एनआइसी एशिया क्यापिटलको म्युचुअल फण्ड इकाइ बिक्री साउन ८ गतेदेखि, कसले कति पाउने ?
काठमाडौं । एनआइसी एशिया क्यापिटलले १२ करोड ५० लाख इकाइ म्युचुअल फण्ड निष्काशन गर्न लागेको छ । उक्त म्युचुअल फण्ड इकाई साउन ८ गतेबाट निष्काशन गर्ने भएको हो । उक्त इकाई मध्ये एनआइसी एसिया बैंकलाई १ करोड ७५ लाख, एनआइसी क्यापिटललाई १२ लाख ५० हजार र सर्वसाधारणका लागि १० करोड ६२ लाख ५० हजार इकाई छुट्याइएको छ । निष्काशन छिटोमा साउन १२ र ढिलोमा भदौ ५ गते बन्द हुने कम्पनीले जनाएको छ । एनआइसी एसिया बैंक म्युचुअल फण्ड नाम दिइएको र प्रति इकाइ १० रुपैयाँका दरले निकाष्शन हुने म्युचुअल फण्डमा कम्तिमा १०० र बढीमा १ करोड ७५ लाख इकाइका लागि आवेदन दिन सकिने जनाइएको छ ।
करमा बायोमेट्रिक प्रणाली साउन १ गतेदेखि लागू नहुने, ‘पुगेन तयारी’
काठमाडौं । सरकारले करदाता दर्ता प्रणालीमा सुधार गर्न लागू गर्ने तयारी गरेको बायोमेट्रिक प्रणाली साउन १ गतेदेखि लागू नहुने भएको छ ।करदाताको बायोमेट्रिक लिने उपकरण जडान कार्य ढिला हुँदा बजेटले भने अनुरुप साउन १ गतेदेखि यो प्रणाली लागू गर्न नसकिएको हो । नयाँ व्यवस्थालाई कार्यान्वयन गर्न पुराना करदाताको सूचना अद्यावधिक गर्नका लागि नयाँ फारम बनाउने कार्य सम्पन्न भइसकेको आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तथा प्रवक्ता यज्ञप्रसाद ढुंगेल जानकारी दिए । मूल्य अभिवृद्धि कर र स्थायी लेखा नम्बर लिने नयाँ करदातालाई बायोमेट्रिकमा दर्ता गराउँछौँ,’ उनले भने–‘हामीले आवश्यक तयारी गरिरहेका छौँ, छिट्टै उपकरण जडान कार्य सम्पन्न हुनेछ ।’ ‘नयाँ फारममा करदाताको सूचना अध्यावधिक गरी उनीहरुको बायोमेट्रिक दर्ता पनि गरिनेछ,’ उनले भने– ‘आन्तरिक राजस्व विभागले सबै करदाता कार्यालयहरूलाई बायोमेट्रिक प्रणालीको उपकरण खरिद गर्न बजेटपछि नै निर्देशन दिइसकेको छ ।’ यद्यपी उपकरण जडान भइरहेकोले सो प्रणालीअनुसार दर्ता हुन भने समय लाग्ने ढुंगेलले बताए । कर प्रशासनलाई पारदर्शी बनाउन सरकारले पहिलोपटक करदातालाई बायोमेट्रिक प्रणालीमा आवद्ध गरी विवरण राख्ने व्यवस्था गरिएको हो । सरकारले जेठ १५ मा ल्याएको बजेटमा आगामी आवदेखि यस्तो व्यवस्था लागू गर्ने उल्लेख गरिएको छ । सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भएका करदातालाई आगामी आवभित्र र आयकरमा दर्ता रहेका करदातालाई क्रमशः नयाँ दर्ता प्रणालीमा आफ्नो विवरण अद्यावधिक गराउनु पर्ने व्यवस्था मिलाएको छ । अबदेखि स्थायी लेखा नम्बर लिई कारोबार गर्दै आएका उद्योगी तथा व्यवसायीले आन्तरिक राजस्व विभागले तोके बमोजिमको दर्ता सम्बन्धी विवरण बायोमेट्रिक प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ । बायोमेट्रिक प्रणाली भनेको करदाताको आँखा, अनुहार, हात आदीको डिजिटल विवरण संकलन गर्ने आधुनिक प्रणाली हो । भ्याटमा दर्ता भएका पुराना करदातालाई समेत बायोमेट्रिक प्रणालीमा आवद्ध गराउने जानकारी विभागले दिएको छ । मूल्य अभिवृद्धि करमा दर्ता भएका पूराना करदाताको विवरण अध्यावधि बायोमेट्रिक दर्ता गराउने प्रक्रियामा हामी अघि बढेका छौँ,’ उनले भने–‘त्यसपछि स्थायी लेखा नम्बर लिएका पुराना करदाताको विवरण अध्यावधिक र बायोमेट्रिक दर्ताको काम अघि बढ्छ ।’ बायोमेट्रिक प्रणाली कार्यान्वयनमा आएपछि करदाताको विद्युतीय हस्ताक्षर विभागले संकलन गर्नेछ । यसले करदाताको ट्रयाक गर्न सहज हुनेछ । कुनै करदाताले गल्ती गरे उसमाथि तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सहज हुने विभागको उनले बताए । हाल नेपालमा २१ लाख करदाता रहेका छन् । सोमध्ये दुई लाख ३० हजार करदाता भ्याटमा दर्ता भएका छन् । आयकरमा व्यवसायतर्फ १२ लाख र व्यक्तिगततर्फ ९ लाख करदाता रहेको ढुंगेलले जानकारी दिए ।
