राष्ट्रिय व्यवसायी महासंघले भन्यो-‘भेइकल ट्रयाकिङ सिष्टम तत्कालै लागू नगरौं’
काठमाडौं । भेइकल ट्रयाकिङ सिस्टम तत्काल लागू नगर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आग्रह गरेको छ । नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गर्न लागेको भेइकल ट्रयाकिङ सिस्टम तत्कालै लागू गर्दा साना व्यवसायीहरु समस्यामा पर्ने भन्दै महासंघले तत्कालै यस्तो लागू नगर्न आग्रह गरेको हो । देशभित्र मालवस्तुको आन्तरिक ओसारपसारको निगरानी अब अनलाइन प्रणालीबाट गर्ने गरी राजश्व अनुसनधान विभागले उक्त सिष्टम साउन १ देखि लागू गर्ने घोषणा गरिसकेको छ । व्यवसायीहरु यतिबेला धेरैतिबाट समस्यामा परेको बेला पुनः अर्को नीति ल्याएर अपठेरोमा पार्न नहुने मंगलबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘बैंकको ब्याजदर, महंगो घरभाडा, स्थानीय सरकारको विभिन्न शिर्षकका राजश्व लगायतका कारण व्यवसायीहरु त्यसै पनि समस्या छौं, अर्को महत्वपूर्ण कुरा मुलुक अझै पनि साक्षर हुन सकेको छैन, प्रविधिको प्रयोग भर्खरै बढ्दै गएको अवस्थामा प्रविधिबारे बुझ्न नै नपाई यो लागु हुनुहुँदैन भन्ने हाम्रो माग हो’ महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ । नयाँ प्रविधि भएको र व्यवसायीहरुलाई बुझ्न समेत केहि समय लाग्ने हुँदा यसलाई एक वर्ष परक्षिणको रुपमा लागू गर्नुपर्ने महासंघका अध्यक्ष नरेश कटुवालले बताए । सरकारले ल्याएको नीति कार्यान्वयनमा महासंघ प्रतिवद्ध रहेको भन्दै तत्कालै अनिवार्य लागु गर्दा व्यवसायीहरुलाई समस्या हुने भएकाले एक वर्ष परीक्षणको रुपमा सञ्चालन हुनु पर्ने अध्यक्ष कटुवालले बताए । ‘सरकारको नीति हो, हामीले यसलाई नराम्रो भन्न खोजेको कदापी होइनौं’ अध्यक्ष कटुवालले भने, ‘प्रविधिमा हामी धेरे पछाडी छौं, प्रविधिको पहुँचमा पुग्न अझै समय लाग्छ नै यसकारण पनि अहिले नै यो अनिवार्य लागू गर्नु हुँदैन भन्ने हाम्रो माग हो ।’ विभाग लागु गर्न लागेको भेइकल ट्रयाकिङ सिष्टम तत्कालै लागू गर्न साना व्यवसायीहरुलाई रहेको उनले बताए ।
साना किसान विकास लघुवित्तीय संस्थालाई ग्रामीण स्वावलम्वन कोष हस्तान्तरण, अब सेयरको मूल्य बढ्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोष साना किसान विकास लघुवित्त वित्तीय संस्थालााई हस्तान्तरण गरेको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर चिरञ्जीवि नेपालको उपस्थितिमा राष्ट्र बैंकले साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालालाई १ अर्ब १० करोडको उक्त कोष हस्तान्तरण गरेको हो । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई १ अर्ब रुपैयाँ दिने घोषणा गरेको थियो । तर, अहिले भने ग्रामीण स्वावलम्बन कोषको १ अर्ब १० करोड रुपैयाँ हस्तान्तरण गरिएको हो । कृषि कर्जा कार्यक्रम प्रभावकारी बनाउन संस्थागत सुधार गर्दै, मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जामा पहुँच सुनिश्चित गर्न साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत परियोजना कै धितोमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न १ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको अर्थमन्त्री खतिवडाले बताएका थिए । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कोइरालाका अनुसार हाल सम्म यस संस्थाले करिब ९ लाख किसानलाई ६ अर्ब रुपैयाँ बिनाधितो कर्जा प्रवाह गरेको छ । यस संस्थाको चुक्ता पुँजी ७८ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको सेयर मूल्य ९४८ रुपैयाँ रहेको छ । यसको सेयर मूल्य अब बढ्न सक्छ । उक्त कोष साउन १ गतेदेखि वित्तीय संस्थाले सञ्चालन गर्नेछ । यसअघि राष्ट्र बैंकले सञ्चालन गरेको ग्रामीण स्वावलम्बन कोषद्वारा सञ्चालित कार्यक्रमहरु तत्कालीन साना किसान विकास बैंक मार्फत सञ्चालन हुँदै आएको थियो ।
रानीजमरा कुलरिया र सिक्टा सिँचाई आयोजना सञ्चालन, कैलाली र बाँकेवासीमा उत्साह
काठमाडौँ । राष्ट्रिय गौरबको रानीजमरा कुलरिया र सिक्टा सिँचाई आयोजना मंगलबारबाट सञ्चालनमा आएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा दुबै गौरबका आयोजना सञ्चालनमा आएको जानकारी दिइएको हो । रानीजमरा कुलरिया सिचाईँ आयोजना ३८ हजार हेक्टर जमिनमा सिंचाई पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको हो । मंगलबारदेखि सञ्चालनमा आएको उक्त आयोजनाबाट हाल १४ हजार ३ सय हेक्टरमा सिँचाई सुबिधा पुग्ने गरी नहरमा पानी पठाइएको छ । कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाई प्रणाली सञ्चालन हुँदै आएको रानी, जमरा र कुलरिया सिँचाई प्रणालीलाई वृहत सिँचाईका रूपमा विकास गर्न सरकारले यो आयोजना निर्माण गरेको हो । एक सय वर्षभन्दा पहिलेदेखि यी तीन वटा पराम्परागत कुलाबाट कैलालीमा सिँचाइ सुविधा सञ्चालन हुँदै आएकोमा विसं १९८५ मा कर्णाली नदीमा आएको ठूलो बाढीले तीन वटै कुलोमा क्षति पुर्याएपछि सरकारले एकीकृत सिँचाइ आयोजनाका रूपमा अध्ययन गर्दै रानी जमरा कुलरिया सिंचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण अघि बढाएको थियो । करीब २७ अर्बको लगानीमा आयोजनाको काम सम्पन्न भएको हो । यता, २०६३ सालबाट निर्माण शुरु भएको अर्को राष्ट्रिय गौरबको सिक्टा सिचाईँ आयोजनापनि मंगलबार देखि नै सञ्चालनमा आएको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले जानकारी दिए । तत्कालै ५ हजार हेक्टरमा सिचाईँ सुबिधा पुग्ने गरी नहरमा पानी पठाएको ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयले जनाएको छ । २५ अर्बको लागतमा उक्त सिचाई आयोजना निर्माण सम्पन्न भएको हो । यी दुबै आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो । प्रतिकूल मौसमका कारण प्रधामन्त्रीले उद्घाटन गर्ने कार्यक्रम स्थगित भएपनि सिँचाई आयोजना भने सञ्चालनमा आएको उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयले जनाएको छ । बाँके जिल्लामा निर्मित सिक्टा सिचाईँ आयोजना निर्माण कै क्रममा भत्किएपछि गुणस्तरमाथि प्रश्न उठेको थियो । दुबै सिचाईँ आयोजना विश्व बैंकको ऋण अनुदानमा सम्पन्न भएका हुन् ।
बौद्ध धर्मावलम्बीको पर्व वर्षावास आजदेखि शुरु
