पाँच किलो सुन तस्करीको आरोपमा थप दुई पक्राउ
खाँदबारी । सङ्खुवासभाको खाँदबारीबाट पाँच किलोग्राम सुन तस्करीको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भोटखोला गाउँपालिका च्याम्ताङबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेको बयानका आधारमा दुई जनालाई पक्राउ गरेको हो । उनीहरुलाई कहिले पक्राउ गरेको भन्ने प्रहरीले खुलाउन चाहेन । पाँच किलो सुन तस्करी गरेको आरोपमा खाँदबारी नगरपालिका–१ का जर्का भोट र भोटखोला गाउँपालिका स्थायी घर भई हाल खाँदबारी बस्ने छ्याङ रिञ्जीन भोटेलाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । प्रहरीले विशेष सुराकीका आधारमा गत असोज २७ गते भोटखोला गाउँपालिका–२ चेपुवाको घट्टेखोलाबाट चीनको किमाथाङ्का नाकाबाट नेपाल ल्याउँदै गरेको अवैध पाँच किलो सुनसहित तोप्चेनलाई पक्राउ गरेको थियो । चेपुवा प्रहरीले भोटेको झोला खानतलासी गर्दा झोलामा माथिबाट बिस्कुट, छुर्पी, चक्लेट राखेको र त्यसको मुनिबाट गाढा नीलो रंगको पट्याएर राखेको ज्याकेटको गोजीभित्र रातो झोलामा टेपले बाँधेर राखेको अवस्थामा पाँच थान टिल सुन फेला परेको थियो । पाँच किलो सुन तस्करीमा संलग्न भएको आरोप पक्राउ परेको दुई जनालाई राजश्व अनुसन्धान विभाग पठाइसकेको राईले बताए । रासस
काठमाडौं। आईतबारमात्रै नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोईराला नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले कोईरालालाई अध्यक्षको पदमा नियुक्त गर्न निर्णय गरेको हो। उनलाई नियुक्त गरेसँगै चिकित्सक क्षेत्रमा सुधार आउने विज्ञहरु बताउँछन्। नेपालका मेडिकल क्षेत्रमा भएका विभिन्न किसिमका समस्या र जटिलतालाई सरलताकाे साथ समाधान गर्ने विश्वास लिईएको छ। यहिसँगै चिकित्सा क्षेत्रमा भएको विकृत, विसंगती पनि हटेर जाने विश्वास धेरैमा छ। हालसम्म एउटा चिकित्सकको भुमिका निभाउँँदै आएका डा. कोईरालाको लागि काउन्सिलको अध्यक्षको जिम्मेवारी एउटा नयाँ चुनौतीे हो। यधापी काउन्सिलका सदस्यहरु भने कोइरालाको आगमनलाई सकारात्मक रहेका छन्। काउन्सिलका सदस्य कालु सिंह खत्री भन्छन्,’ सरको जुन अहिलेसम्मको विस्स्ट किसिमको सामाजिक छवि छ समग्रमा त्यही छवीमा हाम्रो काउन्सिललाई पनि त्यही उचाईमा लैजानु हुन्छ भन्ने कुरामा हामी सबै आशावादी छौं।’ काउन्सिलको अध्यक्ष भएसँगै काईराला माथि पुर्व अध्यक्ष धर्मकान्त बासकोटाको समयमा पुरा हुननसकेका सिपिडि लागु गर्न प्रकिृया, नेपालको पिजि भारतमा मान्यता दिलाउने काम, नियमित मेडिकल अडिटको कामलाई पुरा गर्नुको साथै मेडिकल शिक्षा क्षेत्रलाई थप सुधार गर्नु पर्ने जिम्मवारी थपिएको छ। मुटुररोग बिशेषज्ञ डा. काईरालाले यसअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्दशक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्दको कार्यकारी निर्दशकका रुपका काम गरिसकेका छन्। वि.