विधेयकमा सहमति भएन, संसद् बैठक एक हप्ता पछि सर्यो
काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछि सरेको छ । सत्तारुढ दल नेकपाले विधेयक माथेमा प्रतिवेदनको भावनाअनुसार नै संसद्मा प्रस्तुत भएको दावा गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विधेयक आफ्नो सरकारको पालामा जारी भएको अध्यादेशको भावनाअनुरुप नभएको भन्दै संसद्मा पेश गर्नसमेत दिएको छैन । तर, सदनको आजको बैठकको दैनिक कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यक्रम थिएन । दैनिक कार्यसूचीमा सो विधेयक प्रस्तुत गर्ने कार्यक्रम नहुँदा पनि संसद्को बैठक बस्न सकेन । आजको दैनिक कार्यसूचीमा अर्थमन्त्री डा युवराज खतिवडाले बीमा विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । रासस
मनकामना र भालेश्वरपछि अब २५ स्थानमा केबलकार बन्दै
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिने क्रम पछिल्लो समयमा बढेको छ ।मुलुकका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो । मन्त्रालयले अध्ययन अनुमति दिने कानूनी प्रावधान छ । सहज यातायात सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणका लागि चासो व्यक्त गर्दै निर्माणमा जाने समूह तथा लगानीकर्ता समेत बढेका हुन् । मन्त्रालयका अनुसार दुर्गम क्षेत्रमा सहज यातायात सञ्चालनका लागि केबलकारको माग गर्दै आउने संख्या पछिल्लो दिनमा बढ्दै गएको छ । मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार निर्माण गरेपछि नेपालमा केबलकारको युग शुरु भएको हो । मनकामनामा केबलकार चलेको लामो समयपछि मात्रै राजधानीमा चन्द्रागिरिमा केबलकार सञ्चालनमा आएको छ । देशका एक दर्जनभन्दा बढी स्थानमा केबल निर्माण भइरहेको छ । दोलखाको कालिञ्चोक, पोखराको फेवातालदेखि सराङकोट र पाथीभरामा केबलकार निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ । मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर ध्रुवकुमार श्रेष्ठका अनुसार पछिल्लो समयमा केबलकार निर्माणका लागि भन्दै अध्ययन अनुमति माग्ने समूह बढ्दै गएको छ । पाथीभरा मन्दिरसम्म पुग्नका लागि त्रिवेणी केबलकार प्रालिले प्रारम्भिक वातावरण अध्ययनको काम सम्पन्न गरेर इञ्जिनियरिङको काम गरिरहेको छ । सोही स्थानमा हिमाल दर्शन प्रालि र पाथीभरा देवी दर्शनले पनि अध्ययन गरिरहेको छ । यस्तै भक्तपुरको सूर्यविनायकमा लिक सेवा र बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म त्रिवेणी केबलकार प्रालिले अध्ययन अनुमति मागेको छ । मौलाकालिका डेभलपमेन्ट प्रालिले देवघाटदेखि मौलाकालिकासम्म केबलकार अध्ययनको अनुमति मागेको छ । दिव्य दर्शन प्रालिले मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी र पाथीभरामा पनि केबलकार निर्माणका लागि चासो व्यक्त गरेको छ । यस्तै सोलुखुम्बुको लुक्लामा सगरमाथा रोपवे प्रालिले अध्ययन गरिरहेको छ । डोटीको ठूलाकेदार, नुवाकोटको घ्याङफेदी गोसाइँकुण्ड केबलकार, इलाम पाथीभरा दर्शन र