विकासन्युज

विद्युत प्राधिकरणमा नयाँ व्यवस्था, सरुवा भएपछि मोवाइल नम्बर बुझाउनु पर्ने

काठमाडौ । कर्मचारीलाई अनिवार्य हाजिर गर्ने व्यवस्था गरेको नेपाल विद्युत् प्राधिकरणले संस्थाको मोवाइल जथाभावी प्रयोग गर्न बन्देज लगाएको छ । आन्तरिक व्यवस्थापन प्रणाली सुधार गर्न सूचना तथा सञ्चार प्रणालीलाई थप व्यवस्थित बनाउन एकै प्रकृतिको नम्बर सञ्चालनमा ल्याउन मातहतका कार्यालयलाई निर्देशन दिएको छ । पहिलो चरणमा प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय, प्रसारण निर्देशनालय र उत्पादन निर्देशनालयलाई निश्चित मोबाइल नम्बर सञ्चालनमा ल्याउन निर्देशन दिएको हो । यही असोज १७ गते प्राधिकरण कार्यकारी निर्देशकस्तरीय निर्णयका आधारमा निश्चित मोबाइल नम्बर सञ्चालनमा ल्याई सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन भनिएको छ । प्राधिकरणको निर्देशनमा भनिएको छ, “निश्चित मोबाइल नम्बर रहने गरी र सोको प्रयोग कार्यालय प्रमुखले गर्ने, यदि कार्यालय प्रमुख सरुवा भई गएमा वा जिम्मेवारीबाट हटेमा अर्को कार्यालय प्रमुखले जिम्मेवारी सम्हालेको अवस्थामा समेत सोही नम्बर कायम रहनेछ ।” कार्यालय प्रमुख फेरिँदा सेवाग्राहीले सहजरुपमा सम्पर्क गर्न नपाएको र सेवा प्रवाहमा समेत कठिनाइ भएपछि प्राधिकरणले उक्त निर्देशन दिएको हो । प्राधिकरणमा वितरण तथा ग्राहक सेवगा निर्देशनालय उपभोक्तासँग प्रत्यक्ष जोडिएको निकाय भएकाले पनि सेवाग्राहीको गुनासो सुन्ने, समस्या समाधान गर्न २४सै घण्टा क्रियाशिल रहनुपर्दछ । त्यस्तै सम्पूर्ण प्रसारण प्रणालीको जानकारी प्रसारण निर्देशनालय तथा आयोजनाको समग्र अवस्थाका बारेमा सरोकार राख्ने निकायका रुपमा उत्पादन निर्देशनालयलाई लिइन्छ । प्राधिकरणका निर्देशक लोकेन्द्रबहादुर थापाका अनुसार वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका सबै क्षेत्रीय कार्यालय तथा वितरण केन्द्र, प्रसारण निर्देशनालयअन्तर्गतका ग्रीड विभाग तथा ग्रीड महाशाखा र उत्पादन निर्देशनालय अन्तर्गतका सबै उत्पादन केन्द्रका प्रमुखले दीर्घकालीन उद्देश्यलाई केन्द्रमा राखी एउटै मोबाइल नम्बर सञ्चालन ल्याउनुपर्नेछ । प्राधिकरणले यसअघि कार्यरत टे«ड युनियनका पदाधिकारीलाई कार्यालय समयमा आउँदा वा जाँदा अनिवार्यरुपमा हाजिर गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेको थियो । कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक, निर्देशक सबैले अनिवार्यरुपमा दैनिक दुई पटक हाजिर गर्नुपर्ने व्यवस्था लागू गरिएको थियो । विद्युत्भार कटौतीको अन्त्यपछि प्राधिकरण आन्तरिक व्यवस्थापन सुधार, चुहावट नियन्त्रणको काममा केन्द्रित भएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई पूर्णरुपमा व्यावसायिक र मर्यादित एवं अनुशासित संस्थाका रुपमा विकास गर्न लागिपरेको जानकारी दिए। रासस

