विकासन्युज

अपराधमा विदेशी नागरिकको संलग्नता बढ्दो, वर्कपर्मिटमा काम गर्नेको तथ्यांक छैन राज्यसँग

सांकेतिक फोटो काठमाडौं । पछिल्लो समय अपराधिक क्रियाकलापमा विदेशी नागरिकको संलग्नता बढ्दो क्रममा छ । नेपालमा पर्यटक भीसामा आउने र यहीँ बसेर गैरकानुनी कार्यमा संलग्न विदेशी नागरिकको संख्या बढ्दो क्रममा देखिएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष गैरकानुनी कार्यमा संलग्न ८ सय ५७ जना विदेशी नागरिक पक्राउ परेका छन् । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ७ सय ३७ जना र आर्थिक वर्ष २०७३/७४ मा ५ सय ५५ जना विदेशी नागरिक पक्राउ परेका छन् । विदेशी नागरिकले नेपालमा आएर गैरकानुनी कार्य गर्ने गरेपनि आधिकारिक रुपमा कति विदेशीले नेपालमा लामो समय बस्छन् भन्ने यकिन तथ्यांक राज्यको कुनै पनि निकायसँग छैन । केही विदेशी नागरिक नेपालमा लुकेर काम गर्ने तथा गैरकानुनी काममा समेत संलग्न हुने गरेको पाइएको छ । विदेशी नागरिकले वर्क पर्मिट नलिई नेपालमा कुनै पनि प्रकारको काम वा पेशा व्यवसाय गर्न पाउदैनन् । नेपालमा काम गर्नको लागि वर्क पर्मिट दिने जिम्मेवारी श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पाएको छ । तर, विभागसँग पनि अहिले कति विदेशी नागरिकले वर्क पर्मिट पाएर काम गरिरहेका छन् भन्ने छैन । कसैले श्रम स्वीकृति माग्न आए दिने गरेको विभाग अहिले कति विदेशी नागरिक काम गरिरहेका छन् भन्ने तथ्यांक दिन भने सक्दैन । विभागका सूचना अधिकारी सूर्यप्रसाद उपाध्याय कुन वर्ष कति विदेशीले श्रम स्वीकृति (वर्क पर्मिट) पाए भन्ने तथ्यांक मात्रै रहेको बताउँछन् । ‘कुन वर्ष कति विदेशीले वर्क पर्मिट प्रश्नमा सूचना अधिकारी उपाध्यायले भने । विभागका अनुसार गत मंसिर मसान्तसम्ममा १ हजार ६० जना विदेशी नागरिकले वर्क पर्मिट लिएका छन् । यो संख्या नयाँ वर्क पर्मिट लिने र नवीकरण गराउने सम्मको हो । गत साउनमा नयाँ र नवीकरण गरी वर्क पर्मिट लिने विदेशीको संख्या २ सय ४१ छ । यस्तै भदौमा ३ सय ४२ जना, असोजमा १ सय ५८ जना, कात्तिकमा १ सय ७१ जना र मंसिरमा १ सय ४८ जना विदेशीले नयाँ वर्क पर्मिट तथा नवीकरण गराएका छन् । अहिले नेपालमा कार्यरत विदेशी नागरिकको संख्या यति नै हो त भन्ने प्रश्नमा विभागका अधिकारीहरु जवाफ दिन सक्दैनन् । उनीहरु आफै ‘वर्क पर्मिटट लिएकाहरु केही उनीहरुकै देश गइसके होलान्, केही काम गर्दै होलान्, वा अन्य अवस्था पनि हुन सक्छ’ भन्ने विभागका अधिकारीहरुको भनाइ छ । बढ्दै अपराधको ग्राफ नेपालमा पर्यटक भीसामा आउने र गैरकानुनी कार्यमा संलग्न हुने विदेशीको संख्या बढ्दो छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापाका अनुसार विदेशी नागरिकहरु अनलाइन ठगीदेखि बैङ्क तथा एटीएम ह्याकिङ, चोरी, मानव बेचविखन, यौन दुराचार, हत्या, अपहरण, लागूऔषध र दुर्लभ वन्यजन्तुको ओखटेपहार ओसारपसार जस्ता गैरकानुनी कार्यमा संलग्नता बढ्दो छ । यस्तो गैरकानुनी कार्यमा भारत, चीन, बङ्गलादेश, बेलायत, अमेरिका, युरोप तथा अफ्रिकालगायत देशका नागरिकको संलग्नता बढी देखिएको प्रहरीको भनाइ छ । प्रहरीले अघिल्लो साता मात्रै शंकास्पद गतिविधि गरेको अभियोगमा एकैपटक १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पर्यटक भीसामा नेपाल आएर लुकेर बस्ने तथा वर्क पर्मिट लिएर बसेकाहरु पनि गैरकानुनी क्रियाकलापमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ ।