प्रदेश ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाले दिए राजीनामा
काठमाडौँ । प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका छन् । डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण नभई व्यक्तिगत कारण राजीनामा दिएको बताए । मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको तथा प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरु निर्माण गरेको उनको भनाइ छ । पदमा रहँदा मुख्यमन्त्री तथा प्रदेश सरकारको सधैँ साथ सहयोग गरेको भए पनि बाहिर बसेर अध्ययन बढाउनुपर्ने कारण राजीनामा दिएको बताए । मुख्यमन्त्रीलगायतले राजीनामा फिर्ता गर्न अनुरोध गर्नुभए पनि आफ्नो व्यक्तिगत कारण दिएको राजीनामा फिर्ता नलिएको उनको भनाई छ । यसअघि पनि प्रदेश ३ का मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले मुख्यमन्त्री डोरमणि पौडेलसँग मत बाझिएपछि राजीनामा दिएका थिए ।
कृषि विकास बैंकमा ३८४ जनालाई अवसर, वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको विज्ञापन
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले ३८४ जना कर्मचारी माग गरेको छ । बैंकको आव २०७५÷०७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेका कर्मचारी लोक सेवा आयोगको सहमतिमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागेको बैंकले जनाएको छ । बैंकले नवौँ तह वरिष्ठ शाखा प्रमुख ८ जना, सातौँ तह वरिष्ठ लेखा अधिकृत २२ जना, वरिष्ट इञ्जिनियर(आइटी) २० जना, पाँचौ तह व्यवसाय सहायक १०७ जना, एमआइएस सहायक १३ जना, ओभरसियर(सिभिल) ५ जना, चौथो तह लेखापाल(विराटनगर केन्द्र) ६७ जना, लेखापाल(भैरहवा केन्द्र) १०० जना र लेखापाल(सुर्खेत केन्द्र) ४२ जना माग गरेको हो । माग भएका कर्मचारी मध्ये खुल्ला २०९ जना, महिला ५६ जना, आदिवासी जनजाति ५० जना, मधेसी ३७ जना, दलित १७ जना, अपाङ्ग १० जना र पिछडिएको क्षेत्रका लागि ५ जना कोटा विभाजन गरिएको छ । सम्बन्धित पदमा इच्छुक र योग्यता पुगेकाहरुले असार ३१ गतेदेखि साउन २० गतेसम्म अनलाइन मार्फत दरखास्त दिन सक्नेछन् । साउन २१ गतेदेखि २७ गतेसम्म दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ । तह ४ र ५ का लागि खुलातर्फ रु.८०० र समावेशीतर्फ प्रत्येक समूहका लागि थप रु.४००, तह ७ र ९ का लागि खुलातर्फ रु.१००० र समावेशीतर्फ प्रत्येक समूहका लागि थप रु.५०० शुल्क बुझाउनु पर्नेछ ।
अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, संस्थापक सेयरधनीतर्फ ४ जना सञ्चालक निर्वाचित
