जनता बैंक र लिडरशिप एकेडेमीबीच क्षमता अभिवृद्धि सम्बन्धि सम्झौता
काठमाडौं । जनता बैंक र लिडरशिप एकेडेमी नेपालबीच कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्री र लिडरशिप एकेडेमी नेपालका फाउण्डर तथा सीटीओ अरुणराज जोशीले हस्ताक्षर गरेका हुन् । बैंकको विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न जनता बैंक र लिडरशिप एकेडेमी नेपाल ( एल्एएन )बीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । लिडरशिप एकेडेमी नेपालले राईस युनिभर्सिटी विजनेश स्कुल युएस्एको उच्च स्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको सिप विकास, व्यवसायीक दक्षता तथा नेतृत्व विकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार विभिन्न तहका कर्मचारीहरुलाई प्रदान गर्नेछ । यस्ता तालिम तथा सिपमुलक शिक्षा आनलाइन कोस, गोष्ठि तथा सेमिनारहरु मार्फत प्रदान गरिने छ । लिडरशिप एकेडेमी नेपालले बिशेष गरी एड्भान्स लिडरशिप प्रोग्राम, अनलाइन राइस डेलिभरि, जस्ता कार्यक्रममार्फत शिक्षा प्रदान गर्नेछ । यस किसिमको शैक्षिक तथा तालिमको माध्यमबाट बैंकका कर्मचरीहरुको कार्य दक्षता तथा व्यवसायीक कुशलता अभिवृद्धि हुनुको साथै उनीहरुको नेतृत्व क्षमता विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास बैंकको रहेको छ ।
आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छ: अर्थमन्त्री डा. खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, “सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु ठूलो कुरा छैन ।” अर्थमन्त्री डा. खतिवडाले बजेट विनियोजनमा तराई–मधेशलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र रु एक अर्बमाथि बजेट विनियोजन गरिएको बताए ।दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको जानकारी दिँदै उनले भने, “दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्छ ।” अर्थमन्त्री डा. खतिवडाले भूकम्पको पुनःनिर्माण सकुञ्जेल वैदेशिक ऋण बढ्न सक्ने बताउँदै ऋणलाई राष्ट्रिय उत्पादकत्व र द्रुत विकासमा खर्च गरिने हो भन्दै मन्त्री डा. खतिवडाको जवाफमाथि सांसद डिला सङ्ग्रौलाले बजेट वितरणमुखी र सस्तो लोकप्रियता हासिल गर्ने खालको रहेको आरोप लगाएका छन् । त्यसैगरी, सांसद प्रेम सुवालले वैदेशिक ऋण लिएर किन कर्मचारीको तलब वृद्धि गरियो भन्ने प्रश्न गरे । अर्थमन्त्री डा. खतिवडाले आर्थिक क्षमता बढाएर वितरण गर्दै जाने हो, जनताको जीवनस्तर माथि उकास्नु नै सरकारको लक्ष्य हो भनेका छन् । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा क्षेत्रमा बजेटको बढी चाप रहेको बताउँदै उनले विप्रेषणको रकम उपयोग भइराखेको जानकारी समेत दिएका थिए । रासस
नयाँ टाटा टियागो एक्सजेड प्लस अब नेपालमा
