विकासन्युज

होण्डा शाइन एसपिः राम्रो पर्फमेन्स र उत्कृष्ट माइलेज बाहेक के छ खास

काठमाडौँ । १२५ सीसी मोटरसाइकल सेग्मेन्टमा कडा प्रतिद्वन्दीको रुपमा रहेको भएता पनि होण्डा सिबि शाइनले समयको माग अनुसार आफ्नो डिजाइनमा फेरबदल भने ल्याउन सकेको थिएन । यो कुरालाई मध्यनजर गर्दै होण्डाले सिबि शाइनको स्पोर्टियर भर्जन ‘शाइन एसपि’ लाई बजारमा लिएर आएको हो । स्पोर्टी लुक्स, राम्रो पर्फमेन्स, आरामदायक राइडिङ्ग पोजिसनका साथै राम्रो माइलेज पनि दिने भएको कारण थोरै समयमै यस बाइकले बजारमा बलियो पकड जमायो । आज हामी १२५ सीसी सेग्मेन्टको उत्कृष्ट कम्युटर मोटरसाइकल बन्न सफल सोहि होण्डा शाइन एसपिकोकेहि खास पक्षका बारेमा चर्चा गर्नेछौं । लुक्स सिबि शाइन र शाइन एसपिमा देख्न सकिने मुख्य फरक भनेकै शाइन एसपिको स्पोर्टी लुक्स हो । शाइन एसपिको ट्याङ्क श्राउड्स र मोडर्न ग्राफिक्सले गर्दा पुरानो शाइनको तुलनामा यो बाइक एग्रेशिभ देखिन्छ । हेर्दा मिड साइज मोटरसाइकल जस्तो देखिने शाइन एसपिले वास्तवमा नै आकर्षक लुक्स पाएको छ । ब्रेकिङ्ग र सस्पेन्सन शाइन एसपिमा ब्रेकको काम गर्ने भनेको अगाडि तर्फ १३०/२४० मिलिमिटरको डिस्क ब्रेक र पछाडि भने १३० मिलिमिटरको ड्रम ब्रेकले हो । त्यसैगरी यस बाइकको अर्को भेरियन्टमा चाहिँ दुवै चक्कामा ड्रम ब्रेक जडान गरिएको छ । विशेषगरी यस बाइकमा सेफ्टी फिचरको रुपमा कम्वाइन्ड ब्रेकिङ्ग सिस्टम (सीबीएस) पनि दिइएको छ जसले कुनै एउटा ब्रेकमा दवाब दिएको खण्डमा अटोमेटिक दुवै ब्रेकमा दवाब सिर्जना गरेर बाइकको ब्रेकिङ्गलाई अझ मजबुत बनाउँछ । त्यसैगरी यस बाइकमा सस्पेन्सनका रुपमा अगाडि टेलिस्कपिक फर्क र पछाडि स्प्रिङ्ग लोडेड हाइड्रोलिक एब्जर्बर्स जडान गरिएको छ । इञ्जिन होण्डा शाइन एसपिमा १२४.७३ सीसी एयर–कुल्ड इञ्जिन दिइएको छ जसले १०.३० पीएसको पावर र १०.३० एनएमकै टर्क पनि प्रोड्युस गर्दछ । त्यसैगरी ५ ओटा गियरहरु रहेको यस बाइकले ६५ केएमपीएलको माइलेज र ९३ केएमपीएचको टप स्पिड पनि प्रदान गर्दछ । शाइन एसपिको एक्जस्ट साउण्ड पनि पुरानो शाइनको तुलनामा ठूलो रहेको छ । टायर होण्डा शाइन एसपिमा अगाडि र पछाडि ८०/१००-१८ का ट्यूवलेस टायरहरु जडान गरिएका छन् । यी टायरहरु बाइकको साइज र वेट हेरिकन ठिकै साइजका हुन भन्न सकिन्छ । त्यसैगरी, शाइन एसपि सिटी राइड र दैनिक प्रयोगको लागि बनाइएको कम्युटर बाइक भएको हुनाले पनि यसमा ठूला टायर दिनु खासै आवश्यक पनि थिएन । नेपालका लागि होण्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले सुरुवाती मूल्य दुई लाख २९ हजार नौ सय रुपैयाँ तोकेर हाल नेपाली बजारमाहोण्डा शाइन एसपिको बिक्री वितरण गर्दै आइरहेको छ ।

