विकासन्युज

कोटेश्वर–जडीबुटी जाम हटाउन सडक विस्तार गरिँदै

काठमाडाैं । कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो । मुख्य जाम हुने क्षेत्र लक्षित गर्दै सो खण्डमा तीनदेखि चार लेन थप्न सडकको चौडाइ विस्तार गर्न लागिएको हो । हाल सो सडक खण्डको उत्तरतर्फ एक लेन थपिने र दक्षिणतर्फ दुईतीन लेनसम्म थप्ने गरी योजना बनाइएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए। उत्तरतर्फ एक लेनसम्म थप्न सडककै जग्गा रहेको छ । हाल पैदलयात्रु मार्ग र ढल रहेका स्थानलाई सारेर लेन तयार गर्न सकिन्छ । दक्षिणतर्फ चौडाइ बढाउन पर्यटन मन्त्रालयसँग छलफल भइरहेको छ । उनले भने, ‘मन्त्रालयसँगको समन्वयमा नागरिक उड्डयन प्राधिकरणको जग्गामा दुईतीन लेन थप्न सकिनेछ ।’ उत्तरतर्फको थप हुने भनिएको लेनमा हाल भौतिक संरचनाका रुपमा एउटा मात्रै घर रहेको प्रवक्ता सापकोटाले जानकारी दिएका छन् । उक्त घर तीनकुने– सूर्यविनायक सडक विस्तारका क्रममा समेत भत्काउन सकिएको थिएन । मन्त्रिपरिषद् बैठकले उक्त घर भत्काउने निर्णय गरिसकेको जनाइएको छ । उनले भने, ‘त्यसलाई अधिग्रहण गरेपछि नै उत्तरतर्फ एक लेन थप गर्न सकिनेछ ।’ जडीबुटीबाट लोकन्थलीतर्फ जाने मात्रै होइन, पेप्सीकोलातर्फ जाने सवारीसाधनसमेत जाममा पर्ने गरेका छन् । त्यस्तै, कोटेश्वर चोकबाट तीनकुनेतर्फ जाने सवारीसाधनसँगै दैनिक बालकुमारीतर्फ जाने सवारीसाधनसमेत रोकिने गर्छन् । उत्तरतर्फ विस्तार हुने एक लेनले पेप्सीकोलातर्फ र कोटेश्वरबाट बालकुमारीतर्फ जाने सवारीसाधन निर्वाधरुपमा जान सक्ने प्रवक्ता सापकोटाले जानकारी दिए । विमानस्थलको ‘लाइटिङ सिस्टम’ का कारण बारभन्दाभित्रको क्षेत्र सडकले तत्काल पाउन नसक्ने देखिएको छ । दक्षिणतर्फ सडकको क्षेत्रबाट विमानस्थलको जग्गा लिएर थप गर्न सकिने देखिएको छ । उनले भने, ‘त्यसका लागि केही संरचना नै भत्काउनुपर्ने हुनसक्छ ।’ आगामी वैशाख जेठ महिनामा ट्र्याक खोलेर सकेसम्म चाँडो सडक सञ्चालनमा ल्याउने विभागले जनाएको छ । दुवैतर्फ एकएक लेन मात्रै थप्दा पनि त्यसले यहाँको जामलाई थोरै भए पनि राहत दिनसक्ने प्रवक्ता सापकोटाले बताए । उनले भने, ‘विमानस्थललाई असर नपर्ने गरी कति लेनसम्म थप्न सकिन्छ भन्ने अहिले छलफल भइरहेको छ ।’ जाइकाले यसअघि नै कोटेश्वर–जडीबुटी सडकमा पूर्वसम्भाव्यता अध्ययनसमेत गरिसकेको छ । विस्तार तत्काल समाधान मात्रै हुने जनाइएको छ । प्रवक्ता सापकोटाले भने, ‘यहाँको दीर्घकालीन समाधान भनेको ‘अण्डरपास’ हो ।’ जाइकाले गरेका पूर्वसम्भाव्यता अध्ययनमा मुख्य सडकमै वा विमानस्थलको क्षेत्रमा ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माण गर्न सकिने पाइएको सडक विभाग, विकास समन्वय महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले जानकारी दिनुभयो । उनले भने, ‘विश्वका धेरै देशमा माथि ‘रनवे’ र तल ‘अण्डरपास’ हुने गरेको छ, मुख्य सडकमा निर्माण नगर्दा निर्माण अवधिमा समेत सवारीसाधन आवतजावतमा समस्या हुँदैन ।’रासस

