विकासन्युज

सिटिजन लाइफ र ई–सेवा बीच साझेदारी

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी ले नेपालको अनलाईन पेमेन्ट सिस्टम ई–सेवासँग साझेदारी गरेको छ। सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख संचालन अधिकृत दशरथमनि खड्का र ई–सेवाका कार्यकारी अधिकृत सुभाष सापकोटा बीच उक्त साझेदारी भएको थियो। उक्त साझेदारीले ई–सेवा अनलाईन पेमेन्ट मार्फत बीमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको छ।

प्रहरीमा जागिर दिन्छु भन्दै घुसखाने पूर्व सभासद पक्राउ

काठमाडौं । तत्कालिन संविधान सभाका सभासद डोल बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षकको नोकरी लगाई दिने बाहनामा राजकुमार राईसँग पटक पटक गरी चार लाख पाँच हजार घुस खाएको मुद्दामा दोषी ठहर भएको पूर्व सभासद कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । विहीबार सतुङ्गल, काठमाडौंबाट पक्राउ परेका कार्कीलाई प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । सर्वोच्च अदालतको मिति २०७६ असार १७ गतेको फैसला गर्दै पूर्व सभासदलाई दोषी ठहर गरेको थियो । स्याङ्जा जिल्ला टकसार गा.वि.स. वडा नं. ६ स्थायी घर भएका कार्की हाल काठमाडौंमा बसोबास गर्दै आएका थिए । उनलाई अदालतले एक लाख जरिवाना र ६ महिना कैद हुने ठहर भएको गरेको छ । कार्कीलाई पीडित राजकुमार राईसँग दुई लाख पाँच हजार र स्वामी ब्रम्हानन्द उदासीनसँग एक लाख रुपैयाँ डोलवहादुर भन्ने डि.वि.कार्कीले लिएको भन्ने जाहेरी उनीमाथि थियो ।

कामना बैंक र इष्टर्न एजेन्सीजबीच व्यापार सम्झौता 

काठमाडौं ।  केन्द्रीय कार्यालय ज्ञानेश्वरमा रहेको कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज प्रा. लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सीज प्रा. लि.का प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार इष्टर्न एजेन्सीज प्रा.लि मार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा आइचरका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न स्थानमा ९८ वटा शाखा तथा ४५ वटा एटिएममार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि ( आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

करको भार थोपारेकोमा असन्तुष्टि जनाउँदै महासङ्घले दियो आन्दोलन गर्ने चेतावनी

हेटाैंडा । सामुदायिक वन उपभोक्ता महासङ्घले सामुदायिक वनमाथि करको भार थोपारेकोमा असन्तुष्टि जनाएको छ । महासङ्घद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा राज्यका तीन वटै तहका सरकारले सामुदायिक वन उपभोक्ता समूहमाथि कर बढाएको भन्दै महासङ्घले त्यसको विरुद्धमा आन्दोलन गर्ने चेतावनी समेत दिएको हो । महासङ्घका अध्यक्ष भारती पाठकले सामुदायिक वनबाट कर लिनेगरी कानून निर्माण गरेकाले त्यसलाई तत्काल संशोधन गर्नका लागि तीन वटै तहका सरकारलाई आग्रह गर्दैै संशोधन नगरे त्यसको विरुद्धमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उपभोक्तालाई कर थोपर्ने गरी कानून नबनाउन प्रदेश नं. ३ सरकारलाई आग्रह गर्दागर्दै पनि त्यस्तो कानून ल्याएको उल्लेख गर्दै उनले केही दिनभित्र महासङ्घको केन्द्रीय समितिको बैठकबाट आन्दोलनको घोषणा गर्ने जानकारी दिएका छन् । कर तिर्नका लागि आफूहरु तयार रहेको तर, तीन तहका सरकारलाई एकद्वार प्रणालीबाट कर तिर्ने वातावरण तयार गर्नका लागि पटकपटक सङ्घीय सरकारलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि त्यसका विरुद्धमा लाग्न बाध्य भएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सामुदायिक वन नाफा खाने संस्था नभएकाले करको भार थोपार्नु जायज नभएको महासङ्घका उपाध्यक्ष भीमप्रकाश खड्काले बताए । एकैपटक देशभरका वन उपभोक्ता सडकमा उतार्ने तयारीमा महासङ्घ लागेको उनले जानकारी दिएका छन् । रासस