रौतहटको कार्यक्रममा प्रचण्ड-माधव नेपाल एउटै मञ्चमा, देश बनाउने उद्घोष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रौतहट-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालले देश बनाउने उद्घोष गरेका छन् । मञ्चले विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रममा एउटै मञ्चमा उभिएर नेकपा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले देश बनाउने संकल्प गरेका हुन् । उनीहरुले नेकपा बाहेक अन्य दलको नेतृत्वमा देश विकास सम्भव नभएको बताउँदै जनताको चाहना अनुसार विकास र समृद्धिको सपना पुरा गर्न पनि आन्तरिक एकता अनिवार्य रहेको धारणा राखेका थिए । दुबै नेताले देश विकासका लागि सरकारलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा पनि जोड दिएका थिए । कार्यक्रममा नेकपाका महासचिव बिष्णु पौडेलले भने सरकारले राम्रो काम गरिरहेको दावी पेश गरे । उनले सरकारको गतिलाई भने बढाउनुपर्ने आवश्यकता औल्याएका थिए । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री प्रभु शाहले रौतहटलाई विकास र प्रगतिका हिसाबले एक नम्बरको जिल्ला बनाउने अठोट गरेका थिए । नेकपा केन्द्रिय सदस्य तथा सांसद सरला यादवले पनि जिल्लाको विकास निर्माणमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरिन् । शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा संसदको विकास समितिकी सभापति कल्याणी खड्का, केन्द्रिय सदस्य डा. बंशीधर मिश्र, समिर भट्टराई, लालबाबु यादव लगायतको सहभागीता रहेको छ ।

चिन्नुहोस बजारलाई प्रभाव पार्ने १० ठुला कम्पनी, सेयर मूल्य घट्दा पनि उत्कृष्ठ बने

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले धितोपत्र कारोबारका आधारमा १० उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पहिलो नम्बरमा परेको छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य १ खर्ब १४ अर्ब ३० करोड रुपैयाँ छ । यस्तै दोस्रोमा नविल बैंक रहेको छ । सो बैंकको ७५ अर्ब ८८ करोड  रुपैयाँ बराबरको बजार पूँजीकरण मूल्य छ । तेस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक परेको नेप्सेले जनाएको छ । सो बैंकको ६८ अर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण मूल्य छ ।चौथोमा स्ट्यान्डर्ड चार्टड बैंक रहेको छ । त्यसको ५५ अर्ब २७ करोड, पाँचौँमा रहेको एभरेष्ट बैंकको ५० अर्ब ६४ करोड ९५ लाख रुपैयाँ बजार पूँजीकरण छ ।   यस्तै हिमालयन बैंकको ४३ अर्ब ८१ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ४१ अर्ब, नेपाल एसबीआई बैंकको ३९ अर्ब ५९ करोड, एनआइसी एसिया बैंकको ३४ अर्ब १३ करोड र एनएमबी बैंकको ३० अर्ब ६० करोड रुपैयाँ बजार पूँजीकरण छ । स्टकले यही असोज १२ गतेदेखि असोज १८ गतेसम्मको सेयर मूल्यका आधारमा उत्कृष्ट १० कम्पनी छनोट गरेको हो । सेयर बजारमा गिरावट आए पनि केही कम्पनीको सेयर मूल्य भने तुलनात्मकरुपमा घटेको छैन । यस्तै पछिल्लो एक साताको सेयर कारोबारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको ४ लाख ६१ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । यस्तै प्रभु बैंक, माछापुछे« बैंक, ग्लोबल आइएमइ बैंक, एनएमबी बैंक, मेगा बैंक, कुमारी बैंक, जनता बैंक, सिभिल बैंक र एनआइसी एशिया बैंकको सेयर कारोबारमा समेत उत्कृष्ट दश कम्पनीमा पर्न सफल भएका छन् ।   स्टकका अनुसार प्रभु बैंकको ९७८ कित्ता एनएमबी बैंकको ९२७, मेगा बैंकको ८९५ कित्ता, कुमारी बैंकको ७८४, एनआइसी एशिया बैंकको ७७१ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंक ७५१ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सेको ६५५ कित्ता, जनता बैंकको ६५१ कित्ता, सिभिल बैंकको ६०७ कित्ता र स्ट्यान्डर्ड चार्टड बैंकको ५८२ कित्ता सेयर कारोवार भएको छ । रासस

