नयाँ सहर बसाउनेमा अधिकारक्षेत्र विवाद, बैठकमा जनप्रतिनिधि सहभागी भएनन्
काठमाडौँ । उपत्यका विकास प्राधिकरण र स्थानीय तहको विवादले नयाँ सहर बसाउने योजना अनिश्चित बनेको छ । नयाँ सहरले काठमाडौं र भक्तपुरका ५ नगरपालिका समेट्छ । जग्गा एकीकरणको मोडेलमा नयाँ सहर निर्माण हुन थालेको हो तर प्राधिकरण र स्थानीय तहका बीच बढ्दो विवादले यो अनिश्चित बनेको हो । प्रत्येक स्थानीय तहमा रहने व्यवस्थापन समितिको गठनसमेत हुन सकेको छैन । ती दुई जिल्लाका गरी कम जनसंख्या र तुलनात्मक रूपले कम बस्ती रहेको क्षेत्र यसमा समावेश हुनेछ । यसमा भक्तपुरका मध्यपुर ठिमी, चाँगुनारायण र भक्तपुर नगरपालिका पर्छन् । काठमाडौं जिल्लाको शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिका यसभित्र पर्छन् तर अधिकारक्षेत्र विवादले निर्माण अन्योलमा परेको छ । यस सम्बन्धमा छलफल गर्न बोलाइएको बैठकमा समेत जनप्रतिनिधि सहभागी भएनन् । उनीहरूले प्राधिकरणअन्तर्गतको कुनै पनि बैठकमा सहभागी नहुने र बहिष्कार गर्ने नीति लिएको जनाएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
लोकसेवाले माग्दैछ १५ हजार कर्मचारी, बुधबार विज्ञापन खुल्ने
काठमाडौँ । लोकसेवा आयोगले यसै साता स्थानीय तहका लागि आवश्यक करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ । ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका लागि जेठ १५ गते बुधबार खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी विज्ञापन गर्ने लागिएको हो । आयोगले एकैपटक यति धेरै पदमा पदपूर्ति गर्न लागेको यो पहिलो पटक हो । यस अघि भने यत्तिका पदमा आयोगले पदपूर्ति गर्दा न्यूनतम पनि एक वर्ष लाग्ने गरेको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि ती पदको पूर्तिका लागि यसअघि नै आयोगलाई सिफारिस गरिसकेको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले सरकारले गरेको सिफारिस अनुसार प्रशासन र प्राविधिक पदका चौथो, पाँचौ, छैटौँ र नवौं तहमा विज्ञापन गर्न लागिएको बताए । आयोगले एक पेपर मात्र परीक्षा दिनुपर्ने पदका लागि तीन महिनामा र चार पेपर परीक्षा दिनुपर्ने पदका लागि पाँच महिनामा उम्मेदवार छनोट गरी मन्त्रालयलाई सिफारिस गर्ने गरी काम भइरहेको छ । उनले भने, “सरकारको आग्रहलाई स्वीकार गर्दै छोटो समयमा आयोगले पदपूर्ति गर्न लागिए पनि ‘मेरिट’ र गुणस्तरमा कुनै सम्झौता हुँदैन ।” आयोगले स्थानीय तहका लागि उक्त पदपूर्ति गर्न जोडतोडले काम गरिरहेको छ । जति पे्रसर परे पनि आयोगले उक्त काम पूरा गर्ने गरी काम गरिरहेको उनले बताए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त पदपूर्तिका लागि शुक्रवार लोक सेवा आयोगलाई सिफारिस गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका कर्मचारीको पदपूर्ति प्रदेश लोकसेवा आयोगबाट गरिने उल्लेख भएपनि अहिले प्रदेश लोकसेवा आयोग गठन नभइसकेकाले मन्त्रालयले उक्त पदमा विज्ञान गर्न लोक सेवा आयोग केन्द्रीय कार्यालयलाई आग्रह गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दुई महिनाअघिदेखि ७५३ वटै स्थानीय तहसँग रिक्त रहेको पद सङ्ख्या माग गरे पनि ५५५ स्थानीय तहले