विकासन्युज

सङ्खुवासभामा पहिलो पटक इन्डोस्कोपी सेवा शुरु

खाँदबारी। जिल्ला अस्पतालमा पहिलो पटक इन्डोस्कोपी सेवा शुरु भएको छ। आइतबारदेखि सेवाको शुरुआत गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिए। जिल्लामा इन्डोस्कोपी सेवा नहुँदा सेवाग्राही धरान, विराटनगर र काठमाडौँ जस्ता ठूला शहर जानुपर्ने बाध्यता थियो। आफ्नै जिल्लामा सेवा शुरु भएपछि स्थानीय खुशी भएका छन्। वीर अस्पतालका डा भूपेन्द्र बस्नेतको टोलीले आइतबार र आज दुई दिन इन्डाेसकोपी सेवा दिएको जिल्ला अस्पतालले जनाएको छ। टोलीले भोजपुरको षडानन्द नगरपालिका–६ का ६० वर्षीय रामबहादुर विश्वकर्माको उपचार गरेर सेवा शुरु गरेको थियो। रासस

६ बैंकको आरओई घट्यो, एनआईसी एशियाको छलाङ, कुन बैंकको अवस्था कस्तो ?(सूची सहित)

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकका सेयरधनीले औसतमा १७.२३ प्रतिशत आम्दानी गरेका छन् । यसको अर्थ १ सय रूपैयाँ बैंकमा लगानी गर्दा त्यसले १७.२३ रूपैयाँ कमाउँछ भन्ने हो । रिटर्न अन इक्वीटी (आरओई) भनेको लगानीकर्ताको सम्पत्ति माथि बैंकले दिने प्रतिफल हो । कूल आम्दानीलाई सेयरधनीको ‘इक्वीटी’ ले भाग गरेर यस्तो अनुपात निकालिन्छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा यो १ दशमलव ८५ प्रतिशतले बढी हो । २०७५ असार मसान्तमा वाणिज्य बैंकहरूको यस्तो अनुपात १५.३८ प्रतिशत थियो । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा बैंकको व्यवसायिक विस्तार राम्रो भएकाले बैंक मुनाफा बढेको र यसले आरओई वृद्धिमा टेवा पुगेको बैंकहरुले जनाएका छन् । गत आवमा बैंकहरूले औसतमा १८.१९ प्रतिशतले कर्जा विस्तार गरेकाले पनि सेयरधनीको प्रतिफल बढेको हो । कर्जा विस्तार हुँदा बैंकहरूको मुनाफा अघिल्लो आवको तुलनामा २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । राष्ट्र बैंकले गरेको नीतिगत सुधार र दिएको सुविधा ऋण असुलीमा समेत ग्राहकहरुले गरेको सहयोगले बैंक मुनाफा बढेको छ । मुनाफा बढेपछि आरओई बढ्नुलाई स्वाभाविक मानिन्छ । केही बैंकको वाहेक अधिकांश बैंकहरूको नाफा दुई अर्ब नाघे पनि बैंकहरुले लगानीकर्ताको सम्पत्ति माथि दिने प्रतिफल भने सोही अनुपातमा बढ्न सकेको देखिदैन । पछिल्लो ५ वर्षको बैंकहरुको रिटर्न अन इक्वीटी (आरओई) हेर्ने हो भने अधिकांश बैंकको घटेको छ । बैंकहरूको आरओई नै लगानीकर्ताले पाएको प्रतिफल हो । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरूमध्ये गत असारसम्म राष्ट्रिय वाणिज्य बैंकको आरओई सबैभन्दा धेरै २९.२५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलानमा गत वर्ष यो बैंकको खुद मुनाफा बढेपनि आरओई भने उच्च दरले बढ्न सकेको देखिदैन । आरओई बढी हुने दोस्रो बैंकमा एनआईसी एशिया रहेको छ । गत असारमा यो बैंकको आरओई २५.६३ प्रतिशत छ । तेस्रो स्थान सानिमा बैंकले ओगटेको छ । उक्त बैंकको आरओई साढे २३.२३ प्रतिशत छ । गत आर्थिक वर्षमा नविल, नेपाल इन्भेष्टमेन्ट, एनसीसी, सिटिजन्स, नेपाल र सेन्चुरी बैंकको आरओई घटेको छ । गत आवमा २८ वाणिज्य बैंकको आरओई :  