वायुसेवा निगमले लुक्लामा एकै दिन ३ उडान गर्यो

काठमाडौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा सेवा विस्तारलाई तीव्रता दिएको छ । व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउन लागेको हो । निगमले आज बिहानै लुक्लामा तीन उडान भरेको छ । निगमका प्रवक्ता अशोक सिग्देलले चीनबाट ल्याइएको वाई–१२ ई विमानबाट लुक्लामा व्यावसायिक उडान भरिएको जानकारी दिए ।आज लुक्लाका लागि चार उडान तालिका राखिए पनि मौसमको खराबीले तीन मात्र उडान गरिएको उनले बताए । यो उडानलाई निगमको इतिहासकै ठूलो उपलब्धि मानिएको छ । यसअघि निगमको ट्वीनअटर विमानले बेलाबखत मात्र लुक्लामा उडान गर्ने गर्दथ्यो । पर्यटकीय मुख्ययाम शुरु भएको र लुक्लामा विदेशी पर्यटकको चाप हुने भएकाले पनि निगमले यो गन्तव्यलाई प्राथमिकता दिएको जनाएको छ । लुक्लासँगै डोल्पा, सिमिकोट, ताल्चा, जुम्ला, जोमसोमलगायत क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको प्रवक्ता सिग्देलले जानकारी दिए । करीब २० वटा गन्तव्यमा आन्तरिक उडान भर्दै आएको निगमसँग हाल–दुई ग्राउण्डेड० सहित चार वाई–१२, एक एमए–६०, दुई टुइनअटरलगायत नौ वटा विमान छन् । अन्तर्राष्ट्रियतर्फ हाल भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई, हङ्कङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५, एक वाइड बडी ए ३३०–२०० र एयरबस ३२० सिरिजको दुई विमानबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । रासस

