बजार अस्तव्यस्त हुँदा बीमा कम्पनीहरु आतंकित, के गर्दैछ बीमा समिति
काठमाडौं । आर्थिक वर्षको अन्त्यसँगै बीमा कम्पनीहरुमा आतंक मच्चिएको छ । एकातिर व्यापार विस्तार गर्न नसकेको, अर्कोतिर कम्पनीका नियमिति काम कारवाही समेत अवरुद्ध भएपछि कम्पनीहरुमा खैलाबैला भएको हाे । ४० बीमा कम्पनी मध्ये २८ वटाले गत आर्थिक वर्षको साधारणसभा गर्न सकेनन् । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधाणसभा गर्नु पर्ने, ९ महिनाभित्र बीमा समितिबाट बीकमको अनुमति पत्र नविकरण गर्नु पर्ने कानुनी व्यवस्था छ । गत आर्थिक वर्षको आयव्यव लेखापरिक्षण गर्न नसक्दा र आर्थिक वर्ष सकिएको १ वर्षभित्र पनि वार्षिक साधारणसभा गर्न नसक्दा कम्पनीहरु धेरै कोणबाट अप्ठ्यारोमा परेका छन् । ‘लेखापरिक्षण र साधारणसभा नहुँदा नियाकमले कारवाही गर्छ । जरिवाना तिर्नुपर्छ । कम्पनीको दाहित्व बढ्छ । सेयरधनीले गाली गर्छन् । लेखापरिक्षण र साधारणसभा नियमति नहुँदा कम्पनीको छवि विग्रन्छ । कतिपय ठाउँमा राम्रा विजनेश अवसरहरु पनि गुमाउनुपर्छ’ नाम उल्लेख नगर्ने सर्तका एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । ‘नियामकले भनेअनुसार चुक्ता पुँजी पुर्याउन सकिएको छैन । मर्जरको कुरा आएको छ । बीमा समितिलेले पेलेको पेलै छ’ उनले भने–‘नयाँ कम्पनी थपिए, विजनेश बढाउन सकिएको छैन । नाफा बढाउन सकिएको छैन । सेयरको मूल्य घट्दो छ । लगानीकर्ताको दवाव थेगि नसक्नुछ । हामी आतंकित भएका छौं’ उनले भने । ‘सरकार रेल र पानी जहाज ल्याउने कुरा गर्छ । हवाई जहाज ल्याण्ड गर्ने सडक बनाउँछु भन्छ । देशमा उद्योग व्यवसाय चौपट छ । मुलुकको व्यापार घाटा थेग्नै नसक्ने भएको छ । कृषि बीमाको प्रिमियममा दिन्छु भनेको ७५ प्रतिशत अनुदान सरकारले दिएको छैन’ उनले भने । दुई वर्षअघि सेयर बजारमा बीमा समूहको परिसूचक १० हजार भन्दा माथि पुगेको थियो । अहिले ५ हजार नजिक आएको छ । त्यसमाथि बीमा कम्पनीहरुले एक वर्षसम्म साधारणसभा नगर्दा बीमा कम्पनीहरुप्रति लगानीकर्ताको विश्वास खस्कदै गएको छ । विजनेशको खोजीमा बीमा कम्पनीहरुले गाउँ गाउँमा शाखा विस्तार गरेका छन् । तर बिजनेशको अभाव र जनशक्ति व्यवस्थापन गर्न नसक्दा खोलिएका शाखाहरु पनि सञ्चानल गर्न नसक्ने अवस्थामा बीमा कम्पनीहरु पुगेका छन् । कर्णालीमा खोलिएका केही बीमा कम्पनीका शाखाहरु बन्द गर्नु परेको समेत जानकारहरु बताउँछन् । एकातिर दुर्गम क्षेत्रमा गएर काम गर्ने जनशक्तिको अभाव छ भने अर्कोतिर राजधानीको मुख्यालयमा बसेर एनएफआरएस अनुसार एकाउन्टिङ गर्न जनशक्तिको समेत अभाव रहेको छ । एक चरणमा १२ वटा बीमा कम्पनी थपिदा बजारमा अस्वस्थ्य प्रतिस्प्रर्धा देखिएको छ । बीमा कम्पनीहरु विजनेश बढाउन नसकेर छटफटाईरहेका छन् भने सरकारले पुँजी वृद्धि गर्न र मर्जमा जान दवाव दिईरहेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने- ‘यस वर्ष बीमा कम्पनीहरूले समयमा साधारण सभा गर्न सकेनन्, त्यसको मूल कारण एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्न भएको ढिलाइ हो । आगामी वर्षमा भने सबै बीमा कम्पनीहरूले पुष मसान्त भित्र साधारण सभा गर्ने उनले बताए ।
न्यायिक समितिमा ७२ उजुरी दर्ता, बढी जग्गा विवादकाे
