पालुङमा सिन्धु विकास बैंकका शाखा कार्यालय स्थापना
काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको पालुङ्ग बजारमा शाखा स्थापना गरेको छ । पालुङ्ग शाखा थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले उद्घाटन गरे । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हालसम्मको प्रगति तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखे । बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको नारायणगढ, चनौली, विकासचोक, लाहुरे चोक र मकवानपुर जिल्लाको हेटौँडा बजार लगायतका विभिन्न स्थानमा शाखा तथा सीमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्ने जनाएको छ । २०६७ साल भदौ २२ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय स्थापना भएको बैंकले बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा र हाल पालुङ्ग गरी कुल १७ शाखा तथा सुकुटे तथा सिलढुङ्गामा सीमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १९ स्थानबाट वित्तीय सेवा प्रदान गरिरहेको जनाएको छ ।
परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल ६० बर्षमा: दैनिक ६१ जनाको डेलिभरी, वार्षिक २० करोड आम्दानी
काठमाडौं। थापाथली स्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले स्थापनाको ६० औं बर्ष पार गरेको छ। सोही अवसरमा शुक्रबार एक समारोहका बीच वार्षिकोत्सव मनाएको छ । वार्षिकत्सवको अवसरमा अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले अस्पताललाई आगामी दिनमा अझै राम्रो बनाउँदै लैजाने बताए । ‘५०० बेडको अस्पताललाई अझै ठुलो बनाउन हामी लागि परिरहेका छौं’- गौतमले भने । यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. शुशिलनाथ प्याकुरेलले अस्पतालमा थप बेड थप्न भन्दा अन्य ठाउँमा सेवा विस्तार गर्न सुझाव दिएका छन्। कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव पुष्पा चौधरी, न्याम्सका भिसी तथा प्राध्यपक डिएन शाह तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक प्याकुरेलको उपस्थिती रहेको थियो । अस्पतालले वार्षिकोत्सवको अवसर पारेर आफ्ना कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरेको थियो । स्थापना पुरानो नाम परोपकार श्री ५ ईन्द्र लक्ष्मी देवी प्रसुती गृह हो । तत्कालीन राजा महेन्द्र युवराज हुँदाको समयमा उनकी श्रीमतीलाई गर्भवती अवस्थामा जटिलता आएको कारण मृत्यु भएकै कारण राजपरिवारले यसको स्थापना गरेको हो । त्यसैले अस्पताललाई उनकै नाममा दिईयो । राजपरिवारले २०१० सालमा थापाथलीमा २८ रोपनी जग्गा र कुपन्डोलमा ३५ रोपनी जग्गा व्यवस्था गरेर परोपकार संस्थासँग अस्पताल निर्माण सुरु गरेको हो । २०१६ सालमा अस्पतालको भवन निर्माण भएको हो र २०१६ सालमा यो ४० बेडको अस्पतालको रुपमा सुरु भएको हो । त्यसपछी अस्पताललाई परोपकार संस्थाले चलाईरहँदा नेपाल सरकारले अस्पताललाई आफुले लिएर चलाउन थालेको छ । अहिले अस्पतालमा १० प्रतिशत नेपाल सरकारका कर्मचारी रहेका छन् भने बाँकी ९० प्रतिशत समितिका कर्मचारी रहेका छन् । ६३३ जना कर्मचारीको अहिले अस्पतालमा कार्यरत छन् । नेपालको मान्छे उत्पादन गर्ने फ्याक्ट्री नेपालमा सबैभन्दा बढी डेलिभरी हुने अस्पताल हो प्रसुती गृह, गत साल मात्र अस्पतालबाट २२ हजार १ सय जनाको डेलिभरी भएको थियो । अस्पतालमा हरेक दिन ६१ जनाको डेलिभरी हुने गर्छ । यस्तै ८ हजार मेजर अप्रेसन र २ हजार माईनर अप्रेसन भएका छन् । प्रसुती गृह मान्छे उत्पादन गर्ने फ्याक्ट्री जस्तो लाग्ने गरेको निर्देशक गौतम बताउँछन् । अस्पतालको शैक्षिक पाटो अस्पतालको आफ्नै नर्सिङ कलेज रहेको छ । यस्तै अस्पतालले एमडी लेभलको विद्यार्थीलाई पढाउने गरेको छ । अस्पतालले ग्लोबल स्तरको अनुसन्धान गर्दै आएको छ । अस्पतालले अनुसन्धानको आर्टिकलहरु अन्तरराष्ट्रिय जर्नलहरुमा प्रकाशित हुने गरेको छ । प्रसुतिका सबै सेवा नि:शुल्क अस्पतालको सबैभन्दा पुरानो भवनमा क्याबिन रहेको छ, जसमा उपचार गर्न भने शुल्क लाग्ने गर्दछ । त्यस बाहेक जेनेरल वार्डमा बस्ने बिरामीलाई डेलिभरी नि:शुल्क रहेको छ, साथै आमा बच्चालाई आईसियुमा राख्नु परे पनि नि:शुल्क र आमाको अपरेसन गर्नुपरे पनि नि:शुल्क रहेको छ । घर जाने बेला २ हजार खर्च र साथै ४ पटक एन्टीनेटल जचाउँन आउने बिरामीहरुलाई अस्पतालले २०० को दरले आठ सय रुपैंया दिने गरेको छ। नयाँ भवन भर्खरै नेपाल सरकारको समन्वय र जापान सरकार जाइकाको सहयोगमा परोपकारको नयाँ भवन बनेको छ । करिब १ करोड ३ अर्बमा अस्पताल निर्माण भएको हो । नेपाल सरकारले भने अस्पतालको फर्निचरको लागि १ करोड सहयोग गरेको छ । अस्पताल पहिलाको भन्दा राम्रो देखिएको छ। बच्चाको आईसियु १७ बेडबाट ४० बेड पुगेको छ। ३ वटा अपरेसन थिएटर, नर्सहरुले मात्र व्यवस्ता गर्ने लेबर रुम रहेको छ।अस्पताललाई सामान्य मानिसले सोच्दा प्रसुती सेवा मात्र उपलब्ध रहेको बुझ्छन् तर अस्पतालमा प्रसुती सेवासँगै महिला रोगसँग सम्बन्धित उपचार हुने गर्दछ । महिला स्वास्थ्यसँग सम्बन्धित हरेक रोगको निदान रहेको अस्पताल दाबी गर्दछ । अस्पतालले अब छिट्टै मै टेस्टयुब बेबी सेवा सुरु गर्ने जनाएको छ । ईमर्जेन्सीमा २४ सैं घण्टा डाक्टर अन्य अस्पतालहरुमा इमर्जेन्सीको लागि डाक्टर खोजिरहनु पर्दा परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा भने २४ सै घण्टा १० जना डाक्टर जहिले पनि अस्पताल भित्रै रहिरहने निर्देशक गौतम बताउँछन् । डाक्टरहरु अस्पतालमा बस्ने खाने गर्ने गरेका छन् । अस्पतालमै जुन समयमा पनि अपरेसन गर्ने व्यवस्था छ । अस्पतालले एउटा डेलिभरी बराबर २५०० खर्च गर्ने गरेको छ । नेपाल सरकारले १५ सय रुपैयाँ दिने गरेको छ। एउटा अप्रेसन गर्दा अस्पतालको १० हजार खर्च हुन्छ भने नेपाल सरकारले ७ हजार दिने गरेको छ। आम्दानी ५ बर्षमा ९ करोड देखी २० करोड निर्देशक डा. जागेश्वर गौतम अस्पतालको आम्दानी बर्षमा २० करोड पुगेको छ। अस्पतालमा धेरै परिवर्तन भएको छ । अहिले अस्पतालमा ५०० बेड रहेको छ । ४१५ नेपाल सरकारबाट स्वीकृति प्राप्त रहेको छ भने बाँकी बेड अस्पतालले आँफै चलाएको छ । यस्तै ओपिडीमा ५ बर्ष अगाडि बिरामीको संख्या १ लाख थियो, अहिले बढेर २ लाख पुगेको छ ।