सर्वसिद्धीधाम पञ्चकोट बाग्लुङमा पनि प्रक्रिया शुरु भएको छ । लुक्लादेखि नाम्चेसम्म केबलकार र रोपवे दुवै सेवा दिने गरी अध्ययन भइरहेको छ । काठमाडौँ उपत्यकाको बोहोराटार–नागार्जुन डाँडा जामाचोमा पनि अध्ययनका लागि स्वीकृति मागिएको छ । नागार्जुन केबलकार प्रालिले अध्ययन अनुमति मागेको मन्त्रालयले जनाएको छ । त्यस्तै मुक्तिनाथ दर्शन प्रालिले पोखराको वीरेठाँटीदेखि कागबेनी हुँदै रानीपौवा मुक्तिनाथ मन्दिरसम्म पनि केबलकार निर्माणका लागि अध्ययन अनुमति माग्दै मन्त्रालयमा आवेदन दिएको छ । सो केबलकार निर्माणका लागि आवश्यक सहजीकरणको काम लगानी बोर्डले गरिरहेको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अनुसार विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारीका लागि अनुमति दिइएको हो । करीब १८ महिनाभित्र डिपिआर तयार पार्ने गरी मुक्तिनाथ दर्शन प्रालिलाई अनुमति दिइएकोछ । यस्तै नवलपरासीको रानीतालदेखि मौलाकाली मन्दिरसम्म केबलकार निर्माणका लागि दुईवटा प्रस्ताव आएको छ । वातावरणीय प्रभाव मूल्यांकनका लागि अनुमति मागिएको मन्त्रालयले जनाएको छ । उता प्यूठानको घण्टीखोलादेखि स्वर्गद्वारी मन्दिरसम्म केबलकार निर्माणका लागि स्वर्गद्वारी दर्शन प्रालिले अनुमति मागेको छ । ललितपुरको गोदावरीदेखि फूल्चोकीसम्म केबलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारी र युवा जागरण पर्यावरणीय मञ्चले अध्ययन अनुमति मागेको छ । यस्तै मनकामना दर्शन प्रालिले कास्की पुम्दी भुम्दीमा एक किलोमिटर लामो केबलकार निर्माणका लागि अध्ययन अनुमति मागेको छ । मन्त्रालयका अनुसार रसुवाको गोसाइँकुण्डसम्म पुर्याउने गरी चारवटा प्रस्ताव आएको छ । त्यसमा ११।८ किलोमिटर लामो धुञ्चे गोसाइँकुण्ड, १६।८ किलोमिटर लम्बाइको दुप्चेश्वर बतासकुण्ड, १०।८ किलोमिटर लम्बाइको यार्सा–बतासकुण्ड र ११।२५ किलोमिटर लम्बाईको चेघ्याङ– सूर्यकुण्डको प्रस्ताव परेको छ । यस्तै लम्की चुहा कैलालीदेखि मोहन्याल नगरपालिका– ३ सम्म जोड्ने ३।१५ किलोमिटर लामो केबलकार निर्माणका लागिसमेत अध्ययन प्रस्ताव प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठले केबलकार निर्माणका लागि आफूहरुले अध्ययन अनुमति दिने र वातावरणीय प्रभाव मूल्यांकनका लागि मात्रै सहजीकरण गरिदिने बताए। उनले प्राप्त भएका आवेदनलाई हेरेर आवश्यक निर्णय गर्ने भएकाले मन्त्रालयले आवश्यक काम गरिरहेको जानकारी दिए। केबलकार निर्माणका लागि गाउँपालिकाले नै पहल गरिरहेको जानकारी दिँदै गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कईसाङ नोर्बु तामाङले भने, “हामी सार्वजनिक निजी साझेदारीमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई सहज सेवा दिन लागेका छौँ ।” उनी स्थानीय, प्रदेश र केन्द्रीय सरकारले पनि सो केबलकार निर्माणमा आवश्यक सहजीकरण गरिरहेको र छिट्टै परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्छन्। हाल सो केबलकारको विस्तृत परियोजना प्रतिवेदन बनाउनेलगायत