विकासन्युज

अधिकांश दुग्ध उद्योगमा ढल र शौचालयको दुर्गन्ध, कुन डेरीको अवस्था कस्तो ?

काठमाडौँ । भक्तपुर नगरपालिकाले औद्योगिक क्षेत्रभित्र रहेको दुग्ध डेरी तथा उद्योगमा गरेको अनुगमनका क्रममा अधिकांशमा फोहर भेटिएको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार गएको टोलीले गरेको अनुगमनमा शिवम् डेरी प्रालिमा ढल र शौचालयको दुर्गन्ध भएको पाइएको छ । त्यसैगरी भान्साको फोहर र अन्य फोहर छरप्रस्ट राखेको, डेरीभित्र पानी जमेको, ढल र शौचालयको दुर्गन्ध भएको, कामदारले एप्रोन, माक्स, बुट, हेयरनेटको प्रयोग नगरेको पाइएको खाद्य निरीक्षक कौशल ओझाले जानकारी दिए । ल्याबमा माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्ने, बरफमा राख्ने लिची तथा भेनिला सुगन्ध म्याद नाघेको पाइएकाले त्यही नष्ट गरिएको जानकारी दिँदै उहाँले सफा गर्न, दूध जोख्ने मेसिनलाई खुल्ला नराख्ने, ल्याब रेर्कड दैनिक रुपमा राख्न निर्देशन दिइएकोे खाद्य निर्देशक ओझाले बताए । त्यस्तै जगदम्बा डेरी फुड एण्ड वेभरेजमा फिर्ता ल्याएको दूध फेरि प्रशोधन गरेको पाइएकाले पुनःप्रशोधन नगर्न, सरसफाइमा विशेष ध्यान दिने, डेरीभित्र पानी जमेकाले व्यवस्थित गर्न, कामदारलाई एप्रोन, माक्स, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्न, ल्याबमा माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्ने, टेक्नीसियनलगायत कामदारको परिचय खोल्न प्रमाणपत्र वा परिचयपत्र राख्न निर्देशन दिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । त्यसैगरी भक्तपुर डेरी प्रालिमा ल्याब व्यवस्थित गरी माइक्रोवायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्र्न, फिर्ता ल्याएको दूध फेरि प्रशोधन गरेको पाइएकाले पुनःप्रशोधन नगर्र्न, सरसफाइमा विशेष ध्यान दिन, डेरीभित्र जमेको पानी व्यवस्थित गर्न, कामदार सबैले एप्रोन, माक्स, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्न, दुध ल्याएको र बजारमा पठाएको व्यवस्थित रुपमा रेकर्ड राख्न निर्देशन दिइएकोे उनले बताए । रासस

राष्ट्र बैंकले थपिदियो ब्याज तिर्ने म्याद, व्यवसायीलाई एक महिना राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणको ब्याज तिर्ने समय एक महिना थप गरिदिएको छ । राष्ट्र बैंकले सर्कुलर जारी गर्दै आर्थिक वर्ष समाप्त भएको एक महिनासम्म ब्याज तिर्न सकिने व्यवस्था गरेको हो । हालसम्म आर्थिक वर्ष सकिएको १५ दिनसम्म मात्रै ब्याज तिर्न पाउने सुबिधा थियो । राष्ट्र बैंकले १५ दिन समय थपेर एक महिनाको सुबिधा दिएको हो । देशभर आएको बाढी, पहिरो र डुबानका कारण व्यवसायीहरुलााई सहुलियत दिएको राष्ट्र बैंकले जनाएको छ । पुस मसान्त अवधिमा प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने लगानीको सिमालाई पनि असार मसान्त अवधीसम्म वृद्धि गरिदिएको छ । बाणिज्य बैंकले कुल लगानीको २५ प्रतिशत, विकास बैंकले १५ र फाइनान्स कम्पनीले १० प्रतिशत कर्जा सापटी प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ । बाणिज्य बैंकहरुले भने कृषिमा १० र उर्जा तथा पर्यटन क्षेत्रमा १५ प्रतिशत लगानी गर्नै पर्ने व्यवस्था थियो ।

