आधा भन्दा बढी खेतमा रोपाइ हुन बाँकी, चामलको परनिर्भरता बढ्न सक्ने सम्भावना
काठमाडौ । असार महिना सकिनलाग्दा समेत उत्साहजनक रुपमा रोपाइँ हुन नसक्दा आगामी वर्ष पनि चामलको परनिर्भरता बढ्ने देखिएको छ । असार २८ सम्म आइपुग्दा अझै १ करोड ७६ लाख ११ हजार ९०६ रोपनी जग्गामा रोपाइँ हुन सकेको छैन । पर्याप्त जमीनमा सिँचाइ सुविधा नपुगेकाले अधिकांश किसान धान रोप्न आकासे पानीको पर्खाइमा हुन्छन् । नेपालमा धान रोपाइँ वर्षमा दुई पटक हुन्छ । चैतमा चैते धान र असारमा वर्षे धान । असारमा धान रोपाइँका लागि ३ करोड १० लाख ४९ हजार ३८० रोपनी जग्गा प्रयोग हुने गरेको छ । खेतीपातीका लागि ६ करोड १८ लाख २० हजार रोपनी जमीन प्रयोग भएको छ । प्रयोग भएका जमीनमध्ये ५० प्रतिशत जमीनमा धान रोपाइँ गर्न सकिन्छ भने खेती गर्न सकिने २ करोड ६० लाख रोपनी जमीन बाँझै छ । कूल खेतीयोग्य जमीन ८ करोड २४ लाख २० हजार रोपनी छ । खेती गर्न सकिने जमीनमध्ये असार २५ सम्ममा १६ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको छ । यद्यपि धान लगाउन योग्य जमीनको भने ४३.२८ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ । अहिलेसम्म ५६.७ सात प्रतिशत जमीनमा धान रोपाइँ हुन सकेको छैन, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सह–प्रवक्ता शङ्कर सापकोटाले भने। हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । पूर्वाञ्चलमा सबैभन्दा बढी धान उत्पादन हुने गरेको छ । झापा सबैभन्दा धेरै धान उत्पादन गर्ने जिल्ला हो । पूर्वमा ८९ लाख १८ हजार ७६० रोपनी जमीनमा धान रोपाइँ गर्न सकिन्छ । तर त्यहाँ जम्मा २२ लाख ७५ हजार १७५ रोपनीमा मात्र धान रोपाइँ भएको छ । अझै ६६ लाख ४३ हजार ५०५ रोपनी जमीनमा धान रोपाइँ हुन सकेको छैन । पूर्वका झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरीमा जम्मा २१ प्रतिशतमा रोपाइँ भएको छ । धान नेपालको प्रमुख खाद्यन्न बाली हो । धानको उत्पादन बढ्दा समग्र कृषि क्षेत्रको उत्पादनमा बढोत्तरी हुन्छ । नेपालीको भातखाने आदतका कारण धानको उत्पादन बढाउनु आवश्यक छ, वरिष्ठ धान विशेषज्ञ भोलामानसिंह बस्नेतले भने। मध्यमाञ्चलमा १९ जिल्ला पर्छन । उच्च पहाडी भूभाग (दोलखा, रसुवा, सिन्धुपाल्चोक) मध्यपहाड (रामेछाप, सिन्धुली, नुवाकोट, काभ्रे, मकानवपुर, भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङ) तराई (धनुषा, महोत्तरी, सर्लाही, पर्सा, बारा, रौतहट र चितवनमा) ३९ प्रतिशत मात्र रोपाइँ भएको छ । सो क्षेत्रमा ८७ लाख ८६ हजार ५६० रोपनीमा धान रोपाइँ गर्न सकिन्छ तर २५ लाख ६५ हजार ६७५ रोपनीमा मात्र धान रोपाइँ भएको छ भने ६२ लाख २० हजार ८८५ रोपनीमा धान रोपाइँ हुन सकेको छैन । विगत दश वर्षको तथ्याङ्क हेर्दा नेपालमा धान उत्पादनको वृद्धिदर सन्तोषजनक छैन । हालको जनसंख्यालाई करीब ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । गत वर्ष जम्मा ४२ लाख मेट्रिक टन भएको थियो । पश्चिमका १६ जिल्लामध्ये हिमालपारिका दुई जिल्लामा धान रोपाइँ हँुदैन । बाँकी १४ जिल्लामा ५४ प्रतिशतमा रोपाइँ भए पनि २८ लाख १९ हजार १७३ रोपनीमा रोपाइँ भएको छैन । विश्वको सबैभन्दा अग्लो स्थानमा धान खेती हुने जिल्ला नेपालमै पर्छ । जुम्ला जिल्लामा उत्पादन हुने जुम्लीमार्शी धान विश्वमा राम्रो मानिन्छ । कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करीब २८ प्रतिशत छ भने सो उत्पादनमा झण्डै आधा अर्थात् १२ प्रतिशत धानको योगदान छ । मध्यपश्चिमका १५ जिल्लामा ४६ प्रतिशत र सूदुरपश्चिमका नौ जिल्लामा ७४.