विकासन्युज

गोल्छा समूहको कल्प चक्की पिठोको उपहार योजना, पुस १५ गतेसम्म लागु हुने

काठमाडौँ । गोल्छा समूहको उत्कृष्ट उत्पादन आईएसओ २२०००ः२००५ प्रमाणित फोर्टिफाइड वीथ भिटामिन ए फोलिक एसिड एण्ड आइरन भएको “कल्प” ब्राण्डको गहुँको चक्की पिठोको प्याकेटमा उपहार कुपन राखिएको छ । ५ के.जी.का प्याकेटहरुमा रु. ५/-, रु. १०/-, रु. २०/- र रु. ५०/- का उपहार कुपनहरु राखिएका छन् । उक्त नगद कुपनहरु नजिकको बिक्रेताबाट पिठो खरिद गर्दा ग्राहकहरुले बिक्रेतालाई दिई छुट पाउन सक्ने छन् । साथै, उक्त नगद कुपनहरु बाहेक बम्पर उपहार योजना अन्र्तगत साईकलका कुपनहरु पनि राखिएका छन् । उपहार योजना कात्तिक १ गतेदेखि पुस १५ गतेसम्मका लागि लागु हुने जनाइएको छ ।

सातै प्रदेशमा सांगीतिक कार्यक्रम सप्तरङ्ग-२ हुँदै, पर्यटकीय स्थलको प्रवद्र्धन गरिने

काठमाडौं । टिभिएस टु ह्वीलरको नेपाल स्थित एक आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यस पटक सातै प्रदेशमा सांगितिक कार्यक्रम सप्तरंग-२ हुने भएको छ । कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म कार्यक्रम हुने आयोजक गृष्मा ब्रोडकाष्टिङले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । ‘जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भन्ने नाराका साथ सातै प्रदेशका पर्यटकीय स्थलको प्रवद्र्धन र पर्यटन वर्ष २०२० लाई सफल पार्न र स्थानीयलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम हुन लागेको हो । कात्तिक २० गते विर्तामोडमा, २२ गते वीरगञ्जमा, २४ गते चितवनमा, २६ गते नेपालगञ्जमा, २८ गते सुर्खेतमा, ३० गते महेन्द्रनगरमा र मंसिर ४ गते पोखरामा कार्यक्रम हुनेछ । विर्तामोडमा मेलिना राई, वीरगञ्जमा जितु नेपाल, चितवनमा सुगम पोखरेल, नेपालगञ्जमा प्रकाश सपुत, सुर्खेतमा राजेश हमाल, महेन्द्रनगरमा हिमाल सागर र पोखरामा रवि ओड सहितका कलाकारहरुको प्रस्तुति रहने आयोजक ग्रिष्मा ब्रोडकाष्टिङले जनाएको छ । सातै प्रदेशमा आयोजना हुने कार्यक्रमको उद्घाटन मुख्यमन्त्रीहरुबाट हुने जनाइएको छ । कार्यक्रमहरुमा ९० हजारदेखि १ लाख २० हजार दर्शकको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।

जलविद्युत आयोजनामा काम गर्ने ४ मजदुर सुरुङभित्र थुनिए, घटनास्थलमा पुग्यो उद्धार टोली

बझाङ । बुङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत् आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन् । उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन् । दैलेखको गुराँस गाउँपालिका–३ का महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउँद र बझाङको बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी सुरुङभित्र थुनिएको प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए । आठ सय मिटर लामो सुरुङ भएकाले अक्सिजनको मात्रा कम भएका कारण चारैजना बेहोस भएको हुनसक्ने बताए । उनीहरुसँगै सुरुङभित्र गएका अन्य दुई मजदुर भने बाहिर निस्किन सफल भएको उनले बताए । “चार जनाको अवस्था अज्ञात छ”, बमले भने । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । सुरुङभित्र रहेका मजदुरको उद्धारका लागि काठमाडौँबाट हेलिकप्टरमा नेपाली सेनाको टोली घटनास्थल पुगेको छ । पाँच वर्षदेखि निर्माणाधिन ६५ मेगावाट क्षमताको कालङ्गा आयोजनाको हाल सुरुङ खन्ने काम भइरहेको छ । रासस