डेपुटी गभर्नर श्रेष्ठका विषयमा छानबिन, आरोप र उजुरी जुटाउँदै समिति

काठमाडौं । अनियमितताको आरोपमा निलम्बनमा परेका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको छानबिन गर्न गठित समिति आरोप र उजुरीका सहितका अन्य डकुमेन्ट जुटाउन सक्रिय भएको छ । अर्थ मन्त्रालय र राष्ट्र बैंक तथा अन्य निकायमा परेका उजुरी र आरोपका सम्पूर्ण डकुमेन्ट जुटाउने काम गर्न लागिएको समितिका एक सदस्यले बताए । ‘उनले भने– ‘हामी आज डमुमेन्ट जुटाउन लागेका छौं, श्रेष्ठलाई लागेको आरोपका विषयमा सम्पत्ति शुद्धिकरण विभागसँग आवश्यक डकुमेन्ट माग गर्न राष्ट्र बैंकलाई पत्र काट्न भनिएको छ ।’ राष्ट्र बैंकले यो प्रक्रिया अघि बढाइसकेको छ । श्रेष्ठमाथि लागेको आरोपका विषयमा सम्बन्धित निकायसँग छलफल पनि गर्नेछौं,’ ती संचालकले अगाडि भने– ‘आवश्यक कागजात जुटाउन, अध्ययन अनुसन्धान गर्न केही दिन लाग्छ ।’ त्यसको आधारमा अध्ययन प्रतिवेदन तयार भएपछिमात्र उहाँका विषयमा भन्न सकिन्छ ।’ अहिले यस्तो उस्तो भन्न मिल्ने अवस्था छैन । छानविनका क्रममा आरोपित श्रेष्ठसहित अन्य सम्बद्ध व्यक्तिहरूको पनि बयान लिने समितिले बताएको छ । श्रेष्ठलाई पद अनुकूल काम नगरेको, वित्तीय क्षेत्रमा अनुचित गतिविधि गरेको, सम्पत्ति शुद्धीकरण निवारणका लागि गरेको प्रयासको अवमूल्यन गरको आरोप लगाइएको छ । श्रेष्ठमाथि एनसेललाई लाभांश लैजाने प्रक्रियामा सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै विवास्पद व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको आरोप लागेको छ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको लगायत आरोप पनि उनीमाथि लागेका छन् । साथै बैंक तथा वित्तीय संस्थाहरूको नियमन गर्दा बदनियत राखेको, वैदेशिक भ्रमणमा फर्जी कागज बनाएर तोकिएभन्दा बढी सुविधा लिएकोजस्ता आरोप पनि श्रेष्ठमाथि लगाइएको छ । तिहारअघि मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गरी सिफारिस गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई निर्देशन दिने निर्णय गरेको थियो । ‘राष्ट्र बैंक ऐन–२०५८ मा सञ्चालक समितिले छानबिन गरी सिफारिस गर्नुपर्ने, स्पष्टीकरणको मौका दिने र त्यसपछि पदमुक्त गर्न सक्ने प्रावधान छ । त्यसैले अहिले डेपुटी श्रेष्ठलाई निलम्बनमात्रै गरिएको छ । सम्पत्ति शुद्धीकरण विभागका अनुसार १ महिना अघिनै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत थप अनुसन्धान गर्न नेपाल सरकारलाई पत्र पठाएको थियो । सो पत्रपछि अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई छानबिन गर्न पत्र काटेको हो । अर्थ मन्त्रालयको सोही पत्रको आधारमा राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समिति गठन गरी छानबिन अघि बढाएको हो । सम्बन्धित समाचार पनि पढ्नुहोस्ः गभर्नरका आकांक्षीबीच इगो बढ्दै, चिन्तामणि र महाप्रसादको फाइल पनि मिनी संसदमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न ३ सदस्यीय समिति गठन सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठमाथि छानबीन गर्ने, सञ्चालक समितिको बैठक आज गभर्नरका यी ७ आकांक्षीः च्यानल मिलाउँदै, शक्ति केन्द्र धाउँदै

राष्ट्रपति भण्डारीबाट सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उनले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाइँ (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी (कर्णाली प्रदेश) र शर्मिलाकुमारी पन्त (सुदूरपश्चिम प्रदेश) लाई शपथ गराएकी हुन् ।     राष्ट्रपति भण्डारीले सोमबार नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्री, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए । यसअघि राष्ट्रपतिबाट मन्त्रिपरिषद्को यही कात्तिक १७ गतेको निर्णयबाट सिफारिश भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ (प्रदेश नं १), रत्नेश्वरलाल कायस्थ (प्रदेश नं २), अनुराधा कोइराला (प्रदेश नं ३), बाबुराम कुवँर (गण्डकी प्रदेश), उमाकान्त झा (प्रदेश नं ५), दुर्गाकेशर खनाल (कर्णाली प्रदेश) र मोहनराज मल्ल (सुदूरपश्चिम प्रदेश) लाई पदमुक्त गरेका थिए । रासस