कोरोना भाइरसको नाममा ठगी, मास्कको कालोबजारीदेखि अनधिकृत स्वास्थ्य परीक्षणसम्म

काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न विश्वव्यापी रुपमा सर्तकता अपनाइएको समयमा नेपालमा भने यसैको नाममा ठगी धन्दा सुरु भएको छ । नेपालमा माक्सको कालो बजारीदेखि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा अनधिकृत रुपमा रकम असुली हुन थालेको हो । कोरोना भाइरसको संक्रमण बढेसँगै बजाारमा मास्कको अभाव देखिएको छ । भाइरस संक्रमणबाट बच्न मास्कको प्रयोग गर्नुपर्ने जनस्वास्थ्य विज्ञले बताइरहेको समयमा मास्कको अभाव देखिएको हो । तर, बजारमा मास्कको अभाव नै भएको वा कालाबजारीका कारण अभाव सिर्जना गरिएको हो भन्ने यकिन छैन । नोबल कोरोना भाइरसले चीनमा ३ सयभन्दा बढीकोे मृत्यु भइसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । छिमेकी मुलुकमा बढेको त्रासले नेपालमा पनि असर परेको छ । बजारमा मास्कको कालोबजारी सुरु भएको हुन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्कको तथ्यांक संकलन सुरु गरेको छ । यस्तै, बैदेशिक रोजगारीमा जाने कामदारसँग कोरोना भाइरस परीक्षण गर्नुपर्ने भन्दै अतिरिक्त २५ हजार रुपैयाँसम्म रकम असुली हुन थालेको सूचना प्राप्त भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार कोरोना भाइरसको नाम लिएर नेपालबाट विदेश जानेहरुबाट विभिन्न कन्सल्टेन्सीहरुले अनाधिकृत रुपमा रकम लिने गरेको खुलेको छ । वैदेशिक रोजगारमा जानको लागि नेपालीहरुलाई कोरोना भाईरसको परीक्षण गरेर जानुपर्ने भन्दै विभिन्न म्यानपावर कम्पनीले स्वास्थ्य परीक्षणवाफतको रकम लिने गरेको खुलेको हो । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले मानिसहरुमा रहेको त्रासको फाइदा उठाउँदै मास्क व्यापारी, म्यानपावर र ल्याबहरुले रकम असुल्ने गरेको बताए । स्वास्थ्य परीक्षण भन्दै २५ हजार रुपैयाँसम्म रकम लिने गरेको श्रेष्ठको भनाइ छ । ‘बजारमा मास्कको अभाव भयो भन्ने छ, कोरोना भाइरस परीक्षण गरेर मात्रै विदेश जान पाइन्छ भन्दै म्यानपावर, कन्सलटेन्सी तथा ल्यावहरुले थप २५ हजार रुपैयाँसम्म लिन थालेको गुनासो प्राप्त भएको छ, यसका बारेमा मन्त्रालयलले आवश्यक कारबाहीको प्रक्रिया सुरु गरिसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने । कोरोना भाइरसलाई मध्येनजर गर्दै मास्कको उत्पादनमा वृद्धि गरेको मन्त्रालयले जनाएको छ । प्रतिदिन ३ हजार पीस उत्पादन हुने मास्कको संख्या बढाउनुको साथै मास्कको निर्यातम पनि रोक लगाइएको छ । यस्तै, मन्त्रालय अन्तरगतको औषधी व्यवस्था विभागले मास्क उत्पादकसँग अहिले भएको स्टकको यथार्थ तथ्यांक संकलनका लागि पत्राचार गरिरहेको मन्त्रालयले जानकारी दियो ।