प्रदेश प्रमुखका लागि नेकपाले गर्यो सिफारिस, को को परे हेर्नुहोस्

काठमाडौँ । सरकारको शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार प्रदेश प्रमुखहरुलाई पद मुक्त गरिएपछि सोमबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सचिवालय बैठकले अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको नेकपाका महासचिव विष्णु पौडेलले बताए । कसलाई कुन प्रदेशको प्रमुख बनाउने निर्णय सरकार र राष्ट्रपतिबाट हुने महासचिव पौडेलले बताए ।

झापा जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौँ । प्रभु बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले सोमबार उक्त एक्स्टेन्सन काउन्टर उद्घाटन गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुले अब बिना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले झापा जिल्ला प्रशासन कार्यलयमा पनि सेवा विस्तार गर्न सफल भएको जनाएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र गर्न चार करोड विनियोजन

गलकोट । बागलुङको बलेवा विमानस्थल बाह्रै महिना सञ्चालन गर्न विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा चार करोड रुपैयाँ विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको हाे । छब्बीस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन भएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महिना उडान गरेपनि आवश्यक पूर्वाधारको अभावमा अहिले बन्द छ । नगरपालिकाले १४ वडामा रहेको विमानस्थल सञ्चालनका लागि पहल गरेपनि कच्ची धावनमार्ग, विमानस्थलसँग पुग्ने सडक कालोपत्रे नहुनुुलगायत समस्याका कारण २६ वर्ष पछि सञ्चालनमा आएको विमानस्थल पुनः बन्द भएपछि प्राधिकरणले धावनमार्ग बनाउन बजेट विनियोजन गरेको बागलुङ सांसद डा. सूर्य पाठकले जानकारी दिएका छन् । सरकारले हालै बलेवा विमानस्थल सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्न बहुवर्षीय योजनामा समावेश गरेर बजेट विनियोजन गरेको पाठकको भनाइ रहेको छ । “प्राधिकरणले पहिलो चरणमा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडि बढेको छ”, सांसद पाठकले भने, “नगरपालिकासहित सरोकारवाला निकायको पहलमा तीन वर्षमा सक्ने गरी पूर्वाधार निर्माण हुन्छ ।” धौलागिरीका बागलुङ, पर्वत र म्याग्दीका जनतालाई हवाई सेवा प्रदान गर्ने गरी पूर्वाधार निर्माणका लागि नगरपालिकाले साझेदारी गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । “नगरले २६ वर्षपछि बन्द रहेको विमानस्थल सञ्चालनका लागि झण्डै रु ५० लाख लगानी गरिसक्यो, केही समय जहाज पनि चल्यो”, प्रमुख पौडेलले भने “आगामी तीन वर्षभित्रमा विमानस्थल पुग्ने सडक कालोपत्रे, धावनमार्ग निर्माण गर्ने गरी सरकारले योजनामा समावेश गरेको छ ।” कालिगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची रहेको छ । मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर कालोपत्रे हुने हो भने विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवालाहरु बताउँछन् । एक वर्ष अगाडि यात्रु कम हुँदाको रकम बागलुङ नगरपालिकाले सुनिश्चितता गरी हप्तामा दुई दिन नेपाल एयरलाइन्स र तारा एयरको टुइनेटर विमानले उडान भरेपनि वर्षाको समय धावनमार्गमा हिलो र हिउँदमा धूलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो । रासस

