विकासन्युज

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा पाँच बुँदा समेटिएका छन् । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालकाअनुसार दुई पार्टीबीच उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने, कम्युनिस्ट विचारधारा र अनुभवको आदान प्रदान गर्ने र हाल सञ्चालन भइरहेको विचाराधारात्मक प्रशिक्षणलाई निरन्तर र तल्लो तहसम्म लैजाने, दुई देशका विकासका मोडलका अनुभवको आदानप्रदान गर्नेलगायतका बुँदा समझदारीपत्रमा समावेश छन् । उपप्रमुख रिजालले तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीच अलग– अलग मैत्री सम्बन्ध रही आएकामा नेकपा गठन भएपश्चात् दुई देशका दुई पार्टीबीचको सम्बन्धको नवीकरण भएको रुपमा समझदारीलाई लिनुपर्ने बताए । उनले समझदारीलाई कुनै अन्यथा रुपमा लिनु नपर्ने उल्लेख गर्दै विगतदेखि नै चलीआएको नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको मित्रवत् सम्बन्धको निरन्तरताको रुपमा लिनुपर्नेमा जोड दिएका छन् । दुई देश र दुई पार्टीको सम्बन्धलाई थप विकसित र नयाँ उचाइमा लान खोजिएको चर्चा गर्दै उपप्रमुख रिजालले नेपाल सरकार र नेकपा एक चीन नीतिप्रति विगतदेखि नै प्रतिबद्ध रहेको छ । सोही प्रतिबद्धताअनुसार नै हामी थप अगाडि बढिरहेको समेत स्पष्ट पारेका छन् । चिनियाँ राष्ट्रपति सी जिन पिङको चाँडै हुन लागेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा यो समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक सोमबार संयुक्त रूपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरी समृद्धिको साझा आधार पहिल्याउने पहल थालनी गरेका छन् । रासस

औषधि विभागको महानिर्देशकमा पुनः ढकाल

काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशक पदमा पुनः नारायण ढकालले कार्यभार सम्हालेका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनलाई महानिर्देशक पदको कार्यभार सम्हाल्न पत्र दिएको हो । महानिर्देशक ढकालले भने, “मैले महानिर्देशक पदको जिम्मेवारी असोज ५ गते आइतबारदेखि सम्हालेको छु । म पुनःकाममा फर्किएको छु ।” स्वास्थ्यसेवा तर्फको कर्मचारी समायोजन अन्तर्गत मन्त्रालयले ११औँ तहमा कार्यरत उनलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखमा पदस्थापना गरेको थियो । उनले मन्त्रालयको सो निर्णय कार्यान्वयन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । साउन २१ गते रिटमाथि सुुनुवाइ हुँदा सो निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्चले आदेश दिएको थियो । मन्त्रालयले दशौं तहका पानबहादुर क्षेत्रीलाई यसअधि निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो । सर्वोच्च अदालतको अन्तरिम आदेश आएको दश दिनसम्म मन्त्रालयले उनलाई जिम्मेवारीको पत्र दिन ढिलाइ गरेको थियो । रासस

लामो दुरीको गाडीमा दुई जना चालक राख्नै पर्ने, ट्राफिक प्रहरीले थानकोटमा ड्राईभरको फोटो खिच्ने