८४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । मध्यपश्चिममा ३५ लाख ६१ हजार ९२० रोपनीमध्ये १९ लाख २ हजार ६५ रोपनीमा अझै रोपाइँ भएको छैन । त्यसैगरी, सूदुरपश्चिमका नौ जिल्लामा ७४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । अझै ८ लाख ८९ हजार ८६४ रोपनीमा रोपाइँ भएको छैन । सदूरपश्चिममा धान रोपाइँका लागि उपयुक्त जमीन ३५ लाख ३१ हजार २०० रोपनी रहेको छ । रासस
४९ अर्ब अधिक तरलता भएपछि अन्तर बैंक ब्याज ३ प्रतिशत तल, केन्द्रीय बैंकले असारमा उठायो ५४ अर्ब
काठमाडौं । सरकारको खर्च बढेर बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले धमाधम बजारबाट पैसा उठाइरहेको छ । सरकारी खर्च बढेर बैंकिङ प्रणालीमा तरलता बढेपछि अन्तर बैंक ब्याजदर घटेर ३ प्रतिशत तल पुगेपछि केन्द्रीय बैंकले बिहीबार २ अर्ब ८० करोड रुपैयाँ बजारबाट उठाएको हो । बैंकिङ प्रणालीमा ४९ अर्ब रुपैयाँ अधिक तरलता रहेपछि दुई साताको निक्षेप संकलन वित्तीय औजारमार्फत बजारबाट पैसा उठाएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । केन्द्रीय बैंकले बिहीबार १० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएकोमा ३ बैंक तथा वित्तीय संस्थाबाट ३ प्रतिशत ब्याजमा २ अर्ब ८० करोड रुपैयाँ मात्र उठाएको छ । असार लागेपछि अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल रहेको छ । असारयता बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि धमाधम बजारबाट उठाउदै आएको छ । केन्द्रीय बैंकले असार ५ गतेयता निक्षेप संकलन उपकरणमार्फत १४ पटक गरी ५४ अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकले बजारमा तरलता घटेमा ५ प्रतिशत ब्याजदरमा बैंकमा पठाउने र बढेमा ३ प्रतिशत ब्याजमा उठाउने गरेको छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले रिपो उपकरणमार्फत बजारमा पैसा पठाउने गर्छ ।
२ लाख ८ हजार लाभग्राहीले लिए तेस्रो किस्ता
काठमाडौं । घर निर्माण अन्तिम चरणमा पुर्याएर तेस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या दुई लाख नाघेको छ । बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पुर्याएका २ लाख ८ हजार ४३ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझेका छन् । यद्यपि, तेस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या २ लाख ३४ हजार ९ सय ४२ पुगिसकेको छ । उनीहरु निजी आवास अनुदानको तेस्रो किस्ता बापतको एक लाख रुपैयाँ लिनका लागि योग्य भइसकेका छन् । तेस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या २ लाख ४६ हजार २ सय ८८ पुगेको छ । यो तथ्यांकबाट गत वर्षको हिउँदे मौसममा पुनर्निर्माण सुरु भएका अधिकांश घरहरुको निर्माण सम्पन्न भएको वा हुन लागेको देखिन्छ । जिल्लागत रुपमा दोलखामा सबैभन्दा धेरै ३३ हजार ५ सय ८२ ले तेस्रो किस्ता लिएका छन् सिन्धुपाल्चोकका ३० हजार ४ सय ४४, गारेखाका २९ हजार ८ सय ८० लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । तेस्रो किस्ता लिने लाभग्राहीको संख्यासँगै निर्माण सम्पन्न भएका घरको संख्यामा उत्साहजनक बढोत्तरी भइरहेको छ । ५ लाख ९ हजार ४ सय १८ घर पुनर्निर्माणको चरणमा छन् जसमध्ये २ लाख ३९ हजार ९८ को निर्माण सम्पन्न भइसकेको छ । त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या पनि उत्साहजनक ढंगले बृद्धि भएको छ । बुधबारसम्मको तथ्यांकअनुसार ४ लाख ४९ हजार ३ सय ३८ जना लाभग्राही दोस्रो किस्ता लिइसकेका छन् । भूकम्पप्रतिरोधी मापदण्डअनुसार डीपीसी तहसम्मको निर्माण गरेपछि लाभग्राहीले दोस्रो किस्ता पाउँछन् । पछिल्लोपटक गुनासो सम्बोधनपछि थपिएका समेत गरी कूल लाभग्राहीको संख्या ८ लाख ७ हजार ४ सय ८६ पुगेको छ जसमध्ये ७ लाख २१ हजार ७ सय ३६ सँग अनुदान सम्झौता भइसकेको छ ।
भूकम्प प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्तिकाे अवसर, ब्रिजवाटरले दिँदै छ प्रतिविद्यार्थी ५० हजार रुपैयाँ
काठमाडौं । नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका माध्यमिक तहको परिक्षामा सहभागी भएका विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्ने अवसर आएको छ । ब्रिजवाटर इन्टरनेशनल कलेजले लायन्स क्लबइ न्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए२ र लायन्स क्लब अफ काठमाडौं सिटिजन्ससँग समझदारी पत्रमाहस्ताक्षर गरेको छ । समझदारी पत्रअनुसार कमजोर आर्थिक अवस्था भएका तथा पिछडिएका ग्रामीण क्षेत्रका विद्यार्थीहरु जो ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रबाट आएका छन्, उनीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ । यो समझदारी कोषको लागि नभए पनि अतिपिछडिएका तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थहरुका लागि आवश्यक पर्ने रकम उठाउन सहकार्य गरिने प्रतिबद्धता हो । यो आवश्यकतामा आधारित छात्रवृत्ति कार्यक्रम एसईई सहभागी भएका विद्यार्थीहरुको लागि हो । जसलाई वित्तिय सहयोग निकै आवश्यक रहेको देखिएको छ, ब्रिजवाटर इन्टरनेशनल कलेजका प्रिन्सिपल संदिप खनालले भने । ‘क्रिएटिङ न्यू डाइमेन्सन टू एजुकेशन’ भन्ने मुलनाराका साथ ब्रिजवाटर इन्टरनेशनल कलेज आफूले चाहेको क्षेत्रमा भविश्यकोर्न सहयोग पुर्याउने माध्यमको रुपमा रहेको छ । यो छात्रवृत्ति १०० जना अति पिडछिएका तथा कमजोर आर्थिक अवस्था भएका नेपाली विद्यार्थीहरुका लागि अवसरको रुपमा आएको छ जसले प्रतिविद्यार्थी ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
एचएच बजाजको नयाँ शोरुम सिराहाको ट्राफिक चोकमा
काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडको एचएच बजाजले सिराहाको ट्राफिक चोकमा नयाँ शोरुम संचालनमा ल्याएको छ । एचएचले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम स्नेहा आटो जोन उक्त स्थानमा खोलेको हो । एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले कँहीकतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ । नयाँ शोरुमको शुभारम्भ सँगै शोरुमले ग्राहकहरुका लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।