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । समिति गठन भएयता ७२ उजुरी दर्ता भएकामा १५ वटा जग्गा विवादको उजुरी परेको छ । अधिकांश उजुरीहरु साँध सिमाना, एक जनाको हकको जग्गा अरूबाट भोगचलन गरेको, एउटाकोे जग्गा अर्कैले मिचेको जस्ता उजुरी न्यायिक समितिमा पर्ने गरेको उपप्रमुख रमादेवी राईले बताए । उनका अनुसार चालू आर्थिक वर्ष २०७५/७६ मा ७२ वटा उजुरी दर्ता भएकामा १५ वटा जग्गाा विवाद, ठगी–लेनदेनको दुई, घर बहालसम्बन्धी आठ, पारिवारिक विवादको ११, ध्वनि प्रदूषणका दुई र अन्य विविध १७ उजुरी दर्ता भएको बताएका छन् । यस अवधिमा आठ वटा मुद्दा मिलापत्रको मध्यमबाट टुङ्ग्याइएको छ । दुई उजुरी अदालत पठाएको, एउटा निर्णय भएको छ । अर्को एउटा निर्णयउपर पुनरावेदन गएको छ । त्यस्तै मुल्तबी चार थान र अन्य निर्णय भएको १८ उजुरी रहेको छ । नगरपालिकामा आउने उजुरीहरु सबै लिखित रुपमै आउने गरेका छन् । उपप्रमुख राईको संयोजकत्वमा रहेको समितिमा दुई जना कानून व्यवसायी सदस्य रहेका छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक मङ्गलबार र शुक्रबार इजलास राख्दै आएको छ । रासस
मस्र्याङ्दी हाइड्रोको सबै सेयर किन्यो बुटवल पावरले, २८२ मेगावाटको आयोजना बन्दै
काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिको सबै सेयर खरिद गरेको छ । मनाङ जिल्ला स्थित २८२ मेगावाटको मस्र्याङ्दी हाइड्रोपावर प्रोजेक्टको कम्पनी मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिको कायम सेयरधनीहरु राजरत्न इनर्जी होल्डिङस् प्रालि र मस्याङ्दी पावर कम्पनी प्रालिको सबै ८८५९६० कित्ता सेयर खरिद गरेको हो । मस्र्याङ्दी हाइड्रो पावर प्रोजेक्टले चिनियाँ साझेदारहरु एससीआइजी, इन्टरनेशन, क्यासी इन्टरनेशनल र एससीआईजी इन्टरनेशनल नेपाल ज्वाइन्ट डेभलपमेन्ट प्रालिको संयुक्त लगानीमा २८२ मेगावाट क्षमताको आयोजना निर्माणको प्रक्रियामा रहेको छ । सो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र प्राप्त भई विद्युत खरिद बिक्री प्रक्रियामा रहेको छ ।
२०० बढी यातायात मजदुरले एकैस्थानमा गरे रक्तदान
काठमाडौँ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको वार्षिकोत्सवको अवसरमा नेपाल मेडिसिटी अस्पतालले बृहद् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ललितपुरको लगनखेलमा आयोजना गरिएको कार्यक्रममा २०० भन्दा बढी सर्वसाधारणले रक्तदान गरेका छन् । देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिरहेको संगठनले आफ्नो स्थापनाको ४०औं स्थापना दिवस मनाउँदै गर्दा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल मेडिसिटी अस्पतालका विशेषज्ञ चिकित्सकहरु, तथा स्वास्थ्यकर्मीहरुको सहभागिताका सञ्चालन हुँदै आएको शिविरमा यसपटक भने नेपाल मेडिसिटीको ब्लड बैंक युनिट सहभागि रहेको थियो । आफ्नै भवनभित्र ब्लड बैंक रहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले रक्तदानले आपतकालीन अवस्थामा जो कोहीको ज्यान जोगाउने भएकाले संगठनसंग सहकार्य गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि कार्यक्रममा सहभागी भएका थिए । रक्तदान कार्यक्रमका लागि उत्साहजनक सहभागिता रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।
काभ्रेपलाञ्चोकमा आलु चिप्सको उद्योग सञ्चालन हुने
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरमा आलुको चिप्स बनाउने उद्योग सञ्चालन हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन बनेपाको अनुदानमा कृषक इच्छाराम दाहालले सो उद्योग सञ्चालन गर्न लागेका हुन् । आलुको मूल्य बढाउने उद्देश्यले उद्योग सञ्चालनमा सहयोग गरिएको आलु सुपरजोन बनेपा कार्यालयका प्रमुख वरिष्ठ कृषि अधिकृत दीपक पौडेलले बताए । आलु प्रशोधन गरेर विभिन्न परिकार बनाउन सकियो भने किसानलाई फाइदा पुर्याउन सकिन्छ भन्ने उद्देश्यले आलु चिप्स कारखाना खोल्न अनुदान सहयोग गरेको उनको भनाइ थियो । उत्पादित आलु सिधै बेच्नुभन्दा चिप्सलगायतका विभिन्न परिकार