काठमाडौँ । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरुले विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पारे । काठमाडौँमा आयोजित कार्यक्रममा उनले भने–‘अहिलेको अवस्था भनेको विशेष अवस्था हो, हामीले सोही अनुसारको टा«फिक व्यवस्थापन गरेका छौं । सवारी आवागमन धेरै छ, किनमेल गर्न जानेदेखि लिएर अन्य कुराको भीड छ । हामीले पनि त्यहीअनुसारको सुरक्षा व्यवस्था गरिराखेका छौं ।’ यात्रुहरुलाई सजिलो तुल्याउने गरी आफूहरुले सुरक्षा व्यवस्था अपनाएको उनको भनाई छ । उनले यात्रुहरुलाई सहज होस् भनेर नै सरोकारवाला निकायसँगको सहकार्यमा बसपार्कहरुमा नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याईएको सुनाए । जसअन्तर्गत काठमाडौँको नयाँ बसपार्कमा अहिले १४ वटा कक्ष सञ्चालनमा रहेका छन् । उनले एक दुई दिनभित्र अन्य स्थानमा पनि यस्तै कक्ष सञ्चालनमा आउने विश्वास दिलाए । सवारीसाधन दुर्घटनाको तथ्यांक हेर्दा धेरै दुर्घटना चालकको लापरवाहीको कारणले भएको देखिएको सुनाउँदै ढकालले यसतर्फपनि आफूहरुले विशेष ध्यान दिएको सुनाए । उनले भने–‘चालकको लापरवाहीको कारणले धेरै दुर्घट्ना भएको देखिन्छ । मादक पदार्थ सेवन गर्ने, एउटै चालकले लामो दुरीसम्म गाडी चलाउने कारण बनेका छन्, यसलाई मध्येनजर गर्दै हामीले लामो दुरीको गाडीमा अनिवार्य रुपमा दुई जना चालक राख्न कडाई गरेका छौं । यसको लागि काठमाडौंबाट छुट्ने गाडीमा थानकोटमा ड्राईभरको फोटो लिन्छौं । र, सोही फोटो अरु ठाउँमा पुर्याउँछौं ।’ चाडपर्वको मुखमा दुर्घट्ना हुनु दुःखद् कुरा भएको सुनाउँदै त्यस्तो दुर्घट्ना नहोस भनेर नै विशेष सुरक्षा व्यवस्था अपनाईएको उनको भनाई छ । उनले अहिले टा«फिक प्रहरीको जनशिक्त १३ सय ६८ जना रहेको सुनाए । यसमध्ये २ हजार १४ जना काठमाडौंमा मात्रै खटिररहेका छन् । उनले भने–‘६, ७ सय सवारी एक जना टा«फिक प्रहरीले हेर्नुपरेको छ । त्यस्तै, ‘हिट एण्ड रन’ का घटनापनि बढेकोले आफूहरुले त्यसको लागि धेरै जनशक्ति थपेको उनले सुनाए । ढकालले बसपार्कमा यात्रुहरुलाई सास्ती नहोस् र कोहीपनि यात्रु नठगिउन भन्नको लागि बसपार्कमा खटिने कर्मचारी, यातायात व्यवसायीलाई अनिवार्य पोशाकको व्यवस्था गरेको पनि सुनाए । त्यस्तै, सादा पोशाकमा पनि प्रहरी परिचालित रहेको उनको भनाई छ । जनचेतनाको लागि काठमाडौं बसपार्कबाट छुट्ने गाडीमा अडियो–जिंगल बजाउनको लागि एक हजार गाडीलाई वितरणगरिएको पनि उनले जनाए । उनले काठमाडौंको ट्राफिक व्यवस्था राम्रो रहेको सुनाए । सवारी नियम उल्लंघन गर्नेहरु दैनिक १६, १७ सय सवारीहरु कारवाहीमा पर्ने गरेको पनि उनले आँकडा सुनाए । त्यस्तै, मापसे गर्नेपनि दैनिक १५० जना कारवाहीमा परेका छन् । ढकालले चाडपर्व लक्षित गरेर ५ सय जना युवा स्वयमसेवीहरु  परिचालित भएको पनि सुनाए । उनले विगतभन्दा यसपटक राम्रो भएको अनुभुति जनताले पाईरहेको दाबी गरे । ढकालले केही समस्या परे सिधै आफूहरुलाई सम्पर्क गर्नपनि सुझाए । त्यसको लागि उनले १०३ मा सम्पर्क गर्न आग्रह गरेका छन् । आफूहरु चौविसै घण्टा सेवमा समर्पित रहेको उनको भनाई छ ।

