विकासन्युज

जयनगर-जनकपुर रेलः मंसिरमा मोदी चढेर आउने, बर्दिबास-निजगढ पनि अघि बढ्यो

काठमाडौं । जयनगर–जनकपुर रेल मंसिर देखि सञ्चालनमा आउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित नेपाल भ्रमणका क्रममा जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म निर्माण गरिएको ३४ किलोमिटर लामो रेल उद्घाटन गर्न लागिएको हो । रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारका अनुसार आगामी डिसेम्बर(मंसिर)महिनाभित्र सो रेल सेवा सञ्चालनमा ल्याउने तयारी भैरहेको छ । नेपाल र भारतबीच वेट लिजमा सो रेल सेवा सञ्चालन गर्ने सहमति भैसकेको छ । भारतीय रेल सेवा निगमले रेलका इञ्जिन, चालक र प्राबिधिक उपलब्ध गराउनेछ । भारतीय जनशक्तिसँगै नेपाली जनशक्ति पनि रेल सञ्चालनमा खटिनेछन र नेपालीहरुले रेल सञ्चालनको ज्ञान प्राप्त गरिसकेपछि आफैं सञ्चालन गर्नेछ । जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म रेल मार्गको लिक समेत निर्माण सम्पन्न भैसकेको छ । नेपालमा निर्माण भएको रेल वे नेटवर्क ब्रोडगेजको हो । ६ वटासम्म डब्बा तान्न सक्ने चार वटा इञ्जिन राख्ने तयारी भैरहेको छ । भारत सरकारले १० अर्ब लागतमा जयनगरदेखि बर्दिबाससम्मको ६९ किलोमिटर रेल निर्माण गरिदिने सम्झौता भएको थियो । सोमध्ये ३४ किलोमिटरमा रेल गुडाउने तयारी अन्तिम चरणमा पुगेको हो । बर्दिबास–निजगढमा पुल कालिञ्जोर र फुल्चोर खोलामा पुल निर्माण गरिरहेको रेल बिभागले पौराही खोला, साथीहरी खोला, अमो खोला, चाँदी खोला, लामाहा खोलामा पुल निर्माणका लागि टेण्डर आव्हान गरेको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले पुर्वपश्चिम रेलमार्गलाई निजगढबाट मकवानपुर हुँदै चितवनबाट नवलपरासीको तम्सरिसयामा जोड्ने गरि डीपीआर निर्माणको काम अघि बढाएको जानकारी दिए । मिश्रले काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्ग पनि निजगढ हुँदै अघि बढ्ने जानकारी दिए । पर्सा राष्ट्रिय निकुञ्जका कारण बिरगञ्ज काठमाडौं रेलमार्गलाई निजगढ लगिएको हो भने पर्सा निकुञ्ज र चितवन निकुञ्जका कारण पुर्वपश्चिम रेलमार्गलाई पनि निजगढबाटै मकवानपुर मोडिएको हो ।

दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा

मुस्ताङ । दर्शैंका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौंलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् । भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ । सोरबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा शिव भुसालले जानकारी दिए। दशैंका लागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ । नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट १ हजार च्याङ्ग्रा काठमाडौँ लैजाने भएको छ । ५५० च्याङ्ग्रा मुस्ताङबाट पठाइसकेको संस्थानको जोमसोमस्थित कार्यालयका प्रमुख गङ्गाप्रसाद शाहले बताए । थप ४५० च्याङग्रा खरिद गरेर पठाउने तयारी भइरहेको छ । मुस्ताङमा एउटा च्याङग्रा १७ हजारदेखि २२ हजार तथा भेडा १४ हजारदेखि १७ हजार रुपैयाँका दरले खरिद बिक्री भइरहेको छ । प्रतिकिलो ५३० का दरले च्याङ्ग्रा खरिद गरेको संस्थानले काठमाडौंमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो ६५० का दरले बिक्री गर्ने जनाएको छ । रासस

आँखुखोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि, ६ हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ७६ लाख रुपैयाँ बराबरको १३ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द हुने छिटोमा असोज २६ र ढिलोमा कात्तिक ६ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । सिभिलका अनुसार न्युनतम ५० कित्ता र अधिकतमा ६ हजार कित्तासम्म आईपीओ भर्न पाइने छ । कम्पनीले १२ करोड रुपैयाँ र आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्दा बिक्री नभएको १ करोड ७६ लाख रुपैयाँको समेत गरी आईपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासन मध्ये ६८ हजार ८०१ कित्ता आईपीओ सामूहिक लगानी कोष र २७ हजार ५२० कित्ता कर्मचारीलाई छुट्टाइएको सिभिलले जानकारी दिएको छ । कम्पनीले धादिङमा ८.४ मेगावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ । २०७० मंसिरदेखि कम्पनीले व्यापारिक रुपमा बिजुली उत्पादन गरेको हो । आयोजना बनाउन २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ लगानी भएको छ । आयोजनामा ७५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ संस्थापक र २५ प्रतिशत अर्थात २० करोड रुपैयाँ सर्वसाधारणको लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । चुत्तापुँजी ८० करोड रुपैयाँ पुग्ने छ । आयोजनाबाट ९ वर्षमा लगानी फिर्ता हुने छ ।

