रोग लुकाए ज्यान जान्छ : क्यान्सर विजेता
काठमाडौं। पाठेघरको मुखको क्यान्सर निको भएका बिरामीले रोग लुकाउन नहुने बताएका छन् । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बुधबार यहाँ आयोजना गरेको पाठेघरको मुखको क्यान्सर विजेताहरुको जमघटमा सहभागी महिलाले सो कुरा बताएका हुन् । माडी नगरपालिका–७ कीर्तनपुर निवासी ४६ वर्षीया गोमालक्ष्मी आचार्यलाई विसं २०७२ माघमा पाठेघरको मुखको क्यान्सर देखिएको थियो तर अहिले उनलाई यो रोग निको भएको चिकित्सकले बताएका छन् । आफूमा रोग देखिँदै गर्दा महीनावारी हुने समयभन्दा अगाडि नै रगत आउने, पेट दुख्ने, पिसाब गन्हाउने भएपछि अस्पताल आएको आचार्यले बताइन्। समयमै अस्पताल आएकाले रोग पत्ता लागेर नियमित चिकित्सकको सल्लाहअनुसार उपचार गर्दै जाँदा अहिले पूरै निको भएको भन्दैे नयाँ जीवन पाएकोमा उनी खुशी छिन्। उपचारका क्रममा बाहिरी सेकाइ २३ पटक र भित्री सेकाइ तीन पटक गरेको बताउँदै आचार्यले समस्या लुकाएर बस्नुभन्दा चाँडो समाधान गर्दा जितिने बताइन्। पहिला आफूलाई क्यान्सरका बारेमा केही जानकारी नभए पनि रोग देखिएपछि हरेश नखाइ उपचार गर्दा निको भएको जानकारी दिँदै उनले भनिन्, “रोग लागेपछि लुकाएर बसेको भए म आज यहाँ हुन्थे कि हुन्थिनँ तर अहिले सबैका अगाडि छु।” रोग लागेको थाहा भएपछि परीक्षण गरे क्यान्सरजस्तो रोग पनि निको हुने उनको भनाइ थियो । भरतपुर महानगरपालिकाको फूलबारी निवासी ७० वर्षीया खुमाया आले समयमै यो रोगबार थाहा हुँदा आफू बच्न सकेको बताइन्। आलेलाई आजभन्दा चार वर्षअघि पाठेघरको मुखको क्यान्सर देखिएको थियो । शुरुमा त उनी डराइन्। अब मरिन्छ कि भन्ने पनि भयो तर उपचारका क्रममा निको हुँदै गएर अहिले आनन्द भएको उनले बताइन्। “रोग लुकाएको भए यो बूढी बाँच्थी की बाँच्थिन” उनले हाँस्दै भने, “समयमै उपचार पाएकाले मैले क्यान्सर जिते ।” शुरुमा सेतो पानी बग्ने, खानेकुरामा गन्ध आउने, आँखा तिरमिराउने, खुट्टा झमझमाउनेजस्ता लक्षण देखिए पनि अहिले त्यो नरहेको आलेले बताए। सुन्दा डर लाग्ने रोग भए पनि समयमै उपचार गरे निको हुँदोरहेछ भन्दै उनले आफ्नो समस्या लुकाएर नराख्न सबैलाई आग्रहसमेत गरिन्। गाउँ छिमेकमा पनि केही समस्या देखिए अस्पताल जान आफूले सुझाव दिँदै आएको जानकारी दिँदै उनले रोग लाग्यो भनेर चिन्ता लिने हो भने चितामा पुर्याउने हुँदा रोग लागेपछि उपचारमा लाग्नु उत्तम रहेको बताए। भरतपुर महानगरपालिका–१२ बसोबास गर्दै आउनुभएकी ४९ वर्षीया देवीकुमारी तामाङ अहिले पहिलेको जसरी नै घरमा काम गर्दै आएकी छिन्। उनलाई गत वर्ष भदौमा पाठेघरको मुखको क्यान्सर देखिएको थियो । अहिले रोग निको भएको छ । आफू बिरामी हुँदा गाउँलेले आश्वासन दिनुभन्दा पनि अब बाँचिदैन भन्ने गरेको