जनरल इन्स्योरेन्सको नायव महाप्रबन्धकमा राजेश मानन्धर नियुक्त

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले नायव महाप्रबन्धकमा राजेश प्रसाद मानन्धर नियुक्त गरेको छ । मानन्धरले असोज ५ गतेदेखि उक्त जिम्मेवारी समालेका छन् । मानन्धरसँग २७ वर्ष वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ । २०४९ देखि ६५ सालसम्म नेशनल फाइनान्समा काम गरेका मानन्धर पछि क्रमशः कस्मिक मर्चेन्ट, सिएमबी, सिनर्जी हुँदै पछिल्लो समय बेष्ट फाइनान्समा नायव महाप्रबन्धककाे जिम्मेवारीमा थिए । वित्तीय क्षेत्रमा झण्डै तीन दशक काम गरेको अनुभवले बीमा क्षेत्रमा केही योगदान गर्न सक्ने विश्वास आफूमा रहेको मानन्धरले बताए । पछिल्लो सयम बीमा क्षेत्रको विकास राम्रो हुँदै गएको छ तर यो क्षेत्रको विकास र विस्तारमा अझै धेरै काम गर्न बाँकी देखिएको उनले बताए । उनले शंकरदेव क्याम्पसबाट एमबीएसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

चाडपर्वमा कालोबजारी गर्नेलाई तत्कालै कारवाहीः महानिर्देशक गौचन

काठमाडौँ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर दैनिक रुपमा अनुगमन शुरु गरेको बताएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा उनले भने–‘साउनमा मात्रै एक हजार फर्ममा अनुगमन गरेका थियौं, त्यसमध्ये ३४० फर्म कारबाहीको दायरामा आएका छन् । १६० फर्मलाई २० लाखसम्म जरिवाना गराएका छौं ।’ चाडपर्वको मुखमा कालोबजारी र मुल्यवृद्धि गरेको पाईए तत्काल कारबाही गर्ने पनि उनले चेतावनी दिए । खाद्यान्नदेखि लत्ताकपडासम्म अनुगमन भैरहेको उनको भनाई छ । अनुगमन गर्दा हाम्रो व्यवसाय चौपट बनाउन लागेको भन्दै आफूहरुलाई थर्काउने काम भएको पनि उनले गुनासो पोखे । उनले हालै काठमाडौंको न्यूरोडमा रहेको रञ्जना सिनेमा हलमा अनुगमन गर्दा हुलदंगादेखि आफूहरुमाथि अपशब्द प्रयोग भएको सुनाए । तर, पछि थप सुरक्षाकर्मी बोलाएर आफूहरुले अनुगमनको बाँकी काम पूरा गरेको सुनाए । उनले भने–‘हामी डराएका छैनौं । ठूला डिपार्टमेन्टल स्टोरमा पनि पुगेका छौं । बजार व्यवस्थित छ ।’ अहिले देशभरि ७३ वटा सुपथ मुल्यका पसलहरु सञ्चालनमा रहेको पनि उनले सुनाए । यो वर्षको दशैंलाई लक्षित गरेर विभागले तीन हजार खसी, बोकाको व्यवस्था गरेको बताए । सरकारले आफैं घाटा व्यहोरेर भएपनि नुन, चिनी, डिडिसीको घ्यु, खसी बोका, चामलमा सहुलियत दिएको छ–उनले भने ।