कुर्था-जयनगर रेल चल्न अझै डेढ महिना लाग्ने, तयार भएन भारततर्फको ट्र्याक

काठमाडौं । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म कात्तिक २०७५ मै रेल गुडाउने भनिएपनि भारत पक्षको ट्र्याक निर्माणमा ढिलासुस्ती भएपछि रेल गुड्न अझ डेढ महिना लाग्ने भएको छ । सरकारले ८४ करोड ६५ लाख खर्चेर जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म २०७४ फागुनमै रेल सञ्चालनमा ल्याउने भनेको थियो । रेल तयारी अवस्थामा भएपनि भारत पक्षको रेलको ट्र्याक तयार नहुँदा रेल सञ्चालनमा आउन नसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । ट्र्याक तयार हुन १ महिना लाग्छ,’ उनले भने– ‘ अब हामी डेढ महिनामा जयनगर–जनकपुर रेल सञ्चालन गर्न सक्छौं । भारत सरकारलाई हामीले रेलको २० प्रतिशत रकम भुक्तान गरिसकेका छौं भने रेल नेपाल भित्रिएपछि बाँकी ८० प्रतिशत रकम भुक्तान हुनेछ । भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगर–जनकपुर रेलमार्ग निर्माण गरिएको हो । जयनगर–जनकपुर खण्डको ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेपनि भारत सरकारले नेपाल सरकालाई रेलमार्ग हस्तान्तरण गर्नु पूर्व बाढीले क्षति र्पुयाएको छ । हस्तान्तरण नभइ बिग्रेकाले भारत सरकारले नै यसको मर्मत गरिदिने छ । बाढीले क्षति पुर्याएको दुबै देशका सरकारको जानकारीमा छ । तर, अहिले मर्मत भने भइसकेको छैन । त्यसैले रेल गुड्ने तयारीमा भएपनि गुडाउने ट्र्याक तयार नहुँदा बनेको रेल थन्किएको हो । भारत सरकारले करिब ९ अर्ब रुपैयाँको लागतमा ६९ किलोमिटर जयनगर–जनकपुर–कुर्था–विजयापुरा–बर्दिबास खण्ड विस्तार गरिरहेको छ । सुख्खायाममा पुरानै संरचनालाई मर्मत गरेर रेल सञ्चालन गर्न सकिने सम्भावना रहेपनि वर्षात्मा बाढीले बगाउने भएकाले भारतले यो खण्डलाई दीर्घकालीन रुपमा रेल गुडाउन मिल्ने ट्र्याक निर्माण गरिदिनुपर्छ । नेपालले खरिद गर्न लागेको डिजेल इलेक्ट्रिक मल्टिपल युनिट ट्रेन हो । यो रेल दुबै भागबाट चलाउन सकिन्छ । यो छोटो दूरीका लागि उपयुक्त रेल हो । यसले प्रतिघण्टा एक सय ६० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । मिश्रले भने ‘रेल सञ्चालनमा आएपछि एक घण्टाको राउण्डमा सो दुरी पार गर्नेछ । पाँच सय जना बसेर चड्न मिल्ने रेलले दैनिक सेवा दिने मिश्रले बताए। पहिला एउटा रेल संचालन गरेर आवश्यकताअनुसार दुबै रेल संचालनमा ल्याउने मिश्रले जानकारी दिए। यसअघि चालु आर्थिक वर्षको कात्तिकमै जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल गुडाउने भनिएपनि ट्र्याक निर्माण लगायका काम सम्पन्न नभएकोले निर्धारित समयमा रेल सेवा संचालन हुन सकेको हो । पाँच वर्षअघिसम्म जनकपुर–जयनगर ९३० किलोमिटर० रेल रेल संचालन थियो । त्यसपश्चात सो स्थानमा रेल सेवा संचालन हुन सकेको थिएन । अहिले जनकपुरबाट ५ किमी पश्चिम कुर्थामा रेल स्टेशन निर्माण भइसकेको छ । विसं १९९४ मा सुरु भएको जनकपुर–जयनगर ५१ किमी रेलमार्ग अन्तर्गतको पुल २०५८ मा बाढीले बगाएपछि सो रेलमार्ग २९ किमीमा सीमित भएको थियो । रेलमार्गको स्तरोन्नति गर्ने भन्दै २०७० मा सो मार्ग बन्द गरिएको हो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले विक्रम संवत १९८४ मा बाराको अमलेखगञ्जदेखि भारतको विहार राज्यको रक्सौलसम्म करिब ४७ किलोमिटर लामो रेलमार्ग संचालन ल्याएका थिए । सो रेममार्ग २०२२ मा बन्द भयो । २०१३ सालमा त्रिभुवन राजपथ निर्माण हुनुअघिसम्म अमलेखगञ्ज–रक्सौल रेलमार्ग नै नेपाल–भारतलाई जोड्ने यातायातको माध्यम बनेको थियो ।