व्यवसायी कर्ण शाक्य भन्छन् : मसँग अहिले तत्काल ४ करोडको चेक लेख्नै हैसियत छैन

काठमाडौं । ‘म रैथाने श्रमजीवी उद्यमी हुँ, काम नगरी बस्नै सक्दिन, काम नगर्ने हो भने ८० वर्षअघि नै म बाँच्दिन’ यो भनाइ हो, ७६ वर्षीय वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य । उमेरले नेटो काटे पनि श्रम गर्ने जोशले छेकेको छैन शाक्यलाई । ‘म यहाँ पेन्टिङ गर्न आएको हुँ, ‘आइ एम अ अल्सो पेन्टर’ चरा र प्रकृतिको चित्र कोर्दै गरेका शाक्यले भने । शाक्यको श्रम अनुकरणीय छ । यो उमेरमा पनि उहाँ ७७ जिल्लाका गाउँगाउँमा घुमिरहन्छन् । “महिनाको तीन पटक गाउँ जान्छु । अहिले पनि म परिवारसँग हिँडे भने कसैले भेट्न सक्दैन । पहिला ठमेल सिर्जना भो, त्यसपछि झमेल स्थापना भयो र यो ठाउँलाई बूढानील भनेर नामाकरण गर्ने प्रयास गरेको छु रेस्टुराँको नाम नै बूढानील राखिएको छ,”–शाक्यले भने । ‘सफलता उचाइबाट नाप्ने हैन लम्बाइबाट नाप्ने हो’ सफलताको शिखरतर्फ उन्मुख व्यवसायी शाक्यको विचारमा कतिवटा होटल छ, त्यो मुख्य कुरा होइन । कति तलाको घर छ, बैंकमा कति सञ्चय छ, त्यो ठूलो कुरा छैन तर आफूले शुरु गरेको उद्योग भावी पुस्ता छोरा र नातिले चलाउन सक्छन् की सक्दैनन् भन्ने चिन्ता छ । व्यापारमा विश्वास नभए सफलतामा पुग्न कठिनाइ हुन्छ । सबैथोक मैले नै गर्छु भन्ने सोचले कहिल्यै उँभो लागिंदैन । शाक्य भन्छन्,“मसँग अहिले तत्कालै ४ करोड रुपैयाँको चेक लेख्नै हैसियत छैन । छ मसँग जग्गा जमीन । अहिले ३० करोडको चेक सुपारी चपाउँदाचपाउँदै लेख्ने मान्छे पनि छन्, तर मसँग त्यो पैसा छैन । श्रम छ वस् श्रमजीवी छ । म काठमाडौँको रैथाने श्रमजीवी उद्यमी हु ।” पार्क भिलेजलाई ‘फुड डेस्टिनेसन’ को रुपमा विकास गर्न उद्देश्यका साथ जापानी खाना र नेवारी परिकारको रेस्टुराँ शुरु गरिएको उनले सुनाए। अहिले शाक्यसहितका व्यवसायीको अगुवाइमा नेपाली रैथाने खानाको विश्वव्यापी प्रचार अभियानअन्तर्गत संसारका १०० भन्दा बढी मुलुकमा रैथाने खानाको प्रचार भइरहेको छ । सरकारी जागिर छोडेर होटल शाक्य सन् १९६८ मा वन विभागमा जागिरे थिए। तत्कालीन पञ्चायत व्यवस्थाका कारण जागिर चटक्कै छोडे । त्यसैबेला सोच आयो अब म होटेल खोल्छु । कस्तो होटल ठमेलमा बगैँचा नभएकाले प्रकृतिप्रेमीका निम्ति बस्ने खालको होटल बनाउँछु, भन्ने सोचको जन्म भयो । सोही सोचले सन् १९६९ मा काठमाडौँ गेस्ट हाउसको जन्म भयो । केजिएच ग्रुपले दुईटा काम गर्छ, एउटा कर्णज ग्रुप अफ होटल र अर्को सबैभन्दा पुरानो काठमाडौँ गेष्ट हाउस । यो दुईको सम्मीश्रणबाट केजिएच ग्रुपको ५० वर्ष पूरा भयो । शाक्यले बूडानीलकण्ठस्थितसँगै शिवपुरी राष्ट्रिय निकुञ्ज जोडिएको ७० हजारमा किनेको जग्गा आज ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ । शिवपुरी निकुञ्ज संसारमै एउटै मात्र निकुञ्ज हो, जुन राजधानीभित्र पर्छ । देशमा ८१७ प्रजातिका चराचुरुङ्गी छन् तीमध्ये यो निकुञ्जमा ३४२ प्रजाति चराचुरुङ्गी पाइन्छ । हरियाली कायम गर्न शाक्यले होटल परिसरमा आफैँले चार हजार बिरुवा रोपेको स्मरण गराए । पाँचवटा अन्तर्राष्ट्रिय अवार्ड होटल क्षेत्रमा महत्वपूर्ण योगदान गरेको गेष्ट हाउस (केजीएच) समूहले स्थापनाको ५०औँं वर्ष पूरा गरेको छ । उक्त समूहले हालै पाँचवटा अन्तर्राष्ट्रिय पुरस्कारसमेत हात पारेको छ । भारतको मुम्बईमा आयोजित साउथ एशियन ट्राभल अवार्डमा केजीएचले विभिन्न पाँच विधामा पुरस्कार जितेको हो । यो समूहले ‘बेष्ट हेरिटेज होटल इन नेपाल’, ‘बेष्ट बुटिक होटल इन नेपाल’, ‘बेष्ट सीएसआर होटल इन नेपाल’, ‘बेष्ट लिडिङ कन्फ्रेन्स होटल इन नेपाल’ र ‘बेष्ट रोमान्टिक होटल इन नेपाल’ गरी पाँच विधामा अवार्ड प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ । सन् १९६८ मा काठमाडौँ गेष्ट हाउसबाट होटल व्यवसाय शुरू गरेको केजीएजले हाल काठमाडौँको ठमेलमा काठमाडौँ गेष्ट हाउस, बूढानीलकण्ठमा पार्क भिलेज होटल तथा रिसोर्ट, नक्सालमा माया म्यानोर बुटिक होटल, पोखरामा हिमालयन फ्रण्ट होटल र वाटरफ्रण्ट रिसोर्ट, लुम्बिनीमा बुद्धमाया गार्डेन होटल तथा चितवन राष्ट्रिय निकुञ्जमा मारुणी सेञ्चुरी लज गरी सातवटा होटल लज तथा रिसोर्ट सञ्चालन गरिरहेको छ । यो समूहको होटलमा अहिले करीब ८०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । केजीएच समूहका अध्यक्ष सुनील शाक्यले मुलुकको पर्यटन विकासका लागि विभिन्न कठिनाइबीच पनि लगानी अभिवृद्धिको नीति लिएको बताए । पार्क भिलेजमा जापानी रेष्टुराँसँगको सहकार्यमा जापानी खाद्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्न थालेको यो समूहले हालै नेवारी किचेन सञ्चालनमा ल्याएको छ । शिक्षण होटलको रूपमा विकास गरिँदै होटल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पार्क भिलेज होटलमा ‘रेसिडेन्सी होटल तालीम सेन्टर’ सञ्चालनमा ल्याइएको छ । होटल व्यवसायमा देखिएको दक्ष कामदारको अभाव पूर्ति गर्न शिक्षण थलोको होटलका रूपमा विकास गर्दै गएको केजीएच समूहका अध्यक्ष शाक्यले उल्लेख गरे । होटलमा देखिएको जनशक्ति अभाव पूर्ति गर्न विगत सात÷आठ महीनादेखि होटल एकेडेमी सञ्चालन गरेको केजीएच समूहका मुख्य सञ्चालन अधिकृत सञ्जीव थापाले जानकारी दिए।