अन्य काम जारी रहेको छ । गोसाइँकुण्ड गाउँपालिकाको प्रस्तावअनुसार धुञ्चेदेखि भैरवकुण्डसम्म केबलकार निर्माण हुनेछ । नेपालका केबलकार निर्माणका लागि विगतदेखि नै काम गर्दै आउनुभएका रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल सरकारले नीतिगतरुपमा नै प्रष्ट व्यवस्था गरेर सहजीकरण गरिदिनुपर्ने बताउँछन् । विगतमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केबलकारको निर्माणको अनुमति दिने गरेको थियो । पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत काम हुने गरेको छ । रोपवे नेपालले बन्दीपुर, मौलाकालिका, लुक्ला, बुटवलदेखि पाल्पाको मणिमुकुन्द सेनको दरबारसम्म जाने केबलकार निर्माणका लागि आवश्यक सहजीकरण गरिरहेको छ । नेपालमा विशेष गरी स्वीटजरल्याण्ड, अष्ट्रिया, भारत र जर्मनीको प्रविधि भित्र्याउने गरिएको छ । सरकारले आर्थिक विकासको आधारका रुपमा पर्यटन क्षेत्रलाई राखेको सन्दर्भमा पर्यटक आकर्षणका लागि केबलकार निर्माणलाई विशेष प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ । यातायातको पहुँच पुर्याउन मुलुकको पहाडी तथा हिमाली क्षेत्रका केबलकार तथा रोपवेलगायतलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ । रासस
२५ अर्ब ६० करोडको हकप्रद सेयर निष्कासन, हेर्नुस कुन कम्पनीको कति (सुचिसहित)
काठमाडौं । गत आर्थिक वर्षमा नियामक निकायबाट विभिन्न ५५ कम्पनीले पुँजी बढाउनका लागि हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले २५ अर्ब ६० करोड ४१ लाख रुपैयाँ बराबरको २५ करोड ६० लाख ४१ हजार कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । यी मध्य अधिकाँशले निष्कासन गरिसकेका छन् । भरखरै अनुमति पाएकाले निष्कासनको तयारी थालेका छन् । सुचि हेर्न यहाँ क्लिक गर्नुहोला हकप्रद सेयर निष्कासन गर्नेमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी मात्र छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुत्तापुँजी बढाउन साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गरेका हुन् । अधिकाँश बैंक तथा वित्तीय संस्थाको न्युनतम चुत्तापुँजी पुगिसकेकाले आगामी वर्षदेखि हकप्रद सेयर निष्कासन कम हुने देखिएको छ । धेरै हकप्रद सेयर निष्कासन गर्नेमा मेगा बैंक, सिभिल बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, सिद्धार्थ बैंक र प्रभु बैंक रहेका छन् । यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, नेसनल लाइफ, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लगायत ५५ कम्पनीले अनुमति पाएका हुन् । हकप्रद सेयर निष्कासन भएपनि अधिकाँशको बिक्री नभएपछि पटक पटक लिलामी गरिएको थियो । पछिल्लो समयमा १०० रुपैयाँका हकप्रद सेयर बिक्री हुन छाडेको छ ।
छोरी जन्माएको भन्दै घर निकाला, घर फिर्ता आए १० लाख ल्याउनुपर्ने