साहित्यकार झमक घिमिरेको कृतिमा आधारित ‘जीवन काँडा कि फूल’ चलचित्र शुक्रबारदेखि प्रदर्शन हुँदै

काठमाडौं । साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ । विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको छ भने झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । गीतमा जुनु गौतमको स्वर छ । उहाँ यो चलचित्रको सह निर्माता समेत रहेका छन् । गत चैत २२ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रलाई त्यस समय अष्ट्रेलियाको भियानामा प्रिमियर सो गर्नुपरेकाले प्रदर्शनमा ल्याउन सकिएको थिएन । साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिस्कारको कहानीलाई चलचित्रमा प्रस्तुत गरिएको छ । घिमिरेको जन्मस्थान धनकुटा, धरानको बिपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गलामा चलचित्र छायाँकन गरिएको छ । बच्चादेखि ज्येष्ठ नागरिकसम्मले मन पराउने अपेक्षा गरिएको चलचित्रमा घिमिरेको सङ्घर्षले धेरै मानिसलाई प्रेरणा दिने उद्देश्य राखेको निर्देशक विष्टले बताएका छन् । चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवावस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरेको विशेष भूमिका छ । घिमिरेका पिताका भूमिकामा किशन सुनार, मातामा उमा गिरीले अभिनय गरेका छन् । अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदीलगायत ३० भन्दा बढीको अभिनय छ । यसअघि निर्देशक विष्टले ‘प्रेम प्रतिक्षा’, ‘रणसङ्ग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण÷निर्देशन गरेका थिए । शारीरिक तथा मानसिक रूपमा अशक्त मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्छन् र उनीहरुलाई समाजले अपहेलित गर्नु हुँदैन भन्ने सन्देश दिनका लागि चलचित्रले दर्शकलाई प्रभाव पार्ने विश्वास गरिएको छ । शारीरिक रूपमा असामान्य भएका यस्ता मानिसलाई दैवी श्राप÷पूर्वजन्मको पापका रूपमा लिने प्रचलन पनि छ । उनीहरुको घरका सदस्यलाई पर्ने असजिला पक्ष तथा ती सदस्यले राम्रो गर्दा गर्दै पनि पीडितलाई हुन जाने मनोविज्ञानलाई व्यवहारिक रूपमा समेटिएको चलचित्रको लागत करिब रु ८० लाख रहेको छ । विसं २०३७ असार २१ शुक्रबार धनकुटाको कचिडेमा बुबा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेका छोरीका रूपमा जन्मिएकी घिमिरेले रचना गरेका कृतिमा सङ्कल्प, आफ्नै चिता अग्निशिखातिर, मान्छेभित्रका योद्धाहरू, झमक घिमिरेका कविताहरू र क्वाँटी सङ्ग्रह कविता छन् भने उनले प्राप्त गरेका पुरस्कार राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्वीकृत विचार साहित्य पुरस्कार २०५६, मदन पुरस्कार २०६७ र लैनसिंह वाङ्देल पुरस्कार २०७२ हो । मस्तिष्क पक्षघातले गर्दा उनका लुला हातगोडा भएकाले उनको जीवन अत्यन्तै कष्टकर तथा दुःखदायी छ । उनले कुनै पाठशाला र गुरुबाट औपचारिक शिक्षा लिन पाएका थिएनन् । गोडाको बूढीऔँलाले कखरा सिक्दै प्राप्त गरेको सफलता सबैका लागि प्ररणादायी बनेको छ । रासस

‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको फलेवास–अर्मादीखण्ड अलपत्र