पशु बीमा कार्यक्रम प्रभावकारी बन्दै

पाँचथर । किसानका लागि पशुधनको सुरक्षाको दृष्टीले राम्रो मानिने पशु बीमा कार्यक्रम पछिल्लो समय पाँचथर तथा ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा प्रभावकारी बन्दै गएको छ । कतिपय बीमा कम्पनीले पशु बीमा गर्दा त्यसमा रु एक सय थप्दा पशु धनीकोसमेत बीमा हुने भएपछि पछिल्लो समय पाँचथरमा पशु बीमातर्फ किसानमा आकर्षण बढ्दै गएको हो । पशुका लागि बीमाका विषयमा कुरा बुझ्दै गएपछि किसानले धमाधम बीमा गर्न थालेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा पाँचथरका प्रमुख यादव गौतमले बताएका छन् । उनले भने–“विगतको तुलनामा पशुको बीमा गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको छ, किसानले पशुको बीमा गर्नुपर्छ भन्ने विषय बुझ्दै गएपछि बीमा गर्नेको सङ्ख्या बढेको हो ।” अहिले पाँचथर जिल्लामा मात्र चार वटा निर्जिवन बीमा कम्पनी छन् । जसमा तीन वटा कम्पनीले पशु बीमा गरिरहेको गौतम बताउँछन् । उनले थपे– “ किसानलाई थोरै रकम खर्च गरे बीमामा सहभागी हुन पाउने अवसर मिल्ने भएकाले पशु बीमा बढेको हो ।” पशुपालन गरिरहँदा लापरवाही गरौं, पशु मरोस, दुर्घटना होस् भन्ने कुनै पनि किसानमा नहुने फिदिम नगरपालिका–२ देउरालीमा गाई फार्म सञ्चालन गरिरहेका टेकनाथ रिजाल बताउँछन् । उनले भने,“आफूले पालन गरिरहेका पशुरुलाई सुरक्षित बनाउने तर्फनै आफ्नो ध्यान जान्छ, कहीलेकाहीँ पशु दुर्घटनामा पर्नसक्ने भएकोले गाईको बीमा गरेको छु । पशुको बीमा गर्दा धनीको समेत हुने भएकाले ८ वटा गाईको बीमा गरेको छु, आफूले विभिन्न स्थानबाट ऋण लिएकाले पशुमा क्षति भए त्यसमा केही सहायता मिल्छ । ठूलो क्षति हुनबाट जोगिन बीमा आवश्यक छ ।” पशु बीमा गर्दा पशु प्राविधिक अनिवार्य आवश्यक पर्ने बीमा कम्पनीले जनाएका छन् । बीमा गर्दा पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुँदा पशु प्राविधिक आवश्यक भएको हो । शुरुमा पशु बीमाका विषयमा किसानलाई बुझाउन निकै समस्या परेको प्राविधिक लक्ष्मी बाँस्कोटा बताउँछन् । उनी भन्छन्,“एक वर्षको अवधिका लागि मात्रै बीमा हुने भएकाले थोरै झन्झटिलो छ । तर, पनि किसानको आर्थिक क्षति कम गर्न पशु बीमा अनिवार्य जस्तै छ । २०७५ साल वैशाख १ गतेबाट पशुको बीमा गर्दा पशु धनीको बीमा गर्न थालेपछि किसान झन खुशी भएका छन् ।” जिल्लामा अहिले एनएलजी लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र नेको इन्सोरेन्स छन् । उनीहरुले ताप्लेजुङलाई समेत समेटेका छन् । एक हजार ५०० बढी पशु चौपायको बीमा गरिसकेका छन् । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी दिन थालेको छ । कम्पनीले २०७४/७५ मा ५०८ वटा पशुको बीमा गराएकोमा २४ वटा मृत्यु दाबी भएका थिए । तीमध्ये २१ पशुको दाबी भुत्तानी दिइसकेको छ । त्यसैगरी २०७५/७६ मा ९९३ पशुको बीमा भएकोमा २३ पशुको मृत्यु दाबी आएको र २० वटा पशुको दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । रासस