बनाएर बेचेमा बढी फाइदा हुने उनको भनाइ छ । आलु सुपरजोन कार्यालयको अनुदानमा उद्योग सञ्चालकले चिप्स बनाउने मेशिनरी सामान खरिद गर्नुपर्ने हुन्छ । “आवश्यक टहरा बनाउने सञ्चालकको काम हो”, उनले भने, “आलुलाई पखाल्ने, चाना पार्ने, पकाउने र प्याकिङ गर्ने औजार खरिदका लागि भने सुपरजोनले सहयोग गरेको छ ।” उत्पादनसँगै औद्योगिक क्षेत्रका रुपमा विकास गर्न सकेमा आलु उत्पादन गर्ने किसानले फाइदा लिन सक्ने कार्यालयले जनाएको छ । उद्योगका सञ्चालक दाहालले सुपरजोन आलु कार्यालय र मेडपा नामक संस्थाले दिएको तालिकाका आधारमा आफूले उद्योग सञ्चालन गर्न लागेको बताएका छन् । त्यसका लागि आवश्यक मेशिनरी सामान जुटाइरहेको र अब छिट्टै सञ्चालन हुने उनले बताए । उद्योग सञ्चालनमा आएसँगै बजारीकरणलाई जोड दिने र ब्राण्डका रुपमा नै विदेश निर्यात गर्ने उद्देश्यले नै उद्योग स्थापनामा जुटेको उनको भनाइ थियो । सुपरजोनले आलुको बीउ भण्डारण केन्द्र (रष्टिक स्टोर) निर्माणको काम भइरहेको जनाएको छ । त्यसका लागि चिसो ठाउँ आवश्यक भएको हुनाले बेथान चोकको ढुङ्खर्क र बनेपा नगरपालिका–३ काशीभञ्ज्याङ गरी दुई ठाउँमा बीउ भण्डारण केन्द्र बनाउने काम भइरहेको छ । जसको क्षमता दश मेट्रिक टन हुनेछ । त्यसका लागि बीस÷बीस लाखको अनुदान प्रदान गरिएको जनाइएको छ । त्यसमा समूहले १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ । साना सिँचाइ, भकारो सुधारलगायतका काममा सहयोग गर्दै आएको सुपरजोन कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोकमा आर्थिक वर्ष २०७३/७४ देखि आलु सुपरजोन कार्यालय स्थापना गरी काम भइरहेको छ । रासस
देवः विकास बैंकको आयोजनामा वीरगञ्जमा बिजनेश मिट २०१९ सम्पन्न
काठमाडौँ । देवः विकास बैंक लि.ले वीरगञ्ज महानगरपालिका, वडा नं. ०६, माइस्थान चोकमा असार ६ गतेदेखि आयोजित बिजनेश मिट २०१९ सम्पन्न भएको छ । बैंकको वीरगञ्ज शाखा कार्यालयको पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंक, वीरगञ्ज शाखाका कामु निर्देशक श्यामराज त्रिपाठी र बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गले संयुक्त रुपमा केक काटी कार्यक्रम उद्घाटन गरेका थिए । सो कार्यक्रममा स्थानीय प्रतिष्ठित उद्योगी, व्यापारी, समाजसेवी, पत्रकार, व्यवसायिक संघ संस्थाका प्रतिनिधि एवम् व्यवस्थापक, स्थानीय लब्धप्रतिष्ठित व्यक्ति तथा बैंकका ग्राहकहरुको उपस्थिति रहेको थियो ।
प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने, चुक्ता पूँजी १ अर्ब २ करोड हुने
काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा असार १० गते सिमरा बारामा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६०% हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । साविक ६४ करोड १५ लाख २० हजार चुक्ता पूँजीबाट हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुने कम्पनीले जनाएको छ ।
आशा लघुवित्तद्वारा नुवाकोटको देवीघाटमा उन्नत जातको बिउ बिजन वितरण
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले बागवानी बिकास केन्द्र नुवाकोटको सहयोग तथा समन्वयमा सोमबार कृषि सम्बन्धी परामर्श तालिम तथा उन्नत जातका बिउबिजन प्रदान गरेको छ । उक्त कार्यक्रममा संस्थाले आबद्ध महिला सदस्यहरुलाई बालीनालीमा लाग्ने रोग तथा समाधानको विषयमा परामर्श समेत प्रदान गरेको हो । यसरी, नुवाकोटका कृषि अधिकृतद्वय प्रदिपचन्द् नेपाल तथा नवराज थापाले उक्त कार्यक्रमपश्चात महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करिब ४५ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।