काठमाडाैं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रा.लि.ले नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा भित्र्याएकाे छ । रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू एकदमै आकर्षक र परिवर्तनकारी रहेको कम्पनीले जनाएकाे छ । टाटा टियागो गाडीमा एन्ड्रोइड अटो र नेभिगेसन सहितको हर्मनको आकर्षक ७ ईन्चको टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । १ सय ८० एमएम ग्राउन्ड क्लीयरेन्स भएकाेले अप्ठेरो बाटोमा पनि यात्रा सहज अनुभव गराउँछ । बिल्कुलै नयाँ स्पोर्टी १५ ईन्च डुअल टोन एलोय पांग्राहरूले गाडीको आकर्षण बढाएको छ । अन्य रोचक विशेषताहरूमा इलेक्ट्रिकोल्ली एडजस्ट गर्न र फोल्ड गर्न मिल्ने ओआरभिएम, प्रोजेक्टर हेडल्याम्प, फ्रन्ट ग्रिलमा क्रोम्ड स्ट्रीप भएको, रियर हाई माउण्ट स्टप ल्याम्प र स्ट्म्याम्पसहित इन्टिग्रेटेड स्पोइलरले बजारमा यसलाई बिल्कुलै भिन्न बनाएको छ । टाटा टियागो एक्सजेड प्लसमा इमोबीलाइजर, डुअल फ्रन्ट एअर ब्यागहरू, अधिकतम यात्रु सुरक्षाका लागि इबीडीसहितको एबीएस जस्ता उच्चतम प्राविधिक विशेषताहरू रहेका छन् । त्यसैगरी आरामदायी यात्राको सुनिश्चितता गर्न भेरिन्टहरूमा मल्टीड्राइभ मोडहरू, इलेक्ट्रिक पावर स्टेरिङ तथा एकीकृत रियर नेक रेस्ट जस्ता विशेषताहरू रहेका छन् । टाटा मोटर्सका प्यासेन्जर भेइकल्स, इन्टरनेश्नल बिजनेसका प्रमुख सुजन रोय भने “इम्प्याक्ट डिजाइन अन्तर्गत सार्वजनिक गरिएको पहिलो उत्पादन टियागो सन् २०१६ मा सार्वजनिक भएदेखि नै आकर्षक, नवीन र विशेषताहरुले भरिपूर्ण कारका रूपमा अग्रस्थानमा छ । उच्च कार्यक्षमता, उच्च प्राविधिक विशेषताहरू र अग्रणी ड्राइभिङ डायनामिक्सका कारण टियागो एक्सई, एक्सएम तथा एक्सजेड प्लसले अहिलेको समयका ग्राहकहरूको बदलिँदो चाहना र आकंक्षालाई सम्बोधन गर्दछ ।” सिप्रदी टेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भने “नयाँ टाटा टियागो एक्सजेड प्लस बजारमा सार्वजनिक गरिएसँगै हामी हाम्रा ग्राहकहरूलाई विभिन्न उत्कृष्ट विकल्पहरू प्रदान गर्न पाएकोमा एकदमै खुसी छौँ । यो नयाँ उत्पादनसँगै नेपाली बजारमा हामी हाम्रो उपस्थिति बलियो बनाउनतर्फ केन्द्रित छौँ ।” टाटा टियागो भेरियन्टहरू ६ आकर्षक रंगहरू कपर ड्याजल, एस्प्रेसो ब्राउन, पर्ललेसेन्ट ह्वाईट, प्लेटिनियम सिल्भर, स्टाइकर ब्लु र बेरी रेडमा उपलब्ध छन् । स्ट्यान्डर्ड वारेन्टी पनि रहेको छ, चार वर्ष वा ७५ हजार किलोमिटर जुन पहिला आउँछ साथै थप मिल्ने सुविधा पनि रहेको छ ।
शेयर बजार परिसूचक पुरानै गतिमा फर्कियो, कारोबारले सुधारको आशा जीवितै
काठमाडौं । दुई कारोबार दिनमा झिनो सुधार देखिएको नेपाल स्टक एक्सचेञ्ज परिसूचकले फेरि पुराजै गति लिएको छ । आर्थिक वर्ष २०७५/७६ को घोषणापछि घट्दो गतिमा रहेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार फेरि दोहोरो अंकले घटेको हो । १०.०१ प्रतिशतको गिरावटसँगै आइतबार नेप्से १२५४.