एनआईसी एसिया ग्रोथ फण्डको सम्पत्ति १ करोड ४४ लाख बढ्यो
काठमाडौं । एनआईसी एसिया ग्रोथ फण्डको सम्पत्ति गत साउनमा बढेको छ । फण्डले बुधबार सार्वजनिक गरेको साउनको वित्तीय विवरणमा खुद सम्पत्ति १ करोड ४४ लाख रुपैयाँ बढेको देखाएको हो । गत साउनमा प्रतिईकाई खुद सम्पत्ति १७ पैसा बढेर १० रुपैयाँ १७ पैसा पुगेको छ । खुदसम्पत्ति ८३ करोड ५२ लाख रुपैयाँ रहेकोमा साउनमा बढेर ८४ करोड ९६ लाख रुपैयाँ पुगेको फण्डले जानकारी दिएको छ । फण्डले ५५ कम्पनीका ६ लाख १९ हजार ३६३ कित्ता सेयर र बैंकमा मुद्धति निक्षेपमा गरी ४४करोड ७० लाख रुपैयाँ लगानी गरेको जानकारी दिएको छ । यस्तै बैंकमा रहेको मौज्दात र अन्य सम्पत्ति गरी ४२ करोड ६५ लाख रुपैयाँ रहेको फण्डले जानकारी दिएको छ । फण्डमा एनआईसी एसिया बैंक कोष प्रवद्र्धक र एनआईसी एसिया क्यापिटल लिमिटेड कोष व्यवस्थापक रहेको छ । कोष गत फागुनदेखि सञ्चालनमा आएको हो । कोषको अवधि ७ वर्ष छ ।
सेयर बजार घट्दा पनि लक्ष्मी भ्यालु फण्डको सम्पत्ति ३ करोड ९२ लाख बढ्यो
काठमाडौं । सेयर बजार निरन्तर घटिरहेका बेला लक्ष्मी म्युचअल फण्ड अन्र्तगत सञ्चालित लक्ष्मी भ्यालु फण्ड १ को खुदसम्पत्ति बढेको छ । फण्डको प्रतिईकाई खुदमूल्य बढेपछि खुदसम्पत्तिमा वृद्धि भएको हो । प्रतिईकाई १० रुपैयाँ अंकित मूल्य रहेकोमा गत साउनमा बढेर १० रुपैयाँ ७८ पैसा पुगेको छ । ५० करोड रुपैयाँको भ्यालु फण्डको मूल्य बढेर ५३ करोड ९२ लाख रुपैयाँ पुगेको लक्ष्मी म्युचअल फण्डले जनाएको छ । यसअवधिमा भ्यालु फण्डको मूल्य ३ करोड ९२ लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । सेयरमा लगानी गरेर फाइदा कमाउदै आएका अन्य म्युचअल फण्डको मूल्य घटेका बेला लक्ष्मी भ्यालु फण्डको बढेको हो । फण्डले प्राथमिक र दोस्रो बजारमा गरी ३० करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । ३७ कम्पनीको सेयरमा फण्डको लगानी रहेको छ । फण्डको १३ करोड ९३ लाख रुपैयाँ बैंकमा मौज्दात, ९ करोड बैंकको मुद्धति निक्षेपमा लगानी रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
१० करोडसम्म कर्जा चाहियो ? जानुस प्रभु बैंकले ५ दिनमै दिन्छ
काठमाडौं । प्रभु बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्नका लागि प्रभु एसएमई योजनामार्फत १० करोड रुपैयाँसम्म कर्जा लगानी योजना ल्याएको हो । यस योजनाअन्र्तगत ९० प्रतिशतसम्म कर्जा सुविधा रहेकाे बैंकले जानकारी दिएकाे छ । बैंकका अनुसार न्युनतम ५ लाखदेखि कर्जा लगानी हुने छ । यो सेवा बैंकको सबै शाखाबाट पाइने व्यवस्था गरिएको छ । व्यापार, उद्योग, सेवा र कृषि क्षेत्रलाई लक्षित गरी कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।
बिजुलीको महशुल तिर्न अब विद्युत प्राधिकरण धाउनु नपर्ने , महालक्ष्मी विकास बैंकबाट दिन सकिने
काठमाडौं । महशुल तिर्न नेपाल विद्युत प्राधिकरण मै धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ । महालक्ष्मी विकास बैंकका सबै शाखाबाट बिजुलीको महशुल तिर्ने व्यवस्था गरेकाे छ । महालक्ष्मीले बिद्युत महशुल भुत्तानी सेवा सुरु गरेको जानकारी दिएकाे छ । जुनसुकै शाखा कार्यालयबाट विद्युत प्राधिकरणको बिजुली महशुल भुत्तानी हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । विद्युत प्राधिकरणको बिजुली महशुल भुत्तानी सेवा दिने महालक्ष्मी पहिलो र एक मात्र बैंक भएको छ । यस्तै महालक्ष्मी स्मार्ट एपमा पनि यो सेवा उपलब्ध रहेको बैंकले जनाएको छ । यसबाट विद्युत प्राधिकरण कार्यालयमा गएर बिजुलीको महशुल भुत्तानी र लामो लाइन बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ । यसबाट ग्राहको समयको बचत हुनुका साथै आफुलाई पायक पर्ने शाखाबाट बिजुलीको महशुल भुत्तानी गर्न सहज हुने छ ।