काठमाडाैंमा एटीएमबाट पानी पिउन पाइने, पाेखरामा ५ अर्ब लागतकाे खानेपानी  याेजनाकाे टेण्डर

काठमाडौं ।  काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा पहिलो पटक काठमाडौंमा वाटर एटीएम सेवा सुरु हुन लागेको छ । आउँदो बिहीबारदेखि ललितपुरको सैंबु स्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना प्रदर्शन गरिने बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिए । निश्चित थोरै पैसा तिरेपछि पानी पिउन पाईने अवधारणा स्वरुप वाटर एटीएमको सुरुवात गर्न लागिएको हो । यस्तो खालको एटीएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौं उपत्यका भित्र विस्तार गर्दै लगिने कार्यकारी निर्देशक राणाले बताए । त्यस्तै बोर्डबाट गठन भएको टास्क फोर्सले गत भदौ ३० गते र असोज ५ गते सम्पन्न गरेको अनुगमनबाट हालसम्म १८ वटा ट्यांकरहरुलाई स्टीकर प्रदान गरिएको र मापदण्ड विपरीत सञ्चालन भएका ट्यांकरहरुलाई ३६ हजार रुपैंया जरिवाना गरिएको बैठकमा जानकारी दिएको छ । त्यस्तै, खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी संस्थानको सक्रियतामा जापनिज नियोग जाईकाले पोखराको मादी खोलालाई पूर्ण प्रशोधन गरी खानेपानीको वितरण गर्न टेण्डर आह्वान गर्ने भएकाे छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको समीक्षा बैठकमा खानेपानी संस्थानले पोखरा र आसपासका क्षेत्रका लागि खानेपानीको सहज वितरण गर्नका लागि जाईकाले टेण्डर आव्हान गर्न लागेको जानकारी दिएको छ । जाईकाको सहयोगमा ४ अर्ब ८० करोडको लगानीमा टेण्डर आव्हान सुरु हुन लागेको हो । मन्त्रालयले पहिलो पटक यति ठूलो लगानीमा पोखरामा खानेपानीको शुद्धीकरण गर्ने आयोजना सुरु गरेको हो । यसबाट पोखरा र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुनेछन् । बैठकमा खानेपानी मन्त्री बिना मगरले देशभरका स्थानीय निकाय तथा जनताबाट संकलित योजनाहरुलाई कार्यान्वयन गर्ने उद्देश्यले योजना बैंक बनाउने बताइन् । देशैभरिबाट संकलित योजनाहरुलाई योजना बैंक मार्फत अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले जानकारी दिइन् ।

नेपाल वायुसेवाको कर्णालीका लागि नियमित उडान शुरु

बाँके । नेपाल एयरलाइन्सले कर्णालीका जिल्लामा आजबाट नियमित उडान शुरु गरेको छ । हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा र रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सको एउटा जहाज नेपालगञ्ज विमानस्थलमै राखेर कर्णालीवासीलाई नियमित हवाई सुविधा दिने व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए। टिविनटर जहाजमा खराबी र पाइलट नभएको समस्या देखाउँदै नेपाल एयरलाइन्सले एक महीनादेखि कर्णालीमा नियमित उडान गर्न सकेको थिएन । आज नेपाल एयरलाइन्सले डोल्पाको जुफाल, मुगुको ताल्चा, रुकुमको सल्ले र बाजुरा उडान गरेको विमानस्थल प्रमुख ठाकुरले जानकारी दिए । कर्णालीवासीका लागि जिल्लाबाहिर आवतजावत गर्ने भरपर्दो माध्यम जहाज नै भएकाले नेपाल एयरलाइन्सको नियमित उडानसँगै कर्णालीवासीलाई राहत मिलेको बताइएको छ । रासस

किंग्स लाउञ्जमा सविन राईको ब्याण्डले लाइभ पफर्मेन्स गर्ने, बुधबारसाँझ ८ बजेदखि शुरू

काठमाडौं । दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जमा प्रसिद्ध गायक सविन राईको ब्याण्डले लाइभ पफर्मेन्स गर्ने भएको छ । विजयादशमीको उपलक्ष्यमा आफ्ना ग्राहकलाई शुभकामनासँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लाउन्जले किंग्स नाईट विथ सविन राई आयोजना गर्ने भएको हो । लाउञ्जका ग्राहकलाइ पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने गरी असोज २४ गते बुधबारसाँझ ८ बजेदखि राइको विशेष सांगीतिक प्रस्तुती आयोजना गर्न लागिएको लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिए । बुधबार लाउञ्जमा कलाकार, आमदर्शक, संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुनेछ । राईको ब्याण्डको प्रस्तुती हेर्नका लागि लाउन्जले विशेष पासकोे व्यवस्था समेत गरेको छ । साथै लाउन्जले विजयादशमीको अवसरमा विहान ११ बजेदेखि साँझ ५ बजेसम्म २० प्रतिशत छुट समेत प्रदान गर्ने छ । बुधबार लाउन्जमा नियमीत खानाका परिकासंगै सालमोन र ट्याङग्री कवाव स्पेशल मेनु राखिएको छ । लाउन्जका सेफ तिलबहादुर मगरका अनुसार ट्याङग्री कबाव इण्डियन परिकार हो भने सालमोन कन्टिनेन्टल परिकार हो । चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइने लाउञ्जमा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन लाईभ कन्सर्ट आयोजना हुन्छ ।जन्मदिन, एनिभर्सरी तथा विदाई समारोहका दौरान सेवाग्रहीलाई लाउञ्जले सेलिब्रेशन सामग्रीहरु केक, स्प्रे, क्याण्डलहरु निशुल्क उपलब्ध गराउने छ । बिहान ११ बजेदेखि रातिसाढे १२ बजेसम्म संचालन हुने लाउञ्जमा बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । टेरेस कर्नरका साथै पर्सनलबार सहितको भिआईपी हल लाउञ्जको विशेषता हो ।