३५ अंकमा रोकिएको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ र फ्लोट इन्डेक्स समेत नकारात्मक देखिएको बजारमा विकास बैंक, फाइनान्स कम्पनी र म्युचुअल फण्ड उपसमूहबाहेक अन्य समूहमा गिरावट देखिएको छ भने कारोबार भने ४८ करोड १८ लाख रुपैंया पुगेको छ, यो कारोबार रकम अघिल्ला दिनहरुको भन्दा उच्च हो । नेप्से घटेपनि कारोबार रकम बढ्नुले बजारमा सस्तो मूल्यमा शेयर उठाउने लगानीकर्ताहरु भित्रिएको संकेत गर्छ । आजको बजारमा लक्ष्मी बैंकको सर्वाधिक ४ करोड कारोबार हुँदा डिप्रोक्स विकास बैंक, चिलिमे हाइड्रोपावर, सिभिल बैंक र नेपाल बैंकको कारोबार २ अर्बभन्दा माथि छ । बजारमा गुराँस र गणपति लघुवित्तका शेयरहरु करिब १० प्रतिशत वृद्धि भई ती शेयरहरुमा सर्किट ब्रेकर लाग्दा स्वदेशी लघुवित्त, शिखर इन्स्योरेन्सको शेयरमा ६ प्रतिशत माथिको गिरावट देखिएको छ ।
केश टिचिङ पाडागोजी कार्यशाला सम्पन्न
काठमाडौं । त्रिवि व्यवस्थापन सङ्काय, डीन कार्यालयको सहयोग तथा सरस्वती बहुमुखी क्याम्पसको आयोजनामा “केश टिचिङ पाडागोजी” सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुका व्यवस्थापन र वित्तशास्त्र विषयका ८० जना प्राध्यापकहरुको सहभागिता रहेको थियो । कार्यशालाको उद्घाटन गर्दै व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले विगतमा चरम राजनीतिले ग्रसित सरस्वती बहुमुखी क्याम्पस जुरुक्क उठेकोमा खुसी लागेको र मुलुक परिवर्तनको लागि यसबाट शिक्षा लिनुपर्ने बताए । त्रिवि व्यवस्थापन सङ्कायका सहायक डीन दिनेशमणि घिमिरेले शैक्षिक गुणस्तरका लागि विश्वविद्यालय सही बाटोमा अघि बढिरहेको उल्लेख गरे । नेपाल प्राध्यापक संघका सभापति रामेश्वर उपाध्यायले प्राध्यापकहरुले सैद्धान्तिक र व्यवहारिक रुपमा समय सापेक्षित बाटो देखाउनुपर्ने बताए । नेपाल कमर्श क्याम्पसका क्याम्पस प्रमुख जीवनकुमार भट्टराईले व्यवस्थापन सङ्काय अन्तर्गतका विषयहरुमा विद्यार्थीहरुको आकर्षण दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा यस खालका कार्यशालाहरुले प्राध्यापकहरुको शिक्षण सिकाईलाई अझ तिखार्ने उनकाे भने । स्वागत मन्तव्यको क्रममा सरस्वती बहुमुखी क्याम्पस, रिसर्च मेनेजमेण्ट सेल तथा बीबीए डाइरेक्टर प्रा.डा. सतीशकुमार ओझाले देशभित्र र विदेशमा फ्याकल्टीहरुले आफूलाई अब्बल सावित गर्न कार्यशालाले थप मद्दत गर्ने उल्लेख गरेका छन् । उद्घाटन तथा समापन सत्रमा सरस्वती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. गोलमान गुरुङले सभापतिको आशनबाट बोल्दै शैक्षिक क्षेत्रमा न्यून भ्रष्टाचारको विधि अपनाई विद्यार्थी र प्राध्यापकहरुको गुणस्तर अभिवृद्धि गर्नेतर्फ जोड दिए ।समापन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट त्रिवि वित्तशास्त्र विषय समितिका अध्यक्ष प्रा.डा. बालकृष्ण श्रेष्ठले केश टिचिङ पाडागोजीमा भएको कार्यशाला पहिलो पाइलाको शुरुवात भएको जानकारी दिए । कार्यशालामा सहभागीहरुको तर्फबाट प्रा.डा. युवाराज भट्टराई, डा.पुष्पा महर्जन, अञ्जु गौचाले मन्तव्यको क्रममा ट्रान्स्फरमेशनको नमूनाको रुपमा सरस्वती बहुमुखी क्याम्पस मुलुकमै उदाहरणीय बनेको उल्लेख गरे । कार्यशालामा केश डेभलपमेण्ट र विश्लेषणतर्फ प्रा.डा. महानन्द चालिसे, सह प्रा.डा. ध्रुवलाल पाण्डे, सह प्रा.डा. गोविन्द तामाङ तथा एमएस एक्सलतर्फ प्रा.डा. राजनबहादुर पौडेल, सञ्जय घिमिरे र भरतसिंह थापाले सहजीकरण गरेका थिए ।