स २०२० सालमा मा स्थापना भएको नेपाल मेडिकल काउन्सिल नेपालको चिकित्सकिय पेसा, व्यवसायलाई नियमन र नियन्त्रण गर्न गर्न उदेश्यको साथ स्थापना गरिएको हो। २०५८ सालमा ऐन संशोधन पश्चात नेपालको चिकित्सक शिक्षाको जिम्मेवारी पनि मेडिकल काउन्सिललाई दिईएको थियो। पछिल्लो समयमा आएर चिकित्सक आयोगको गठन भएपछि चिकित्सक शिक्षाको पाटो चिकित्सक शिक्षाले हेर्ने र चिकित्सक शिक्षा, व्यवसायलाई नियमन गर्ने काउन्सिललाई नै दिईएको हो। काउन्सिलमा अध्यक्षको पदमा भगवान् कोईराला नियुक्त भएसँगै ५ जना सदस्यसँगै रजिस्टारको पद खालि रहेको छ। यो खाली पदलाई कहिले पुरा गरिने भने तय भएको छैन। रस्जिटारको पद केही दिन अगाडि खाली भएको हो भने सदस्यको पद भने कारीब ९-१० महिना देखी खाली रहेको काउन्सिलका सदस्य काली सिङ खत्री बताउँछन्। रजिस्टार नहुँदा काउन्सिलबाट सर्टिफिकेट जारी हुन सकिरहेको छैन। मेडिकल काउन्सिलमा भने २०२० देखि यता अझै नयाँ कानुन संशोधन भएको छैन। एउटा संस्था राम्रो बलियो हुनको लागि कानुन समयसापेक्ष हुन जरुरी छ । कानुन समयसापेक्ष नहुँदा संस्था कमजोर भएर जान्छ। चुनौती : पूर्ण डिजिटल गर्ने जनमानसमा चिकित्सक प्रति बढ्दो अविश्वास कम गराउनु नैतीक अभ्यास १३ वर्षमा एसएलसी दिएका कोईरालाले विद्यालय तहको अध्यन उनको गृहनगर पाल्पाबाट पुरा गरेका हुन्। त्यसपछि उनले काठमाडौंबाट सामान्य चिकित्सक प्रमाणपत्र तह पुरा गरि युक्रेनको खार्किभ मेडिकल इन्स्टिच्युटबाट स्नातक तह पुरा गरेका हुन। उनले १९९४ मा ढाका विश्वविद्यालयको नेशनल इंस्टिट्यूट अफ कार्डियोवास्कुलर डिजीजबाट स्नातकोत्तर गरे र पछि १९९६ मा संयुक्त राज्य अमेरिकाको मेडिकल लाइसेन्स परीक्षा (चरण १) र २००० मा (चरण २ र ३ पूरा गरेका हुन्। सन्ं १९८९ मा टिचिङ अस्पतालबाट नेपालमा काम सुरु गरी कोइरालाले पहिलो पटक सन् १९९७ मा पहिलो ओपन हार्ट सर्जरी गरेका थिए। उनको पहलले देश भित्र हृदय रोगहरूको उपचार गर्ने पहिलो पूर्ण मुटुरोग अस्पताल स्थापना गरेर खाँचोमा परेकाहरूको लागि निःशुल्क सेवा सुनिश्चित गर्ने आशा प्रदान गरे। नेपालमा हृदयरोग उपचारको क्षेत्रमा उनको ठुलो योगदान गरेको छ।
प्रदेश २को विद्युतीकरणमा नर्वेको साढे चार अर्ब अनुदान, ८ जिल्लामा ९ वटा सबस्टेसन बनाउने
काठमाडौं । नर्वेले प्रदेश २को विद्युत आपूर्ति सुदृढीकरण र विस्तारमा चार करोड अमेरिकी डलर (करिब साढे चार अर्ब रुपैयाँ) अनुदान दिने भएको छ । अनुदान सम्झौतामा अर्थ मन्त्रालय सचिव राजन खनाल र नेपालस्थित नर्वेली राजदूत लास्से जोर्न जोहानेसेंले सोमबार हस्ताक्षर गरेका हुन् । नर्वेले प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रमअन्तर्गत उपलब्ध गराउने १० करोड डलरमध्ये प्रदेश दुईमा विद्युत् आपूर्ति सुधारका लागि चार करोड डलर खर्च हुने छ । नर्वेली सरकारले उपलब्ध गराउने अनुदान रकम प्रदेश २का जिल्लामा विद्युतीकरण र विद्युत् आपूर्तिलाई विश्वसनीय, गुणस्तरीय तथा भरपर्दो बनाउन खर्च गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। ‘अनुदान रकम प्रदेश २को विद्यत् आपूर्ति सुधार तथा विस्तारका लागि ९ वटा नयाँ सबस्टेसन निर्माण, प्राविधिक चुहावट नियन्त्रण, विद्युतीय सुरक्षा, विद्युतीकरण लगायतमा खर्च हुने छ’ उनले भने । ‘काम गर्न ठेकेदार छनौटका लागि तत्काल टेण्डर गरी काम सुरु गर्ने छौं, २/३ वर्षभित्रमा काम सक्ने छौं ।’ प्रदेश २मा रहेका ८ जिल्ला पर्छन् । त्यहाँ ७९.७७ प्रतिशत विद्युतीकरण भएको छ ।
नेपाल आइसमा डेढ अर्ब लगानी थप्दै चौधरी ग्रुप, अब उत्पादन दोब्बर वृद्धि हुने
काठमाडौं । चौधरी ग्रुपले सिजी ब्रुअरी नेपालकाे उत्पादन क्षमता दाेब्बर बनाउन लागेकाे छ । नेपाल आइस ब्राण्डकाे वियर तथा माग्ना उत्पादन गर्दै आएको यस कम्पनीकाे उत्पादन क्षमता वृद्धि गर्न लगानी दाेब्बरले वृद्धि गर्न लागेकाे छ । हाल १ अर्ब २५ करोड रूपैयाँ लगानी रहेको सिजी ब्रुअरी नेपालमा लगानी थप्नका लागि चाैधरी ग्रुपले उद्योग विभागमा प्रस्ताव गरेको छ ।एक अर्ब ३७ करोड रुपैयाँ लगानी थप्न प्रवद्धर्क प्रस्ताव गरेकाे उद्योग विभागका निर्देशक प्रेम लुइटेलले जानकारी दिए । लगानी स्वीकृत भएपछि चौधरी ग्रुपको सिजी ब्रुअरी नेपालको लगानी २ अर्ब ६२ करोड हुनेछ । उद्याेगका उत्पादन क्षमता विस्तार गर्दा वातावरणामा पर्ने प्रभावकाे मूल्याङकन लगायतका विविध पक्षलाई हेरेर लगानी स्वीकृत दिइने उनले बताए । लगानीकर्ताले सबै प्रक्रिया पुरा गरेर आए १ महिनामा नै लगानी वृद्धि स्वीकृत हुने उनले जानकारी दिए । नवलपसारीस्थित चौधरी ग्रामभित्र रहेको सीजी ब्रुअरीले हाल मासिक २ लाख कार्टुन नेपाल आइस उत्पादन गर्दै आएको छ । उत्पादन क्षमता वृद्धिपछि मासिक ४ लाख कार्टुन उत्पादन गर्ने लागिएकाे चौधरी ग्रुपका जनरल म्यानेजर मधुसुधन पौडेल बताए । नेपाली बजार र अन्तराष्ट्रिय बजारमा नेपाल आइसकाे माग बढ्दै गएकाेले उत्पादन वृद्धि गर्न लागिएकाे पौडेल बताए । सीजी ब्रुअरीको उत्पादनकाे ठूलाे हिस्सा नेपालमा नै खपत हुन्छ । हङकङ, जापान र अमेरिका लगायतका देशहरुमा नेपाल आइस निर्यात हुने गरेकाे उनले बताए । नेपाल आइस वियरले नेपालमा दाेस्राे ठूलाे बजार हिस्सा लिएकाे छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक र चाईनाको युनियन पे बीच सहमति
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र युनियन पे अन्तर्राष्ट्रिय कम्पनी लि.का अध्यक्ष चाय जियाङबो बीच सहमति भएको छ । एनआईबिएल युनियन पे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको हो । नेपाल इन्भेष्टमण्ट बैंकले आफ्ना चाईना भ्रमणमा जाने ग्राहकहरु र चाईनाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरी युनियन पे डेविट, क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ भने क्युआर कोड मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको जानकारी गराएको छ । नेपाल इन्भेष्टमेण्ट युनियन पे कार्डमार्फत सजिलै एटिएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेण्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ । यस अवसरमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नेपाल सरकारद्धारा आयोजित नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गरी एनआईबिएल युनियन पे अन्तर्राष्ट्रिय कम्पनी लि.