बौद्ध क्षेत्रबाट मात्र आपराधिक घटनामा संलग्न ८४४ पक्राउ

काठमाडौं । बौद्धस्थित महानगरीय प्रहरी वृत्तले एघार महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न ८४४ लाई पक्राउ गरेको छ । विसं २०७५ असोजदेखि २०७६ भदौसम्म ११ महिनाको तथ्याङ्क हेर्दा बौद्ध क्षेत्रबाट मात्रै ६८८ मुद्दामा आरोपित ८४४ पक्राउ परेका थिए । पक्राउ परेकाहरू लागुऔषध, जुवा, जबरजस्ती करणी, चोरी, बालयौन दुराचार, कर्तव्य ज्यान, बैंकिङ कसुर, मानव बेचविखनलगायत मुद्दासँग सम्बन्धित थिए । पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी जुवा खेल्ने–खेलाउनेसँग सम्बन्धित थिए । जुवासँग सम्बन्धित ३५ मुद्दामा २९१ लाई पक्रउ गरी मुद्दा चलाइएको थियो । पक्राउ परेकाहरूबाट रु ३१ लाख ४१ हजार ३७० बरामद भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन् । प्रहरीले गत फागुन २५ गते काठमाडौँ महानगरपालिका– ६ महाङ्कालबाट रु एक लाख ९६ हजार १५० बरामद गर्नुका साथै आठ जनालाई पक्राउ गरेकामा एक तेस्रो लिङ्गी, चार महिला र तीन पुरुष थिए । त्यस्तै, चोरीेको अभियोगका ५१ मुद्दामा ९१ जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा सबैभन्दा बढी १८ वर्षमुनिका बालबालिका रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । परिवारले वास्ता नगर्ने, आर्थिक अवस्था कमजोर भएका तथा बाबुआमाको ठेगान नभएका बालबालिका नै चोरी गर्दै हिँड्ने गरेको पाइएको छ । प्रहरीले गत फागुन ११ मा कपनको निलोपुलबाट २८ थान मोबाइलसहित चोरी गर्ने चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका १८ वर्षमुनिका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । घर परिवारबाट टाढा रहेका तथा परिवारको निगरानी तथा रेखदेख नभएका युवायुवती र बालबालिका दुव्र्यसनीमा फस्दै गएको पाइएको छ । पहिल्लो ११ महिनाको तथ्याङ्कमा बौद्ध क्षेत्रबाट लागुऔषधका २९ मुद्दामा ४१ पक्राउ परेका थिए । विभिन्न समयमा विभिन्न स्थानबाट डाईजेपाम, फेनारगन र नुफिन एक हजार १३५ थान बरामद गर्नुका साथै गाँजा १६ किलो, चरेस दुई किलो, ब्राउन सुगर ७७ ग्राम र नाइट्रोभेट चक्की एक हजार ३३७ थान बरामद गरिएको थियो । जबरजस्ती करणी अभियोगका २६ मुद्दामा ३५ जना विरुद्ध मुद्दा चलाएको थियो । सहमतिमा ‘लिभिङ टुकेदर’ बस्ने र घरपरिवारले थाहा पाएपछि अभिभावकको दबाबमा जबरजस्ती करणी मुद्दा दर्ता गर्ने गरेको घटना पनि प्रशस्त थिए । ‘लिभिङ टुकेदर’सम्बन्धी कानून नबन्दासम्म यस्ता किसिमका समस्या बढ्दै जाने अधिवक्ता अस्मिता पोखरेलले जानकारी दिए । त्यस्तै, बैंकिङ कसुरमा ५१, सार्वजनिक कसुरमा १९१, ज्यान मार्ने उद्योगमा ३८, बहुविवाहमा २०, बालयौन दुराचारमा तीन, ठगीमा चार, विद्युतीय अपराधमा एक, कर्तव्य ज्यान मुद्दामा सात, मानव बेचविखन तथा ओसारपसारमा तीन, सवारी ज्यानमा सातजनालाई पक्राउ गरी मुद्दा चलाइएको भने गतसाता मात्रै बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरी काठमाडौँ जिल्ला वन कार्यालय पठाएकोे थियो । त्यस्तै, ११ महिनामा बौद्धका भट्टीमा छापा मार्दा मदिरा बनाउन राखेको एक लाख ५४ हजार लिटर कच्चापदार्थ नष्ट गर्नुका साथै तयारी अवस्थामा रहेको हानिकारक ४३ हजार लिटर मदिरासमेत नष्ट गरिएकोे थियो । अपराध तथा अबैध कारोवारमा संलग्नलाई कानूनी दायरामा ल्याई तत्काल कारवाही गरिने भएकाले यस्ता आपराधिक क्रियाकलापको तत्काल जानकारी दिन पनि प्रहरी नायब उपरीक्षक चन्दले सर्वसाधारणलाई आग्रह गरेका छन् । रासस