अमेरिकामा पूर्व गृह राज्यमन्त्री बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि
काठमाडौं । योग, ध्यान र यज्ञका माध्यमबाट राष्ट्र एवं विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिएको भन्दै अमेरिकाको आयोवामा रहेको महर्षि व्यवस्थापन विश्वविद्यालयले पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको छ । नेपाली काङ्ग्रेसबाट राजनीति शुरु गरेका बाँस्कोटा पछिल्लो समय पार्टी गतिविधि भन्दा वैदिक ज्ञानको प्रचारप्रसारमा सक्रिय भए । दुई दशक अघिदेखि नेपाल महर्षि वैदिक फाउण्डेसन नामक संस्था स्थापना गरी वैदिक नेपाल बनाउने अभियानमा क्रियाशील भएका छन् । महर्षि महेश योगी शुरु गरेका विश्वव्यापी रुपमा वैदिक ज्ञान प्रसारको अभियानमा फाउण्डेसन सक्रिय हुँदै आएको छ । यस अभियान अन्तर्गत हाल देशका ७५ वटा वैदिक गुरुकुलमा राष्ट्र एवं विश्व शान्तिको सङ्कल्पले योग, भावातित ध्यान, सिद्धिसहित रुद्राभिषेक भइरहेको छ । विगत पाँच वर्षदेखि गुरुकुलमा यो अनुष्ठान भइरहेको छ । यसअघि शान्ति प्रक्रियाको सफलतासहित दिगो राष्ट्र एवं विश्व शान्तिको कामना गर्दै काठमाडौँको बाँसबारी र पशुपतिस्थित विश्वरुप मन्दिरमा पनि वैदिक रुद्राभिषेक गरिएको थियो । राष्ट्रिय सहकारी महासङ्घका पूर्व अध्यक्षसमेत रहेका बाँस्कोटा अर्गानिक खेतीमा समेत संलग्न छन् । आयुर्वेदलगायत वैदिक कृषि, वास्तु लगायतको प्रवद्र्धनमा समेत उनले महत्वपूर्ण काम गरेको फाउण्डेसनले जनाएको छ । विश्वव्यापी रुपमा फैलिएका महर्षि महेश योगीका चेलाले नेपालमा वैदिक ज्ञानको प्रचारप्रसारका लागि सहयोग गर्दै आएका छन् । ऋग्वेदबाट आएको भावातित ध्यानका प्रणेता महर्षि महेश योगीले विसं २०३१ मा नेपाल भ्रमण गर्दा नेपालले वैदिक ज्ञान प्रसारमा विश्वको नेतृत्व गर्नसक्ने प्रवचन टुँडिखेलमा गरेका थिए । हिमालयको देश नेपालमा प्राचीन कालमा ऋषिमुनिले ध्यान साधनाका माध्यमबाट वेदका मन्त्र देखेकाले गुरु देशका रुपमा विकास गर्न वैदिक ज्ञानको विस्तार गरिनुपर्ने महेश योगीको जोड थियो । महेश योगीको श्रव्यदृश्य सामग्रीबाट प्रभावित भई उनका चेलाको ध्यान हाल नेपालमा केन्द्रित भएको फाउण्डेसनले जनाएको छ । सम्मानार्थ विद्यावारिधि उपाधि पाएपछि रासससँग कुरा गर्दै अध्यक्ष बाँस्कोटाले यो सम्मान समग्र नेपालको वैदिक अभियानका लागि भएको प्रतिक्रिया दिएका छन् । नेपालमा निकट भविष्यमै वैदिक कृषि, वैदिक स्वास्थ्य, वैदिक आवास, चेतनामा आधारित शिक्षालगायत कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए । हाल एक दर्जन विद्यालयमा भावातित ध्यानसहितको चेतनामा आधारित शिक्षा लागू भएको छ । रासस
आगामी आवको पुँजीगत बजेट ६ खर्ब ४६ अर्ब, प्रदेश र स्थानीय तहको साढे दुई खर्ब
काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आवमा विनियोजित बजेटमध्ये ६ खर्ब ४६ अर्ब पुँजीगत बजेट भएको बताएको छ । सरकारले आगामी आवमा १५ सय ३२ अर्ब बजेट प्रस्तुत गरेको छ । सो बजेट मध्ये ६ सय २६ अर्ब विकास बजेट भएको आयोगका सचिव लक्ष्मण अर्यालले बताए । ‘संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा जाने बजेट समेत गर्दा विकास बजेट सवा ६ खर्ब पुग्छ,’ उनले भने ‘विकास निर्माणका काममा प्रशस्त बजेट विनियोजन भएको छ । संघीय सरकारले आगामी आवको लागि चार खर्ब ८ अर्ब पुँजीगत बजेट विनियोजन गरेको छ । प्रदेश र स्थानीय तहमा क्रमशः एक खर्ब ३८ अर्ब र एक खर्ब बजेट विनियोजन भएको हो । देश पूर्वाधार विकास निर्माणमा जुटेको छ । सरकारले चालु आवका लागि तीन खर्ब १३ अर्ब रुपैयाँ पुँजीगत खर्चमा छुट्याएको छ । सो बजेटमध्ये हालसम्म एक खर्ब ५६ अर्ब ८१ करोडमात्रै खर्च गरेको छ । पुँजीगत खर्च संघः ४.0८ खर्ब प्रदेशः १.३८ खर्ब स्थानीय तहः १.00 खर्ब कुलः ६.४६ खर्ब संघ, प्रदेश र स्थानीय तहगरी संघीय बजेटको आधा जति विकास निर्माणमा खर्च हुने देखिएको छ । कतिपय नयाँ आयोजना थपिएका छन् भने कति निर्माणको क्रममा रहेका छन् । राज्यको प्राथमिकता नै पूर्वाधार निर्माण, विकास र समृद्धि भएकोले यहि अनुरुपको बजेट विनियोजन गरिएको हो । संघीय सरकारले आगामी आवको लागि वित्तीय समानीकरण र सशर्त अनुदान गरी प्रदेशलाई ९९ अर्ब ८४ करोड र स्थानीय तहलाई दुई खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ ।
भन्सार आयातमा नियमन गरिँदै,चार वर्षसम्म कागजात सुरक्षित राख्नुपर्ने
काठमाडौं । भारत तथा तेस्रो मुलुकबाट वस्तु आयात गर्ने व्यवसायीले चार वर्षसम्म कागजात सुरक्षित राख्नुपर्ने भएको छ । नेपालगञ्जका उद्योगी व्यवसायीसँगको छलफलमा भन्सार जाँचपास परीक्षण कार्यालय काठमाडौँका प्रमुख भन्सार परीक्षक सुशील पाण्डेले भन्सार सुधारका लागि भन्सार जाँचपासपछिको परीक्षण गर्न लागेको बताएका छन् । कार्यालयले भन्सार जाँचपास भएर सामान भित्र्याएका व्यवसायीको खाता एवं सम्बन्धित कागजात चार वर्षसम्म कुनै पनि बेला हेर्न सक्नेछ । “भन्सार सरलीकरण गर्ने र पछि केही प्रतिशत कारोवारको पुनःजाँच गर्ने नीति लिइएको हो”, उनले भने, “यसले भन्सारमा हुने छली नियन्त्रणमा सहज हुनेछ, आयात र निर्यात परीक्षण गर्न लागेका हौँ ।” जाँचपासपछिको परीक्षण भन्नाले पैठारीकर्ताको घोषणा कानूनबमोजिम ठीक/दुरुस्त वा वास्तविक कारोवार मूल्यमा आधारित छ भनी भन्सार विश्वस्त हुनका लागि उसको कागजात, खाता बही, व्यावसायिक प्रणाली वा पद्धति, वित्तीय सूचना तथा तथ्याङ्क आदिको निरीक्षणका बारेमा प्रशासक पाण्डेले जानकारी दिए । उनले उद्योेगी व्यवसायीले सरकारले भन्सार जाँचपाससम्बन्धी क्रियाकलाप व्यावसायिकमैत्री र सरल बनाउनुपर्ने बताएका छन् । आयात गरिएका मालसामान भन्सार बिन्दुमा आएर भन्सार जाँचपछि हुनसक्ने त्रुटि पत्ता लगाउन व्यवसायीको आयात निर्यातको व्यवहारलाई नियमन गर्दै गैरकानूनी कार्य