१५ प्रतिशत बोनस सेयरले लगानीकर्ता लोभिएपछि एनएमबी बैंकको एफपीओ सबै बिक्री
काठमाडौं । एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको भोलिपल्ट थप निष्कासन (एफपीओ) पुरै बिक्री भएको छ । एफपीओ बन्द हुने अन्तिम दिन आज बिहीबारसम्म ७० हजार ७०० आवेदकबाट ३ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । केही अस्विकृत हुने भएकाले तथ्याँक घट्न सक्ने निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । उनले माग भन्दा बढी आवेदन परेको जानकारी दिए । बैंकले अझै तथ्याँक अद्याविधिक गरिरहेकाले अझै बढने संभावना रहेको उनले सुनाए । बैंकले चुत्तापुँजी बढाउन प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । बुधबारसम्म ७७ हजार आवेदकबाट २ अर्ब ७७ करोड रुपैयाँ बरारबको एफपीओका लागि आवेदन परेको थियो । बैंकले एफपीओमा लगानी गर्नेलाई पनि १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेपछि यसको असर एफपीओमा परेको हो । बैंकको मंगलबार बसेको ३५९ औं सञ्चालक समिति बैठकले एफपीओ बाँडफाँडपछि चुत्तापुँजी अर्थात ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्ने र सोको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर दिने बैंकले स्पष्टपारेको छ । एफपीओ बिक्री नहुने अवस्था आएपछि नागरिक लगानी कोषले भोली शुक्रबारदेखि सोमबारसम्मका लागि संस्थापक सञ्चालक तथा तिनका परिवारका लागि खुला गरिने कोषले जानकारी दिएको थियो । एफपीओका लगानीकर्ताले समेत बोनस सेयर पाउने भएपछि बैंकको चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पुग्ने छ ।
गण्डकी विकास बैंकका ग्राहकहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलबाट छुट पाउने
काठमाडौं । गण्डकी विकास बैंकका ग्राहकहरुले काठमाडौं स्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलको उपचार र्खचमा छुट पाउने भएका छन् । बिहीबार गण्डकी विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच ग्राहकहरुलाई अस्पतालको विभिन्न उपचार सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र ग्राण्डी विकास बैकको तर्फबाट मार्केटिङ्ग विजनेश डेभलपमेन्ट विभाग प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका एटीएम होल्डर ग्राहकहरुले भ्यालिड एटीएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्न सक्नेछन् ।
नबिल बैंकले ६०० जना कर्मचारीलाई तालिम दिने
काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्रार्ष्ट्रिय स्तरको जानबि कोर्समा ६०० जना कर्मचारीहरुलाई तालिम दिने भएको छ । बैंकले कर्मचारीहरुको कार्यदक्षता विकासका लागि एनबीआईद्धारा संचालित उक्त कोर्समा सो मात्राको कर्मचारीहरुलाई तालिम दिन लागेको हो । नबिल बैंक मौद्रिक नीति २०७/७६मा उल्लिखित बैंक कर्मचारी तालिम सम्बन्धि प्रावधान कार्यान्वयन गर्ने प्रथम बैंक भएको छ । बैंकले बुधबार जारी भएको मौद्रिक नीतिको बुँदा नम्बर ९७ अन्तर्गत सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीहरुलाई तालिम दिन लागेको हो । नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई)बीच बिहीबार सो तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्तारक्षर गरेका छन् ।