रुपन्देही । बौद्ध धर्मावलम्बीको पर्व वर्षावास आजदेखि शुरु भएको छ । प्रत्येक असारको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ । वर्षाको कारण चारैतिर पानी पर्ने, जमिन भित्रका जीवहरु र किराहरु जमिन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरु वर्षावास बस्ने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विभिन्न बिहारहरुमा भिक्षुहरु वर्षावास बसेका छन् । लुम्बिनीको राजकीय बुद्ध बिहारमा भिक्षुहरु सागर धम्म, विमल धम्म र मिलिन्द वर्षावासमा बसेका छन् । बिहारमा धार्मिक कार्यक्रमको आयोजना गरी उनीहरु वर्षावास बसेको हो । भिक्षु सागर धम्मका अनुसार भिक्षु जीवनमा वर्षावासको निकै महत्व छ । भगवान् बुद्धले प्रतिपादन गरेको २२७ नियम विनियममध्ये वर्षावास पनि एक हो । बौद्ध परिब्राजक भिक्षुहरू कतै नगई एकै स्थान वा बिहारमा अधिष्ठान गरी बस्ने परम्परालाई वर्षावासको संज्ञा दिइएको छ । यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको हो । बौद्ध शास्त्रअनुसार सिद्धार्थ गौतम असार पूर्णिमाको रातमा कपिलवस्तुका राजा शुद्धोधनकी रानी मायादेवीको गर्भमा प्रवेश गरेका थिए । उनले २९ वर्षपछि आजकै दिनमा महाभिनिष्क्रमण (घरबार) त्यागंं गरेका हुन् । अनेक त्याग, तपस्या र ध्यान विधिबाट बुद्धत्व प्राप्त गरेपछि बुद्धले आजकै दिनमा पहिलो पटक पाँच जना ब्राह्मणहरुलाई शिक्षा दिएका थिए । जसलाई बौद्धहरु धर्मचक्र प्रवद्र्धन भन्छन्, असार पूर्णिमाकै दिनदेखि बुद्ध धर्मको प्रचारप्रसार अभियान प्रारम्भ भएको मानिन्छ । “भिक्षुहरुको वर्षावास भनेको भिक्षुहरु तीन महिना एकै बिहारमा बसेर अध्ययन एवं चिन्तन मनन गर्नु हो । वर्षाको समयमा मानिसहरु खेतीपातीमा लाग्नुपर्ने र भिक्षुहरु यताउता आवत जावत गर्न पनि गाह्रो हुने भएकोले भगवान् बुद्धले असार पूर्णिमादेखि आश्विन पूणिर्मासम्म वर्षावासको व्यवस्था गर्नुभएको हो”, भिक्षु धम्म भन्छन् । वर्षावासको समयमा बिहारमा दैनिक धार्मिक गतिविधि सञ्चालन हुने भएकाले उपासक उपासिका नियमित रूपमा बिहार गई पञ्चशील ग्रहण गर्ने, साप्ताहिक उपोसध धर्मपालना गर्ने, ध्यान बस्ने, नियमित दान प्रदान गर्ने कार्यक्रम हुने भिक्षु धम्मले जानकारी दिए । बौद्ध धर्मावलम्बीको वर्षावास पर्वका अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम सम्पन्न भएको छ । राजकीय बुद्ध बिहारमा आयोजित कार्यक्रममा राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले बुद्ध शिक्षालाई जीवन्त राख्न भिक्षुहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले बुद्धको शिक्षालाई आत्मसात् गरी अगाडि बढन सके समृद्धि सम्भव भएको बताउँछन् । “बुद्धको शिक्षालाई व्यावहारिक कार्यान्वन गर्नु जरुरी छ, शान्ति र अहिंसाको सन्देशबाट पाठ सिकेर अगाडि बढौँ”, उनले भने । राजकीय बुद्ध बिहारका प्रमुख भिक्षु सागर धम्मले बुद्धको शिक्षा र दर्शनलाई बुझ्न सके देशको समृद्धि टाढा नभएको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रध्यापक नीरबहादुर गुरुङले बुद्ध शिक्षाको प्रचार र व्यावहारिक कार्यान्वयन जरुरी रहेको उल्लेख गर्दै ब्रह्मकुमारी गीता दिदीले समाजलाई सही दिशामा डोर्याउन जरुरी रहेको धारणा राखिन् । रासस
बाढी पहिरोका कारण ७८ जनाको मृत्यु, सत्र हजार घरधुरी विस्थापित
काठमाडौं । मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिएको बताएका छन् । अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ । अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ । बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ । तीनै तहका सुरक्षा निकायका ४१ हजार बढी जनशक्ति उक्त अभियानमा सक्रिय छन् । रासस
