प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्त भए गौतम र पोखरेल
रुपन्देही । प्रदेश नं ५ को प्रदेश लोकसेवा आयोगको सदस्यमा बाबुराम गौतम र राहेल पोखरेल नियुक्त भएका छन् । प्रदेश लोकसेवा ऐनअनुसार मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा बनेकोे सिफारिस समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख उमाकान्त झाले आज आयोगमा एक महिलासहित दुई जना सदस्य नियुक्त गरेका हुन् । गुल्मीको दरबार गाउँपालिका– २ निवासी गौतम र रुपन्देहीको साविक टिकुलीगढ– १ निवासी पोखरेललाई आयोगको सदस्यमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिएका छन् । रासस
एभरेष्ट बैंकका सीईओ नेगीले बिहीबारदेखि कार्यभार सम्हाले
काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गजेन्दरकुमार नेगीले आफ्नो कार्यभार सम्हालेका छन् । नव नियुक्त सीईओ नेगीले बिहीबार(असोज ३०)देखि आफ्नो सीईओ पदको कार्यभार सम्हालेका हुन् । यस अघि कम्पनीको सीईओ सोमेश्वर सेठको ४ वर्षे कार्यकाल सकिएपछि उक्त रिक्त पदमा बैंक सञ्चालक समितिले नेगीलाई नियुक्त गराएको हो । नव नियुक्त सीईओ नेगी यसअघि पञ्जाव नेशनल बैंकमा नायव महाप्रबन्धकको रुपमा कार्यरत थिए ।
यस्तो छ मोटरहेडको ‘स्क्र्याम्ब्लर २५०’, मूल्य कति ?
काठमाडौं । नेपालका लागि मोटरहेड स्क्र्याम्ब्लरको आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले केहि महिना अघि स्क्र्याम्ब्लर २५० लाई नेपाली बजारमा भित्र्याएको थियो । चाइनिज कम्पनी फ्युगो पावर्सले निर्माण गरेको स्क्र्याम्ब्लर २५० एउटा स्क्र्याम्ब्लर मोटरसाइकल हो । नेपाली बजारमा यस बाइकको मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकिएको छ । कम्पनीले जनाए अनुसार रेट्रो लुक्स बोकेको स्क्र्याम्ब्लर २५० को बिल्ट क्वालिटी एकदमै राम्रो छ । भिन्टेज लुकिङ्ग एलइडि हेडलाइट, नव्बी टायर, बार एण्ड मिरर्स, अपराइट–राइडिङ्ग पोजिसन र रगेड अपेरियन्सले यस बाइकलाई एकदमै आकर्षक बनाएको छ । यस मोटरसाइकलमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ जसले सवै आवश्यक इन्फर्मेशनहरु पनि डिस्प्ले गर्दछ । ६–स्पिड गियरबक्स दिइएको यस बाइकमा प्रयोग भएको इञ्जिन एउटा २२३ सीसी ओयल कुल्ड इञ्जिन हो जसले १९ एचपिको पावर र २० एनएमको टर्क प्रोड्युस गर्दछ । यस बाइकको सिट हाइट ८२० मिलिमिटर छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ २६० मिलिमिटर छ । त्यसैगरी यसको ट्याङ्क क्यापासिटी १४ लिटर रहेको छ । कम्पनीका अनुसार यस बाइकले ३५ केएमपीएलको माइलेज दिन्छ भनेबाइकको टप स्पिड चाहिँ १२० केएमपीएच रहेको छ । १७ इञ्च स्पोक व्हिलमा जडान भएका चौडा नव्वि टायरहरुले गर्दा स्क्र्याम्ब्लर २५० जस्तोसुकै अफरोडमा पनि आरामका साथ कुद्न सक्छ । अहिलेको चाडपर्वलाई लक्षित अफरका रुपमा कम्पनीले यस बाइकको खरिदमा स्क्र्याच कार्ड मार्फत रु. पाँच हजार देखि २५ हजार रुपैयाँसम्मको नगद छुट, इन्स्योरेन्स र साथै १५ हजार रुपैयाँ बराबरको एक्सेसरिजहरु पनि उपलब्ध गराईरहेको छ ।
अन्तर्राष्ट्रिय सैन्य खेलकूदमा भाग लिन उपप्रधानमन्त्री पोखरेल आज चीन प्रस्थान
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ अन्तर्राष्ट्रिय सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना रथी शरद गिरी लगायतले बिदाइ गरेका थिए । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ । शुक्रबार उद्घाटन हुने प्रतियोगितामा भाग लिन बुधबार राति नेपाली खेलाडी त्यहाँ पुगिसकेका छन् । प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ । स्याङ्ग्सन फोरम यही अक्टोबटर २० देखि २२ सम्म चल्नेछ । उपप्रधानमन्त्री पोखरेल आगामी कात्तिक ६ गते स्वदेश फर्कनेछन् । रासस
सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोडको सेयर निष्कासन गर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोडको सेयर निष्कासन गर्ने भएको छ । बुधबार सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सेयरधनीलाई सो मात्राको सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, सभाबाट कम्पनीकोे सञ्चालक समितिको रिक्त पदमा दिपप्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका थिए । यसैगरी, सभाले सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल गरि विभिन्न प्रस्तावहरु पारित गरेको छ । पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ । उक्त सभामार्फत आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित भएकाे छ ।
बैंक अफ काठमाण्डूको १७ प्रतिशत लाभांश पारित, निक्षेप बढेर ८३ अर्ब नाघ्याे
काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित १७ प्रतिशत लाभांश पारित भएको छ । बिहीबार सम्पन्न भएको बैंकको २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे अनुसार बैंकका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पुँजीको ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश पाउने छन् । बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ थियो । ६ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, सभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबमाथि छलफल गरि पारित गरेकाे छ । त्यस्तै, २०७६/०७७ का लागि लेखापरीक्षक नियुक्ति तथा निजकाे पारिश्रमिक १८ लाख ९० हजार रूपैयाँ निर्धारण गरेकाे छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवदेन हेर्दा बैंकले सम्पूर्ण सूचांकहरुमा अघिल्लो वर्षभन्दा सुधार गर्दै आएको देखिन्छ । गत वर्ष ७६ अर्ब ९१ करोड रुपैयाँ रहेको बैंकको कुल निक्षेप ८.३४ प्रतिशतले बढेर ८३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले कुल कर्जामा ८.८२ प्रतिशत वृद्धि गरि ७६ अर्ब ३६ करोड रुपैयाँ पुर्याएको छ । ८३ अर्ब निक्षेप रहेको बैंकको जगेडा कोषमा पनि राम्रै रकम जम्मा भएको छ । गत असार मसान्ससम्म बैंकको जगेडा कोषमा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ९१.५० प्रतिशत, तरलता अनुपात २३.२४ प्रतिशत र निष्क्रिय कर्जा अनुपात १.५४ प्रतिशतमा झरेको छ । त्यस्तै, बैंकको पुँजीकोष अनुपात नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम प्रतिशत भन्दा बढी अर्थात १४.३० प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ रहेको छ भने आधार दर ९.९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निक्रिष्य कर्जा १.५४ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्ष १.८२ प्रतिशत रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकद्वारा ३० युवालाई निःशुल्क प्रशिक्षण