मात्र पद पूर्तिका लागि मन्त्रालयलाई पत्र पठाएका थिए । उक्त सबै पद स्थानीय तहका नै भएकाले लोकसेवा आयोगबाट सिफारिस भएका सबै उम्मेदवारले स्थानीय तहमा नै गएर काम गर्नुपर्नेछ । कर्मचारी समायोजन पश्चात स्थानीय तहमा ठूलो सङ्ख्यामा दरबन्दी रिक्त रहेकाले उक्त दरबन्दी यसै वर्ष पूर्ति गर्न मन्त्रालयले विज्ञापनका लागि लोकसेवा आयोगलाई आग्रह गरेको मन्त्रालयका प्रवक्ता भूपाल बरालले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
बजेट तयारीः वृद्धभत्ता पाँच सय र तलब २० प्रतिशतसम्म बढ्ने
काठमाडौंं । नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको वाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ। नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने भनेको थियो। यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो । नेकपाका अध्यक्षद्वयमध्ये एक पुष्पकमल दाहाललेसमेत भत्ता नबढाएकोमा अर्थमन्त्री युवराज खतिवडाको आलोचना गरेका थिए । अर्थमन्त्री युवराज खतिवडा भत्ता र तलब दुवै बढाउन सहमत भए पनि स्रोतको उच्च दबाबका कारण कति र कुन विधिबाट बढाउने भन्ने अन्तिम निर्णय जेठ १४ भन्दा अघि हुने छैन । अर्थमन्त्री खतिवडाले यो वर्ष सुरक्षाभत्ता मात्र नभएर सरकारी कर्मचारीको तलबभत्ता पनि बढाउने तयारी गरेका छन्। पूर्वअर्थमन्त्री पौडलेले २०७३ सालमा तल्लो तहका कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाएका थिए। त्यसपछिका तीन वर्षमा कर्मचारीको तलब बढेन। तर यसबीच महँगीभत्ता भने दुई हजार बढेको छ र लुगाभत्ता साढे सात हजारबाट १० हजार बनाइएको छ। केही समयदेखि कर्मचारी संगठनहरुले तलब र भत्ता बढाउन अर्थमन्त्री खतिवडालाई दबाब दिँदै आएका छन्। अर्थमन्त्रीसँगको छलफलमा उनीहरु २० प्रतिशतमा सहमत भएको बताइएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
बजेटभन्दा व्यापार घाटा बढी, १३ खर्ब १५ अर्बको बजेट, व्यापार घाटा १३ खर्ब १९ अर्ब पुग्दै
काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा वार्षिक बजेटभन्दा बढी हुने देखिएको छ । संघीय सरकारले चालू आर्थिक वर्षमा ल्याएको बजेटभन्दा चालू आवमा देशले व्यहोर्ने व्यापार घाटा बढी हुने देखिएको हो । सरकारले चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । तर, चालू आवमा नेपालले कुल १३ खर्ब १९ अर्ब ५२ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोर्ने देखिन्छ । चालू आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अर्थात् नेपालले मासिक औसत १ खर्ब ९ अर्ब ९६ करोड रुपैयाँ व्यापार घाटा व्यहोरिरहेको छ । यसलाई आधार मान्दा आगामी दुई महिनामा नेपालले थप २ खर्ब १९ अर्ब ९२ करोड रुपैयाँ व्यापार घाटा व्यहोर्नेछ । समग्रमा चालू आर्थिक वर्षभित्र नेपालको व्यापार घाटा १३ खर्ब १९ अर्ब ५२ करोड रुपैयाँबराबरको हुने देखिन्छ । अर्थमन्त्री डा। युवराज खतिवडाले मध्यवधि समीक्षामार्फत चालू आर्थिक वर्षको बजेटलाई घटाएर ११ खर्ब ९९ अर्बमा झारेका छन् । राजस्व परिचालन र खर्च गर्ने क्षमता नबढ्दा बजेट घटाउने प्रवृत्ति छ । संशोधित बजेटको आकारलाई हेर्दा बजेटभन्दा व्यापार घाटा सवा खर्ब