निर्जीवन र पुनर्बीमा कम्पनीलाई एनएफआरएसमा वित्तीय विवरण बनाउन निर्देशन

काठमाडौं । बीमा समितिले निर्जीवन र पुनर्बीमा कम्पनीलाई एनएफआरएसमा वित्तिय विवरण पेश गर्न निर्देशन दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले असोज ११ गते निर्जीवन र पुनर्बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै आर्थिक बर्ष २०७४।७५ को वित्तिय विवरण एनएफआरएस अनुसार तयार पार्न निर्देशन दिएका हुन् । २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनीले एनएफआरएस अनुसार वित्तिय विवरण बनाउनुपर्नेछ । बीमा समितिले केहि दिनभित्रै जीवन बीमा कम्पनीहरुलाई समेत एनएफआरएस अनुसार वित्तिय विवरण पेश गर्न निर्देशन दिने तयारी थालेको छ । नेपाल राष्ट्र बैंकले भने आव २०७४।७५ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण समेत एनएफआरएसमा बनाउन लगाएको थियो । बीमा समितिले भने बार्षिक प्रतिवेदन मात्रै सो प्रणालीमा बनाउन लगाएको हो । समितिका निमिक्त कार्यकारी निर्देशन राजुरमण पौडेलले केहि दिनभित्रै जीवन बीमा कम्पनीलाई समेत एनएफआरएस अनुसार वित्तिय विवरण पेश गर्न निर्देशन दिने तयारी भैरहेको बताए । एनएफआरएस अनुसार वित्तिय विवरण तयार पार्दा पुरानो प्रणालीमा भन्दा केहि फरक देखिने पनि उनले जानकारी दिए । बीमा कम्पनीको सम्पति, नाफा र बिभिन्न कोषहरुमा राखिने रकमहरुको आकार पनि केहि घटबढ हुन सक्ने पौडेलले जानकारी दिए । अजोड इन्स्योरेन्सका सिइओ कुमार बहादुर खत्रीले एनएफआरएस अनुसार वित्तिय विवरण बुझाउन निर्देशन आएको बताए । बीमा समितिले पुरानो प्रणाली र एनएफआरएस दुबै अनुसारका वित्तिय विवरण बनाउन भनिएको जानकारी दिए । उनले एनएफआरएस अनुसार वित्तिय विवरण बनाउने कुरा केहि नयाँ भएको पनि बताए ।

‘अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म’ शुरु, उद्यमीलाई कर्जा लिन सजिलो

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनल प्रा.लि.ले ‘अनलाइन रिभर्स फ्याक्टरिङ प्ल्याटफर्म’ शुरु गरेको छ । कम्पनीले साना, मझौंला र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिन युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम (सक्षम) सँगको सम्झौता गरी उक्त प्ल्याटफर्म तयार पारेको हो । होटल हिमालयमा आयोजित कार्यक्रममा सक्षमका टिम लिडर निर्मल दाहाल तथा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो साझेदारी अन्तर्गत एफवान सफ्ट इन्टरनेशनलले क्विक भुक्तानी नामक एउटा प्ल्याटफर्म तयार पारेर त्यसलाई सञ्चालन गर्नेछ । यो प्लेटफर्मले ठूला व्यापारिक फर्म तथा कम्पनीका साना तथा मझौला आपूर्तिकर्तालाई बैंकमार्फत जोड्नेछ । जसबाट ठूला व्यापारिक फर्म तथा कम्पनीका लागि सामान आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले तुरुन्तै कर्जा पाउनेछन् । यो प्लेटफर्म प्रयोग गरेर बैंकले आपूर्तिकर्तालाई उनीहरुले सामान तथा सेवा बिक्रि गर्ने ठूला व्यापारिक फर्म तथा कम्पनीले जारी गरेको विलका आधारमा छोटो अवधिको जोखिमरहित कर्जा दिन सक्नेछन् । यसबाट सामान तथा सेवा आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले विना धितो सहज ढङ्गले ऋणको सुविधा पाउनेछन् । सक्षमका टिम लिडर निर्मल दाहालले व्याक्ति तथा व्यापार दुवैले डिजिटल इनोभेसनमार्फत वित्तीय स्रोतमा सहज पहुँच प्राप्त गरेको बताएका छन् ।