सिटिजन्स बैंकमा जागिर खुल्यो, ब्रान्च म्यानेजरदेखि जुनियर अफिसरसम्म माग

काठमाडौँ । सिटिजन्स बैंकले देशका विभिन्न स्थानमा रहेका कार्यलयको लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । बाँकेको कोहलपुर, काठमाडौँको तारकेश्वरको लामबगर, काठमाडौँ कमलादी, काठमाडौँ सिनामंगल, चितवनको रत्ननगर टाँडी, नुवाकोटको देवीघाट, पोखराको हस्पिटलचोक, लमजुङको भोटेचौर, कपिलवस्तुको जीतपुर, मुगुको गमगढी, डोल्पाको जुफाल, कैलालीको अत्तरिया र कैलालीकै सुखड कार्यालयका लागि कर्मचारी माग भएको हो । ब्रान्च म्यानेजर २० जना, चार्टर्ड एकाउन्टेण्ट केही, रिस्क डिपार्टमेन्टमा जुनियर अफिसर १ जना, सुपरभाइजर केही, रिलेशनसिप अफिसर केही र इन्फरमेशन टेक्नोलोजी डिपार्टमेन्टमा जुनियर अफिसर १ जना माग भएको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले भदौ १० गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यातायात व्यवस्था विभागमा आए हमाल, कति समय टिक्लान ?

काठमाडौँ । यातायात व्यवस्था विभागको महानिर्देशकमा गोगनबहादुर हमाल नियुक्त भएका छन् । यसअघिका महानिर्देशक कुमारप्रसाद दाहालको सरुवा भएपछि हमाल नयाँ महानिर्देशकको जिम्मेवारीमा आएका हुन् । महानिर्देशक हमाललाई कर्मचारीहरुले सोमबार स्वागत गरेका छन् भने सोमबारबाटै जिम्मेवारी सम्हालेका छन् । हमाल सन् २०१४ देखी २०१७ सम्म यातायात व्यवस्था विभागमा मेकानिकल इन्जिनियरका रुपमा कार्यरत थिए । एक बर्षअघि सहसचिवमा नाम निकालेपछि सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा उनको पोस्टिङ भएको थियो । केही समय अघि उनी भौतिक पूर्वाधारमा सरुवा भएर आएका थिए । तत्कालीन महानिर्देशक दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँगको मतभेदका कारण ३ महिनामै सरुवा भएका थिए । भर्खरै महानिर्देशकको जिम्मेवारी पाएका हमाल र मन्त्री महासेठको मत कत्तिञ्जेल मिल्ला यसै भन्न सकिदैन । मन्त्री महासेठकै कार्यकालमा विभागको महानिर्देशक रुपनारायण भट्टराई, प्रेमकुमार सिंह, लावण्य ढकाल र पछिल्लो पटक कुमार दाहाल धेरै टिक्न सकेनन् ।

२२६ अर्थशास्त्रीको अनुमान-‘सन् २०२१ मा अमेरिकामा आर्थिक मन्दी’

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् । अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ । गत फेब्रुअरीमा गरिएको यस्तै सर्वेक्षणमा २५ प्रतिशतले आर्थिक मन्दी आउने पूर्वानुमान गरेका थिए । सर्वेक्षणमा २ प्रतिशतले मात्र यसै वर्षदेखि मन्दी आउने बताएका थिए । करिब ३८ प्रतिशतले आर्थिक मन्दी सन् २०२० मै शुरु हुने बताएका छन् । अर्थशास्त्रीहरुले राष्ट्रपति ट्रम्पले अघि सारेका करवृद्धिको योजना र उच्च बजेट घाटाले अन्ततः अर्थतन्त्रलाई नै नोक्सान गर्ने अनुमान गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार मुलुकहरुबाट भित्रिने सामानमा करवृद्धि गरेका छन् । उनले चीन, युरोपेली मुलुकहरु, मेक्सिको र क्यानाडाबाट आउने सामानमा कर बढाएका छन् । अमेरिकी अधिकारीहरुले आयातमा हुने करवृद्धिले व्यापारमा सहजता आउने विश्वास व्यक्त गरेका छन् । तर अमेरिकी व्यापारिक साझेदार मुलुकहरुले प्रतिशोध स्वरुप अमेरिकी सामानमा पनि करवृद्धि वा आयात नियन्त्रण गरेका छन् । विश्वका सर्वाधिक ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीचको व्यापारमा नाटकीय रुपमा कमी आएको छ । राष्ट्रपति ट्रम्पले करिब ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमाथि पछिल्लो पटक घोषणा गर्नुभएको १० प्रतिशत करवृद्धिको प्रस्तावलाई आगामी डिसेम्बर १५ सम्मका लागि स्थगन गरेका छन् । सर्वेक्षणमा अमेरिका–चीन बीचको व्यापार सम्झौता सफल हुनेमा धेरैजसो अर्थशास्त्रीले आशंका व्यक्त गरेका छन् । करिब ५ प्रतिशत अर्थशास्त्रीले मात्र व्यापार वार्ता सफल हुने अनुमान गरेका छन् जबकी ६४ प्रतिशतले सम्झौताको नाटक मात्र हुने बताएका छन् । करिब एक तिहाईले दुबै मुलुकबीच कुनै ठोस सहमति नहुने जनाएका छन् । सर्वेक्षणमा कर्पोरेसन र ट्रेड युनियनमा आबद्ध अमेरिकाका करिब २२६ जना अर्थविज्ञका धारणा समेटिएको छ । यो सर्वेक्षण जुलाई १४ देखि अगस्ट १ को अवधिमा गरिएको थियो । रासस/एपी