रोकथाम तथा नियन्त्रण गरी राष्ट्रिय कर प्रणालीको सुरक्षा र आधुनिक भन्सार प्रणालीमा आबद्ध हुनु जाँचपासपछि परीक्षणको उद्देश्य रहेको पाण्डेले बताए । पाण्डेले भन्सारको आधुनिकीकरण र भन्सार प्रशासनलाई अझ बढी व्यावसायिक बनाउँदै लैजाने पनि बताएका छन् । भन्सार कार्यालयबाट जाँचपास भएको मालवस्तु जाँचपास भएको मितिले चार वर्षसम्म गर्न सकिने तर कुनै निकासी वा पैठारीकर्ताले झुठो लिखित कागजात तयार गरी लाग्नेभन्दा कम महसुल दाखिला गरेको प्रमाणित भए भन्सार परीक्षकले चार वर्षपछि जाँचपासको परीक्षण गर्नसक्ने कानूनी प्रावधान छ । भन्सार जाँचपास परीक्षण (पिसिए) आयात/निर्यात व्यवसायीको संलग्नतामा गरिने काम भएको उल्लेख गर्दै प्रशासक पाण्डेले त्यसबाट प्राप्त हुने त्रुटि सुधार गरिने उल्लेख गरेका छन् । “पिसिए अनुसन्धानभन्दा पनि त्रुटि पहिल्याउने र त्यसको सुधारका लागि गरिने जाँच हो”, उनले भने । नेपाल भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख भन्सार परीक्षक गोपाल कोइरालाले भन्सार जाँचपास परीक्षण (पिसिए) बारेमा विस्तृत रूपमा व्यवसायीलाई जानकारी दिँदै भने, “यसअघि पिसिए भन्सार कार्यालयबाट हुने गरेको थियो । अब पिसिए कार्यालयबाट मात्रै जाँच हुनेछ ।” उनले आर्थिक ऐन, २०७६ ले भन्सार ऐनको दफा ३४ मा थप संशोधन गरी सरल तथा जाँचपासपछिको परीक्षणलाई थप कानूनी आधारसहित मजबुत बनाउने प्रयास गरिएको बताए । पिसिएको व्यवस्था विसं २०७२ बाट लागू भएपछि हाल ‘भन्सार जाँचपासपछिको परीक्षण कार्यविधि २०७५’ कार्यान्वयनमा आएसँगै सोहीअनुसार हुँदै आएको छ । “व्यापार सहजीकरण र राजश्व सङ्कलन गर्ने उद्देश्यले पिसिए कार्यान्वयनमा आएको हो”, परीक्षक कोइरालाले भने, “प्रभावकारी नियन्त्रणका माध्यमबाट व्यावसायिक गल्ती कमजोरी र अपराधको न्यूनीकरण गर्ने यसको उद्देश्य रहेको छ ।” पिसिएअन्तर्गत प्रज्ञापनपत्रको परीक्षण, वस्तुमा आधारित परीक्षण र फर्मको परीक्षण गरिने उनले जानकारी दिएका हुन्। करदाताको बायोम्याट्रिक राखिने करदाताको बायोम्याट्रिक रेकर्ड आन्तरिक कार्यालयमा राखिने भएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलले सबै करदाता बायोम्याट्रिक प्रणालीमा आबद्ध हुनुपर्ने व्यवस्था आर्थिक ऐनले गरेको बताए। प्रमुख कर अधिकृत पौडेलले दर्ता भएको समयमा करदाताले उल्लेख गरेको ठेगाना र सम्पर्क नम्बर परिवर्तन हुँदा ‘ट्र्याक’ गर्न समस्या हुने गरेकाले बायोम्याट्रिक प्रणाली लागू गर्न लागिएको जानकारी दिए । यसरी, बायोम्याट्रिक रेकर्ड कसरी राख्ने भन्ने विषयमा कार्यविधि बनिरहेको बताउँदै प्रमुख कर अधिकृत पौडेलले नयाँ व्यवस्थाले रु १० लाखभन्दा बढीको कर भुक्तानी चेकमार्फत अनिवार्य गरिएको जानकारी दिएका छन् । मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको अवधि छ महिनाबाट घटाएर चार महिना बनाइएको छ । उपभोग्य वस्तु खरिदमा ई–सेवाको प्रयोग गरेमा भ्याटमा १० प्रतिशत छुट दिइने नीति सरकारले लिएको समेत उनले बताएका छन् । रासस