रसायनिक मल साढे तीनलाख मेट्रिक टन अपुग, प्राङ्गारिकतर्फ बढ्दो आकर्षण
काठमाडौं । चालु आर्थिकमा नेपालमा ३ लाख ७५ हजार मेट्रिक टन रसायनिक मलको अभाव हुने सम्भावना देखिएको छ । सरकारले रसायनिक मल खरिदका लागि ९ अर्ब बजेट विनियोजन गरेता पनि अघिल्ला वर्षहरुको साढे एक अर्ब रकम भुक्तानी गर्न बाँकी रहेको हुँदा यस वर्ष साढे ७ अर्बको मल खरिद गर्दा करिब आधा भन्दा बढी रसायनिक मल नपुग्ने कृषि मन्त्रालयले जानकारी दिएको छ । वर्षौदेखि भोग्दै आएको मलको समस्या यसवर्ष पनि अनुदान रकम प्राप्त नभएमा दोहोरिने निश्चित रहेको कृषि मन्त्रालयको रसायनिक मल शाखाले जानकारी दिएको हो । आर्थिक तथा प्राविधिक कारणले सरकारी स्तरबाट नेपालमा नै रसायनिक मलको कारखाना स्थापना गर्ने कार्ययोजना नआएको जानकारी दिँदै कृषिमन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी भने चालु आर्थिक वर्षमा कारखाना स्थापना गर्ने तयारी गरिएको बताए । पछिल्लो समय अर्गानिक खेतीसँगै प्राङ्गारिक मल उत्पादन तर्फ जनचासो बढ्दै गएको कृषिमन्त्रालयका बरिष्ठ कृषि अधिकृत नेत्र भण्डारीले बताए । हालसम्म ६३ वटाभन्दा बढी प्राङ्गारिक मल उत्पादन गर्ने संस्था स्थापना भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ताले जानकारी दिए । हाल १५ वटा भएका प्राङ्गारिक मल उत्पादक संस्थाले हाल २ हजार ७७० मेट्रिकटन उत्पादन गरिरहेका छन् ।
प्लास्टिकमुक्त शहर बनाउने अभियानमा लाग्याे नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई प्लास्टिकमुक्त शहर बनाउने अभियान थालेको छ । उक्त उपमहानगरपालिकाको यो अभियानमा सहयोग पुर्याउने भनी यहाँका राजनीतिक दलहरुले पनि लिखित प्रतिबद्धता जनाएका छन् । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लास्टिकजन्य फोहरले गरेको असर र यसको निकासका लागि ‘ऐना फोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्रीहरु तयार गरेर नगरका चोकचोकमा झुण्ड्याएको छ । गैरसरकारी संस्थाहरुसँग सहकार्य गरेर विकल्पका रुपमा कपडा र कागजका झोला र बोराहरु उत्पादन गरेर वितरण पनि गरिएको छ । उपमहानगरपालिकाले प्लास्टिकजन्य प्रयोगलाई न्यूनीकरण गर्दै निषेध गर्नेसम्मको तयारी गरिरहेकोे जनाए पनि गत वर्षदेखि लागू गरिएको फोहरमैला व्यवस्थापन ऐनले प्लास्टिकजन्य फोहरलाई भने समेट्न सकेको छैन । सो ऐनलाई अद्यावधिक गर्नुपर्ने अवस्था भए पनि यस वर्षको कार्यक्रम र बजेटमा पनि फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना बनाउने विषय समेटिएको छैन । “नमिलेको विषयवस्तु हामी मिलाउँछौँ, ऐन, नियम बनाउनेदेखि संशोधनसम्म गर्ने, बजेट विनियोजन गर्नेलगायत सबै कुरा अभियानको कार्यक्रमभित्र समेटिनेछ”, नगरप्रमुख डा. धवलशम्शेर