घुसकाण्डमा दोषी ठहरिएका पूर्वसभासद् कार्की जेल चलान

काठमाडौं । अदालतले घुसकाण्डमा दोषी ठहर्याएको पूर्वसभासद् डोलबहादुर (डिवी) कार्की जेल चलान भएका छन् । अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो । अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिएका छन् । उनलाई कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । घुस काण्डमा सर्वोच्च अदालतको गत असार १७ गतेको फैसलाले रु एक लाख जरिवाना र छ महिना कैद हुने फैसला सुनाएको थियो । विसं २०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकको नोकरी लगाइदिने बहानामा रकम लिइ स्वामी ब्रम्हानन्द उदासीनले रु दुई लाख पाँच हजार र कार्कीले रु एक लाख लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो भने विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चार÷चार महिना कैद र बिगोबमोजिम रु एक÷एक लाख जरिवाना हुने फैसला सुनाएको थियो । प्रतिवादी डोलबहादुर कार्की तत्कालीन संविधानसभा तथा व्यवस्थापिका–संसद्को सभासद् भएकाले उक्त ऐनको दफा २४ बमोजिम थप दुई महिना कैद सजायसमेत थप गरी छ महिना कैद र एक लाख जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो । रासस

यती र तारा एयरको सहकार्यमा उठ्ने भयो सगरमाथा क्षेत्रको ३० टन फोहोर

काठमाडौं । यति एअरलाइन्स र तारा एयरको सहकार्यमा सगरमाथा क्षेत्रबाट ३० टन फोहोर उठ्ने भएको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला, ‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा यती एअरलाइन्सले हालसम्म ४५ टन पुनःप्रयोग गर्न मिल्ने (रिसाइक्लेबल) फोहर संकलन गरिसकेको छ । पर्वतारोहण र पदयात्रा जस्ता गतिविधिबाट उत्पन्न भएको नकुहिने फोहरको ‘एअरलिफ्टिङ’ को सुरुआत १७ मार्च २०१८ बाट भएको थियो । दीगो विकास लक्ष्य (ससटेनएबल डेभलपमेन्ट गोल) अन्तर्गत जैविक विविधता संरक्षण र जलवायु परिवर्तनसँग सम्बन्धित प्रतिबद्धता स्वरुप यती एअरलाइन्सले २०१८ मा सगरमाथा क्षेत्रबाट एक सय टन पुनःप्रयोग गर्न मिल्ने फोहर संकलन गरेर ‘रिसाइक्लिङ’को लागि ल्याउने महत्वकांक्षी लक्ष्य लिएको थियो । यसका लागि सेप्टेम्बर २०१९ मा ३० टन पुनःप्रयोग गर्न मिल्ने फोहर ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने यती एअरलाइन्सको योजना रहेको छ । सगरमाथा सफाइ अभियानका साझेदार संस्थाहरु सगरमाथा प्रदुषण नियन्त्रण समिति, हिमालय क्लब लुक्ला र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रबाट नकुहिने फोहोर संकलन गर्नेछन् । यसरी संकलन भएको फोहर तारा एयर मार्फत लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट ‘एयरलिफ्ट’ गरी काठमाडौं ल्याइनेछ । यसरी ल्याइएको फोहोर ‘ब्लु वेस्ट टु भ्यालु’ले त्रिभुवन विमानस्थलबाट संकलन गरी पुनःप्रयोगका लागि प्रशोधन गर्नेछ । संकलन गरिएका फोहोरमा बियरका बोत्तल, फुड क्यान, पर्वतारोहण र ट्रेकिङमा प्रयोग गरी फालिएका उपकरण लगायत हुन्छन् । यी वस्तुहरुलाई ‘रिसाइकल’ गरी धातुका भाडाकुँडा र निर्माण सामग्रीमा परिणत गरिन्छ ।