काठमाडौँ । निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्स लिमिटेडले सोमबार प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सर्वसाधारणका लागि सेयर निष्काशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ । साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । संस्थापक सेयरधनीका तर्फबाट आजाद श्रेष्ठ, रामबहादुर गुरुङ, सागर ुूरुङ र चिरञ्जीवी ध्वा सञ्चालन निर्वाचित भएका हुन् । कम्पनीले चालु आवको हालसम्म ४९ हजार ४ सय बीमालेख जारी गरी रु. ४१ करोड बीमा शुल्क आर्जन गर्नुका साथै ३३० वटा दाबी बापत २ करोड ८३ लाख दाबी भुक्तानी गरेको जनाएको छ । त्यसैगरी हाल कम्पनीका संस्थापक सदस्यहरुबाट कायम रहेको चुक्ता पूँजी रु. ७० करोड रहेको छ । लगानीतर्फ ७८ करोड ५ लाख पुगेको छ । कम्पनीले प्रधान कार्यालय लगायत प्रादेशिक र शाखा कार्यालय सहित ३० कार्यालय, १ ग्राहक सेवाकेन्द्र र १७ वटा तेश्रो पक्ष बीमा काउण्टर मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले २०७६ बैशाख १ गतेदेखि ३६५ दिननै बीमा सेवा प्रदान गर्दै आएको छ । सेवा छिटो र पारदर्शी बनाउने उद्देश्यले फास्ट ट्रयाक दाबी भुक्तानी नीति अवलम्बन गरी २ लाखसम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको जनाएको छ ।
आज गुरु पूर्णिमा, गुरुप्रति सम्मान भाव प्रकट गरी मनाइँदै
काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यासजयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यासजयन्ती मनाउने गरिएको हो । गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिएका थिए । व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । यस वर्ष गुरुपूर्णिमाका दिन चन्द्रग्रहण परे पनि गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने पर्व बिहान पर्ने भएकाले कुनै असर नगर्ने समिति अध्यक्ष गौतमले बताए । पूर्णिमा व्रत पनि यस वर्ष मङ्गलबार नै परेको छ । रासस
नेपाल वायुसेवा निगमको प्रवक्तामा चन्द
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का नायब महाप्रबन्धक गणेशबहादुर चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले चन्दलाई आइतबार निगमको प्रवक्ता तोक्नुभएको संस्थाका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमको आर्थिक विभागमा वरिष्ठ अधिकृतको रुपमा सेवा प्रवेश गर्नुभएका चन्दले संस्थागत विभागको प्रमुखको रुपमा पनि काम गरिसकेका छन् । बैतडी स्थायी घर भएका चन्दले त्रिभुवन विश्वविद्यालयबाट एमबिए अध्ययन गरेका छन् । यसअघि निगमको प्रवक्तामा वरिष्ठ क्याप्टेन विजय लामा थिए । नवनियुक्त प्रवक्ता चन्दले निगमको संस्थागत सुधारका लागि आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । निगमले राष्ट्रियतर्फ नौ विमानमार्फत २२ गन्तव्य तथा अन्तर्राष्ट्रियमा दुई वाइड बडी, दुई न्यारो बडी जहाजले छ मुलुकका विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ । निगमले अन्तर्राष्ट्रियस्तरको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) प्रदान गर्दै आएको छ । रासस
बाढी पहिरोबाट हालसम्म ६९ जनाको मृत्यु, ३१ जना बेपत्ता
काठमाडौँ । यही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ६९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भई हालसम्म ६९ जनाको मृत्यु भएको, ३१ जना बेपत्ता भएका, ३८ जना घाइते भएका र १६ हजार ५२० घरपरिवार अस्थायी रुपमा विस्थापित भएको जनाएको छ । त्यस्तै हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट तीन हजार ३६६ जना व्यक्तिलाई उद्धार गरिएको छ । उद्घार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरु क्रियाशिल छन् । यस