प्रभु बैंककाे दुई दिने वित्तीय साक्षरता कार्यक्रमः अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने

काठमाडौं । प्रभु बैंकले दुई दिने वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका प्रवाशी नेपालीहरुलाई लक्षित गरी माघ १८ र १९ गते दुई दिन उक्त कार्यक्रम गरेको हो । यूके एड-डीएफआईडी अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एसेस् अडभाईजरी र र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा उक्त अन्तक्रिया कार्यक्रम गरेको बैंकले जनाएको छ । विभिन्न पेशा र व्यवसायमा आवद्ध भई भारतको प्रमुख व्यापारिक शहर मुम्बईमा रहेका करिब २०० जना प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । उक्त २ दिने वित्तीय साक्षरता एवं अन्तर्क्रियात्मक कार्यक्रममा सहभागीहरुलाई आर्जन गरेको रकम औपचारिक एवं बैंकिङ्ग प्रणाली मार्फत नेपालमा रहेका आफन्तहरुलाई पठाउने लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञ समूहबाट पर्याप्त जानकारी गराईएको थियो । उक्त अवसरमा सहभागीहरुबाट अन्तर्क्रियामा भाग लिँदै नेपालको बैंकिङ्ग प्रणाली, आफुले आर्जन गरेको रकम नेपालमा पठाउने भरपर्दो एवं सरल माध्यम लगायत वित्तीय जानकारी सम्बन्धी जिज्ञाशा राखिएको थियो । प्रभु बैंक समेतको आयोजनामा आयोजित उक्त वित्तीय साक्षरता एवं अन्तक्र्रियात्मक कार्यक्रममा उपस्थिति जनाएका मुम्बईस्थित प्रवाशी नेपालीहरुले आफुले आर्जन गरेको रकम बैंकिङ्ग प्रणाली मार्फत नेपालमा रहेका आफन्तजनहरुलाई पठाउन विगतमा भन्दा सहज महशुस गर्नेछन् । साथै, यसबाट नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ भन्ने बैंकको विश्वास छ ।

नाफा बढाउन बैंकहरुले गरे चलाखी, राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा चुनौती

