनको शिलान्यास गरिएको होे । अमलेखजञ्ज–रक्सौल–मोतिहारी खण्डमा गत फागुनको अन्तिम सातादेखि पाइपलाइन बिच्छ्याउने कार्य शुरु भइसकेको छ । हालसम्म करीब तीन किलोमिटर पाइपलाइन बिच्छ्याइसकिएको छ ।   मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार फागुन २५ गतेदेखि पाइपलाइन जडानको काम शुरु हो । पाइपलाइन बिछ्याउन र वेल्डिङ गर्ने कामको ठेक्का भारत, महाराष्ट्रको लिखित इन्फ्रास्ट्रक्चरले पाएको छ । यस्तै अमलेखगञ्जस्थित नेपाल आयल निगम डिपोको चार वटा ट्यांकीको स्तरोन्नतिको काम पनि भइरहेको छ । भारत फरिदावादको मोतिप्रभा इन्फ्राटेक प्रालिले ट्यांकी स्तरोन्नतिको काम गरिरहेको छ । कूल ६९ किलोमिटर लामो उक्त पाइपलाइनलाई रणनीतिक महत्वको परियोजनाका रुपमा लिइएको छ । इण्डियन आयल कर्पोरेशनको लगानीमा सञ्चालित पाइपलाइन परियोजनाका लागि नेपालले पाइपलाइन ओछ्याउने स्थान र वीरगञ्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक सबै लगानी भारत सरकारकै रहेको छ । मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलब सात किलोमिटर र रक्सौलदेखि अमलेखगञ्जसम्म २६ किलोमिटर लामो पाइपलाइन परियोजनाको लागत प्रतिकिलोमिटर करीब भारु ५ करोड लागत रहेको छ । परियोजनामा नेपालतर्फ राखिने ३१ किमीभन्दा बढी पाइप नेपाल भित्रिसकेको छ । पाइपलाइनमा कालो रङको स्टिलको पाइप प्रयोग गरिएको छ । उक्त पाइप भारत महाराष्ट्रको सिमलेस लिमिटेडले उत्पादन गरेको हो । पाइपलाइन निर्माण भएपछि वीरगञ्ज नाकामा भन्सार क्षेत्रमा हुने लामो जाम र भीडभाडसमेत अन्त्य हुने र वीरगञ्ज–पथलैया–अमलेखगञ्ज सडकखण्डमा ट्यांकरको चापसमेत घट्ने विश्वास लिइएको छ । तत्कालीन आपूर्तिमन्त्री सुनिल थापा र भारतको पेटोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धमेन्द्र प्रधानले दुई वर्षपहिले उक्त पाइपलाइन निर्माण गर्ने सम्झौता गरेका थिए । नेपालमा आयात हुने कूल पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत हिस्सा वीरगञ्ज नाका भएर भित्रने भएकाले पनि सो पाइपलाइनको निर्माणपछि सहज अवस्था आउने विश्वास लिइएको छ । शिलान्यास समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भारतीय समकक्षी धमेन्द्र प्रधानको समेत उपस्थिति थियो । यस्तै नेपाली प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यसमेत सो अवसरमा उपस्थित थिए । सन् २०१७ भित्र नै सम्पन्न गर्ने लक्ष्य राखिएको पाइपलाइन आयोजना निर्माणको काम, नेपाल आयल निगम र आइओसी दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइले गर्दा निर्माणसमेत ढिलो हुन पुगेको थियो । पाइपलाइन आयोजना निर्माण शुरु भएको ३६ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । पाइपलाइन आयोजना निर्माणका लागि भारतबाट ल्याइने पाइप लगायतका निर्माण सामग्री राख्नका लागि आयल निगमले वीरगञ्जमा बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखानाको जग्गा भाडामा लिएको छ । निगमले हाल भारतको बैरगनिया र रक्सौलमा रहेको आइओसीको डिप्पोबाट पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल, मट्टीतेल, हाई स्पिड डिजेल र हवाई इन्धन ट्यांकरमार्फत अमलेखगञ्जमा रहेको आयल निगमको डिपोमा आयात गर्दै आएको छ । पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयात गर्दा ढुवानी भाडा कम लाग्नाका साथै चुहावटमा पनि नियन्त्रण आउने आयल निगमको दाबी छ । पाइपलाइन आयोजना निर्माणपछि भारतको डिपोबाट प्रतिघण्टा दुई लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा ल्याउने आयल निगमले लक्ष्य छ । पाइपलाइन भविष्यमा विस्तार गरेर चितवनसम्म लैजाने लक्ष्य राखिएको छ । रासस