चन्द्रागिरि हिल्सलाई उत्कृष्ट गन्तव्य पुरस्कार

काठमाडौ । चन्द्रागिरि हिल्स लिमिटेडलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा उक्त चन्द्रागिरीलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो । चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री के जे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो पुरस्कार प्रदान गरे। भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले वर्षेनी ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ । चन्द्रागिरि हिल्स पछिल्लो समयमा नेपालको मात्र नभएर भारतीय पर्यटकहरुमाझ पनि लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बनेकाले अन्तर्राष्ट्रिय स्तरको सो पुरस्कार प्रदान गरिएको उक्त पब्लिकेसनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो कार्यक्रममा भारत र अरु देशका पनि केही उत्कृष्ट गन्तव्य र सेवा क्षेत्रहरुलाई पुरस्कृत गरिएको थियो । काठमाडौँमा पशुपतिनाथको दर्शनका लागि वर्षेनी हजारौँको सङ्ख्यामा आउने भारतीय पर्यटक चन्द्रागिरिमा भालेश्वर महादेवको दर्शनका लागि पनि जाने गरेका उक्त प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाहले जानकारी दिए। सो पुरस्कार प्राप्त गरेपछि उक्त प्रालिका अध्यक्ष ढकालले यस पुरस्कारबाट नेपालका राम्रा पर्यटकीय गन्तव्यहरुको भारत र अन्य देशमा पनि पहिचान र प्रचार हुन पुगेको बताउँदै यसले देशमा पर्यटन क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले चन्द्रागिरिलाई गरिएको यो सम्मानले नेपालमा मुक्तिनाथ, जानकी, मौलाकालिकाजस्ता अरु पनि कैयौँ हिन्दू तीर्थस्थलहरुमा पनि उत्कृष्ट धार्मिक पर्यटनको विकासका लागि पनि आधार बन्नुपर्छ भन्ने सन्देश मिलेको बताए । नेपालको राजनीतिक, सांस्कृतिक र धार्मिक हिसाबले ऐतिहासिक मानिने चन्द्रागिरि हिल्समा केबल कार निर्माण गरी २०७३ साउन २६ गतेबाट सेवा शुरु गरिएको हो । त्यसयता हरेक दिन २ हजारदेखि २ हजार २००को सङ्ख्यामा पर्यटक त्यहाँ पुग्ने गरेका छन् । चन्द्रागिरि हिल्स प्रालिका जनसम्पर्क प्रमुख राजु पौडेलका अनुसार उक्त हिल्समा केबल कार चढेर गतवर्षसम्म करिब साढे सात लाख पर्यटक पुगेका थिए । रासस –––