ले सहकार्य प्रारम्भ गर्न लागेको जानकारी गराए ।
नर्वेका मन्त्रीसँग अर्थमन्त्री खतिवडाले भने-‘व्यापार घाटा सन्तुलन गर्ने प्रयासमा छौँ’
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा र नर्वेजियन अन्तर्राष्ट्रिय विकास मन्त्री डाङ इङ उल्सटेनबीच शिष्ट्राचार भेटवार्ता भएको छ । सोमबार अर्थमन्त्रालयमा भएको शिष्ट्राचार भेटमा नर्भेजियन बिकास मन्त्रीले नेपालले मिलिनियम डेभ्लोपमेण्ट गोल (एमडीजी) प्राप्त गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए । उनले नेपालको संघीयता कार्यान्वयनमा नर्वे सरकारले गर्न सक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । एफडीआई परिचालन गर्नको लागि दोस्रो चरणको सुधार सम्बन्धमा चासो व्यक्त गरे । उनले कर प्रणालीलाई सवलीकरण गर्ने क्षेत्रमा सहयोग गर्न तत्परता देखाए । पिएलजीएसपी संचालन गर्नको लागि वित्तीय सम्झौतामा हस्ताक्षर गर्दा निकै खुशी लागेका धारणा व्यक्त गरे । भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपाल संघीयताको अभ्यासमै रहेको भन्दै स्थानीय तहको क्षमता र विकासमा सहयोग गर्न आग्रह गरे । । खतिवडाले संघ र प्रदेशलाई बलियो बनाउन संघीय सरकार लागेको स्पष्ट समेत पारे । एफडीआई परिचालनमा दोस्रो चरणको सुधार कार्ययोजना, व्यापार घाटा सन्तुलन गर्ने प्रयास, अर्को वर्षदेखि विद्युत आयातलाई शून्यतामा झार्ने प्रयास भईरहेको बताए । उनले संघीय प्रणालीलाई व्यवस्थापन गर्दै संघीयतामा विकास र कर प्रणालीलाई सन्तुलन गर्दै व्यवहारिक रुपमै नागरिकलाई सेवा दिने गरी समावेशी प्रजातन्त्रलाई प्रवद्र्धन गर्ने नीति लिएको स्पष्ट पारे । यता, एडिवि र नर्वेजियन सरकारबीच उर्जा क्षेत्रमा सहवित्तीयकरणको लागि एमओयूमा सम्झौता भएको छ । अब, एडिवि र नेपाल सरकारले एमओयूमा हस्ताक्षर गर्नेछ । प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रम अन्तर्गत संयुक्त वित्त सम्झौतामा एक सय मिलियन डलरमा हस्ताक्षर भएको थियो भने हाल नर्वे र नेपाल सरकारबीच द्विपक्षीय वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो । एक सय मिलियन डलर मध्ये २० मिलियन डलर नर्वे सरकारको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपालस्थित नर्वेजियन राजदूत लास्से जोर्न जोहानेसेंले हस्ताक्षर गरे ।
केटिएमले दुई नयाँ एडभेन्चर बाइकको अनावरण गर्दै, यस्ता छन् मोडेल