इनरुवा । सुनसरी जिल्लाको दुहबी नगरपालिका-६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएका छन् । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताए । उनले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले माइतमा बस्न बाध्य भएको बताए । साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका-३, प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेका थिए । विवाहपछि छोरी जन्मिएको भन्दै श्रीमानले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पीडित साहले पत्रकार सम्मेलनमा बताएका छन् । दुई वर्षदेखि दुहबीमा रहेकी आमाको घरमा बस्दै आएको बताउँदै साहले घर फिर्ता आए १० लाख रुपैयाँ लिएर आउनुपर्ने माग श्रीमानले गरेको बताए । आफू पीडित भएर पनि सम्बन्धित निकायले न्याय र चासो नदिएका कारण बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पीडित साहले बताएका छन् । दुई वर्षकी छोरीसहित पत्रकार सम्मेलनमा उपस्थित भएकी साहले आफू अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । आफू छोरी जन्माएकै कारण श्रीमान् र घरपरिवारबाट अलग भएकोमा उनले दुःख व्यक्त गरेका छन् । उनले श्रीमानसहित ससुरा ललित साह तथा सासु छिनादेवी साहले घरबाट निकालेको र घरमा फिर्ता आए १० लाख रुपैयाँ ल्याउन पटक पटक दबाब दिएको बताए । पीडित साहले श्रीमानकै घरमा बस्न पाउनुपर्ने मागसमेत गरेका छन् । रासस
तेस्रो कलेजो प्रत्यारोपण सफल,खड्काले नयाँ जीवन पाए
काठमाडौं । “मैले बाँच्ने आशा मारिसकेको थिएँ, आज हो कि भोलि भन्ने मात्रै थियो तर मेरो श्रीमतीको कलेजो र मायाले दोस्रो जुनी पाएँ ।” शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सघन उपचार कक्षको श्ययामा रहनुभएका कराते खेलाडी ४३ वर्षीय बद्री खड्काले यसो भनिरहँदा उनको मुहार हसिलो देखिन्थ्यो । बूढानीलकण्ठ नगरपालिका– ११ कपन निवासी खड्काको जीवनमा विगत १३ वर्षदेखिको निराशा हटेपछि सिंगो परिवारमा खुशी छाएको छ । विसं २०६२ मा कलेजोमा समस्या देखेर उपत्यकाका नाम चलेका विभिन्न अस्पताल धाउँदाधाउँदा झण्डै रु ३० लाख सिद्धिएको बताउँदै उनले भन्नुभयो, “डाक्टरले कलेजोमा प्वालैप्वाल छ भन्थे, इन्फेक्सन हुनबाट जोगाउँन औषधि खाइरहेको थिएँ, कलेजो नफेरी हुँदैन भन्थे, त्यो अवसर बल्ल जु¥यो र बाँचे ।” ओम अस्पताल, वीर अस्पताल, नर्भिक अस्पताल, काठमाण्डौं मेडिकल कलेज हुँदै भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आएपछि गत असार १० गते कलेजो प्रत्यारोपण सफल भएसँगै उहाँले दोस्रो जुनी पाएका हुन् । “श्रीमतीको रेखदेख र औषधि खाएकै भरमा अहिलेसम्म बाँचेको हुँ, विसं २०६५ मा वीर अस्पतालका डाक्टरले खान मन लागेको जे खाए पनि हुन्छ खान दिनुस्, अब घर लानु पर्दैन, आर्यघाट लगेहुन्छ भने, त्यतिखेर मलाईभन्दा बढी गाह्रो मेरो श्रीमतीलाई भयो”, अस्पतालका डाक्टरले भनेका तितो अनुभव उनले सुनाए । विसं २०६० मा ललितपुर इमाडोलकी रुसा सुवेदीसँग मागी विवाह गरेका उनको १३ वर्षीया छोरी र नौ वर्षीय छोरा छन् । छोराछोरी सम्हाल्दै बिरामी श्रीमान्लाई विभिन्न अस्पताल पु¥याउँदै अन्तमा आफ्नै कलेजो दिएर