अजेयराज सुमार्गीको ‘हेलो नेपाल’को लाइसेन्स खारेज, तिरेनन् ७९ करोड ९२ लाख बक्यौता

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र(लाइसेन्स) खारेज गरेको छ । व्यवसायी अजेयराज सुमार्गी स्वामित्वको स्वामित्व रहेको यो कम्पनीले ‘हेलो नेपाल’ ब्राण्डमा मोबाइल सेवा दिइरहेको छ । प्राधिकरणलाई ७९ करोड ९२ लाख बक्यौता नतिरेपछि लाइसेन्स खारेज गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । उनले भने-‘भदौ १ गतेसम्म पहिलो किस्तावापत करिब ७ करोड रुपैयाँ तिर्न प्राधिकरणले सयमसीमा दिएको थियो । तर, उसले कुनै पनि बक्यौता तिरेन ।’ मध्यपश्चिमको ग्रामीण क्षेत्रबाट सेवा थालेर सुदुरपश्चिम र पश्चिमाञ्चलमा सेवा दिन सक्ने गरी आधारभुत दूरसञ्चार सेवाको लाइसेन्स पाएको नेपाल स्याटेलाइट टेलिकम कम्पनीले प्राधिकरणबाट १८ सय ब्यान्डमा ९ मेगाहर्ज र ९ सय ब्यान्डमा ४.४ मेगहर्जको फ्रिक्वेन्सी पाएको छ । प्रवक्ता अर्यालका अनुसार प्राधिरकणले इन्टरनेट सेवा प्रदायक आइटेल कम्युनिकेशन, वेब सर्फरको लाइसेन्स पनि खारेज गर्ने निर्णय गरेको छ ।

सिप्रदीले गर्यो एनएलजी, प्रिमियर र ओरियन्टसँग क्यासलेस बीमासम्बन्धी सम्झौता

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रालि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र ओरियन्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।काठमाण्डौँ स्थित सिप्रदी टेड्रिङ प्रालिको मुख्य कार्यालयमा आयोजित एउटा समारोहका माझ उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सिप्रदी कम्पनीजका उपाध्यक्षसौरभराज थपलिया, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा सिप्रदी कम्पनीजका प्रमुख अपरेटिङ अधिकृत राजेश गिरीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्याय र ओरियन्टल इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक एम.डी नायरले सम्झौता पत्रमा हस्ताक्षर गरे । यो योजना मार्फत् दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताहरू सिप्रदीको बृहत् सञ्जाल भएको सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् । सिप्रदीले हालसम्म चारवटा बीमा कम्पनीहरूसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ र आगामी दिनमा अझ धेरै ग्राहकहरूलाई सेवा उपलब्ध गराउने उद्देश्य सहित अन्य बीमा कम्पनीहरूसँग सहकार्य गर्ने योजना रहेको जनाएको छ ।

दशैंमा केएनपीले फेरि ल्यायो रङ्गमा दङ्ग

काठमाडौँ । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दशैंको शुभ अवसर पारेर पुनः एक पटक “रङ्गमा दङ्ग” योजना नेपाली बजारमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले केएनपी इम्प्रेसन र एक्सल टोटलको प्रत्येक रु.६०,००० (भ्याट सहित) को खरिदमा एउटा कुपन प्राप्त गर्न सक्ने छन् । योजनामा ग्राहकहरुले लक्की ड्र मार्फत बम्परमा १० तोला सुन, १० भाग्यसाली ग्राहकले स्मार्ट फोन र ३ भाग्यसाली ग्राहकले एलईडि टीभी जित्ने अवसर प्राप्त गर्न सक्ने छन् । यसका साथै ग्राहकहरुले हात खाली नजाने उपहार अन्तर्गत हाते घडी जित्न सक्ने कम्पनीले जनाएको छ । सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपि जापानले वातावरण मैत्रि पेन्टलाई प्राथमिकता दिदैं हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ । नेपालमा भिओसी रहित पेन्टलाई सशक्त रुपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपीले स्वास्थ्य जीवन र स्वच्छ वातावरण को प्रचार-प्रसार गर्दै आएको छ ।