डोल्पा–जाजरकोट सडक ट्र्याक खुल्यो, दुनैसम्म मोटर सञ्चालनमा

जाजरकोट । जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ ।धाउनी–फूलपानी सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ । तरपरे भीर खण्डको ट्र्याक खोलेर ढुवानीको साधन ट्याक्टर सञ्चालनमा आएपछि धाउने र फूलपानीका बासिन्दाले पूजाआजा गरेर सडकमै नाँचगान गरी हर्ष मनाएका छन् । सडक नपुग्दा यातायातका साधन नचलेपछि पीडा तथा अभावमा पिल्सिएर बसेका डोल्पालीको वर्षौदेखिकोे सडक सपना पूरा भएको छ । निर्माणाधिन सडक जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ मा पर्ने अन्तिम कडा चट्टानको रूपमा रहेको ५०० मिटरको तरपरे भीर खण्डको ट्र्याक खोल्ने काम सम्पन्न गरेसँगै डोल्पालीको वर्षौदेखिको सडकको सपना पूरा भएको हो । तरपरे भीरको ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । ट्र्याक खोल्ने कार्य सम्पन्न गरेर डोल्पाको खदाङदेखि चुँगाडसम्म सिधा ढुवानी साधनको रूपमा ट्याक्टर सञ्चालनमा ल्याइएको नेपाल सेना निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले बताए । सदरमुकाम दुनै, विमानस्थल जुफाल र त्रिपुराकोटको सुँपानीसम्म यसअघि नै आन्तरिक यातायातको रूपमा हेलिकप्टरबाट ल्याइएका जीप तथा ट्याक्टर सञ्चालनमै आइसकेको छ । त्रिपुरासुन्दरी नगरपालिका–९ मा पर्ने फुलपानी र धाउन्ने बस्तीका बासिन्दाले आफ्नो घरआँगनमा पुगेको ट्याक्टर र जाजरकोट–डोल्पा मोटरबाटो निमार्णमा संलग्न नेपाली सेनालाई फूलमाला पहि¥याएर भव्य स्वागत गरेका छन् । जाजरकोट–डोल्पा नाम दिइएको भेरी करिडोर पहिलो चरणको निर्माण कार्यअन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पा दुनैसम्मको ११७ किमी सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको नेपाली सेनाको जाजरकोट–डोल्पा मोटरबाटो निमार्ण कार्यदलका प्रमुख पहाडीले बताए । सडक पुगे पनि पुल बाधक यस सडक खण्डको निर्माण कार्य पूरा भए पनि पुल अभावमा समस्या हुने देखिएको छ । करीब पाँचभन्दा बढी ठूला र अन्य साना पुल निर्माण नभएसम्म यस सडक खण्डमा स्थानीयवासीले सहजै यात्रा गर्न सक्ने अवस्था नहुने देखिन्छ । जाजरकोटको दल्ली, कालीमाटीबीच नलगाड नदीमा पुल, रुकुमको राडी र जाजरकोटको मन्मै बीचमा रहेको भेरी पुल, जाजरकोट तल्लु र रुकुम छरेवग्रीबीचको भेरी नदीको पुल, डोल्पाको खदाङमा भेरी नदीको पुल, त्रिपुराकोट जुफाल जोड्ने भेरी नदीको पुल निर्माण कार्य शुरु नै भएको छैन । अब माथिल्लो डोल्पाको तेन्जे र मरिम्लाका लागि सडक निर्माण हुने सांसद सत्य पहाडीले बताए। बजेट विनियोजन भइसकेकाले माथिल्लो डोल्पाको काम शुरु हुने उनको भनाइ छ । रासस

एनआईसी एशियाको निक्षेप १६५ अर्ब पुग्यो, निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक बर्षको पहिलो त्रैमासमा १४ अर्ब रुपैयाँ निक्षेप बढाएको छ । बैंकको निक्षेप परिचालन बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म बैंकको निक्षेप १ खर्ब ५१ अर्ब रुपैयाँ थियो । यो वृद्धिसँगै बैंक निक्षेप परिचालनमा निजी क्षेत्रको सबैभन्दा ठुलो कायमै छ । गत आर्थिक बर्षको अन्तिममा समेत सो बैंक सबैभन्दा बढी निक्षेप परिचालन गर्ने बैंक बनेको थियो । यस्तै, बैंकको कर्जा लगानीमा पनि विस्तार भई १ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जानकारी दिए । निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक भएको उनले दावी गरे । बैंकको वासलातको आकार पनि बढेर २ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । ग्राहक संख्या १२ लाख १९ हजार पुगेको बैंकले जनाएको छ । बैंकको मुलुकभर २५६ शाखा कार्यालय, २४९ एटीएम, २२ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको उनको दावी छ । हालसम्मग्राहकको बढेर १२ लाख १९ हजार रहेको छ । १५ महिनाको अवधिमा बैंकले झण्डै ८० अर्ब रुपैयाँ निक्षेप परिचालन बढाएको छ । आक्रामक रुपमा बजारमा विस्तारमा गएपछि बैंकको निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको हो ।