ग्याँस उद्योगले ९० दिनभित्र पीडीओ नलिए लाइसेन्स खारेज, निगमलाई नै थाहा छैन उद्योगको संख्या

काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ । ग्याँस उद्योगीहरुले ९० दिन भित्र पीडीओ नलिए निगमले उद्योगहरुको अनुमति नै रद्द गर्ने भएको हो । निगमले आइतबार एक सूचना जारी गर्दै पीडीओ नलिने उद्योगहरुको अनुमति नै रद्द गर्ने चेतावनी दिएको छ। दर्ता भएका ग्यास उद्योगले नेपाल आयल निगमबाट पीडीओ लिएर उद्योग सञ्चालन गर्नुपर्छ । २०७१ माघ १४ पछि एलपी ग्यासका नयाँ र शाखा उद्योग खोल्न निगमबाट अनुमति लिए पनि पीडीओ लिएका छैनन् । नेपाल आयल निगमलाई नै नयाँ र शाख उद्योग कति छन भन्ने थाहा छैन । उद्योग विभागबाट पनि नयाँ र शाख उद्योग दर्ता गर्न सकिन्छ । त्यसैकारण पनि नयाँ तथा शाखा उद्योग कति छ भनेर निगमलाई थाहा नभएको निगमका एक कर्मचारी बताउँछन् ।   निगमका प्रवक्ता वीरेन्द्र गोइतले लाइसेन्स मात्रै लिएर बसेका उद्योगले पीडीओ लिन आनाकानी गरेपछि त्यस्ता उद्योगको लाइसेन्स खारेज गर्न सूचना निकालिएको बताए । दर्तापछि पीडीओ नलिएका उद्योगलाई पीडीओ लिनका लागि ९० दिनको समय दिइएको गाेइतले बताए । सो समयमा उद्योगहरूले पीडीओ नलिए अनुमति खारेज हुनेछ ।

गीतकार प्रसाईंको “कथा मृत्युको” गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गीतकार चन्द्र प्रसाईंको मार्मिक गीत “कथा मृत्युको” नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक शिशिर योगीको आवाज रहेको मार्मिक गीतकाे भिडियोसहित सार्वजनिक भयाे । गायक शिशिर योगीको नै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्की निर्देशन गरेको म्युजिक भिडियोलाई आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका हुन् । सार्वजनिक भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता कंडेलको रहेको छ भने भिडियोमा सुन्दर लामालाई फिचर्ड गरिएको छ । भिडियाे हेर्न क्लिक गर्नुहाेस् ।  

अरुण तेस्रो जलविद्युतकाे मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण कार्य शुरु

खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनामा मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ । लगानी बोर्डले तुरुन्तै पीडितको समस्या समाधान गर्ने आश्वासन दिएपछि निर्माण कार्य सञ्चालन भएको हो । स्थानीय प्रशासन, राजनीतिक दल, गाउँपालिका र पीडितबीच चाँडै विवाद समाधान गर्ने सहमति भएको छ । सहमतिपछि सडक अवरुद्ध र सुरुङ निर्माणको काम शनिबारदेखि सञ्चालन भएको हो । अरुण तेस्रोको काम करिब ३० प्रतिशत भइसक्दा पनि मुआब्जा नपाएपछि स्थानीयले बिहीबारदेखि आन्दोलन शुरु गरेका थिए । विरोधमा उत्रिएका स्थानीयले अरुण तेस्रो आयोजनाको दिदिङमा निर्माणाधीन पावरहाउसको सुरुङमार्गको काम बन्द गराएका थिए । सुरुङ निर्माणको काम ठप्प भएपछि दुई हजार कामदार अलपत्र परेका थिए । अरुण तेस्रो निर्माण शुरु भएको तीन वर्ष बिते पनि छ्याङकुटीबाट पावरहाउस स्थल दिदिङसम्मको मुआब्जा विवाद अहिलेसम्म मिलेको छैन । यो सडक खण्डमा नेपाल सरकारले मुआब्जा निर्धारण गरेर सरकारी मूल्यअनुसार स्थानीयलाई रकम दिनुपर्छ । यस क्षेत्रका २०० परिवारले मुआब्जा पाएका छैनन् । छ्याङकुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडक खण्डमा मुआब्जा नपाएको स्थानीयवासी हर्कसिंह राइले बताए । पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको स्थानीयको भनाइ छ । तर, अरुण तेस्रो निर्माणको जिम्मा पाएको भारतीय सतलज कम्पनीलाई भने ३० मिटर जग्गा आवश्यक नपर्ने जनाएको छ । १५ मिटरको सडकमा उपकरण ल्याएको सवारी साधन गुड्ने जनाएको छ । अरुण तेस्रोका लागि अहिले पनि १५ मिटरमात्रै सडक प्रयोग भइरहेको सतलजका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले बताए । रासस

कृषि विकास बैंकद्वारा ग्रिनहिल सिटी समाजलाई ६० थान डस्टबिन हस्तान्तरण

काठमाडौं । कृषि विकास बैंकले ग्रिनहिल सिटी समाजलाई ६० थान डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष विश्वराज पौडेल (किरण)लाई सो मात्रामा डस्टबिन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले वातावरण संरक्षण लगायत विविध क्षेत्रमा बैंकले सहयोग गरिरहेको जानकारी गराए ।  समाजका अध्यक्ष विश्वराज पौडेल (किरण)ले यस्तो सहयोगले समाजको सरसफाई कार्यमा थप सहयोग पुग्ने बताएका छन् । वि.स.२०६८ सालबाट ग्रिनहिल सिटी कोलोनीको रुपमा विकास भईरहेको आवास क्षेत्र देशका विभिन्न जिल्लाबाट आई विभिन्न पेशा व्यवसाय अंगाल्ने मानिसहरुको बसोबास भईरहेको सम्भवतः देशकै ठूलो र व्यवस्थित कोलोनी हो । करिब ३२० रोपनी जग्गामा फैलिएको ८ सयसम्म घर रहने यो कोलोनमिा हाल करिब ४ सय घर तयार भई मानिसहरु बसोबास गरिरहेका छन् । बाकी घरहरु निर्माणधिन अवस्थामा रहेका छन् । ग्रिनहिल सिटी भित्र हाल सहकारी संस्था, जिम क्लब, योगा, डान्स, खेलकुख क्षेत्र, ग्रोसरी आदि रहेका छन् ।

एलजीको ‘रोड शो’ देशभरी

काठमाडौं । एलजीले नेपाल अधिराज्यभरी ‘रोड शो’ शुरु गरेको छ । यस रोड शोमा एलजीका इनोभेटिभ प्रोडकहरूले डिस्प्लेका साथै डेमो पनि गरिरहेको छ । ‘रोड शो’ को मूल्य आकर्षण वासिङ्ग मेसिन, टि.भी. र ए.सि. रहेको छ । भक्तपुर देखि शुरु भएको रोड शो बाग्लुङ्ग, पोखरा हुँदै महेन्द्रनगरबाट नारायणघाट हुँदै काकडभिट्टा सम्म हुनेछ । यस ‘रोड शो’ को मुख्य उद्देश्य एलजी. को वासिङ्ग मेसिनको डेमो रहेको छ । जसमा एल.जी.को ८ के.जी.को वासर ड्रायर वासिङ्ग मेसिनबाट डेमो दिने कम्पनीले जनाएको हाे ।  