उपकुलपतिसहित आठ जनाविरुद्ध मुद्दा, दासले चार करोड भ्रष्टाचार गरेको अभियोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरीद गर्दा बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक ‘स्पेशिफिकेशन’ र सोही कागजमा सङ्लग्न खरीद सम्झौताका शर्त अनुरुप काम नगरेको पाइएको छ । खरीद प्रक्रियामा उल्लेख भएका व्यवस्था उल्लङ्घन गरी बढी कबोल गर्ने बोलपत्रदातालाई बोलपत्रको स्वीकृति तथा सम्झौता गरेको उनीहरु माथि आरोप छ । आयोगले तत्कालीन उपकुलपति दासविरुद्ध रु चार करोड आठ लाख ९८ हजार, रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध रु ५६ लाख ७७ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । यस्तै अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हाविरुद्ध रु तीन करोड ७५ लाख ३० हजार भ्रष्टाचार गरेको आरोप छ । बोलपत्रको तथ्य विश्लेषण नगरी भुक्तानी दिन लेखा प्रमुख दिनेशराज दाहालले रु दुई करोड ३४ लाख ८१ हजार, उपप्रबन्धक अमित श्रीवास्तवविरुद्ध रु एक करोड ७४ लाख १६ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । उपकरण सप्लायर्स प्रोसिजना मेडिकल प्रालि, वायोमेड इन्टरनेशनल प्रालिका चेतन अग्रवाल, उपकरण आपूर्ति गर्ने वितरक सर्जिमके डिस्टिब्यूटरका उमेश अग्रवालले विभिन्न सामान आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरेको पाइएको छ । आयोगले चेतनविरुद्ध रु एक करोड चार लाख १६ हजार, उमेशविरुद्ध रु ६० लाख ३६ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका खरिदार नीता शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खरिदार शर्माले कार्यालयबाट खरीद भएको सामानको भुक्तानी दिने सन्दर्भमा सेवाग्राहीसँग रु ७० हजार घुस मागेको अभियोग लागेको छ । आरोपी शर्माविरुद्ध जरिवाना र कैद सजायको माग गरिएको छ । आयोगले जलस्रोत तथा सिँचाइ विभाग डिभिजन कार्यालय भोजपुरका सिडिइ मोहनबाबु यादवलाई रु एक लाख ८० हजार घुससहित आज पक्राउ गरेको छ । सिँचाइ कार्यक्रमको बील स्वीकृत गर्ने प्रयोजनका लागि सिडिइ यादवले घुस मागेको अभियोग लागेको छ । आरोपी यादवलाई भोजपुर नगरपालिका–७ स्थित फुपू भदैनी होटलबाट पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगले आजै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख सिडिइ अजितकुमार श्रीवास्तव र इञ्जिनीयर ग्रीष्मा ठगुन्नाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले बील मिलाइदिने भन्दै एक सेवाग्राहीसँग रु दुई लाख घुस मागेका थिए । आयोगले दुवै जनाबाट बिगो असुल गरी कैद सजायको मागसमेत गरेको छ । रासस

साँवा र ब्याज बुझाउने समय थप भएकोमा परिसंघद्वारा प्रसंशा

काठमाडौँ । नेपाल राष्ट्र बैँकले असार मसान्त भित्रमा वाणिज्य बैँकलाई बुझाउनु पर्ने ब्याज र साँवा बुझाउने समय एक महिना थप गरेकोमा नेपाल उद्योग परिसंघले सराहाना गरेको छ । नेपाल उद्योग परिसंघले आगामी मौद्रिक नीतिको सन्दर्भमा केही समय अघि राष्ट्र बैँक समक्ष प्रस्तुत गरेको सुझावमा तरलता व्यवस्थापनका लागि कर तथा ब्याज भुक्तानीको समय फरक–फरक गर्न सुझाव दिएको थियो । उक्त सुझाव प्रस्तुत कार्यक्रममा कर तथा व्याज भुक्तानीको समय फरक-फरक गरी समय बढाउन तत्काल लिन कार्यवाहक गभर्नर एवम् राष्ट्र बैँकको सकारात्मक धारणा रहेको थियो ।

नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष कार्कीले भने–अब वित्तीय सुधारमा भूमिका खेल्नेछौँ

काठमाडौ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७६/७७ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कायक्रमको सार्वजनिक गरेको छ । सोही नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा बोर्डले समष्टिगत बजार सुधार तथा विकासका बुँदाहरु सार्वजनिक गरेको छ । कार्यक्रम धितोपत्र बोर्डका अध्यक्ष डा. रेबत बहादुर कार्कीले भने–‘व्यापार क्षेत्रको विस्तार, स्थिर सरकार लगायत अन्य सकारात्मक संकेतहरु समेत देखा परेकाले धितोपत्र बजारमा सुधार हुन्छ ।’ अब बोर्डले वित्तीय सुधारको भुमिका खेल्नेछ ।’ पछिल्लो समय काठमाडांै उपत्यका बाहिर समेत पुँजी बजार गतिविधिहरु बढ्दै गएकाले सो सम्बन्धी जानकारी बढाउने भएको छ । जनसहभागिता बढाउन प्रदेश नम्बर १ बाट शुरु गरिएको प्रादेशिक पूँजी बजार प्रदर्शनीलाई बजार व्यवस्थापन मार्फत अन्य प्रदेशमा संचालन गर्न बोर्डले सहजीकरण गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेका बुँदाः केन्द्रीय निक्षेप कम्पनीमा अभौतिकृत रुपमा रहेका निश्चित सीमासम्मको सेयरहरुको बीमा गर्नकालागि बोर्डले सहजीकरण गर्ने । नेपाल सरकारले कर छुट मार्फत उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा ल्याउन प्रोत्साहन गरेको परिपेक्षमा यस्ता कम्पनीलाई सहुलियत दरमा ऋण प्रवाह गराइ थप प्रोत्साहनको व्यवस्था गर्ने । सूचीकृत कम्पनीहरुका संस्थापकहरुको लक इन पिरियड सम्बन्धी हाल कायम व्यवस्थालाई बजारमा प्रतिकूल असर नपर्ने गरी सुधार गर्ने । बेस्ट ग्रेडिङ पाएका सूचीकृत संगठित संस्थाहरुलाई मुद्रा बजार मार्फत ऋण प्रवाहमा सहुलियतमा सहजीकरण गर्ने । बोर्डमा प्राप्त हुने ‘कन्ट्राष्ट स्पेशिफिकेसन’ को अध्ययन गरेर कारोबारका लागि दर्ता गर्ने । धितोपत्र दलाल व्यवसायीहरुको कार्य क्षेत्र बिस्तार गर्न ब्रोकर डिलर सिप र एडभाइजरी सेवाको व्यवस्था गर्ने । मार्जिन कारोबार सम्बन्धी कार्यविधि पूर्वाधार तयार भइसकेकाले शीघ्र रुपमा कारोबार सुरु गराउने । आइक्यानसँग सहकार्य गरेर बोर्डले सूचीकृत संगठित संस्थाहरुको एनएफआरएस कार्यान्वयनको आवश्यक कार्य अघि बढाउने । वित्तीय विवरण पुनरावलोकन गर्ने संयन्त्र विकास गर्ने । वित्तीय साक्षरताका लागि बोर्डमा छुट्टै साक्षरता विभागको स्थापना गर्ने । बोर्डको अनुमति तथा स्वीकृतिका क्रममा रहेका फाइलहरु तथा अन्य कागजातहरुको स्थितिको पहिचान तथा पहुँचका लागि फाइल ट्याकिङ सिस्टम शीघ्र कार्यन्वयनमा ल्याउने । आर्थिक वर्ष २०७६÷७७ बाट बोर्डले ‘एक्चुरी भ्यालुएसन’ कार्यन्वयन गर्ने ।