राणाको भनाइ थियो । अभियानअन्तर्गत अहिले विभिन्न सङ्घसंस्थाले प्लास्टिकजन्य फोहर सङ्कलन पनि गरिरहे छन् । प्लास्टिकजन्य पदार्थलाई छुट्याएर राख्ने गरिएको छैन । उपमहानगरपालिकाले विशेषगरी पोलिथिन प्रयोग नियन्त्रण र कपडा तथा कागजको झोला प्रयोगलाई प्रोत्साहन गरिरहे पनि प्लास्टिकजन्य प्रदूषण रोक्न सरकारी निकायको पहलले मात्र सम्भव छैन । “प्लास्टिक नियन्त्रणका लागि स्थानीय तहले पनि थप अग्रसरता देखाउनुपर्छ”, नगरप्रमुख राणाको भनाइ थियो, “वातावरण मैत्री व्यवसायका लागि उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ ।” प्लास्टिकजन्य फोहर व्यवस्थापनका अभियन्ता हरि सुवेदीले प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि तयार गरिएको उपमहानगरपालिको वार्षिक र त्रिवर्षीय योजनालाई कार्यान्वयन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । “यो योजनालाई प्रभावकारी कार्यान्वयनतर्फ लग्न जरुरी छ । यसका लागि उपमहानगरपालिका स्वयंले अगुवाइ गरेर सरोकारवाला पक्षबीच थप समन्वय र सहकार्य गर्नुपर्दछ । अनि मात्र प्लास्टिकजन्य फोहरमुक्त शहर निर्माण गर्न सक्छौ,” उनले भने । रासस
नेपाल हाते कागज संघको अध्यक्षमा किरणकुमार डंगोल निर्वाचित
काठमाडौँ । नेपाल हाते कागज संघको हालै सम्पन्न १४ औं साधारण सभाले लोटस पेपर काफ्टका किरणकुमार डंगोलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरी संघको उपाध्यक्षमा इको क्राफ्ट नेपालका राधाकृष्ण धौभडेल, सचिवमा तिवारी हातेकागज उद्योगका भक्तबहादुर बस्नेत, कोषाध्यक्षमा हिमाल चेरी उमन क्राफ्ट नेपालका जुनु जोशी निर्वाचित भएका छन् । सदस्यहरुमा हिमालयन बायो ट्रेड प्रालिका सरस्वती राई गुरुङ, नमस्ते नेपाल हाते कागज उद्योगका इश्वरकुमार श्रेष्ठ, लोक्ता पेपर क्राफ्टका शिवहादुर श्रेष्ठ, गौरीशंकर पोर्ट रेसा एण्ड नेपाली कागजका चित्रकुमार श्रेष्ठ, पिके हिमचुली नेपाली कागज उद्योगका गणेशबहादुर बस्नेत, जुगल नेपाली हाते कागज उद्योगका बेनुदास श्रेष्ठ र नेचुरल रिसोर्सेज आर्ट पेपरका लेटरबहादुर केसी निर्वाचिन भएको निर्वाचन अधिकृत ऋषिराज सुवेदीले जनाएका छन् । संघको निवर्तमान अध्यक्षमा नेपाः भोँका मोहनकृष्ण मानन्धर रहेका छन् । संघमा १२२ वटा उद्योेगहरु सदस्य छन् । दिगो लोक्ता व्यवस्थापान र गुणस्तरीय कागजको उत्पादन गर्न प्रोत्साहित गर्ने र कागजसँग सम्वन्धित उद्योगहरुको हकहीतका लागी सरकारी तथा गैर सरकारी निकायसँग समन्वय गर्नु संस्थाको उद्देश्य रहेको नव निर्वाचित अध्यक्ष किरणकुमार डंगोलले बताए ।
घट्यो चिया निकासी