कार्यमा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायतका सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरु र स्थानीयवासी परिचालित भएको मन्त्रालयले जनाएको छ । शीघ्रातिशीघ्र उद्धारको काम प्रभावकारी रुपमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बन्धित सबैलाई निर्देशन र अनुरोधसमेत भइसकेको छ । मन्त्रिपरिषद्को असार २९ गतेको बैठकले सरकारका सबै निकाय र जनशक्तिलाई परिचालित गरी तत्काल राहतका कार्यहरु तदारुकताका साथ गर्न निर्देशन भएबमोजिम सम्पूर्ण घाइतेको निःशुल्क उपचार, घाइते भई अपाङ्ग एवं अशक्त भएका र मृतकका परिवारलाई यथोचित व्यवस्था गर्ने कार्य भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन सतर्कताका साथ औषधि र उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली परिचालन गरिरहेको विज्ञप्तिमा जनाइएको छ । विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवालाई सहज बनाइराख्न सरकारी र गैरसरकारी संयन्त्रहरु प्रभावकारी रुपमा परिचालन भइरहेका छन् । उद्धार र राहतलगायतका कार्यहरुमा आवश्यक सहयोग पु¥याउन सरकारले जनप्रतिनिधिलगायत सबैलाई आग्रहसमेत गरिसकेको छ । आपत्कालीन उद्धार तथा राहतका लागि आवश्यकतानुसार हेलिकप्टर उडान भइरहेको तथा काठमाडाँैबाट हेलिकप्टरमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा प्रवाहलाई सुचारू गर्न जेनेरेटर र धनुषाको लागि एक हजार १०० थान त्रिपाल पठाइएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै ललितपुर जिल्लाको महाँकाल गोटिखेलका २० र वाग्मती गाउँपालिकाको पिउटारका २० परिवारको लागि त्रिपाल, म्याट र कम्बल ४०÷४० थानका दरले हेलिकप्टरमार्फत पठाइएको छ । साथै सुर्खेत र इटहरीमा हेलिकप्टर तयारी हालतमा राखिएको छ । यसैगरी प्रदेश गोदामघर हेटौँडाबाट सिरहा, सर्लाही, रौतहट र महोत्तरी जिल्लाका लागि तीन÷तीन हजार थानका दरले १२ हजार थान त्रिपाल र चार रोल म्याटसहितको राहत सामग्री पठाइएको छ । इटहरीमा रहेको प्रदेश नं १ को गोदामघरबाट सप्तरीका प्रभावित परिवारलाई आश्रय प्रदान गर्न त्रिपाल वितरण गरिएको छ । घरबाट बाहिर सुरक्षित बसेकाहरुका लागि प्रदेश सरकार, स्थानीय तह र स्थानीयस्तरमा कार्यरत सङ्घसंस्थाबाट तत्कालको लागि खाद्यान्न व्यवस्थापन भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्भावित महामारीलाई मध्यनजर गरी प्रभावित जिल्लाहरुमा स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्थापन भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिहरुबाट उद्धार तथा बेपत्ताहरुको खोजीलाई तीव्रता दिइएको विज्ञप्तिमा जनाइएको छ । मकवानपुरस्थित इन्द्रसरोवर (कुलेखानी जलाशय) मा सामान्यतया कात्तिक महिनासम्ममा भरी हुने पानीको सतह अहिले नै भरिइसकेको छ । साठी मेगावाट विद्युत् उत्पादन गरी दुई सेन्टिमिटरको दरले पानीको सतह घटाउँदै लैजादासमेत पानीले अधिकतम सीमा रेखा नाघ्ने अवस्था आएमा जलाशयको ढोकाहरु खोल्नुपर्ने स्थिति आउन सक्ने बताइएको छ । हाल टर्बाइनबाट भएको निकासले पानीको सतह नियन्त्रणमा नै रहेको मन्त्रालयले जनाएको छ । ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रमा जनधनको क्षति हुन नदिने गरी सुरक्षा सतर्कता अपनाइएको छ । एसएमएसमार्फत अवस्थाको पूर्वसूचना दिने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ । रासस