साधना र आर्थिक समृद्धि लघुवित्तको एकीकृत कारोबार शुरु

काठमाडौँ । साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तिय संस्थालाई प्राप्ती(एक्विजिशन) गरी साधना लघुवित्त वित्तिय संस्थाको नामबाट सोमबारदेखि एकीकृत कारोबार प्रारम्भ गरेको छ । केन्द्रीय कार्यालय हरमटारी गोरखामा एक औपचारिक समारोहकाबीच नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले एकीकृत कार्यक्रमको सुरुवात गरेका हुन् । दुबै संस्थाले प्राप्तीका निमित्त सहमति पत्रमा जेठ २५ गते छुट्टाछुट्टै सम्पन्न विशेष साधारण सभावाट पारित विशेष प्रस्ताव बमोजिम नेपाल राष्ट्र बैंकको असार २५ गते अन्तिम स्वकृती पत्र प्राप्त गरेको हो । आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्राप्ति(एक्विजिशन) पश्चात् बन्ने संस्था ‘साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ले बेहोर्ने, सकार्ने गरी प्राप्ति(एक्विजिशन) गर्न स्वीकृती प्राप्त भएको हो । नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयको असार २७ गतेको पत्रवाट समेत स्वीकृति प्राप्त गरेको थियो । प्राप्ति पश्चात वित्तीय संस्थाको हालको चुक्तापूँजी रु.७ करोड ३५ लाख हुने र संस्थाको कुल निक्षेप रु २८ करोड, कुल लगानी रु. १ अरव २० करोड, शाखा संख्या कुल ४०, सदस्य संख्या ३३,००० हुने जनाइएको छ । वित्तीय संस्थाको आगामी आर्थिक वर्ष २०७६÷७७को योजना अनुसार १ः१(१०० प्रतिशत) हकप्रद शेयर तथा सर्वसाधारण शेयर जारी पश्चात् संस्थाको चुक्तापूँजी २१ करोड रहने छ ।

१ लाख ७ हजार घुस लिएको अभियोगमा महानगरका नायव सुब्बा सोती अख्तियारको नियन्त्रणमा

काठमाडौं । काठमाडौं महानगरपालिका, समाजिक विकास विभागका नायव सुब्बा कृष्ण प्रसाद सोतीलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले एक लाख सात हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको छ । नायव सुब्बा कृष्ण प्रसाद सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कायान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगले नियन्त्रणमा लिएको हो । निजलाई घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसर बरमहलबाट रंगे हात नियन्त्रण लिइएको आयोगद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बालविवाह अन्त्यका लागि ग्लोबल आइएमई बैंकको ५ लाख सहयोग

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्टा क्लब, काठमाडौंलाई बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा रु ५ लाख सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जोन्टा क्लब, काठमाडौंका अध्यक्ष मीरा ज्योतीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उक्त सहयोगबाट जोन्टा क्लबले प्रदेश सरकार तथा स्थानीय निकायहरुसँगको सहकार्यमा प्रदेश २ का विभिन्न विद्यालयहरुमा पुगेर करीब एक हजार विद्यार्थीमाझ बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानका कार्यक्रमहरु सञ्चालन गर्नेछ । गरिबी, अशिक्षा तथा अन्धविश्वासले गर्दा नेपालका धेरै समुदायमा बालविवाहको प्रचलन रहेको तथा प्रदेश २ मा यसको अवस्था गम्भीर रहेकोले बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा बैंक जोडिएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए । उक्त अवसरमा बैंकका सहायक महाप्रबन्धक आरती राणा, जोन्टा क्लबका सीमा गोल्छा लगायत बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।