बढी हुने गरेको तथ्यांकले देखाउँछ । विगत पाँच वर्षको तथ्यांकलाई हेर्दा बजेटको आकार र व्यापार घाटाको आकार झन्डै बराबर देखिन्छ । आर्थिक वर्ष ०७०÷७१ र ०७१÷७२ मा बजेटको आकारभन्दा त्यस वर्ष नेपालले व्यहोरेको व्यापार घाटा ठूलो देखिन्छ । त्यस्तै, ०७३÷७४ र ०७४÷७५ मा बजेटको आकारभन्दा थोरै मात्र व्यापार घाटा कम देखिन्छ । चालू आर्थिक वर्षमा भने बजेटको आधारलाई व्यापार घाटाले उछिन्ने देखिन्छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
बिहान ४ः१५ को टाइमर, बेलुकी ४ः१५ मै विस्फोट
घट्टेकुलो: ४ः१५ मा घरको कोठाभित्र विस्फोट हुँदा विप्लव समूहको विद्यार्थी संगठनका सिटिइभिटी कमिटीका अध्यक्ष प्रज्वल (विशाल) शाहीको मृत्यु भएको छ । शाही बझाङका हुन् । सो कोठामा सँगै रहेका पश्चिम रुकुमको सानीभेरीका रविन केसी घाइते भएका छन् । उनी सो संगठनको त्रिचन्द्र क्याम्पसका इकाइ अध्यक्ष हुन् । आइतबार साँझ गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सुरक्षा बैठक बसेको थियो । बैठकमा विप्लव समूहप्रति थप कडा रूपमा प्रस्तुत हुन मन्त्रीले निर्देशन दिएका छन् । सुकेधाराः करिब ४ः१५ वरिपरि नै सुकेधारास्थित सैलुनभित्र विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । विस्फोटको समयमा सैलुनका सञ्चालक छोटेलाल ठाकुरबाहेक नेवाः मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जन, ट्रेड युनियनका अध्यक्ष हरि खड्का, सैन्य विभागका मध्यकमान्ड इन्चार्ज महावीर र अर्का कार्यकर्ता दीपेनलगायत रहेको प्रहरीले जनाएको छ । घाइतेमा एकजना छोटेलाल छन्, मृत्यु क–कसको भयो भन्ने खुलेको छैन । ग्वार्कोः सोमबारको नेपाल बन्दलाई लक्षित गरी ग्वार्को, लगनखेल, सानेपा र कोटेश्वरमा प्रेसरकुकर बम राखिएको थियो । ती सबै ठाउँमा राखिएको बम सेनाको टोलीले डिस्पोज गरेको छ । तर, नागढुंगामा भने विप्लव समूहका कार्यकर्ताले लक्षित ठाउँमा नपु(याउँदै बम विस्फोट भएको छ । गुडिरहेको मोटरसाइकलमा विस्फोट हुँदा बुद्ध लामा र विक्रम लामा घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ, तर कुकरबम बोकेको आरोपमा प्रहरीले कोटेश्वरबाट सातजना पक्राउ गरेको छ । सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटियो । दुवैतिर एकै समयमा आकस्मिक रूपमा बम विस्फोट हुनुको कारणबारे अनुसन्धान केन्द्रित गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
बुद्ध एयरले आजदेखि कोलकत्ता उडान गर्ने
काठमाडौँ । आन्तरिक उडानमा अग्रस्थानमा रहेको बुद्ध एयरले एटीआर विमानमार्फत सोमबारदेखि काठमाडौँबाट भारतको कोलकत्ता सिधा उडान गर्दैछ । १२ वटा विमान भएको बुद्धका लागि कोलकत्ता चौथो अन्तर्राष्ट्रिय गन्तव्य हो । यसअघि बुद्धले भुटानको पारो, भारतको लखनउमा काठमाडौँबाट सिधा उडान गरेको थियो । आर्थिक हिसाबले फाइदा नभएपछि हाललाई यी दुवै रुटमा उडान बन्द गरिएका छन् । भारतको बनारसमा भने बुद्धले सातामा दुई उडान भर्दै आएको छ । २२ वर्षअघि स्थापना भएको यस एयरलाइन्सले सोमबारदेखि चौथो गन्तव्यका रूपमा कोलकत्ता उडान थाल्दै छ । यसलगत्तै पाँचौँ गन्तव्यका रूपमा पूर्वोत्तर भारतको आसाममाको राजधानी गुवाहाटीमा