काठमाडौं । वाणिज्य बैंकहरुले नाफा बढाउन व्याज अन्तर (स्प्रेड) दर धेरै राख्न थालेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई स्प्रेड दर घटाउन निर्देशन दिएको भएपनि सो दर भने बढ्दो क्रममा देखिएको छ । राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा स्प्रेडदर ४.४ प्रतिशतमा ल्याउन बैंकहरुलाई निर्देशन नै दिएको छ । तर, केही बैंकहरुले प्रकाशित गरेको गत पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले गत वर्षको पुसको तुलनामा स्प्रेडदर बढेको देखाएको छ । बैंकहरुले कर्जा लिने औसत व्याजमा निक्षेपमा दिने औसत व्याज घटाउने आउने अंक नै स्प्रेड दर हो । केही बैंकहरुले भने यस्तो दर ५ प्रतिशतभन्दा पनि माथि पुर्याएका छन् । केही वर्षदेखि नै राष्ट्र बैंकले स्प्रेड दर ५ प्रतिशतभन्दा बढी हुन नहुने नीतिगत व्यवस्था गरेको थियो । ९ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । यसरी विवरण प्रकाशित गर्ने अधिकांश बैंकको स्प्रेड दर बढेको देखिन्छ । अहिले संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये एक तिहाईको विवरणले स्प्रेड बढेको देखाएका कारण प्रायः सबै बैंकको बढेको हुन सक्ने आलक गरिएको छ । प्राइम कमर्शियल बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत पुस मसान्तसम्ममा सो बैंकको स्प्रेडदर ५.११ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा सो बैंकको स्प्रेडदर ५.१८ प्रतिशत थियो । गत वर्षको तुलनामा प्राइमको स्प्रेड दर घटेको भएपनि नियामकीय प्रावधानभन्दा उच्च छ । सनराइज बैंकको स्प्रेड दर ५.१४ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा यस्तो दर ४.३१ प्रतिशत थियो । यस्तै, एभरेष्ट बैंकको स्प्रेड दर ५.३३ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा एभरेष्टको स्प्रेड दर ४.३८ प्रतिशत थियो । सरकारी लगानी पनि रहेको नेपाल बैंकको स्प्रेड दर भने घटेर नियामकीय प्रावधानभित्र आइपुगेको छ । गत वर्षको पुस मसान्तमा ४.९९ प्रतिशत रहेको स्प्रेड दर यो वर्षको पुस मसान्तमा ४.४४ प्रतिशतमा झरेको छ । लक्ष्मी बैंकको स्प्रेडदर पनि नियामकीय प्रावधानभित्रै छ । तर, गत वर्षको तुलनामा केही बढेको छ । गत वर्षको पुस मसान्तमा ४.०४ प्रतिशत रहेको लक्ष्मीको स्प्रेड यो वर्षको पुस मसान्तमा ४.२३ प्रतिशत छ । गत पुस मसान्तसम्ममा सिद्धार्थ बैंकको स्प्रेड दर ५.१७ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा सो बैंकको स्प्रेडदर ४.७१ प्रतिशत थियो । यस्तै, गत वर्षको पुस मसान्तसम्ममा ५.२५ प्रतिशत रहेको सानिमा बैंकको स्प्रेड दर यो वर्षको पुस मसान्तसम्ममा ५.०४ प्रतिशत छ । एनआईसी एसिया बैंकको स्प्रेड दर ५.०२ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा एनआईसी एसिया बैंकको स्प्रेड दर ५.५६ प्रतिशत थियो । यस्तै, गत वर्षको पुस मसान्तसम्ममा ४.३२ प्रतिशत रहेको सिटिजन्स बैंक इन्टरनेसनलको स्प्रेड दर यो वर्षको पुस मसान्तसम्ममा ४.५८ प्रतिशत पुगेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भूसालको अख्तियारमा सरुवा

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनलाई आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको हो। भुसालले अहिले सम्म आफुसम्म पत्र नआइपुगेकाे जानकारी दिए । विभागमा भने अब यातायात व्यवस्थापन विभागका पूर्व महानिर्देश कुमार दाहाल आउने भएका छन् । दाहालले भाेली आफूलाई श्रम मन्त्रालय बोलाएकाे जानकारी दिए । २०७५ साल चैत महिनादेखि विभागमा महानिर्देशकककाे रूपमा काम गर्दै आएका भुसाल सरूवा भएरआयोगमा जाने भएका छन् । छोटो समयमा वैदेशिक रोजगार विभागमा भएका समस्याको पहिचान गरि श्रम स्वीकृतिका विषयदेखि अवैध रुपमा रहेका म्यानपावरको व्यवस्थापन तथा खारेज गर्न प्रमुख काम गरेका महानिर्देशक डा. भूसालको सरुवाप्रति आम श्रमिकको चाँसो बढेको छ ।

होण्डाको विश्व चर्चित् ‘गोल्डविङ्ग’ नेपाली बजारमा, मूल्य ६६ लाख ९९ हजार, यस्ता छन् विशेषता