डेङ्गुका कारण पर्यटकीय क्षेत्रमा पर्यो ठूलो असर

चितवन । साउन महिनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून सङ्ख्यामा आएका छन् । चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक सौराहा भित्रने गर्दथे तर यस वर्ष यो सङ्ख्या २००को हाराहारी मात्र छ । यस वर्ष बसमा आउने पर्यटक दैनिक २०/३० को हाराहारी रहेका छन् भने समूहमा आउने २०० भन्दा कम छन् । गत वर्षमा समूहमा आउने पर्यटक र बसमा आउने पर्यटक पाँच/पाँच सय हाराहारी हुने गरेको उनको भनाइ थियो । सौराहाबाट दैनिक छ वटा बस काठमाडौँ र दुई वटा बस पोखरा चल्ने गर्दछन् । ती बसमा न्यून पर्यटक मात्र आउने गरेका छन् । अहिले जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण चढ्ने गरेका कारण ती बसले खर्च धानेको जनाइएको छ । सौराहा क्षेत्रमा डेङ्गु नदेखिए पनि जिल्लाको शहरी क्षेत्रमा डेङ्गु देखिएकाले त्यसैको हल्लाका कारण पर्यटक घटेको अध्यक्ष भट्टराईले बताएका छन् । रत्ननगर नगरपालिकामा हालसम्म १३५ मा डेङ्गुको सङ्क्रमण देखिएको छ । ती सबै बजार क्षेत्रका हुन् । पछिल्लो समयमा सौराहा क्षेत्रमा डेङ्गुको सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए । जिल्लामा पनि असोज लागेसँगै यस्ता रोगीको सङ्ख्या घटेर गएको र अहिले डेङ्गु नियन्त्रणको क्रममा रहेको उनको भनाइ थियो । सौराहाका १२० होटलको सात हजार हाराहारी पर्यटक अटाउने क्षमता छ तर यहाँ डेङ्गुको सङ्क्रमण छैन भन्ने सन्देश समयमा नै पुर्याउन सकेमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने व्यवसायीहरूको भनाइ छ । यति बेला यूरोपेली र चिनियाँ पर्यटक मात्र सौराहा आएका छन् । क्रमशः आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै जाने बताइएको छ । भरतपुर र आसपासका होटलमा पनि असर भरतपुर र गैँडाकोट क्षेत्रमा रहेका पर्यटकीय होटलमा पनि डेङ्गुका कारण असर परेको छ । रेष्टुराँको व्यापारमा कमी आएको छ भने ठूला कार्यक्रमसमेत स्थगित भएका छन् । गैँडाकोटसिथत द नारायणी रिसोर्टका महाप्रबन्धक वसन्त पराजुलीका अनुसार चार दिनका लागि आवासीय कार्यक्रम अग्रिम तय भएकोमा डेङ्गुकै कारण स्थगित भएको छ । भदौ २६ देखि २९ गतेसम्मका लागि कार्यक्रम तय भएकामा डेङ्गुको त्रासका कारण कार्यक्रम स्थगित भएको उनले बताए । अन्यले पनि आफ्ना कार्यक्रम पछाडि सारेका छन् । पराजुलीका अनुसार डेङ्गुको सङ्क्रमण घट्दै गएकाले पूर्ववत् अवस्थामा व्यवसाय फर्कने अनुमान गरिएको छ । होटल रोयल सेञ्चुरीका ‘अप्रेसन म्यानेजर’ राजेन्द्र थापाका अनुसार रेष्टुराँको व्यापारमा ४० प्रतिशतसम्म गिरावट आएकामा केही दिनयता क्रमशः व्यापार बढ्न थालेको छ । कोठमा बस्ने र रेष्टुराँमा खान आउनेको सङ्ख्या नै घटेको थियो तर असोज लागेसँगै डेङ्गुको सङ्क्रमणमा कमी आएको छ । दशैँको समयमा डेङ्गुको सङ्क्रमण नियन्त्रणमा आउन सकेमा पूर्ववत् अवस्थामा व्यापार फर्कने व्यवसायीको अनुमान छ । स्थानीय पर्यटन विकास समितिका जिल्ला महासचिव विश्व सुवेदीले डेङ्गुका कारण यहाँ आउने धेरै पर्यटकले भ्रमण स्थगन गरेको बताए । रासस

सेञ्चुरी कमर्सियल बैंकद्धारा खानेपानी फिल्टर वितरण

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको पनौती शाखाले विद्यालयलाई खानेपानी फिल्टर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका, वडा नं १०, शिखरपुरमा रहेको शीतलादेवी माध्यमिक विद्यालयलाई खानेपानी फिल्टर वितरण गरेको हो । खानेपानी फिल्टर पनौती शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहालले ब्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद आचार्य र प्रधानाध्यापक क्षेत्रप्रसाद अधिकारीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता स्थानीय समाजसेवी ईश्वर दाहालले गरेका थिए ।