पनि उडान थाल्ने घोषणा गरेको छ । ‘गुवाहाटी उडानमा सैद्धान्तिक सहमति पाइसक्यौँ । केही समयभित्रै उडान थाल्दै छौँ,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतले भने । बुद्धले ७० सिट क्षमताको एटीआर–७२ विमानबाट यो रुटमा सातामा तीनवटा उडान गर्दै छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कोलकत्तास्थित नेताजी सुवाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान अवधि डेढ घन्टाको हुनेछ । बुद्धले यस रुटको दुईतर्फी भाडा २२ हजार हाराहारी तय गरेको छ । ७० सिट क्षमताको एटीआरले एकतर्फी उडानमा ६५ यात्रुसम्म बोक्ने छ । यो रुटमा हाल भारतीय एयरलाइन्स एयर इन्डियाले उडान भर्दै आएको छ । भारतभित्र ६९ वटा गन्तव्यसहित ३७ वटा मुलुकमा सिधा उडान भर्दै आएको एयर इन्डियासँग बुद्धले प्रतिस्पर्धा गर्नेछ । नेपाल सरकारले घोषणा गरेको नेपाल भम्रण वर्ष २०२० तथा पछिल्ला वर्ष होटेल लगायत पर्यटन क्षेत्रमा निजी क्षेत्रले बढाएको लगानीलाई आधार मान्दै बुद्धले यो रुटमा उडान थालेको जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
सांसदलाई सोझै बजेट, कार्यक्रम खारेज गर्न नेताहरूकै दबाब
काठमाडौँ । अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसकेकाले सांसदको तजबिजीमा खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरूले दबाब बढाएका छन् । सत्तारूढ र प्रतिपक्षी दलका केही नेताले सांसदलाई बजेट वितरण संविधान र संघीयताको मर्मविपरीत हुने भन्दै बन्द गर्नुपर्ने धारणा राखिरहेका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वमन्त्री तथा कांग्रेस नेता गगन थापा र अधिकांश समानुपातिक सांसदले यो कार्यक्रम बन्द गर्नुपर्ने धारणा राखिरहेका छन्। यो कार्यक्रम बन्द गर्नुपर्ने मत अन्य धेरै सांसद तथा नेताहरूको समेत रहे पनि औपचारिक रूपमा वक्तव्यबाजी र प्रतिक्रिया दिन हिचकिचाइरहेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
सोमबार बन्दको आह्वान, सुरक्षा निकाय भन्छ-‘हल्लाको पछि नलाग्नू’
काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी(विप्लब समूह)ले जेठ १३ गते सोमबार नेपाल बन्दको घोषणा गरेको समाचार प्राप्त भएको छ । विप्लब समूहका महासचिव नेत्रविक्रम चन्द्र‘विप्लब’द्वारा प्रकाशित विज्ञप्तीमा सोमबार बन्द कार्यक्रम घोषणा गरिएको उल्लेख छ । गत मंगलबार भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे ‘राजु’लाई दोहोरो भिडन्तको नाममा हत्या गरेको बिरोधमा बन्द आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ । यता, प्रतिवन्धित विप्लब समूहले बन्द आह्वान गरेको पूर्वसन्ध्यामा आइतबार साँझ राजधानी काठमाडौँका सुकेधार र अनामनगरमा विस्फोटका घटना भएका छन् । घटनामा परी ३ जनाको मृत्यु भएको छ । सो घटना विप्लब समूहले नै गराएको सूचना निकायले आशंका गरेको छ । हिंसात्मक घटनापछि राजधानीमा सुरक्षा सतर्कता अपनाइएको छ । सोमबार बन्दको हल्ला चलेपनि सुरक्षा निकायले भने हल्लाको पछि नलाग्न अनुरोध गरेको छ । शान्ति सुरक्षाको स्थिति मजबुत पारिएकाले निर्वाध रुपमा पेशा व्यवसाय सञ्चालन गर्न र सवारी साधन चलाउन अनुरोध पनि गरेको छ ।