विकासन्युज

स्पर्स लघुवित्तले सम्पन्न गर्यो चालु आर्थिक वर्षकाे अर्धबार्षिक समिक्षा गोष्ठी

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखाहरुको लागि आर्थिक वर्ष २०७५/०७६ को अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । शनिबार बन्दीपुरमा आयोजित एक दिने समिक्षा गोष्ठीको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सजल खड्काले संस्थाको चालु आवको अर्धबार्षिक प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा चुनौती, अवसरहरु, वित्तीय संस्थाको यस आ.ब.को लक्ष्य तथा यसको प्राप्तीका रणनीति आदिका बारेमा सहभागीहरुलाई प्रष्ट पारेका थिए । वित्तीय संस्थाका विभागीय प्रमुखहरुले सहजिकरण गरेको उक्त गोष्ठीमा शाखा प्रवन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या तथा चुनौति, रणनीतिहरुको बारेमा योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगति प्राप्ती गर्ने प्रतिवद्धता जनाएका थिए । वित्तीय संस्थाले सदस्य विस्तार, ऋणी सदस्य, लगानीमा रहि रहेको कर्जा, बचत र नाफामा उत्कृष्ट हुने शाखा कार्यालयहरु तथा शाखा प्रवन्धक हरुलाई पुरस्कृत समेत गरेको थियो । वित्तीय संस्था जनशक्ति व्यवस्थापन विभाग प्रमुख पवन बरालले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्का तथा विभागीय प्रमुखहरु र विभिन्न २० वटा शाखाका शाखा प्रवन्धकहरुको सहभागीता रहेको थियो ।

प्रभु बैंक डडेलधुराको नवदुर्गामा, आजैबाट कारोबार शुरु

काठमाडौं । प्रभु बैंक लिमिटेडले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४मा आइतबारदेखि बैंकको नवदुर्गा शाखा कार्यालय सञ्चालनमा आएको छ । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले एक समारोहकाबीच बैंकको नवदुर्गा शाखा कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले बैंकको यस नवदुर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको बताएका छन् । आजदेखि सञ्चालनमा आएको बैंकको नवदुर्गा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । साथै, यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ ।

६५ प्रतिशत हकप्रद पछि नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७१.५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ५३७.५४ प्रतिशत रहेको थियो । मूल्य समायोजन पछिको आइतबारको सेयर बजारमा कम्पनीको सेयर मूल्य बढ्दो क्रममा रहेको छ । आइतबार प्रतिकित्ता ३७१ रुपैयाँमा खुलेको कम्पनीको सेयरको मूल्य बढेर ३९५ रुपैयाँसम्म कारोबार भएको छ ।

नेपालगञ्जकाे ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटलले पायाे पाँचतारेको मान्यता, अब लाइभ क्यासिनो शुरू गर्ने

काठमाडौंं । नेपालगञ्जमा सञ्चालित ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटलले पाँच तारे होटलको मान्यता पाएको छ । वासुदेवपुरमा एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट हालै पाँचतारेस्तरको प्रमाणपत्र पाएको हो । विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको हाटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले जानकारी दिए । सरकारले काठमाडौं बाहिरका होटलका लागि मापदण्ड हेरफेर गरेपछि अहिलेकै पूर्वाधारमा होटलले पाँचतारेका लागि आवेदन दिएको थियो । नेपालकै पहिलो हरित (ग्रिन) होटल दाबी गरिएको सो होटलले प्रयोगमा ल्याएको सम्पूर्ण प्रविधि पूर्ण वातावरणमैत्री छ । सोल्टी वेस्टेण्ड प्रिमियर कार्बनडाइअक्साइड न्यून मात्रामा उत्सर्जन गर्ने र कम ऊर्जा खपत गर्ने नेपालकै पहिलो होटल मानिएको छ । खड्काका अनुसार बिएमएक (बिल्डिङ म्यानेजमेन्ट सिस्टम), जिरो कार्बनफुटप्रिन्ट, वातावरण अनुकूलनका लागि रेडियन्ट टेक्नोलोजीको प्रयोग, होटलबाट निस्कने फोहरलाई प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा ट्वाइलेटको फलस, बगैँचा र चिलर प्लान्टलाई कुलिङ गर्नका लागि प्रयोग गरिनुका साथै ठोस वस्तुलाई प्राङ्गारिक मलका रुपमा प्रयोग गर्नु होटलको विशेषता हो । काठमाडौँको होटेल सोल्टी क्राउन प्लाजा लिमिटेडकै भगिनी संस्थाका रुपमा नेपालगञ्जमा सोल्टी वेस्टेण्ड सञ्चालनमा आएको छ । पाँचतारे होटलको मान्यता पाएपछि सोल्टी वेस्टेण्डमा अब लाइभ क्यासिनो सञ्चालनमा आउनेछ । अहिले मिनी क्यासिनो चलाइरहेको होटलमा काठमाडौँको सोल्टीमा क्यासिनो चलाइरहेको महाजनले नै चलाउने बताइएको छ । नेपालमा लाइभ क्यासिनो चलाउनका लागि पाँचतारेस्तरको होटल तथा रिसोर्ट हुनुपर्छ । योसँगै नेपालमा सञ्चालनमा रहेका पाँचतारे होटलको सङ्ख्या सात पुगेको छ । एभरेष्ट होटल र फूलबारी रिसोर्ट अहिले बन्द छन् । त्यस्तै भैरहवाको पवन प्यालेस, काठमाडौंको अलफ्ट पाँचतारेका रुपमा सञ्चालन हुने तयारीमा छन् । रासस