सम्झिदै उनले भने, “समयमै रोग पहिचान भयो भने निको हुँदोरहेछ । कसैले पनि रोग लुकाएर नराख्नुस् । रोग लुकाएर राखे ज्यान गुमाउनुपर्छ ।” आफू बिरामी हुँदा घरपरिवारको सहयोग मिलेको बताउँदै उनले परिवार पनि सहयोगी भए जस्तोसुकै रोगबाट बच्न सकिने बताइन्। विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले पाठेघरको मुखको क्यान्सर निको हुने रोग भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको जानकारी दिए। महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखिए पनि समयमै उपचार गरे निको हुने उनको भनाइ थियो । समाजमा खतराको सम्भावना बोकेर बस्नु भएका दिदीबहिनीलाई चेतनाको खाँचो रहेको आचार्यले बताए। अस्पतालको क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख भोला सिवाकोटीले अस्पतालमा सन् २०१७ मा चार हजार ९७५ नयाँ क्यान्सरका बिरामी थपिएकामा ५४४ लाई पाठेघरको मुखको क्यान्सर देखिएको बताउनुभयो । उहाँका अनुसार सन् २०१६ मा चार हजार ७७५ मध्ये ६०५ मा यो समस्या देखिएको थियो भने सन् २०१५ मा चार हजार ५८१ बिरामीमध्ये ५४४ लाई क्यान्सर देखिएको थियो । विकासोन्मुख देशमा यो रोग बढ्दो छ । रासस
घाम लाग्दा धुलो, पानी पर्दा हिलो, यस्तो छ पर्यटकीय क्षेत्र ठमेलको दुर्दशा
काठमाडौं । सरकार समृद्ध नेपाल र सुखी नेपालीको सपना बाँडिरहेको छ । तर, राजधानीको मुटुमा पर्ने पर्यटकीय गन्तव्य ठमेलको अवस्था हेर्दा लाग्छ, देशका अरु भागको अवस्था कस्तो होला ? विदेशी पर्यटकको घुईँचो भइरहने ठमेल क्षेत्रमा तपाईँ घाम लागेका बेला पुग्नु भयो भने धुलोले बसिनसक्नु हुन्छ । पानी परेको बेला पुग्नु भयो भने हिलोले गइनसक्नु हुन्छ । ठमेल प्रवेश गर्ने क्षेत्रपाटी मात्र नभई केशर महलको परिसरमा समेत अव्यवस्थित छ । यत्रतत्र फोहरहरु फालिएका छन्, बाटो लथालिङ्ग छ । बुधबार राजधानी लगायत देशैभरी हल्का वर्षा भयो । घाम लाग्दा धुलाको कुइरिमण्डल हुने ठमेलमा हल्का वर्षा हुँदा समेत हिमाम्मे भएको पाइयो । हल्का वर्षा भइरहँदा पनि ठमेलमा पर्यटकहरु आवत जावत गरिरहेका थिए । ठमेलको नर्सिङ चोकमा फोहरहरु यत्रतत्र फालिएका थिए । ठमेल क्षेत्रका सडकमा खाल्टाखुल्डीहरु प्रशस्तै छन् । ती खाल्डाखुल्डीमा पानी जमेका थिए, यसकारण त्यहाँ चल्ने सवारी र पर्यटकहरुलाई आवागमनमा असर गरिरहेको छ । ठमेलका केही ठाउँमा फोहर फाल्न डस्टबीनहरु उपलब्ध छन् । तर, तिनको सदुपयोग भएको पाइदैन । मन्दिर अगाडि पनि फोहोर कै थुप्रो देखिन्छ । ठमेलको भगवतीस्थानमा विगत १० बर्षदेखि हस्तकला व्यवसाय गर्दै आएका नवलपरासीका विनोद पाण्डे भन्छन्–‘यो व्यक्तीको मात्र समस्या होईन, यो साझा समस्या हो । सोही कारणले यसमा सबैको ध्यानाकर्षण हुनु जरुरी छ ।’ पाण्डेले यसमा व्यवसायीको समेत कमजोरी रहेको बताए । फोहर बाटोमा हिड्नेले भन्दापनि यही बस्ने मान्छेले फाल्ने हो । राती पसल सफा गरेर घर गएपनि बिहान बान्ता, दिशा, फोहर देखिन्छ-उनले भने । विभिन्न स्थानमा सिसि क्यामेरा राखेमा तथा रात्रीकालीन सुरक्षामा सम्बन्धित निकायको ध्यान पुगेमा यस्ता समस्यामा निकै हदसम्म कमी आउने पाण्डेको सुझाव छ । यस्तै, १६ बर्षदेखी मूर्ती लगायतका सामाग्रीहरु बेच्दै आएका सिन्धुपाल्चोकका राजेन्द्र गिरी भन्छन्-‘ नराम्रो होस्, फोहर होस् भन्ने कसैको रहर हुँदैन, तर हामी यही भोग्दै आएका छौं ।’ गिरीले आफ्नो पसलबाट धेरै फोहर ननिस्किने गरेपनि अरुले फालेका फोहरको दुर्गन्ध ठेमलमा व्याप्त रहेको बताए । विगतमा यो क्षेत्रको सरसफाईमा चासो देखाएपनि त्यसले निरन्तरता पाउने सकेन–उनले भने । ठमेलको गोल्खापखामा पश्मिना व्यवसाय गर्दै आएका उमर मज्जीद भन्छन्-‘सकेसम्म पर्यटकलाई फोहर देखाउनु हुँदैन, पसलबाट फोहर आउने गरेपनि कतै कुनाकानी तिर राख्नुपर्छ र सही तरिकाले व्यवस्थापन गर्न सक्नु पर्छ ।’ च्याक्सीबारी मार्गका अमित श्रेष्ठ भन्छन् –‘शनिबार माईकिङ् त हुन्छ, तर त्यसले अलि पुगेन, काम गर्दा साच्चै प्रभाव पर्ने किसिमले गर्नु आवश्यकता रहेको छ । विगत १६ बर्षदेखी ठमेलको काठमाडौँ गेस्ट हाउसको अगाडि आफूले खुकुरी व्यवसाय गर्दै आउँदा आफूले विभिन्न समस्या झेलेको बताए । फोहरको विषय हामीलाई सानो लाग्ने भएपनि पर्यटन व्यवसायमा यसले ठूलै असर पार्ने श्रेष्ठले दाबी गरे । ठमेलको यो दुदर्शका बारेमा स्थानीय सरकार अर्थात महानगरको वडा कार्यालय समेत जानकार नै छ । ठमेल क्षेत्रलाई सुन्दर बनाउन स्थानीय वासिन्दा, व्यवसायी, वडा कार्यालय र सामाजिक संघसंस्थाले सामुहिक रुपमा पहल गर्नु पर्ने स्थानीय व्यवसायीको धारणा छ ।
निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको शाखा सौराहामा
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट उठ्ने राजस्व अब कृषि विकास बैंकको शाखा कार्यालय सौराहामा संकलन गर्ने कार्य शुरु भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल र कृषि विकास बैंकको क्षेत्रिय कार्यालय वीरगंन्जका निर्देशक बाबुकाजी थापाले उक्त निकुञ्जबाट उठ्ने राजस्व कृषि विकास बैंकको सौराहा शाखाबाट संकलन गर्ने कार्यको सौराहामा संयुक्त रुपमा उद्घाटन गरेका थिए । उठेको राजस्व रकम रु.१२ लाख १ हजार रुपैंया बैंकका प्रबन्धक पुस्तकराज तिवारीलाई हस्तान्तरण गरी राजस्व खातामा जम्मा गरिएको थियो । सो अवसरमा प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले निकुञ्जबाट उठ्ने राजस्व रकम जम्मा गर्न भरतपुर जानुपर्ने झन्झटबाट मुक्त भएको बताए । बैंकका निर्देशक बाबुकाजी थापाका अनुसार चितवन राष्ट्रिय निकुञ्जका घुम्न आउने पर्यटकको प्रवेश शुल्क, जंगल सफारी शुल्क, ढुंगा/गिट्टी/बालुवा कर, दण्ड जरीवाना लगायत गरी दैनिक औसत रु. १० लाख राजस्व संकलन हुने गर्दछ । सो अवसरमा निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरे तथा ऋषि रानाभाट, खरिदार विमल बास्तोला लगायत बैंकका अन्य कर्मचारीको समेत सहभागिता रहेको थियो ।