बिम्स्टेक मन्त्रीस्तरीय बैठक बस्दै, काठमाडौं घोषणापत्रलाई अन्तिम रुप दिने
काठमाडौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को १६औँ मन्त्रीस्तरीय बैठक बुधबार बिहान बस्दैछ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने उक्त बैठकमा सदस्य देशका परराष्ट्र/बाह्य मामिला/विदेशमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् । त्यसैगरी बिम्स्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण आजैको बैठकमा हुनेछ । बैठकमा बङ्गलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भि.के सिंहले गर्नेछन् । यसैगरी म्यान्माका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिनेछ । बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गर्नेछ। भुटानमा आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्थामा सचिव छोङलाई मन्त्रीस्तरीय बैठकमा सहभागिताको अख्तियारी प्रदान गरिएको हो । रासस
बिम्स्टेकमा ऊर्जा व्यापारमा समझदारी हुने, जल, हवाईमार्ग र अप्टिकल फाइबरबाट सबै देश जोडिने
सन् २०१६ मा सम्पन्न विम्स्टेक सम्मेलन काठमाडौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । राजधानीमा आज सम्पन्न बिम्स्टेक मुलुकका वरिष्ठ पदाधिकारीको १९औँ बैठकले ऊर्जाको क्षेत्रमा सदस्य मुलुकबीच सहायता अभिवृद्धि गर्न त्यस्तो समझदारीपत्रमा हस्ताक्षरका लागि शिखर सम्मेलनमा सिफारिस गरेको हो । बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको आगामी बिहीबार र शुक्रबार काठमाडौँमा हुने शिखर बैठकमा उक्त समझदारीपत्रमा हस्ताक्षर हुनेछ । आजको बैठकमा बिम्स्टेकअन्तर्गतका सहयोगलाई थप प्रभावकारी बनाउने तथा सङ्गठनलाई व्यावहारिक बनाउनेबारेमा गहन छलफल हुनका साथै बिस्टेकको प्रभावकारिताका निम्ति बिम्स्टेक विकास कोष स्थापनाको संभाव्यता, सदस्य देशको सुझावअनुरुप विद्यमान १४ सहायताका क्षेत्रको तार्किक व्यवस्थापन एवम् पुनर्गठन तथा मूलभूत प्राथमिकताका क्षेत्रको पहिचानबारे ठोस छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । क्षेत्रीय सहयोगको वास्तविक भावनाअनुसार सौहार्दपूर्ण वातावरणमा भएको सदस्य देशका परराष्ट्र सचिवहरूको बैठकमा सङ्गठनका निर्णय कार्यान्वयनका निम्ति सदस्य राष्ट्रलाई सघाउने गरी बिम्स्टेक सचिवालयलाई सुदृढ तुल्याउने, सङ्गठनको बडापत्र बनाउन प्रारम्भिक चरणका कार्यसम्पादन गर्ने तथा बिम्स्टेक संयन्त्रका कार्यविधि र प्रक्रियाका सम्बन्धमा व्यापक विचारविमर्श भएको जानकारी उनले दिए । बैठकमा महासचिवको प्रतिवेदनमा विवेचन गर्दै त्यसकै आधारमा संगठनमा भएको समझदारीअनुरुपका सहयोगका क्षेत्रको प्रगति भएको थियो । बिम्स्टेकलाई थप प्रभावकारी एवं परिणाममुखी तुल्याउनुपर्नेमा सहभागी सबैले जोड दिँदै हालसम्म सचिवालयले गरेको कामप्रति बैठकले कृतज्ञता व्यक्त गरेको छ । त्यसैगरी आजको बैठकले भन्सारसम्बन्धी सहायता, सम्पर्क र सम्बन्ध विस्तार, प्रविधि, प्रतिआतंकवाद अन्तर्राष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्य र सचिवलायको सुदृढीकरण र त्यसको बजेट अनुमोदन गरेको छ । साथै बैठकले व्यापार तथा लगानी, यातायात तथा सञ्चार, प्रविधिलगायत १४ वटा विज्ञ समूह एवम् संयन्त्रका प्रतिवेदन पनि अनुमोदन गरेको जानकारी प्रवक्ता पौड्यालले दिए । ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउने, सबै सदस्य राष्ट्रलाई सतह, जल र हवाईमार्ग तथा अप्टिकल फाइबरबाट जोड्ने, बिम्स्टेक क्षेत्रमा व्यापार विस्तारलाई बढावा दिने उपाय अवलम्बन, समग्र बिम्स्टेक क्षेत्रलाई शान्ति, समृिद्ध र दिगोपनातर्फ उन्मुख गराउने तथा गरीबी हटाउने विषयलाई पनि बैठकले उच्च प्राथमिकता दिएको एकजना सहभागीले बताए । बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतङ्कवाद, गरीबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमध्ये केहीलाई घटाउने र कुनैलाई अर्को कुनै सहायताको क्षेत्रमा विलय गर्ने, पर्वतीय अर्थतन्त्र र तटीय क्षेत्रका जनताको जीवनलाई पनि सहज र समृद्ध तुल्याउन अपनाउनुपर्ने उपायबारे पनि बैठकमा विचारविमर्श भएको थियो । चौथो शिखर सम्मेलनको तयारी, काठमाडौँ घोषणापत्रको अन्तर्वस्तु तथा त्यसको मस्यौदालाई अन्तिम रूप दिने र शिखर सम्मेलनलाई सफल तुल्याउने विषयमा नै केन्द्रित भएर सघन छलफल भएको थियो । रासस