बक्सिङ खेलाडी घिमिरेले जापानी खेलाडीलाई हराउँदै नयाँ इतिहास कायम

काठमाडौं । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका हुन् । युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी ओयोलाई पहिलो राउन्डमा नै दुई मिनेट ३० सेकेन्डमा पराजित गरेका थिए । अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगितामा जापान, नेपाललगायत अन्य देशका खेलाडीले भाग लिएका थिए । जापानमा रही बक्सिङको विशेष प्रशिक्षणमा रहेका घिमिरे काठमाडौँका चन्द्रागिरि नगरपालिका निवासी हुन् । अविरल नेपालका किक बक्सिङ कराँतेका चर्चित खेलाडी देव घिमिरेका पुत्र हुन् । आफ्नै पिताको निगरानी र प्रशिक्षणमा उनले अभ्यास गर्दै आएका छन् । उनले विभिन्न राष्ट्रका खेलाडीहरूसँग हालसम्म भएका १२ वटा अन्तर्राष्ट्रिय भिडन्तमा ११ वटामा जीत आफ्नो पक्षमा ल्याउन सफल भएका थिए । यसैगरी, एक खेल बराबरीमा रोकिएको उनको परिवारका सदस्य रामनारायण घिमिरेले जानकारी दिए । पछिल्लो प्रतियोगितामा सफलता प्राप्त गरेपछि अविरलले अगामी दिनका प्रतियोगितामा अझै राम्रो गर्ने र देशको नाम उँचो बनाउने प्रतिक्रिया दिएका छन् । उनले भने, “यो सफलताको श्रेय बुबालाई दिन्छु, मेरो जीतले नेपाल र नेपालीको नाम उँचो भएको छ । ” सो प्रतियोगिता हेर्न जापानमा रहेका नेपालीको उल्लेख्य सहभागिता रहेको थियो । रासस

गभर्नरका आकांक्षीबीच इगो बढ्दै, चिन्तामणि र महाप्रसादको फाइल पनि मिनी संसदमा

काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ छानबिनमा तानिएसँगै अर्को डेपुडी गभर्नर चिन्तामणि शिवाकोटी र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको फाइल सरकारको मिनी संसदमा पुगेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ अनियमिता गरेको आरोपमा छानबिनमा तानिएसँगै अन्य दुई गभर्नरका आकांक्षी शिवाकोटी र अधिकारीको फाइल समेत मिनी संसद (संसदीय समिति)मा पुर्याएर इगो बढाइएको छ । डेपुटी गभर्नर श्रेष्ठको छानबिन प्रक्रिया अघि बढेसँगै डेपुटी गभर्नर शिवाकोटी र अधिकारीको फाइल पनि समितिमा पुगेको हो । मिनी संसदले डेपुटी गभर्नर श्रेष्ठको फाइलमा छानविन नगरी शिवाकोटी र पूर्व डेपुटी गभर्नर तथा हाल लगानी बोर्डका सीईओ अधिकारीको फाइलमाथि छानविन गर्ने भएको छ । स्रोतका अनुसार मिनी संसदले शिवाकोटी र अधिकारीलाई छुट्टछुट्टै बोलाएर छलफल गर्ने भएको छ । शिवाकोटीले बैंक तथा वित्तीय संस्थाहरूको नियमन गर्न नसकेको, बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले असुल गर्नुपर्ने रकममा छुट दिएकोलगायतका आरोप सहित फाइल मिनी संसदमा पुगेको हो । मिनी संसदले शिवाकोटीको फाइल झण्डै ५० पेजभन्दा बढी छ । यस सम्बन्धमा डेपुटी गभर्नर शिवाकोटीले आफूले गल्ती गरेको भए राज्यले जस्तोसुकै सजाय दिएपनि भोग्न तयार रहेको बताएका छन् । शिवाकोटीसँगै सीईओ अधिकारीको फाइल समेत मिनी संसदमा पुगेको छ । अधिकारी राष्ट्र बैंकमा डेपुटी गभर्नर हुँदा गरेका अनियमिताको फाइल मिनी संसद पुगेको स्रोतकाे दावी छ ।  सीईओ अधिकारीले भने सरकारलाई आफ्नो काम गर्न दिनुपर्ने बताए । अर्को डेपुटी गभर्नर श्रेष्ठले भने आफूलाई गभर्नर बन्न नदिने षडयन्त्र गरेको बताइसकेका छन् । उनलाई अनियमितता गरेको आरोपमा राष्ट्र बैंकले छानबिन गर्न तीन सदस्यीय समिति समेत गठन गरेको छ । राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा गठित समितिले श्रेष्ठले गरेको अनियमितताको विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्नेछ । प्रतिवेदन आएपछिमात्रै त्यसैको आधारमा श्रेष्ठलाई कारवाही गर्ने वा सफाई दिने विषयको टुंगो लाग्नेछ ।