सिजनल फ्लुलाई स्वाइन फ्लु भनेर भ्रम नफैलाऔं : कृषि तथा पशुपन्छी विभाग
काठमाडौं। सिजनल फ्लुलाई स्वाईन फ्लु भनेर भ्रामक प्रचार नगरिदिन कृषि तथा पशुपन्छी विभागले आग्रह गरेको छ। विभागले बिहीवार सुचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो। सिजनल फ्लु ईन्फ्लुएन्जा ए (एच वान एन वान) भाईरसबाट लाग्ने गर्दछ। ईन्फ्लुएन्जा ए को नियमित सर्भिलेन्सबाट हाल सम्म नेपालको बुंगुरमा ईन्फ्लुएन्जा ए (एच वान एन वान) नदेखिएको र यो रोग सर्नमा बुंगुरको कुनै पनि भूमिका नरहेको बताएको छ। यो रोगलाई विश्वो स्वास्थ्य संगठनले समेत मानिसमा देखा पर्ने सिजनल फ्लु ईन्फ्लुएन्जा ए (एच वान एन वान पिडिएम ०९०) भनी नामकरण गरेको छ।
काभ्रेपलाञ्चोकमा पशुवीमाप्रति कृषकको बढ्दो आकर्षण, ९० हजारकाे गरियाे वीमा
काठमाडौं । काभ्रेपलाञ्चोकमा पछिल्लो समय पशुवीमाप्रति कृषकको आर्कषण बढ्दै गएको छ । गाँउ गाँउमा पशुवीमा कार्यक्रमको विस्तारसँगै घरमा भएक पशुहरुको विमा गराउनेहरुको चाप बढेको छ । गाँउका अधिकाशं कृषकहरु पशुवीमा कार्यक्रम आएसँगै पशुपालनप्रति लाभावित भएका छन् । गाउँका अधिकांश कृषकले स्थानीय ज्याम्दी बचत तथा ऋण सहकारी संस्थाले पशुबिमा कार्यक्रम ल्याएपछि साविक पालिरहेको गाईभैँसीको सङ्ख्या बढाएका हुन् । “रोग लागेर भैँसी मरेर दुःख पाइन्छ कि भन्ने नभएपछि आफूले सकुन्जेल तीन भैँसी पालेर दूध बेच्दै आएको स्थानीयवासी हरिप्रसाद पराजुलीको भनाई रहेको छ । सहकारीले तीन वर्षअघि सञ्चालन गरेको पशुबिमा कार्यक्रममा हाल ३४३ परिवारको ५५८ पशु बिमित भएका छन् । सहकारीले भैँसीको रु ६० हजार र गाईको रु ३० हजार वीमा गरेको अध्यक्ष रामकृष्ण तिमल्सिनाले बताएका छन् । सहकारीका सदस्यले आफ्नो पशुबिमा गर्न शुरुमा भैँसीको लागि रु छ हजार र गाईको लागि रु तीन हजार प्रवेश शुल्क तथा वार्षिक रूपमा रु १५० तिरेर बिमा नवीकरण गर्नुपर्ने जनाउँदै पशुवीमावापत ८० प्रतिशत रकम दिइने गरिन्छ”, अध्यक्ष तिमल्सिनाको भनाई रहेको छ । पशुवीमा कार्यक्रमबाट रु १४ लाख १६ हजार १६ जम्मा भएको सहकारीका पशुबिमा उपसमितिका सचिव विदुर सापकोटाले जानकारी दिए । चालू आर्थिक वर्षको छ महीनामा मात्रै ५३ कृषकले पशुबिमा गरेका छन् भने विभिन्न कारणले मरेका तीन भैँसी र चार गाईको रु तीन लाख कृषकलाई प्रदान गरिएको छ । पशुवीमा कार्यक्रम लागू भएपछि हालसम्म विमित पशुमध्ये ४३ गाईभैँसी मरेका छन् । यसवापत सहकारीले पशु मरेका कृषकलाई करीब रु १५ लाख बिमा रकम प्रदान गरिसकेको छ । रासस