बचाउँन सफल भएकी रुसाको हिम्मत र आँटले नै आफू बाँच्न सफल भएको खड्का बताए । उनले भने, “शरीर सबै सुन्नियो, पेट निकै ठूलो भयो, पटकपटक फोक्सोबाट पानी झिक्दा मलाई भएको पीडा देखेर श्रीमतीलाई पनि धेरै दुखेछ, मेरो पीडा उनलाई सहन गाह्रो भयो, त्यसैले उनले आफ्नै कलेजो दिने निर्णय गरिन् ।” नेपालमा कलेजो प्रत्यारोपण सेवा शुरु नभएकाले भारत जाने सल्लाह भए पनि भारतमा प्रत्यारोपणमै रु एक करोडभन्दा बढी लाग्ने र डिस्चार्ज भएर आउने बेलासम्म रु एक करोड ५० लाख खर्च हुने भएपछि भारत खड्का गएनन् । यस केन्द्रमा भने रु २० लाख जम्मा गरेकै भरमा सफल कलेजो प्रत्यारोपणसंगै उपचार सकिएको बताउँदै उनले नेपाल मै थोरै पैसाले प्रत्यारोपण गर्न सकिने हुँदा धेरैको ज्यान बाँच्ने र पैसाको बचत हुने बताए । डाक्टरमार्फत नै भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने थाहा पाएपछि केन्द्रमा आएर सबै जाँच गर्दा श्रीमतीको कलेजो प्रत्यारोपण गर्न मिल्ने भएपछि गत असार १० गते प्रत्यारोपण गरिएको हो । रुसाले भने, “अब त उनले घर मात्रै कुरिदिए पनि पुग्छ, अरु केही गर्नु पर्दैन, कमसेकम उनी भएपछि मेरो जीवन पूर्ण भएको छ, मेरो धेरै तनाव घटेको छ ।” सानैदेखि माछा मासु नखाने, मदिरा नपिउने भए पनि विसं २०५३ मा दुई पटक कमलपित्त भएको थियो । करातेका मास्टर र करातेका थ्री डनसमेत भइसकेको बद्रीको दुई वटा आफ्नै डोजो र विभिन्न विद्यालयमा सिकाउन जानुपर्ने हुँदा समयमै खाना खाने व्यवस्था नहुँदा धपेडीकै कारण कलेजो बिग्रिएको उनको भनाइ छ । केन्द्रका प्रमुख एवं निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म तीन वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको बताउँदै अब सातामा एउटा कलेजो प्रत्यारोपण गर्न सकिने अवस्थामा केन्द्र पुगेको बताए । भारतको दिल्लीस्थित म्याक्स अस्पतालका प्रा डा सुभास गुप्ताको नेतृत्वमा रहेको नौ सदस्यीय टोली र केन्द्रका डा श्रेष्ठको नेतृत्वमा रहेको १५ सदस्यीय टोलीले १४ घण्टा लगाएर खड्काको कलेजो प्रत्यारोपण गरेको हो । डा श्रेष्ठले भने, “हामीसँग जनशक्ति र प्रविधि तयारी अवस्थामा छ, अब बिरामी आए हरेक साता कलेजो प्रत्यारोपण गर्न सक्छौँ । केन्द्रले २० लाखमै कलेजो प्रत्यारोपण गर्न सक्छ, अब यसकै लागि भारत जानु पर्दैन ।” नेपालमा पहिलो पटक यही केन्द्रमा भक्तपुरका बलराम नागालाई उहाँकै दिदी सानुमाया लागेजुले कलेजो दिएका थिए भने दोस्रो पटक केन्द्रमै लगनखेलका ५७ वर्षीय हीराकाजी महर्जनको कलेजोको सफल प्रत्यारोपण गरिएको थियो । उहाँलाई छोरी सरिताले कलेजो दिएकी थिइन ।रासस
राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेको इन्स्योरेन्स लिमिटेड बीच बिहिबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा नेको इन्स्योरेन्सबाट गर्न सक्नेछन् । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा रुपैयाँ लगानी गरेको छ ।
सिजीको लक्की ड्र योजना अन्तर्गत दुई जना विजेताले पाए टिभी पुरस्कार