साढे पाँच घण्टामा ३ करोड ५८ लाख चोरी, डिजिटल कारोबार सुरक्षित गर्न दर्जन सुझाव

काठमाडौं । भदौ १४ गते नेपाल र भारतका विभिन्न बैंकका एटीएमबाट भएका शंकास्पद कारोबारहरुको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको प्रारम्भिक अनुसन्धानबाट भिजा इन्टरनेशनलसँग आबद्ध नेप्सका सदस्य बैंकहरुको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी शनिबार विहान ११ः०० बजे देखि साँझ ४ः३५ सम्ममा कुल ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ चोरी भएको छ । नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरु प्रयोग गरी १७ वटा बैंकका विभिन्न स्थानका ६८ वटा एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५०० रुपैयाँ र भारतभित्रबाट ६ वटा नेपालका वाणिज्य बैंकहरुको विभिन्न कार्डहरु प्रयोग गरी भारतका विभिन्न स्थानका २४ बैंकका १३२ एटीएमबाट भा.रु. १ करोड ५ लाख ८७ हजार २०० एटीएमबाट चोरी भएको छ । यद्यपि उक्त समय भएको कारोबारहरुमध्ये केही कारोबार वास्तविक रहेको पाइएको र थप अन्य कारोबारहरुको फेरिफिकेशन गर्ने कार्य भई रहेकोले क्षति भएको रकम सो भन्दा केही कम हुन सक्ने राष्ट्र बैंकको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ । भीषा नेटवर्क वा नेप्स स्वीच वा दुई प्रणालीको बीच कही कतै कसैले अनधिकृत रुपमा नियन्त्रणमा लिई उल्लेखित फ्रडुलन्ट कारोबार हुन गएको राष्ट्र बैंकको अनुमान रहेको छ । घट्नाको सम्बन्धमा फरेन्सिक एक्पर्टबाट सुक्ष्म अध्ययन र तथा विश्लेषण गरी प्रतिवेदन प्राप्त गर्नु पर्ने सुझाव अनुसन्धान टोलिले दिएको छ । यसरी गर्न सकिन्छ सुरक्षित कारोबार डिजिटल कारोबारलाई सुरक्षित बनाउने अध्ययन टोली केही महत्वपूर्ण सुझाव पनि दिएको छ । बैंक तथा वित्तीय संस्थाहरु, पीएसपी र पीएसओलाई आ–आफ्नो सूचना प्रविधि तथा इलेक्ट्रोनिक माध्यमबाट हुने भुक्तानी प्रणालीको जोखिम मूल्यांकन गरी जोखिम न्यूनीकरणका आवश्यक उपायहरु अवलम्बन गर्न निर्देशन दिनु पर्ने सुझाव अध्यनन टोलिले दिएको छ । कार्ड प्रणाली लगायत भीषा, मास्टर कार्डको हिसाब मिलान कारोबार भएको अर्को दिन भित्र गर्ने व्यवस्था मिलाउनु पर्ने सुझाव टोलिको छ । त्यस्तै, नेपालका बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका नेपाली मुद्राका डेबिट तथा क्रेडिट कार्डहरु अब उप्रान्त अनिवार्य रुपमा प्राप्त गर्ने र निष्काशन गर्ने दुवैतर्फ चिप र पीनको माध्यमबाट मात्र कारोबार हुने व्यवस्था मिलाउनु पर्ने, नेपाल बाहिर यस्तो कार्ड प्रयोग हुँदा नेपालका निष्काशनकर्ताले फलव्याक कारोबार स्वीकार नगर्ने व्यवस्था मिलाउनु पर्ने सुझाव दिईएको छ । नेपाली बैंक तथा वित्तीय संस्थाहरुले जारी गरेका डलर कार्डको हकमा विदेशी टर्मिनलमा एक्वाएर हुँदा म्यागनेटिक ट्रिपको फलव्याक कारोबार नहुने व्यवस्था मिलाउनु पर्ने सुझाव दिईएको छ ।  बैंक तथा वित्तीय संस्थाहरुबाट यसअघि जारी भएका म्याग्नेटिक ट्रिप कार्ड ३ चेपबेस कार्डले विस्तापित गर्नु पर्ने सुझाव दिइएको छ । नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण टर्मिनल डिभाइस (पीओएस वा एटीएम) लाई ३ महिनाभित्र चीप वा पीन लाई स्वीकार गर्न सक्ने गरी सक्षम बनाउन आवश्यक व्यवस्था मिलाउनु पर्ने भनिएको छ । कार्डसँग सम्बन्धित नेटवर्क र सिस्टमको सुपरिवेक्षण नियमित रुपमा गर्नु पर्ने, कार्डसँग सम्बन्धित सूचना प्रणालीको वार्षिक रुपमा अडिट गर्ने व्यवस्था मिलाउनु पर्ने, कार्डसँग सम्बन्धित प्रणालीको जोखिम मूल्यांकन त्रैमासिक रुपमा गरी सम्बन्धित बैंकको जोखिम व्यवस्थापन समितिमा छलफल गर्ने व्यवस्था मिलाउनु पर्ने, एटीएम कक्षमा जडित सीसीटीभीको नियमित रुपमा केन्द्री कृत रुपले अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्ने, यस्तो अनुगमन शनिबार लगायत अन्य विदाको दिनमा समेत नियमित रुपले गर्ने व्यवस्था मिलाउनु पर्ने सुझाव पनि दिइएको छ । वित्तीय सेवा प्रदायक संस्थाहरुले साईबर सेक्युरिटीको जोखिमबाट हुन सक्ने सम्भावित नोक्सानी न्यूनीकरण गर्न साइबर सेक्युरिटी बीमा गर्नु पर्ने व्यवस्था मिलाउनु पर्ने, कार्डबाट हुने कारोबारको सीमा नियन्त्रणका लागि भिसा, मास्टरकार्ड लगायत अन्य भुक्तानी प्रणाली सञ्चालकहरुबाट सबै बैंक तथा वित्तीय संस्थाहरुले कारोबारको सीमा निर्धारण गर्ने सेवा लिनुपर्ने व्यवस्था मिलाउनु पर्ने लगायत सुझाव दिइएको छ ।