राष्ट्र बैंकको ढुकुटीमा पौने पाँच अर्ब मात्रै, बजार पुग्यो पौने ५ खर्ब
काठमाडौं । नेपाल राष्ट्र बैंकको ढुकुटीमा जम्मा ४ अर्ब ८५ करोड ६१ लख ३५ हजार ५ सय ४० रुपैंयाँ मात्रै रहेको छ । राष्ट्र बैंकले जारी गरेको ६ महिनाको अपरिस्कृत वासलात अनुसार बैंकको ढुकुटीमा पौनै पाँच अर्ब रुपैंयाँ मात्रै रहेको छ । केन्द्रिय बैंकको मुद्रा व्यवस्थापन विभागको थापाथली भवन भत्किएसँगै नोट भण्डारणका लागि समस्या हुँदै आएको छ । केन्द्रिय बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार ४ खर्ब ८० अर्ब २२ करोड रुपैंयाँ बराबरका नोट निष्काशन भएका छन् । सोमध्ये ४ खर्ब ७५ अर्ब ३६ करोड ३८ लाख ६४ हजार ४ सय ६० रुपैंयाँ बराबरका नोट भने चलन चल्तीमा रहेका छन् । हाल राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५ सय र १ हजारका नोट छाप्ने गरेको छ ।
स्विजरल्याण्डमा केपी ओलीले गरे नेपालमा इन्भेष्टमेन्ट सम्भावनाको ब्रिफिङ
डाभोस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवद्र्धन र संरक्षण गर्न बहुलवादिता तथा कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीको आवश्यकतामा जोड दिएका छन् । स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चअन्तर्गत ‘विश्वका आर्थिक नेताहरुको अनौपचारिक भेला’मा प्रधानमन्त्री ओलीले उक्त कुरामा जोड दिएका हुन । “हामीले थाहा पाएजस्तै विश्व व्यापार अन्त्य भएको हो त ?” भन्ने प्रश्न उक्त सत्रमा राखिएको थियो । उनले जी–२० मुलुकका नेता तथा प्रमुख व्यावसायिक व्यक्तिहरुसँग पनि भेटवार्ता गरे । प्रधानमन्त्री ओलीले स्वीस औषधि उत्पादक संस्था नोभार्टिसका प्रमुख कार्यकारी अधिकृत वसन्त नरसिंह तथा केपीएमजीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अरुण कुमारसँग भेट गरी नेपालको प्राथमिकता क्षेत्रमा सम्भावित लगानीका विषयमा छलफल गरे। अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व आर्थिक मञ्चकोे ‘कूल गार्हस्थ उत्पादनभन्दा बढी’ विषयक सत्रमा भाग लिए । उनले नेदरल्याण्डको आर्काडिस कम्पनीका निर्देशक क्यारोलिन गेरेल्ससँग भेट गरी नेपालमा लगानी तथा तथा विकास सहयोगका विषयमा छलफल गरे । यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको शरणार्थीका लागि उच्चायुक्त फिलिपो ग्रान्डीसँग भेट गरी नेपालमा शरणार्थीका साथै शरणार्थीको विश्वव्यापी प्रभावका विषयमा छलफल गरे ।
५४ बैंकको वाणिज्य बैंकसँग १० महिनाको लाइसेन्स, २९ संस्थाको लाइसेन्स विवादास्पद