काठमाडाैं । होण्डाको नेपालका लागि आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले ‘गोल्डविङ्ग’ नामक मोटरसाइकल नेपाल भित्र्याएकाे छ । नेपाली बजारको लागि विल्कुलै नयाँ मोटरसाइकल ‘गोल्डविङ्ग’ एउटा टुरिङ्ग मोटरसाइकल हो । होण्डाको सबैभन्दा महँगो मोडेलको रुपमा रहेको गोल्डविङ्गको नेपाली बजार मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । होण्डा नेपालका अनुसार नेपालमा हाल गोल्डविङ्गको एउटा मात्र पिस उपलब्ध रहेको छ । सन् १९७४ मा उत्पादन गरिएको गोल्डविङ्ग नर्थ अमेरिका, वेष्टर्न युरोप, अष्ट्रेलिया र जापान लगायतका ठाउँहरुमा निक्कै चर्चित् छ । एकदमै लक्जरियस मानिने यस मोटरसाइकलमा आधुनिक प्रविधि पनि उत्तिकै जडान गरिएका छन् । गोल्डविङ्गमा एप्पल कारप्ले, ७-स्पिड अटोमेटिक डुअल क्लच ट्रान्समिशन, किलेस स्टार्ट, रिभर्स गियर लगायतका फङ्कसनहरु समावेश छन् । डुअल क्लच ट्रान्समिशनले गर्दा बाइकमा क्लच पेड र गियर पेडलको आवश्यकता विनानै चालकले अटोमेटिक नै गियर परिवर्तन गर्दछ । त्यसैगरी बाइकमा इको, रेन, टुरिङ्ग र स्पोर्ट गरी ४ अलग राइडिङ्ग मोडहरु समावेश छन् । गोल्डविङ्गमा हिटरमार्फत् न्यानो बनाउन मिल्ने सिट पनि समावेश छ । गोल्डविङ्गको इन्स्ट्रुमेन्ट कन्सोल निकै एडभान्स रहेको छ । यसमा गति, इन्धनको मात्रा, इञ्जिन तापक्रम, ट्रिपमिटरका साथै वातावरणको तापक्रम, क्रुज कन्ट्रोल स्पिड, हिटरको अवस्था लगायत पनि हेर्न सकिन्छ । त्यसैगरी यो मोटरसाइकलको विन्डस्क्रिनलाई बटन मार्फत् आफ्नो आवश्यकता अनुसार एड्जस्ट समेत गर्न मिल्ने बनाइएको छ । इञ्जिन तर्फ चाहिँ यस मोटरसाइकलमा १८३३ सीसीको ६ सिलिण्डर लिक्विड कुल्ड इञ्जिन जडान गरिएको छ जसले १२५ बीएचपीको पावर र १७० एनएमको टर्क उत्पादन गर्दछ । गोल्डविङ्गलाई होण्डाको कान्तिपथ स्थित शोरुममा राखिएको छ । कम्पनीका अनुसार उक्त शोरुममा सो मोटरसाइकल हेर्नका लागि दैनिक धेरैको संख्यामा मानिसहरु आउने गरेका छन् ।

नवलपुरमा ग्रीन डेभलपमेण्ट बैंककाे थप दुई शाखा, तनहुँमा पनि विस्तार गर्ने तयारी

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले नवलपुर जिल्लामा थप दुई शाखा संचालनमा ल्याएको छ । विकास बैंकले नवलपुरको कांग्रेसचोक र कावासोतीमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । कांग्रेसचोक शाखाको उद्घाटन बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठ र कावासोती शाखाको उद्घाटन पुर्व संचालक नरेन्द्र रमण त्रिपाठीले गरेका हुन् । पोखराको सभागृह चोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले नवलपुर जिल्लामा थप दुई शाखा संचालनमा ल्याएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले पोखरामा केन्द्रीय कार्यालय भई कार्य गर्दै आएको यस विकास बैंकले गण्डकी प्रदेश स्तरको एक मात्र स्थानिय बैंक हुने उद्देश्यका साथ नवलपुर जिल्लामा शाखाहरु विस्तार गरेको बताए । बैंकले निःशुल्क एटीएम डेबिट कार्ड, अत्याधुनिक मोवाईल बैंकिङ्ग सुविधा, कनेक्ट आईपिएस, निःशुल्क एबिबिएम सुविधा, सुनचाँदी धितोमा कर्जा लगायतका विभिन्न वैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमै सञ्चालित उद्यमशीलतासँग सम्बन्धित तथा अन्य उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए । बैंकका हाल कास्की, वाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा १३ वटा शाखा रहेकोमा निकट भविष्यमा तनहूँका विभिन्न स्थानहरुमा समेत शाखा विस्तार गर्ने योजना राखेको छ ।