सगरमाथा सिमेन्ट गुणस्तरहिन, दाङकाे उद्योग र देशभर बिक्री वितरण बन्द
काठमाडौं । घोराही सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको सगरमाथा सिमेन्ट गुणस्तरहिन भेटिएको छ । प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहिन भेटिएपछि गुणस्तर तथा नाप तौल विभागले देशभर सगरमाथा सिमेन्ट बिक्री वितरणमा रोक लगाएको छ । दाङ जिल्लामा रहेको यस उद्योगको उत्पादन पनि बन्द गरिएको छ । सगरमाथा सिमेन्ट उत्पादनमा प्रयोग भएको केमिकल र फिजिकल (क्लिङकर) दुबै कच्चा पदार्थ गुणस्तरहिन पाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । कम्पनीको उत्पादन गुणस्तरहिन भेटिएपछि सर्वसाधारण उपभोक्ताको हितलाई ध्यानमा राखेर तत्काल देशभर सगरमाथा सिमेन्टको बिक्री वितरण रोक लगाइएको उनले जानकारी दिए । कम्पनीका जनसम्पर्क अधिकृत अमर सुवेदीले सगरमाथा सिमेन्टको ओपीसी प्रडक्टमा ओजीएम तोकिएको मापदण्ड भन्दा बढी भएको जनाउँदै गुणस्तर विभागले बिक्री वितरण बन्द गर्न निर्देशन दिएको बताए । ‘ओएमजी ५ प्रतिशत हुनु पर्नेमा सगरमाथामा ५ दशमलव ५ देखियो । त्यसैका आधारमा बिक्री वितरण रोक्न निर्देशन आएको छ’ सुवेदीले भने । विभागको निर्देशन अनुसार विगत एक महिनादेखि बिक्री विरतरण बन्द रहेको उनले बताए । ‘हामीले गुणस्तरको पुनः जाँच गर्न विभागलाई अनुरोध गरेका छौं’ उनले भने–‘गुणस्तरले अनुमति दियो भने आगामी सातादेखि बिक्री वितरण थाल्ने छौं ।’ गत असारमा जिल्ला प्रशासन कार्यालय बर्दियाले बजार अनुगमन गर्ने क्रममा सगरमाथा सिमेन्टको नमुना गुणस्तर तथा नाप तौल जाँच पठाएकाे थियाे । त्यसमा गुणस्तर तथा नाप तौल विभागले थप चेकजाँच गर्दा गुणस्तरहित भेटिएकाे थियाे । पछिल्लो समय सगरमाथा सिमेन्टको विभिन्न ५ स्थानबाट नमूना संकलन गरी फेरि गुणस्तर जाँच भईरहेको महानिर्देशक पुडासैनीले बताए । ‘यसै हप्ता थप परिक्षणको रिपोर्ट आउन सक्छ । सोही आधारमा कम्पनीमाथि आवश्यक कारवाही हुन्छ’ पुडासैनीले भने । उक्त उद्योगलाई कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाए ऐन, २०३२ अन्र्तगत कारवाही हुन सक्ने छ । यसअघि २०७३ माघ र २०७२ चैत महिनामा पनि सगरमाथा ब्राण्डको ओपीसी सिमेन्ट गुणस्तरहिन भेटिएको थियो । त्यतिबेला ओपीसी सिमेन्टको गुणस्तर पीपीसी सरह भेटिएको थियो । पीपीसी सिमेन्ट प्लास्टर गर्न, फ्लोरिङ गर्न, साधारण प्रकारको कंक्रिट सामाग्री निर्माण गर्न प्रयोग हुन्छ । ओपीसी सिमेन्ट पिल्लर निर्माण गर्न, ढलान गर्न, पुल बनाउन, जलविद्युत गृह निर्माण गर्न तथा बलिया कंक्रिट निर्माण गर्न प्रयोग हुन्छ । घोराही सिमेन्ट उद्योगले सगरमाथा, विश्वकर्मा, श्रीपशुपति, कपिलवस्तु ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । यो उद्योगमा संघाई ग्रुप र विशाल ग्रुपको संयुक्त लगानी रहेको छ ।
एनसीसी बैंकले कर्मचारीलाई वार्षिक ५० लाख रुपैयाँको तालिम दिने
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) बाट न्युनतम ५० लाख रुपैयाँ बराबरको वार्षिक तालिम संचालन गराउने भएको छ । एनसीसी बैंक र एनबीआईबीच उक्त तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धि सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुसार एनबीआईले एनसीसी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।