इलाम । विदेशबाट नेपाल आयातित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा घटेको तथ्याङ्कले देखाएको छ । देशको व्यापार सन्तुलन कायम गर्न महत्वपूर्ण हिस्सा राख्ने चिया निर्यात घट्दा भने व्यापार सन्तुलन गर्नसमेत समस्या हुने देखिन्छ । आव २०७४/७५ को भन्दा २०७५/७६ मा एक दशमलब पाँच प्रतिशतले घटेको देखिन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका तथ्याङ्कअनुसार आव २०७४/७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ केजी चिया निर्यात भएकामा गत आव २०७५/७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ केजी निर्यात भएको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ । सरकारले चियाका लागि पर्याप्त युरिया मल उपलब्ध नगराउनु, पर्याप्त श्रमिक नहुनेलगायत समस्या भएकाले चिया निकासी घटेको चिया उद्यमी उदय चापागाईं बताउँछन् । “सरकारले चियासम्बन्धी स्पष्ट नीति नल्याएकाले पनि चियामा नैराश्यता बोध भएको हो”, चापागाईंले भने, “आन्तरिक खपत बढेकाले पनि निकासी घटेको हुन सक्छ । सरकारले प्राङ्गरिक चिया प्रवद्र्धन गर्न नसक्नु र चिया किसान–श्रमिकलाई प्रोत्साहित गर्न नसक्नाले पनि यो समस्या भोग्नुपरेको हो ।” उनका अनुसार गुणस्तरीय चिया उत्पादन गरेमा बाहिरी खपत बढ्ने र आम्दानीसमेत बढ्ने देखिन्छ । नेपालमा १६ हजार ३६ मेट्रिक टन चिया सिटिसी उत्पादन हुने गरेको छ भने अर्थोडक्स दुई हजार ६७० मेट्रिक टन, २२० मेट्रिक टन ग्रीन टी र स्पेसियल टी ३२ मेट्रिक टन तयारी चिया उत्पादन हुने पाइएको छ । रासस
सीतापाइलाबाट अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेका नौ बालबालिकाको उद्धार
काठमाडौं । नागार्जुन नगरपालिका–४ सीतापाइला, ख्वपाटोलस्थित एक घरमा अत्यन्त जोखिमपूर्ण अवस्थामा राखिएका चार बालक र पाँच बालिका गरी नौ बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्को नेतृत्वमा महानगरीय प्रहरी वृत्त स्वयम्भू, बालबालिका खोजतलास केन्द्र, वडा कार्यालय, बालहेल्पलाइन तथा स्थानीय प्रतिनिधिको समन्वय र सहकार्यमा ‘नमूना प्रगतिशील महिला समाज र युवा सामुदायिक सेवा केन्द्र’ द्वारा सो घरमा जोखिमपूर्ण अवस्थामा राखिएका बालबालिकाको उद्धार गरिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुसालले जानकारी दिएका छन् । पाँचदेखि ११ वर्ष उमेर समूहका ती बालबालिकामध्ये बर्दियाका चार, कालीकोटका चार र कैलालीका एक रहेका छन् । उक्त संस्थाले आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्था विपरीत उचित खानपान, आवास तथा शिक्षा र संरक्षणको प्रबन्ध नगरेको पाइएकाले बालबालिकाको उद्धार गरिएको परिषद्ले जनाएको छ । हाल बालबालिकाको अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ । उक्त संस्थाका सञ्चालक तथा संलग्न व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
भन्सार छली ल्याएका एक सय ४० भारतीय खसी र ट्रक सशस्त्रको नियन्त्रणमा
राजापुर । बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा काठमाडौँतर्फ लैजान लागेको ना६ख ९४९२ नं ट्रकसहित १४० वटा खसी प्रहरीले आज नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताएका छन् । यसरी, पछिल्लो समयमा तस्करहरुले बर्दियाबाट अवैध रूपमा बिना भन्सार भारतीय खसीहरू छिराएर काठमाडौँसम्म पुर्याउने गरेका छन् । रासस