काठमाडौैं । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क प्रशिक्षण दिने घोषणा गरेको छ । वित्तीय क्षेत्रमा आफ्नो जागिरे जीवन प्रारम्भ गर्न चाहने प्रदेश नं ३ का युवालाई लक्ष्य गरेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रममार्फत प्रशिक्षण दिन लागेको हो । आज यहाँ पत्रकार सम्मेलन गरेर बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ५५ वर्षको गर्विलो इतिहास बोकेको बैंकले युवा वर्गको वृत्तिविकासका निम्ति प्रशिक्षण कार्यक्रम ल्याएको जानकारी दिँदै भने, “प्रदेश नं ३ को अनुभवका आधारमा सातवटै प्रदेशमा प्रशिक्षण विस्तार गरिनेछ ।” व्यवस्थापन विषयमा उत्कृष्ट अङ्कका साथ स्नातकोपाधि वा स्नातकोत्तर गरेका युवाले तालीमका निम्ति राष्ट्रिय वाणिज्य बैंकको वेबसाइटमा गएर अनलाइन फाराम भर्न सक्नेछन् । बैंकले गत आव २०७५/०७६ मा पाँच अर्ब ३२ करोड खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप रु एक खर्ब ९० अर्ब, कर्जा रु एक खर्ब ४४ अर्ब रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ । बैंकले बैंकिङ क्षेत्रको बिस्तार, वित्तीय पहुँचका लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवा लक्षित बैंकिङ कारोवार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रममा सघाउ पुर्याउँदै आएको छ । रासस
अर्को अन्तर्राष्ट्रिय सम्मेलनको तयारीमा सरकार, राष्ट्रसंघसहित ८० देशका ११ सय प्रतिनिधि आउने
काठमाडौं । चिनियाँ राष्ट्रपतिको स्वागत र विदासँगै नेपालले अर्को सम्मेलनको तयारी थालेको छ । नेपालले राष्ट्रसंघीय अन्तर्राष्ट्रिय कार्यक्रम स्केलिङ अप न्यूट्रिशन मुभमेन्ट (सन मुभमेन्ट) को अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाका लागि तयारी थालेको हो । मानव र पृथ्वीलाई सँगै पोषित गर्दै भन्ने नारा बोकेको यो अभियानको विश्वव्यापी सम्मेलन नेपाल सरकार र सन मुभमेन्टको संयुक्त आयोजनामा यही कात्तिक १८ गते देखि २१ गतेसम्म (नोभेम्बर ४–७) काठमाडौंको होटल याक एण्ड यतिमा सञ्चालन हुने राष्ट्रिय योजना आयोगका सदस्य डा.उषा झा बताइन् । सम्मेलनमा पोषण सम्बन्धि विभिन्न देशका विज्ञबाट २५ वटा कार्यशाला गोष्ठी हुनेछ । ८० देशका प्रतिनिधिहरूको सहभागिता रह्ने उक्त सम्मेलनमा ६१ वटा वुथ बनाएर पोषण सम्बन्धि कार्यक्रम बनाउने तयारी नेपालले गरेको छ । ग्लोबल रुपमा पोषणलाई कभरेज गर्न अबका दिनमा चालिने कदमका विषयमा गहन छलफल हुने डा. झाले बताइन् । सन् मुभमेन्ट अभियानमा ६१ देशका सदस्य रहेका छन् । सो कार्यक्रम गर्न राष्ट्रिय योजना आयोगले गत फ्रेबु्रअरीमा ग्लोबल टेण्डर हालेको थियो । यसमा नेपाल छनोट भएको हो । कार्यक्रममा युनिसेफकी कार्यकारी निर्देशक, संयुक्त राष्ट्र संघका प्रतिनिधि, सन मुभमेन्टकी कार्यक्रम संयोजक तथा विभिन्न देशका सरकार प्रमुखहरु समेत गरी १ हजार देखि ११ सय सहभागी रहने बताइएको छ । जसमा कुपोषण अन्त्यका लागि विश्वभरि भइरहेका प्रभावकारी प्रयासहरुबारे छलफल हुने बताइएको छ । आगामी वर्षको डिसेम्बरमा जापानको टोकियोमा ‘वृद्धिका लागि पोषण टोकियो शिखर सम्मेलन’ आयोजना हुँदैछ । सो सम्मेलनलाई दृष्टिगत गर्दै छलफल हुने समेत बताइएको छ । पछिल्ला वर्षहरुमा नेपालले गैर आयगत विकासको क्षेत्रमा उल्लेख्य सुधार गर्दै आएका छन् । यस्तो क्षेत्र अन्तर्गत सुशासन कायम गर्ने, खानेपानी तथा सरसफाइको विकास, निरक्षरता उन्मुलन, कुपोषणको अन्त्य, सामाजिक समता तथा न्याय जस्ता पक्षरु पर्दछन् । आयगत क्षेत्रहरुको विकासमा भने नेपालले सोचेअनुरुप प्रगति हासिल गर्न सकेको छैन । बुधबारमात्रै प्रकाशित तथ्यांकले भोकमरी निवारणमा उल्लेख्य सफलता हासिल गरेको देखाएको छ । उक्त इन्डेक्समा नेपाल ७३ औं स्थानमा रहँदा दक्षिण एशियामा श्रीलंकापछिको दोस्रो कम कुपोषणयुक्त मुलुक बन्न सफल भएको हो । विश्वका ११७ देशमा भएको सर्भेक्षणमा श्रीलंका ६६ औं स्थानमा रहँदा बंगलादेश ८८ औं र भारत १०२ औं स्थानमा रहेको रिपोर्टले देखाएको छ ।