टेलिकम शताब्दी वर्ष मनाउने तयारीमा, कर्मचारी युनियन विरोधमा

काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले आफ्नो सयौँ वार्षिक उत्सव मनाउँने तयारी तामझामका साथ गरिरहेको छ । यही बेला टेलिकमकै कर्मचारी युनियन (एनटीसीडब्लुयू) भने नाराबाजीमा उत्रिएको छ । टेलिमकले आफ्नो एक शताब्दीको उत्सव मनाउने अन्तिम तयारीमा जुटदा कर्मचारी युनियन भने खिन्न देखिएको हो । आईतबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रिय कार्यालयमा ठूलै खैलाबैला सुन्न सकिन्थ्यो । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यालय अगाडी युनिएनका कर्मचारीहरु भेला भएर आफ्नो माग प्रस्तुत गरे । युनियनमा करिब २ कर्मचारी छन् । कर्मचारीको हक हित रक्षा र नेपाल टेलिकमको भलाईका लागि आफूहरु आन्दोलित भएका युनियनका महासचिव राजेन्द्र जोशीले बताए । ‘संस्थागत सुधारको लागि हामीले आवश्यक कुराहरु सुनुवाई होस भन्दै खबरदारी गर्न चाहेका हौँ,’ महासचिव जोशीले बिकासन्युजसँग भने । यस्तो छ कर्मचारी युनियनको माग फोरजी लाइट, एफटीटीएच, जस्ता आयोजनाहरु कम्पनीले लिएको लक्ष्य अनुरुप लागत मुल्य नबढ्ने गरी समयसीमा भित्र सम्पन्न गर्नुपर्ने युनियनको माग छ । यस्तै, घट्दो राजस्व दरलाई रोकी यसको वृद्धि गर्न ठोस कार्यक्रम ल्याउनु पर्ने पनि युनियनको माग छ । हचुवाको भरमा तोकिएको जिएसएम सेवाको नवीकरण शुल्कलाई नीति बनाएर वैज्ञानिक ढंगले लागू गर्नुपर्ने, आयोजनाहरुको थर्ड पार्टी इभ्यालुयसन गरिनु पर्ने माग गरिएको छ । कर्मचारी भर्ना गर्दा विज्ञापन खुलाई वृत्ति विकासको सुनिश्चितता गर्नुपर्ने, सेयर बिहीन कर्मचारीहरुको लागि सेयर उपलब्ध गराउनु पर्ने, पेन्सन बिहीन कर्मचारीको लागि पेन्सन सुविधाको व्यवस्था गर्नुपर्ने, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन (सीबीए) र बोर्डमा कर्मचारी प्रतिनिधिको निर्वाचनको मिति घोषणा गर्नुपर्ने पनि युनियनको माग छ । युनियनले अवधि पुग्ने कर्मचारीहरुको विशेष बढुवाको अविलम्ब निर्णय गर्न, संशोधन प्रक्रियामा रहेको कर्मचारी विनियमावली स्थापित भएको वृत्ति विकास, सेवा सुविधा तथा ट्रेड युनियन अधिकार कायम गर्दै कम्पनीको समृद्धि एवम् कर्मचारीहरु प्रोत्साहित हुने गरी लागू गर्नुपर्ने, सावधिक जीवन बीमाको सीमा बढाउनु पर्ने लगायतका माग युनियनको छ ।