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा खटिए प्रहरी

रत्ननगर ।  भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले श्रमदान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहानको समयमा २०० को सङ्ख्यामा पुगेर प्रहरीले रङ्गशाला निर्माणमा श्रमदान गरेको थियो । श्रमदान गर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा त्यहाँ टोली पुगेको थियो । “प्रहरीले गर्न सक्ने काम गर्ने गरेका छौँ”, प्रहरी उपरीक्षक मल्लले भने, “रङ्गशाला निर्माण सम्पन्न नभएसम्म श्रमदान जारी रहने छ । रङ्गशाला निर्माणको काममा सकेको सहयोग गर्न तयार छौँ ।” प्रहरी टोलीले मुख्य कालोपत्रको ‘स्वेलिङ’का लागि ढुङ्गा भर्ने काम गरिरहेको छ । रङ्गशालामा बन्ने सबैभन्दा ठूलो रङ्गशाला र कालोपत्र रहने ठाउँको काम भइरहेको छ । कमलको फूलको आकृतिमा बन्ने रङ्गशालाको ‘स्वेलिङ’को काम सकिएर डिपिसीको काम भइरहेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । कट्टेलका अनुसार निर्माणमा खर्चको अधारमा रकम सङ्कलन गर्न सकिएको छैन । रङ्गशाला निर्माणका लागि सहयोग आउने क्रम जारी रहे पनि अपर्याप्त भएको उनको भनाइ छ । रङ्गशालाको काम युद्धस्तरमा बढेको छ । दैनिक रु १० लाख खर्च लाग्ने गरी काम अघि बढाइएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा केही ढिलाइ भएको भए पनि अहिले रङ्गशालको काम तीव्र रूपमा अघि बढिरहेको छ । निर्माण कार्यले गति लिएपछि रङ्गशाला अवलोकन गर्नुका साथै आर्थिक सहयोग आउने क्रम बढेको अभियानकर्मी अर्जुन भुषाल बताउँछन् । रङ्गशालालाई श्रमदान, आर्थिक सहयोग, निर्माण सामग्री उपलब्ध गराएर सहयोग गर्न सकिने फाउण्डेशनले व्यवस्था मिलाएको छ ।  रासस

हेटौँडा नै हुने भयो प्रदेश ३ को राजधानी, नेकपा सचिवालयले गर्यो निर्णय

हेटाैडा। प्रदेश-३ को राजधानी हेटौँडा हुने भएको छ । नेकपाको बहुमत रहेको प्रदेश- ३ को बैठकले अब प्रदेशको राजधानी हेटौँडा टुंगो लगाउने भएको हो । अधिकांश सांसदको असन्तुष्टिका बाबजुद प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सामु प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम गर्ने बाध्यात्मक परिस्थिति आइपरेको हो । प्रदेशको स्थायी राजधानी सम्बन्धित प्रदेशसभाको दुईतिहाइ बहुमतले तोक्न सक्ने संवैधानिक व्यवस्था छ । प्रदेश ३ मा नेकपासँग दुईतिहाइ बहुमत छ । माघभित्रै संसद्को हिउँदे अधिवेशन शुरू हुने र अधिवेशनमा प्रदेश राजधानी तथा नामाकरणको विषय टुंगोमा पुग्ने नेकपाका एक सांसदले जानकारी दिए । संसद्को हिउँदे अधिवेशन शुरू हुनुअघि नै नेकपाले प्रदेश राजधानी र नामाकरणका सम्बन्धमा औपचारिक निर्णय  लिएकाे  छ । नाम भने बाग्मती नै रहने भएको छ । नेकपा र कांग्रेस दुवैका अधिकांश सांसद काठमाडौं उपत्यका आसपासमा राजधानी राख्नुपर्ने पक्षमा छन् । त्यसो त ११० सदस्यीय प्रदेशसभामा ५२ जना सांसद काठमाडौं उपत्यकाबाटै प्रतिनिधित्व गर्छन् । बर्खे अधिवेशनमा प्रदेशसभाले स्थायी राजधानीको विषय सिफारिस गर्न सांसद दीपक निरौलाको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । कार्यदलले मकवानपुर, काभ्रे, चिवतन, नुवाकोट र भक्तपुरलाई विकल्पका रूपमा प्रस्तुत गर्दै प्रतिवेदन बुझाएको छ ।