पर्वत ।  ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको फलेवासदेखि अर्मादीसम्मको काम लामो समयदेखि अलपत्र परेको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडक अलपत्र परेपछि कालोपत्र गर्ने कार्यसमेत पछि धकेलिने भएको छ । निर्माणको काम गर्ने जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले काम अलपत्र छाडेर हिँडेको हाे । विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि सडकको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सनले काम बीचैमा छाडेर सम्पर्कविहीन भएको लामो समय बितेको छ । कन्स्ट्रक्सनले जिम्मा लिएको १४ किमी सडक सबैभन्दा धेरै बिग्रिएको कालीगण्डकी करिडोरको कार्यालयले जनाएको हाे । कन्स्ट्रक्सनले फलेवास नगरपालिकाको लमायदेखि कुश्मा नगरपालिकाको अर्मादीसम्मको १४ किमी ठेक्का लिएको हो । काम सकिनुपर्ने समयभन्दा एक वर्ष ढिलासम्म ट्र्याक नखोलेपछि पाल्पास्थित कार्यालयले कम्पनीलाई जरिवानासहित मिति थपेको थियो । थपिएको मिति आगामी मङ्सिरमा सकिँदैछ । पाल्पास्थित करिडोर कार्यालयका प्रमुख नरेन्द्र सुवेदीका अनुसार ठेक्का सम्झौता मितिमा काम नसकेपछि कन्स्ट्रक्सनलाई जरिवानासहित मिति थपिएको थियो । “थपिएको मिति मङ्सिरमा सकिँदैछ”, सुवेदीले भने, “त्यहाँसम्म काम नसके ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने हो ।” कम्पनीले १४ किमी ट्र्याक, नाली र आवश्यक अरु संरचना निर्माणका लागि रु नौ करोड १७ लाख ४९ हजार २४५ को लागतमा ठेक्का लिएको हो । पर्वतको रानीपानीदेखि अर्मादीसम्म कालोपत्र गर्नका लागि पहल भइरहेको छ । रानीपानीदेखि फलेवाससम्म सडक चक्लाबन्दी कार्यसमेत तीव्र पारिएको छ । फलेवास–अर्मादीखण्डमा काम नहुँदा कालोपत्र गर्ने काम पछि धकेलिने भएको छ । गृहजिल्ला आएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ट्र्याक खोल्ने काम सम्पन्न गर्नका लागि आवश्यक पहल गर्न प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई निर्देशन दिएका थिए । उनले यो वर्ष ट्र्याक खोल्ने काम सम्पन्न भएमा आगामी वर्ष कालोपत्रका लागि बोलपत्र आह्वान गर्न सकिने भएकाले समयमा काम सक्न आवश्यक भएको कुरामा जोड दिएका छन् । मोदीबेनीदेखि अर्मादीसम्मको तीन किमी ट्र्याक अझै खुलेको छैन । “सडक अलपत्र पार्ने जोसुकै भए पनि कारवाही हुनुपर्छ”, फलेवास–४ का कृष्णप्रसाद लम्सालले भने, “पैसा लिएर अलपत्र पार्नेलाई ठेक्का किन दिने ? राष्ट्रिय गौरवको आयोजना भनेर पैदल हिड्न पनि पाइएन ।” आयोजना कार्यालयका अनुसार ठेकेदारले ३० प्रतिशतभन्दा बढी काम गरेको छैन । काम अलपत्र पारेपछि आयोजना कार्यालय ठेकेदार कम्पनीलाई कारवाहीको तयारीमा छ । व्यवसायीले काम शुरु नगरेपछि गत जेठ ४ मा १० प्रतिशत जरिवानासहित आयोजना कार्यालयले म्याद थप गरेको थियो । कार्यालयका अनुसार कन्स्ट्रक्सन कम्पनीले प्रतिदिन रु ४५ हजार ९०० का दरले जरिवाना तिर्नुपर्छ । पर्वतमा ७६ किमी दूरी समेट्ने उक्त सडकले जिल्लाका एक नगरपालिका र तीन गाउँपालिका समेट्छ । रासस

‘साधना लघुवित्त’ले कमायो ७३ लाख नाफा, अघिल्लो वर्षको तुलनामा ५१३ प्रतिशतले बृद्धी