काठमाडाैं । अष्ट्रियन मोटरसाइकल कम्पनी केटिएमले आफ्नो विल्कुलै नयाँ उत्पादन ‘३९० एडभेन्चर’ र ‘२५० एडभेन्चर’ लाई भोलिबाट शुरु हुन गइरहेको ‘ईआईसीएमए २०१९’ मा अनावरण गर्ने भएको छ । बहुप्रतिक्षित यी एडभेन्चर मोटरसाइकलहरुको लुक्स कस्तो होला भन्ने कुराले मोटरसाइकल प्रेमीहरुलाई कौतुहल पनि बनाएको छ । ‘मिलान मोटरसाइकल शो’ पनि भनिने ‘ईआईसीएमए’ इटालीको मिलानमा प्रत्येक वर्ष हुने एउटा त्यस्तो मोटरसाइकल शो हो जहाँ विभिन्न मोटरसाइकल कम्पनीहरुले आफ्ना नयाँ उत्पादनहरुको प्रदर्शन गर्ने गर्दछन् । कम्पनीका अनुसार ‘३९० एडभेन्चर’ केटिएमको सिग्नेचर ओरेन्ज र ह्वाइट कलरमा उपलव्ध हुनेछ भने ‘२५० एडभेन्चर’ चाहिँ ओरेन्ज र ब्ल्याक कलरमा उपलब्ध हुनेछ । इञ्जिनको कुरा गर्नुपर्दा ३९० एडभेन्चर र २५० एडभेन्चरमा क्रमशः ३९० ड्युक र २५० ड्युककै इञ्जिन समावेश गरिनेछ । तर, यी इञ्जिनहरुलाई भने बाइकको डुअल-पर्पोज नेचरलाई मध्यनजर गरेर थोरै परिमार्जन गरिनेछ । केटिएमले दुवै एडभेन्चर बाइकमा अगाडि तर्फ १९ इञ्चको र पछाडि तर्फ चाहिँ १७ इञ्चको अलोए ह्विल दिनेछ भने बाइकहरुको दुवै तर्फ लङ्ग ट्राभल सस्पेन्सन समावेश गर्नेछ । यी दुवै बाइकहरुलाई भारतमा आगामी डिसेम्बरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । भारतीय बजारमा केटिएम ३९० एडभेन्चरलाई तीन लाख रुपैयाँको हाराहारी र त्यसैगरी केटिएम २५० एडभेन्चरलाई चाहिँ दुई लाख ५० हजार रुपैयाँको हाराहारी मूल्य पर्ने अनुमान गरिएको छ । सार्वजनिक गरिए पश्चात यी बाइकहरुले रोयल इन्फिल्ड हिमालयन र बिएमडब्लू जी ३१० जिएस जस्ता एडभेन्चर बाइकहरुसँग प्रतिष्पर्धा गर्नेछ । यी बाइकहरुको नेपाल लञ्च बारे भने अहिले केहि पनि जानकारी प्राप्त भएको छैन ।
बेलायती कम्पनी आइएजीले स्पेनी एअर यूरोपा किन्ने
लण्डन । ‘बृटिस एअरवेज तथा आइबेरिया’ को स्वामित्व रहेको लण्डन शेयर बजारमा सूचीकृत विशाल विमान कम्पनी ‘आइएजी’ ले स्पेनी विमान कम्पनी एअर यूरोपालाई किन्ने सहमति भएको छ । आइएजीले सोमबार जारी विज्ञप्तिमा एअर यूरोपाको स्वामित्व रहेको ग्लोबालियालाई एक अर्ब यूरो (१.२ अर्ब अमेरिकी डलर) मा लिने सम्झौता भएको जानकारी गराएको छ । आइएजीले आफ्नो सेवालाई स्पेनको म्याड्रिडलाई प्रमुख गन्तव्य बनाउने उद्देश्यसहित एअर यूरोपालाई लिएको सम्झौतामा उल्लेख छ । कम्पनीले आफ्नो सेवालाई म्याड्रिडका साथै ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा विस्तार गर्ने जनाएको हो । आइएजीका प्रमुख कार्यकारी अधिकृत विल्ली वाल्सले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “एअर यूरोपालाई लिएसँगै आइएजी थप प्रतिस्पर्धी तथा मूल्यका हिसाबले पनि सस्तो तथा प्रभावकारी सेवा प्रदायक विमान कम्पनी बन्नेछ ।” “अब आइइजीको सेवाले म्याड्रिडलाई प्रमुख यूरोपेली केन्द्र बनाउने र सेवालाई दक्षिण एटलान्टिक क्षेत्रमासमेत नेतृत्व गर्न सफलता मिल्ने र कम्पनीका शेयरकर्तालाई थप आर्थिक महत्व प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ,” उनले भने । रासस