काठमाडौं । सिजीले आफ्नो योजना अनुरुप हिजो मात्र लक्की ड्र गरि दुई जना भाग्यसाली विजेताको नाम घोषणा गरेको छ । विजेता हुनेमा कटारीकी रोसनी कार्की र सुर्खेतकी खिमा गुरुङ रहेका छन् । विजेता कार्की र गुरुङले सिजीको आकर्षक टिभी पाउने कम्पनीले जनाएको छ । फेसबुक लाइभ गरि सम्पन्न गरिएको उक्त कार्यक्रममा सिजीका विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । सिजीले पहिले पनि दुई जना भाग्यसाली विजेता छानिसकेको थियो । यसैगरी, कम्पनीले चाडै नै आकर्षक योजना ल्याउने प्रतिवद्धता जनाएको छ ।
होण्डा, हिरो, केटिएमले गरे मूल्य समायोजन, बजाज, यामाहा र टिभिएस पर्ख र हेरको रणनीतिमा
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७५ मा मोटरसाइकललाई सडक निर्माण दस्तुर र अन्तशुल्क वृद्धि गरेपछि मोटरसाइकलहरुको मूल्य बढेको छ । चालु आर्थिक वर्षका लागि केहि कम्पनीहरुले मोटरसाइकलको मुल्य बढाइसकेका छन् भने केहि कम्पनीले बढाउने तयारी गरेका छन् । आर्थिक विधेयक २०७४ भन्दा २०७५ मा मोटरसाइकलको सीसी अनुसार सडक निर्माण दस्तुर र अन्तशुल्क कर बढाइएको छ । जसको असर स्वरुप मोटरसाइकलमा १ लाखसम्म मूल्य वृद्धि भएको छ । केटिएम ड्युक, हिरो होण्डा, होण्डा कम्पनीले मूल्य समायोजन गरी लागू गरिसकेका छन् भने बजाज, टिभिएस, यामाहा लगायात कम्पनीहरुले मूल्य समायोजन गरेका छैनन् । केटिएम ड्युक पछिल्लो समय नेपाली बजारमा आएको केटिएम ड्युक मोटरसाइकलको सबै उत्पादनमा मूल्य समायोजन गरेको छ । केटिएम मोटरसाइकलको ५ उत्पादनमा मूल्य समायोजन गरिएको छ । ड्युक २०० र २५०, २०० आरसी मा ३५ हजार ९ सय मूल्य बढेको छ भने ड्युक ३९० मा १ लाख बढेको छ । होण्डाको समायोजित मूल्य होण्डा यसैगरी, होण्डा मोटरसाइकलमा पनि मूल्य समायोजन भैसकेको छ । होण्डाको उत्पादन मध्ये पछिल्लो समय लोकप्रिय बनेको २ लाख ६५ हजारमा पाइने होर्नेट मोटरसाइकलको मूल्य २ लाख ९९ हजार पुर्याइएको छ । बजाज बजाज मोटरसाइकलले भने केहि दिनमा मूल्य समायोजन गर्ने जनाएको छ । कम्पनीको ब्राण्ड अफिसर डिजिटल मार्केटिङ प्रतिक उप्रेतिको अनुसार पहिले नै उत्पादन भएको मोटरसाइकल पुरानै मूल्यमा पाउने र नयाँ उत्पादन भई आएको मोटसाइकलमा भने समायोजित मूल्य लागू हुनेछ । यामाहा यामाहा मोटरसाइकल कम्पनीले पनि मूल्य समायोजन भै नसकेको व्यवस्थापक रमेश धनेखुले बताए । उनका अनुसार मूल्य समायोजन नभएकोले जुनसुकै सोरुमबाट पुरानै मूल्यमा मोटरसाइकल खरिद गर्न सकिनेछ । मूल्य समायोजन हुन बाँकी हिरो हिरो मोटरसाइकले पनि मूल्य समायोजन गरी लागू गरिसकेको मिडिया कोडिनेटर शितल दाहालले बताइन् । हिरोले आफ्नो उत्पादनको हिरो एक्स्ट्रिम, एक्स्ट्रिम स्पोर्ट, एक्स्ट्रिम २०० एस, करिज्मा आर, करिज्मा जेठएआरको मूल्य समायोजन गरी लागू गरेको छ । टिभिएस टिभिएस मोटरसाइकलले पनि मूल्य समायोजन गरी सकेको छैन । कम्पनीका मिडिया कोडिनेटर बिक्रम पौडेलका अनुसार केहि उत्पादनमा मूल्य समायोजन भएपनि पुर्ण समायोजन हुन बाँकी रहेको छ ।