बर्दिबासमा सुविधा सम्पन्न कवर्ड हल बन्दै, एक करोड ५० लाखको लागत

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकामा सुविधासम्पन्न ब्याडमिन्टन कवर्डहल बन्ने भएको छ । बर्दिवास ब्याडमिण्टन सङ्घले एक करोड ५० लाख रुपैयाँको लागतमा कबर्ड हल निर्माण थालेको हो । बर्दिवास–१ भब्सीमा आइतबार वसन्तपञ्चमीका अवसरमा नगर प्रमुख विदुरकुमार कार्कीले सुविधासम्पन्न कवर्ड हल निर्माण कार्यको शिलान्यास गरे । मुख्यतः ब्याडमिण्टन खेलका लागि निर्माण थालिएको कबर्ड हलमा सर्वसाधारणको उपयोगका लागि ‘सोनावाथ’ र ‘स्ट्रिमवाथ’ सहितको सुविधा रहने निर्माण समितिले जनाएको छ । यहाँस्थित गौतम रियलस्टेटले उपलब्ध गराएको तीन कठ्ठा जग्गामा कबर्ड हल निर्माण थालिएको हो । सङ्घसँग मौजूद रहेको रकमबाट निर्माण काम थालिएसँगै प्रशस्त सहयोगी पाइएका निर्माण समितिका अध्यक्ष विष्णु खड्काले जानकारी दिए। प्रदेशभित्रका प्रतियोगिता आयोजना गर्न नयाँ बन्ने कबर्ड हल उपयोगी हुने जनाइएको छ । निर्माण कार्य छ महिनामा सम्पन्न हुने समितिका अध्यक्ष खड्काले बताए । रासस

पर्वतको ६ स्थानीय तह दमकल विहीन

पर्वत। गर्मी मौसममा हावाहुरी, आगलागी र डढेलोका घटना बढ्ने भए पनि त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि यहाँ दमकलको अभाव रहेको छ । जिल्लाका ६ स्थानीय तह दमकलविहीन छन् । कुश्मा नगरपालिकाबाहेकका सबै स्थानीय तहमा दमकल उपलब्ध हुन सकेको छैन । फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशीला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका र पैंयु गाउँपालिकामा दमकल छैनन् । आगामी वर्ष बजेट विनियोजन गरेर खरीद गर्ने तयारी रहेको फलेवासका प्रवक्ता टीकाराम गौडेलले जानकारी दिए। ग्रामीण क्षेत्रमा पनि शहरीकरण र व्यापारिक केन्द्र बढ्दै गएका बेला दमकलको ठूलो आवश्यकता रहेको उनले बताए। बजेट विनियोजन गरेर स्थानीय तहले खरीद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोकिने जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर पौडेलले जानकारी दिए। जिल्लामा मोटरबाटोको सहजता भएसँगै दमकलको आवश्यकता महसुस भइरहेकोे उनको भनाइ छ । आवश्यकता भए पनि स्रोत साधनको अभावमा दमकल खरीद गर्न नसकिएको जलजलाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो । अन्य स्थानीय तहमा आगलागी हुँदा कुश्माको दमकल गुहार्नुपर्ने अवस्था रहेको छ । आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत सहयोग गर्दै आएको कुश्माका नगर प्रमुख रामचन्द्र जोशीले बताए। सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति र दमकलको व्यवस्था गर्दा आइपर्ने घटनामा उद्धार र राहतका लागि सहज हुने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए। जिल्ला विपत् व्यवस्थापन समितिले अहिले रहेको एकमात्र दमकललाई सबै स्थानीय तहले आपसी समन्वयमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै प्रत्येक स्थानीय तहमा रु ३० लाख बराबरको विपत् व्यवस्थापन कोष स्थापना गर्ने निर्णय समेत गरिएको छ ।