काठमाडौँ । गोरखा जिल्लाको गोरखा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७६ लाख ६३ हजार खुद नाफा आर्जन गरेको छ । लघुवित्तकोे अघिल्लो वर्षको यही अवधिमा १४ लाख ९३ हजार मात्रै नाफा रहेको थियो । अघिल्लो बर्षको तुलनामा चालु आवमा ५१३ प्रतिशतले नाफा बृद्धी भएको मंगलबार सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । समीक्षा अवधिमा अन्य लघुवित्त नपुगेको क्षेत्रमा शाखा संजाल आक्रमक रुपमा बिस्तार गरेको लघुवित्तले गत असार ३० गतेबाट आर्थिक समृद्धी लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोबार संचालन गरेको छ । ब्यबसाय बिस्तारमा उत्कृष्ट प्रगती प्राप्त गरेकै कारण खुद ब्याज आम्दानी रु २ करोड ४६ लाख २ हजार पुर्याएको छ भने अघिल्लो बर्षको यही अवधिमा ६६ लाख ३१ हजारमा सीमित रहेको थियो । यसैगरी समीक्षा अवधिमा ३२ करोड ५९ लाख बचत संकलन गरी १ अर्ब ४ करोड १६ सापटी लिएर १ अर्ब ३६ करोड १९ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो बर्षको यही अवधिमा ८ करोड ५६लाख बचत संकलन गरी ४४ करोड ७२ लाख सापटी लिई ५० करोड ७४ लाख कर्जा परिचालन गरेको थियो । यसैगरी वित्तीय संस्थाको अघिल्लो आर्थिक बर्षमा २३ लाख ९० हजारमात्र रहेको रिर्जब ३ करोड ४१ लाख पुगेको छ । अघिल्लो आवको यही अवधिमा कूल ४ करोड ९० लाख चुक्ता पूँजी रहेकोमा यस आवमा चुक्ता पूँजी १४ करोड ६० लाख भएको छ । त्यस्तै समीक्षा अवधिमा कस्ट अफ फण्ड ९.६२ प्रतिशत रहेको छ भने तरलता अनुपात १३.२१ प्रतिशत, प्रति शेयर आम्दानी २०.९८ (बार्षिक) रहेको छ ।

सामाजिक सुरक्षा कोषले मुख्य तीन शीर्षकमा कर्जा दिने तयारी

काठमाडौं । सामाजिक सुरक्षा कोषले शैक्षिक, सामाजिक, घर तथा आवास लगायतका १२ शीर्षकमा कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा पेश गरेको छ । पछिल्लो समय सबै नीजि कम्पनी तथा श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा ल्याउने लक्ष्यका साथ उक्त कार्यविधितय गरेको हो । योगदानकर्ताले कोषमा योगदान गरेवापत पाउने सुविधाका अन्य कोषको जस्तो आकर्षक नभएपछि सामाजिक सुरक्षा कोषले श्रमिक आवश्यकतालाई लक्षित गर्दै नयाँ कार्यविधि तयार गरेको सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले बताईन । उनले भनिन् ‘पछिल्लो समय कर्जाकै विषयमा श्रमिकहरु असन्तुष्टि देखिएसँगै शैक्षिक, सामाजिक, घर तथा आवास लगायतका १२ शीर्षकमा कर्जा दिने कार्यविधि पेश गरेका छौं ।’ प्रवक्ता भट्टराईले आगामी दिनमा कोषले ल्याउन लागेको कार्यविधिमा सञ्चय कोष, नागरिक लगानी कोषले प्रदान गर्ने सुविधाभन्दा आकर्षक व्यवस्था ल्याउने मुख्य तिन प्रस्ताव पेश गरिएको बताईन । प्रस्तावित कार्यविधि अनुसार कोषमा जम्मा भएका रकम सरकारले जारी गर्ने ऋणपत्र, बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती खाता वा दीर्घकालीन निक्षेप योजना, बैंकिङ्ग क्षेत्र तथा अन्य सीमित दायित्व भएका कम्पनी लगानी गर्ने, वित्तीय क्षेत्रसँग साझेदारी गरी धितो विभाजन गर्ने गरी आपसमा भए अनरुप संयुक्त रुपमा ऋण दिने विषयहरु उल्लेख गरिएको छ । पछिल्लो समय कोषमा ८ हजार ८ सय १८ रोजगारदार्ता , एक लाख ९ सय ६८ श्रमिक आवद्ध भएका छन् । त्यस्तै कोषमा ७ करोड ६५ लाख रुपैयाँ रकम कात्तिक १३ गतेसम्म संकलन भएको छ । सबै श्रमिकलाई कोषमा समावेश गर्ने उद्देश्य पुन कोषले समय मंसिर १३ गतेसम्म थप गरेको कोषले जानकारी दिएको छ । थप जानकारीका लागि : सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समय एक महिना थपियो