काठमाडौं । आज राष्ट्रिय वाणिज्य बैंकले ५४ औं वार्षिकउत्सव मनाउँदै छ । तर नेपाल राष्ट्र बैंकका अनुसार यस बैंकले बैंकिङ कारोबार गर्न अनुमति पाएको १ वर्ष पनि पुरा भएको छैन । राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले बैकिङ कारोबार सञ्चालन अनुमति (लाइसेन्स) पाएको २०७५ बैशाख १९ गते हो । राष्ट्र बैंकको विवरण अनुसार यो बैंक जम्मा १० महिना पुरानो बैंक हो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठका अनुसार यस बैंकले राष्ट्र बैंकबाट २०२२ माघ १० गते बैकिङ कारोबार गर्न अनुमति पत्र पाएको हो । त्यसैलाई आधार मानेर बैंकले ५४ औं वार्षिक उत्सव आज मनाउन लागेको उनले बताए । धेरै नेपालीलाई थाहा छ, यो बैंकमा अहिलेको पुस्ताले मात्र होइन, हजुरबुबा पुस्ताले पनि बैंकिङ कारोबार गरेका थिए । र, यो पुरानो बैंक हो । तर राष्ट्रिय वाणिज्य बैंकसँग बैकिङ कारोबार गर्न दिएको १० पुरानो लाईसेन्स छ । राष्ट्र बैंकका अनुसार मेगा बैंक छोडेर राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा कान्छो हो । ‘राष्ट्र बैंकको नियम अनुसार मर्ज भएपछि पुराना दुबै लाईसेन्स राष्ट्र बैंकलाई बुझाउनु पर्दोरहेछ । एनआईडीसी र राष्ट्रिय वाणिज्य बैंक दुबैको पुरानो लाईसेन्स राष्ट्र बैंकले खिचेर राख्यो । हामीले नयाँ लाईसेन्स पाएको १० महिनामा मात्र भयो’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने–‘हामी ५४ औं वार्षिक उत्सव मनाउँदै छौं । तर हामीसँग लाईसेन्स १० महिना पुरानो मात्र छ ।’ राष्ट्रिय वाणिज्य बैंकको कुरा मात्र होइन, यो सहित १२ वटा वाणिज्य बैंकहरु, १२ वटा विकास बैंक र ५ वटा वित्त कम्पनीहरुको कहिलेदेखि सञ्चालनमा आएका हुन् भन्ने मिति विवादास्पद बनेको छ । ती बैंक तथा वित्तीय संस्थाहरुको आधिकारिक वेवसाइट र नेपाल राष्ट्र बैंकको वेवसाईटमा उल्लेख गरिएको मिति छुट्टाछुट्टै छ । सम्बन्धित बैंकहरुले आफ्नो वेवसाइटमा सञ्चालनमा आएको मिति र राष्ट्र बैंकले सञ्चालन गर्न अनुमति दिएको मितिमा धेरै वर्षान्तर देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू, सिभिल बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, जनता बैंक नेपाल र मेगा बैंकको सञ्चालन मिति विवादस्पद बनाईएको छ । त्यस्तै विकास बैंकहरुमा सांग्रिला, देवः, कैलाश, ज्योति, गरिमा, ओम, महालक्ष्मी, गण्डकी, लुम्बिनी, कामना र वेष्टन डेभलपमेन्ट बैंकको सञ्चालन मिति सम्बन्धित संस्थाको वेवसाईट र राष्ट्र बैंकको वेवसाईटमा फरक फरक देखिएको छ । त्यस्तै, वित्त कम्पनीहरुमा रिलायन्स, गोर्खा, श्री इन्भेष्टमेन्ट सेन्ट्रल र वेष्ट फाइनान्सको सञ्चालन मिति विवादस्पद छ । राष्ट्र बैंकको विवरणमा मर्जर पछिको सञ्चालन मिति उल्लेख छ । त्यसैले पुराना बैंक पनि मर्जपछि नयाँ जस्तो देखिएका छन् ।