बैंकमा पैसा थुप्रियाे, लगानी याेग्य पुँजी ९७ अर्ब रूपैयाँ
काठमाडाैं । असार मसान्तसँगै बैंकिङ क्षेत्रमा तरलता बढेकाे छ । हाल वाणिज्य बैंकहरूमा मात्र ९७ अर्ब रूपैयाँ जम्मा भएकाे नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बताएका छन् । सरकारी ठेक्काका भुक्तानी निकासा भएकाे, असार मसान्तसँगै निजी क्षेत्रबाट पनि बाँकी रकम भुक्तानी गर्ने अभ्यास भएकाे, कर्जाकाे व्याज, किस्ता बैंकमा जम्मा भएकाेले बैकिङ क्षेत्रमा तरलता बढेकाे गभर्नरले बताएका छन् । तरलता वृद्धिसँगै सरकारले ऋणपत्र निष्काशन गरिरहेकाे छ । नेपाल राष्ट्र बैंकले सोमवार रु २० अर्ब बराबरको ट्रेजरी बिल निष्काशन गरेकाे छ । यसका लागि बैंकहरूले असार मसान्तकै दिन बोलकबोलको प्रक्रियाबाट लिन सक्छन् त्यस्तै बैंकले गत आइतबार मात्रै रु ११ अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गरेको छ । त्यस्तै, बैंकले यसअघि यही असार २३ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने
काठमाडौं । असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने भएको छ । शारिरीक सुगठन तथा फिटनेश संघले उक्त कार्यक्रमको आयोजना गरेको हो । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी गराएको हो । कपिलवस्तुको तिलौराकोटलाई विश्वभरि चिनाउने उद्देश्यले गर्र्न लागिएको उक्त प्रतियोगितामा कम्तिमा पनि एक सय जनाले प्रतिष्पर्धा गर्नेछन् । ६ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराईने प्रतियोगिताकै विजेता हुनेलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ । यसरी, उक्त प्रतियोगितामा आफ्नो वजन समूहमा विजेता हुनेहरुलाई क्रमशः पन्ध, दश र पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिने पनि संघका अध्यक्ष जीवन गिरीले जानकारी दिएका हुन् । प्रतियोगितामा जम्मा १३ लाख लाग्ने बताउँदै गिरीले अहिलेसम्म कार्यक्रम सफल तुल्याउनको लागि कपिलवस्तु नगरपालिकाले पाँच लाख सहयोग प्रदान गरिसकेको र अन्य संघ, संस्था र गाउँपालिकाहरुले पनि सहयोगको प्रतिबद्धता रहेको बताएका छन् ।
वडाध्यक्षको नक्कली हस्ताक्षर गर्ने एक युवक पक्राउ
काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालाजुस्थित अटोपार्ट्सका कर्मचारी रवीन खत्री रहेका छन् । आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष रिजालको हस्ताक्षर गरेर वडामा फाइल पेश गरेको पाइएकाले प्रहरीले उनलाई पक्राउ गरेको हो । वडाध्यक्ष रिजालले दर्ता शाखामा आफ्नै हस्ताक्षर गरेर फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिएका छन् । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले बताए । कार्कीले अटो पार्ट्सका मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको तर यसबारे थप जानकारी आफूलाई नभएको बयान दिएको बताइएको छ । वडाध्यक्ष रिजालले भने, “उहाँले क्लोजिङका लागि फाइल दर्ता शाखामा पेश गर्नुभएछ, मेरो स्टाफले नक्कली हस्ताक्षर भएको आशङ्कामा म कहाँ फाइल ल्याएपछि हस्ताक्षर नक्कली नै भएको पाइएपछि प्रहरी बोलाएर जिम्मा लगाएका हौँ ।” रासस