प्रभु बैंककाे साधारणसभा फागुन १९ गते, संस्थापक सेयरधनीहरुको स्वामित्व ५५ प्रतिशत कायम गर्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले आगामी फागुन १९ गते आफ्नो १७औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त प्रयोजनको लागि बैंकको आगामी फागुन ६ गतेदेखि १९ गतेसम्म १४ दिन बुक क्लोज हुँदै छ । उक्त सभाले सेयरधनीलाई ८ प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने बैंकको प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०७५/०७६ को चुक्ता पुँजीको सो मात्रा अर्थात ६५ करोड ८७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हाे । साथै, संस्थापक सेयरधनीहरुको स्वामित्व ५५ प्रतिशत कायम गर्ने प्रस्तावलाई कम्पनीको सभाले अनुमोदन गर्ने छ । बैंकको सभा फागुन १९ गते कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंको बबरमहलमा बस्दै छ ।

अन्तर्राष्ट्रिय उडानमा अब ३ निजी कम्पनी, श्री एयरलाईन्सले ७४ सिट क्षमताको २ जहाज फागुनमा ल्याउने

काठमाडौं । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएको छ । २ वटा निजी जहाज कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेकोमा अब श्री एयरलाइन्स पनि थपिएको हो । हाल आन्तरिक उडान गरिरहेको श्री एयरलाइन्सलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अन्तर्राष्ट्रिय चार्टर स्वीकृती प्रदान गरको हो । एयरलाई फिक्स विङस् पंखा जडित जहाज मार्फत उडान अनुमति दिइएको मन्त्रालयले जनाएको छ । कम्पनीले अन्तिम स्वीकृतिका लागि नागरिक उड्ययन प्राधिकरणमा निवेदन दिएको छ । निवेदनमा क्यानले मागेको मापदण्ड पुरा गरेपछि एयरले अन्तिम स्वीकृति पाउने कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताए । यो प्रक्रियाको लागि करिब ३ महिना लाग्नेछ । मानन्धरका अनुसार क्यानको मापदण्ड पुरा गर्न सकिए ३ महिनाभित्र अनुमति प्राप्त हुनेछ । तर मन्त्रालयले अनुमति दिइसकेपछि क्यानमा धेरै समय नरोकिने सुचना अधिकारी त्रिलोचन पौडेलले बताए । ‘मन्त्रालयले स्वीकृति दिइसकेको छ हामीले अब मापदण्ड पुगे नपुगेको मात्र हेर्ने हो’ पौडेलले विकासन्युजसँग भने- ‘क्यानमा धेरै समय लाग्दैन ।’ मन्त्रालयले एयरलाई हवाई सम्झौता नभएको देशमा पनि जहाज चार्टर गर्न पाउने गरी स्वीकृति प्रदान गरको हो । यसबाट हवाई सम्झौता भएका मुलुकहरुसँग नियमित उडान गर्न पाउनेछ भने जुनसुकै देशमा जहाज चार्टर गर्न पाउनेछ । २० वर्षदेखि हेलिकप्टर सेवा प्रदान गर्दै आइरहेको कम्पनीलाई चार्टर गर्ने गरी अन्तराष्ट्रिय इजाजत पाएको हो । अहिले बुद्ध एयर र हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । कम्पनीले अहिले २ वटा नयाँ जहाज थप्ने तयारी गरिहेको छ । जहाज फागुन महिनाको अन्त्यसम्म आइपुग्ने प्रबन्धक मानन्धरले जानकारी दिए । ७४ सिट क्षमताको २ वटा जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ, फागुनमा जहाज आएपछि सोहि जहाजले अन्तर्राष्ट्रिय चार्टर गर्न पाउनेछ । विमान खरिदको काम अघि अन्तिम चरणमा पुगेको एयरलाइन्स प्रमुख सुधिर मित्तलले बताए । उनका अनुसार विमान खरिदको लागि कम्पनीले डेढ अर्ब रुपैंया भन्दा बढी खर्च गर्नेछ । ४ वटा जहाजले आन्तरिक उडान गरिरहेको एयरलाइन्सको २ वटा जहाज काठमाडौं आएपछि जहाज संख्या ६ पुग्नेछ । सुरुमा दुबै जहाज नेपालभित्रका उडानमा प्रयोग गर्ने कम्पनीको तयारी रहेको छ भने वैकल्पिक रुपमा सोहि जहाजलाई अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्नेछ । हाल एयरलाइन्सले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज लगायत स्थानमा हवाई सेवा उपलब्ध गराइरहेको छ । नयाँ जहाज ल्याएपछि पोखरा र भरतपुरमा उडान सेवा विस्तार गर्ने कम्पनीको तयारी छ । कम्पनीले विदेशमा पनि हेलिकप्टर सेवा सञ्चालन गरिरहेको छ । कम्पनीसँग हाल ८ वटा हेलिकप्टर रहेको छ ।